मुख्यमन्त्रीद्वारा शोक वक्तव्य जारी
सुर्खेत |
गएराती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका र आज बिहान रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकामा वर्षासँगै गएको पहिरोमा परि भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं. ४ जिरीमा गएको पहिरोमा परी ७ जनाको दुःखद निधन हुनुको साथै ५ जना अहिलेसम्म बेपत्ता रहेको र रुकुम (पश्चिम) जिल्ला आठविसकोट नगरपालिका वडा नं. ३ रेझेखोलामा गएको पहिरोमा परि २ जनाको दुःखद निधन भएको र १ जना घाइते भएको घटनाले माननीय मुख्यमन्त्रीज्यू निकै स्तब्ध हुनुहुन्छ ।
उक्त विपद्मा परि निधन हुनुभएका सबैप्रति माननीय मुख्यमन्त्रीज्यूले भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । यसबाट सम्बन्धित घरपरिवारमा पर्नगएको पीडाप्रति माननीय मुख्यमन्त्रीज्यूले गहिरो सहानुभूतिसहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
माननीय मुख्यमन्त्रीज्यूबाट पहिरोमा बेपत्ता नागरिकहरुको खोजी कार्य, विस्थापित परिवारका लागि राहत सामग्री एवं मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट गरिएको विपद जोखिम विमा रकम भुक्तानी दिने व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ ।
वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनसक्ने भन्दै माननीय मुख्यमन्त्रीज्यूले विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन गर्नुभएको छ ।
विपद्को सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई माननीय मुख्यमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ ।
२०७७ असार २६ गते
आज्ञाले, ………………….
ध्रुबबिक्रम बुढाथोकी
माननीय मुख्यमन्त्रीज्युको प्रेस सल्लाहकार
कर्णाली प्रदेश






