Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कविता – दन्त्या

देवकी तिमल्सिना ‘समीक्षा’

दन्त्या,
म धर्ती , तिमी आकाश
तिमी छौ र त मेरो आकार छ
तिमी छौ र त मेरो विश्वास छ
तिमी शब्द हौ जस्तो लाग्छ
तिमी संगीत हौ जस्तो लाग्छ
तिमी छौ र त
मेरो जिन्दगीको धुन बजेको छ।

दन्त्या,
तिमी पथ हौ
म हिँडिरहन्छु
तिमी आकाश हौ
म हेरिरहन्छु
तिमी नदी हौ
म बगिरहन्छु।

तिमीले बाटो देखायौ
र त हिँडेर आइपुगेँ यहाँसम्म
तिमीले निदाउने छाती दियौ र त
उडेकाछन् मेरा सपनाहरु निस्फिक्री
तिमीले पानी दियौ र त
जीवित छन् मेरा आशाहरु
मरुभूमिको यो यात्रामा ।

धरापमा परेको जिन्दगीलाई बाँच्न सिकायौ
निभ्न लागेको दियोमा तेल हालेर बाल्यौ
धमिरा लागेका सपनाहरुमा
आशाको परागसेचन गरायौ
आफ्नो छाती चौडा पारेर
मलाई निदाउँन दियौ।

दन्त्या,
आस्था र विश्वास गुम्न दिएनौ
खुसीका पलहरु भुल्न दिएनौ
तिमी जन्मेको कैलाशमा पुगेर तिम्रो नाम सुनेँ
बनँभरि , मनभरि गुलाफ भेटेँ
तिम्रो बगैंचामा रमाउन सिकेँ।