Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

श्रद्धेय नेता पुष्पलाललाई भेट्ता

मलाई मनैदेखि श्रद्धा गर्न मन लाग्ने नेतामद्ध्ये एक जना पुष्पलाल हुनु हुन्छ । उहाँलाई मैले दुई पटक भेट्ने अवसर पाएको छु । पहिलो पटक उहाँद्वारा नेतृत्व गरिएको नेकपाले दरभङ्गाको एक धर्मशालामा आयोजना गरेको किसान भेलामा वि.सं.२०३१को फागुनतिर र दोस्रो पटक सो पार्टीकै भारत बनारसको दुग्ध विनायकमा रहेको दशपुत्र गल्ली स्थित के २९/३०को घरमा रहेको केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटीको विस्तारित बैठकमा वि.सं.२०३२को मङ्सिरको अन्त्य र पुसको सुरुका दिनहरुमा । त्यतिखेर म पार्टीको भेरी अञ्चल सङ्गठन कमिटीको सचिव थिएँ । त्यसैले दुबै भेट पार्टीको जिम्मेवारी वहन गर्ने सिलसिलामा भएका थिए ।

पुष्पलाल स्मृति दिवस मनाइँदै – Online Khabar
पुष्पलाल श्रेष्ट

पहिलो पटक म बनारस जाँदा गोरखपुरमा डी.बी. गुरुङसँग सम्पर्क राख्ने र उहाँले निर्देश गरे अनुसार बनारस पुग्ने गरी भेरी अञ्चलको बाँके जिल्लाबाट पठाइएको थिएँ । गोरखपुर पुगेपछि डी.बी.ले नै आफ्ना डेरामा खाना खुवाएर बनारसमा दुई वटा रेल स्टेसन रहेको र तीमध्ये बनारस सिटीमा नझरी बनारस क्यान्टमा उत्रिन सल्लाह दिनु भएको थियो । म उहाँको सल्लाह अनुसार रेलको यात्रा गर्दै बनारस पुगेँ । उहाँले भनेको रेल स्टेसनमा झरेँ । रातको समय थियो । मनमा कोही जासुस पछि लागेका छन् कि भन्ने त्रास पनि थियो । मैले एउटा रिक्सा लिएँ र निर्देशित स्थानको ठेगाना भन्दै त्यता लैजान रिक्सावालालाई अर्‍हाएँ। बनारसका गल्लीभित्र रिक्साले मलाई कुदाउन थाल्यो । निकै बेर कुदाएपछि पनि तोकेको ठाउँ नआएपछि मलाई ठिक ठाउँमा पुर्‍याइँदैन कि भन्ने शङ्का लाग्यो र पुनः पहिलेकै रेल स्टेसनमा फर्काउन भनेँ । मेरो रात त्यहीँको मुसाफिर खानामा जागा बसेरै बित्यो ।

बिहान भएपछि एउटा रिक्सालाई आफू पुग्नु पर्ने ठेगाना भनेर त्यहाँ पुर्‍याउन भनेँ । उनले ‘वही गोरे गोरे बाबुजी रहते हैँ वहीँ तो’ भन्दै रिक्सा कुदाए । मैले न पुष्पलाललाई पहिले कहिले देखेको थिएँ न त पार्टीको कार्यालय नै । त्यसैले ‘हाँ हाँ’ मात्र भनेँ । नभन्दै उनले त ठ्याक्कै पार्टी कार्यालयका अगि नै पुर्‍याए । त्यहाँ पुष्पलाल हुनु हुन्नथ्यो, गोविन्द ज्ञवाली मात्र हुनु हुँदो रहेछ । मैले आफू भेरी अञ्चलबाट आएको अञ्चल सङ्गठन कमिटीको सचिव जनक ‘आगो’ हुँ र पार्टीको सल्लाह अनुसार त्यहाँ आइ पुगेको हुँ भनी सबै बताएँ । त्यति वेला मेरो पार्टीभित्रको टेकनाम जनक ‘आगो’ थियो । मैले खाना खाएको थिइनँ र गोजीमा नगद पनि अत्यन्त कम थियो । त्यसैले पार्टी कार्यालयमै खाना खानु पर्ला भन्ने सोचेको थिएँ । गोविन्द दाइले खाना खान जाऊँ भनेपछि उहाँका पछि लागेँ । एक जना विद्यार्थीले टिनको थालमा केही भात र तरकारी राखि दिनु भएको रहेछ । सोही बाँडेर हामीले खायौँ । कति दुःख गरेर उहाँहरु त्यहाँ बस्नु भएको रहेछ भन्ने मैले नजिकबाट देखेँ । त्यसपछि फेरि हामी पार्टी कार्यालय आयौँ र उहाँले मलाई दरभङ्गाको एउटा धर्मशालामा किसान भेला राखिएको हुँदा त्यहाँ भाग लिन जानु पर्ने कुरा गर्नु भयो । पुष्पलाल त्यसतर्फ गइ सकेको कुरा पनि उहाँले सुनाउनु भयो । मैले उहाँको निर्देशन अनुसार दरभङ्गा जाने रेलको टिकट काटेँ । रातभर रेल चढेपछि भोलिपल्ट दरभङ्गा पुगियो । सङ्केत अनुसार सोधपुछ गर्दै धर्मशाला पहिल्याई त्यहाँ पुगेँ । पुष्पलालसँग त्यहीँ मेरो पहिलो भेट भयो । आफ्ना नेतालाई भेट्न पाउँदा मन हर्षले फुरफुर भयो । सरल पहिरन र बोली व्यवहार देख्ता उहाँप्रतिको श्रद्धा अझ मौलायो । त्यहाँ पार्टीका नेता रोहित तथा साहित्यकारहरु युद्ध प्रसाद मिश्र, मोदनाथ प्रश्रित र बोधराज काफ्ले समेत देशभरका प्रतिनिधिहरु हुनु हुन्थ्यो । भेलामा पुष्पलालले प्रतिवेदन पढ्नु भयो । किसानका देशभरिका समस्या, किसान आन्दोलन आदिबारे उहाँले महत्त्वपूर्ण जानकारी दिनु भयो । पूर्वी पहाडको किपट प्रथा र लुम्बिनीतिरको ओखडा प्रथा मलाई नौला लागे । रौतहट, भक्तपुर र लुम्बिनीका किसान आन्दोलनबारे पनि विशेष जानकारी प्राप्त भयो । क.हरिहर यादवले रौतहटको रे आन्दोलन र क.रोहितले भक्तपुरको साँढे धपाऊ आन्दोलनबारे सुनाउनु भयो । यसरी नै लुम्बिनीका विभिन्न जिल्लामा भएको किसान आन्दोलनको पनि कुरा उठ्यो । मैले पनि आफ्नो क्षेत्रको जानकारी दिएँ । पुष्पलालले सबैका कुरा धैर्यपूर्वक सुन्नु भयो र आवश्यक टिपोट गर्नु भयो । उहाँले नयाँ जनवादी क्रान्ति सम्पन्न भइ छाड्ने अटोट सहित त्यसमा किसान आन्दोलनको विशिष्ट भूमिका रहने र आआफ्ना ठाउँका विशेषता अनुरूप आन्दोलनलाई सशक्त तुल्याउनु पर्ने विचार व्यक्त गर्नु भयो । भेलामा नेता कार्यकर्ता सँगै पराल ओछ्याएको आसनमा बसेको, सबै मिलेर खाना पकाएको र सबैले आआफूले खाएको भाँडा आफै माझि रहेको देख्ता नेता र कार्यकर्ताबिच कुनै दूरी नरहेको अनुभूति भयो ।

पुष्पलाल कविता मन पराउनु हुँदो रहेछ । त्यसैले कार्यक्रमका बिचमा कविताको ढोका पनि त्यहाँ खुल्यो । प्रश्रितले ‘बहादुर, कुत्ताको नहिँ नहलाया ?’, युद्ध प्रसाद मिश्रले ‘को हुन् ठुला को हुन् साना ?’ र बोधराज काफ्लेले ‘ म ब्याउने भएँ’ शीर्षकको कविता सुनाएको म सम्झन्छु । मिश्रले लेखेको ‘मुक्त सुदामा’ पुष्पलाललाई मन पर्ने गरेको बारे पनि त्यहाँ चर्चा भयो । ‘मुक्त सुदामा’मा कृष्ण निर्मित दरबारमा सुदामाले जान नचाहेको वर्णन छ र मिश्रलाई तत्कालीन प्रज्ञा प्रतिष्ठानको लोभ देखाइँदा त्यसप्रति उहाँले देखाएको अनासक्तिसँग यसको तुलना गरिन्छ । यही सम्मेलनमा कवि मिश्रले भेलामा देशभरिको उल्लेख्य सहभागिता हुनु नै क्रान्ति सफल हुनु हो र क्रान्ति सफल भइ सकेको छ भनी हामी सबैमा उत्साह छर्नु भएको थियो । प्रश्रितको कवितामा भारतीय भूमिमा नेपाली कामदारले भोग्नु परेको पीडाको जीवन्त वर्णन थियो भने बोधराजले मुलुकभित्र क्रान्तिले गर्भ धारण गरी बिहाउने वेला भएको विचार व्यक्त गर्नु भएको थियो । मलाई यी कविता आफूले कक्षाकोठामा पढेका कविताभन्दा नितान्त नौला र उपयोगी लागे । आफूले पनि त्यस्तो लेख्नक सके हुन्थ्यो भन्ने हुटहुटी पनि मनमा जाग्यो ।

भेला सकिएपछि म पुनः बनारस फर्केँ । त्यहाँ गोविन्द दाइले भेरी अञ्चलमा पुर्‍याउन पुस्तक र पत्र पत्रिकाको एउटा ठुलै पोका तयार गरि दिनु भएको रहेछ । त्यसलाई मैले कसरी जोखिम बेहोर्दै आफ्ना ठाउँमा पुर्‍याएँ भन्नेबारे कृष्ण प्रसाद पराजुलीको सम्पादनमा प्रकाशित हुने ‘गोधूलि’ मा प्रकाशित गरि सकेको छु । बनारसबाट फर्किन मसँग टिकट काट्ने पैसा पनि थिएन । गोविन्द दाइले नै त्यसको व्यवस्था गरि दिनु भयो र म आफ्नो कार्य क्षेत्रमा पुगेँ ।

यस पटकको बनारस यात्राले मलाई धेरै कुरा सिकाएको थियो । क्रान्तिमा जीवन समर्पण गर्दै अभावका बिच पनि क्रान्तिकारीहरुलाई उत्साह बाँडि रहनु भएका नेता र देशभरिका क्रान्तिकारी साथीहरुका विचारले मेरा आँखा उघारेका थिए । क्रान्तिकारी विचारले युक्त पार्टीका प्रकाशन र विभिन्न पत्र पत्रिकाको कोसेली लिएर म फर्केको थिएँ । आफ्नो अनुभव घुमी घुमी साथीहरुबिच पुर्‍याउन पाएकामा मलाई ठुलो सन्तुष्टिको अनुभव भएको थियो । पोकाभित्रका पुस्तकहरुले पनि साथीहरुका हात हातमा पुगेर चेतनाको बिउ फिँजाउन ठुलो सहयोग पुर्‍याएका थिए ।

दोस्रो पटक म नेता मधु गुरु र नेत्र पन्थीसँग बनारस पुगेको थिएँ । नेत्र पन्थी क. महेशका रूपमा हामीमाझ चिनिनु हुन्थ्यो । त्यतिखेर मलाई पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठकमा भाग लिन बनारस पुर्‍याइएको रहेछ । बनारस पुगेपछि पुष्पलालले एक्लै कोठामा राखेर हाल खबर सोध्‍नु भयो । मैले राजनीतिक मुद्दा लागेर केही साथीहरु जेलमा पर्नु भएको र आफू लगायत केही जना भूमिगत हुनु परेको कुरा सुनाएँ । उहाँले अँगालो हाल्दै एउटै दुःखका सहभागी भएको र आफू पनि बर्सौंदेखि देश बाहिर रहनु परेको कुरा सुनाउनु भयो । मैले साथीहरुले उहाँसँग राख्‍न भन्नु भएका कुरा पनि राखेँ र उहाँबाट महत्त्वपूर्ण सल्लाह प्राप्त गरेँ ।

बैठक बस्यो । रिपोर्टिङका साथै विस्तृत रूपमा छलफल भयो । केही सहभागीहरुद्वारा तुरुन्त सशस्त्र क्रान्तिमा जानु पर्छ भन्दै चर्को बहस सुरु भयो । पुष्पलालले भने ‘नयाँ जनवादी कार्यक्रम’मा उल्लिखित दीर्घकालीन सशस्त्र क्रान्तिकै पक्षमा अडान लिइ रहनु भयो । यसरी नै उहाँमाथि काँग्रेसको पुच्छर भएको आरोप पनि थियो । उहाँ पञ्चायत विरोधी आन्दोलनमा काँग्रेसलाई पनि सँगै हिँडाउन सकिने र काँग्रेसभित्रको वामपन्थी तत्त्व आन्दोलनमा सँगै उत्रिने विश्वासमा हुनु हुन्थ्यो । यो कुरा सबैलाई पचि रहेको थिएन । उहाँमाथिका व्यक्तिगत आरोप पनि सतहमा आउन थाले । पछि मैले थाह पाएँ – झापाको कोअर्डिनेसन केन्द्रले आरम्भ गरेको सशस्त्र क्रान्तिप्रति ठुलै पार्टी पङ्क्ति आकर्षित रहेछ । स्वयम् मधु गुरु र लुम्बिनीका कार्यकर्ताहरुको पङ्क्ति पुष्पलालको आलोचनामा उत्रेको थियो । त्यति वेलाका प्रभावशाली नेता केसर मणिको नेतृत्वमा लुम्बिनीमा भएको आन्दोलन, उहाँ र कैयन् कार्यकर्ताको धरपकड, जेल गमन तथा कैयन् नेता कार्यकर्तामाथिको मुद्दाको असरका कारण पनि खैलाबैला मच्चिएको रहेछ । जतिसुकै वाद विवाद भए पनि पुष्पलाल आफ्नो अडानमा दृढ रहनु भयो । म भने अलमलमा परेँ । एकातिर पुष्पलालप्रतिको श्रद्धा र विश्वास अनि अर्कातिर आफूलाई पार्टी काममा डोर्‍याइ रहनु भएका मधु गुरु । बैठक सकिएपछि म मधु गुरुसँगै काठमाडौँ प्रवेश गरेँ । पथलैयासम्म हरिहर यादव, हिरालाल चौधरी र सिन्धुलीका एक जना गोले थरका साथी पनि सँगै हुनुहुन्थ्यो । अञ्चल सङ्गठन कमिटीले मेरो व्यावहारिक कठिनाइका कारण केही समय छुट्टी दिएकाले पनि म यता लागेको थिएँ । काठमाडौँ आएपछि गुरुले कोअर्डिनेसन केन्द्रका सामग्री पढ्न भन्नु भयो र अखिल नेपाल किसान सङ्घका तर्फबाट पुष्पलालका विरोधमा उहाँले तयार गरेका पर्चा हातले लेख्‍न लगाई वितरण गर्न थाल्नु भयो । मलाई पनि लोककृष्ण भट्टराई सचिव रहेको बाग्मती अञ्चल कमिटीमा रहेर काम गर्ने वातावरण जुराइ दिनु भयो । लोककृष्ण पुष्पलालबाट अत्यन्त प्रभावित हुनु हुन्थ्यो र उहाँ विरुद्धका आक्षेप सबै निराधार हुन् भन्नु हुन्थ्यो । उहाँ पुष्पलालका विरुद्ध गतिविधि गर्नेहरुका कट्टर आलोचक हुनु हुन्थ्यो । मैले गुरुको निर्देशन त पालन गरि रहेको थिएँ तर पुष्पलालप्रतिको भित्री विश्वास भने मनको गहिराइमा सञ्चित गरेको थिएँ । उहाँसँगका दुई पटकका मेरा भेटघाट, उहाँले एक कार्यकर्ताका रूपमा आफूप्रति गरेको सद्‍व्यवहार, नेपाली क्रान्तिका बारेमा उहाँका तर्कपूर्ण र व्यावहारिक व्याख्या, त्यसका लागि गरेका त्याग र समर्पण सबैको गहिरो प्रभाव मभित्र गढेको थियो र त्यो सदा अमिट छ ।
२०७३ वैशाख ९ गते
२००/२६ कुमुद देवकोटा मार्ग, काठमाडौँ