नागपञ्चमीको महत्व
श्रावण शुक्ल पञ्चमीलाई नागपञ्चमी भनिन्छ । पञ्चमी तिथिका अधिष्ठातृ देवता नाग भएका हुँदा त्यस दिन नाग पूजा गर्ने प्रथा चलेको हो । यस विषयमा देवी पुराणमा नाग पूजा गर्नेबारे यस्तो उल्लेख छ, ‘पञ्चम्यां पूजयेन्नगाननन्ताद्यान् महोरगगान् । क्षीरं सर्पिस्तु नैवेद्यं देयं सर्वसुखावहम् ।।’ भविष्यपुराणमा पनि यस्तो उल्लेख छ, ‘श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप । द्वारस्योभयतो लेख्या गोमयेन विषोल्बणाः । पूजयेद् विधिवद् वीर दधिदूर्वांकुुरै कुशैः । गन्धपुष्पोपहारैश्च ब्रहृमणानाञ्च तर्पणैः ।। ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरःसराः । न तेषां सर्पतो वीर भयं भवति कुत्रचित् ।।’

यी श्लोकहरूको र अन्त्यका श्कोकहरूको समेत समग्र भाव नागको नामावली पश्चात् दिइएको छ । मुख्यतया नागहरू आठ छन् । ती हुन् ः(अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकीर्तितः ।। अर्थात् १ अनन्त २ वासुकि ३ पद्म ४ महापद्म ५ तक्षक ६ कुलीर ७ कर्कट र ८ शंख गरी मुख्य ८ नाग मानिए पनि यिनीहरूका अतिरिक्त ऐरावत, धनञ्जय, कालिय, मणिनाग, आपूरण, पिञ्जरक, एलापत्र, वामन, नील, अनिल, कम्बल, अश्वतर, धृतराष्ट्र, कुण्डोदर, महोदर आदि थुप्रै नागका नामहरू भएको कुरा महाभारतमा बताएको छ । यसको आदिपर्व ३५ अध्यायमा हेर्न सकिन्छ ।
यस दिन नागको आकृति लेखेर घरको मूल ढोकामाथि गोबरले टाँसेर त्यसमा सुपारी, दुवो, ॐचन्दन, अक्षता, लावा, अवीर, कुश आदिले पूजा गरी दूध र घ्यू आदिको नैवेद्य चढाउनुपर्छ । कतै कतै घिउको धारा लगाउने पनि चलन छ । साथै ब्राहृमणहरूलाई सिदा दक्षिणा र भोजनहरू गराएर तृप्त गराउनुपर्छ । यसबाट सर्पको भय नहुने, घरमा चट्याङ नपर्ने र घरको सुरक्षा हुने विश्वास पनि गरिन्छ ।
नागको पूजा गर्दा यी मन्त्रहरू पढ्ने गरिन्छ, ‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।। मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्निभयं नास्ति लिखित्वा गृहमण्डले ।। अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकीर्तिताः । सर्पापसर्प भद्रं ते गच्छ सर्प (दूरङ्गच्छ) महाविष । जनमेजयस्य यज्ञान्ते आस्तीकवचनं स्मर ।। असितं चार्तिमन्तं च सुनीथं चापि यः स्मरेत् । दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं भवेत् ।। यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः । भंगो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।’ भनी मनसादेवीको पनि पूजा प्रार्थना गर्ने गरिन्छ ।
यसको मन्त्र ‘आस्तीकस्य मुनेः मातर्जगदानन्दकारिणि । एहृयेहि मनसे देवि नागेश्वरि नमोस्तु ते ।। पाठान्तरमा नागमातर्नमो स्तु ते ।’ पनि भनेको कतै कतै पाइन्छ । नाग स्थानमा वा पानीको मूल भएका स्थानमा पीठाको नागको आकार बनाएर अथवा कपासको नागको आकार बनाएर नागपूजा गर्ने प्रचलन पनि छ । यसबाट पनीको स्रोत सुक्तैन, भन्ने मान्यता छ । ॐ हरये नमः । श्रीकृष्णार्पणमस्तु ।।
हिमालय टाइम्स






