Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

कर्णालीमा छैन जात्राको चहलपहल

सुर्खेत ।
पछिल्लो समयमा कोरोनाको रेडजोनका रुपमा चिनिएको दैलेखमा यस वर्षका वर्षे जात्रा ओझेलमा पर्ने भएका छन् । घण्टाकर्ण चतुर्थी अर्थात गठेमंगलका दिनदेखि सुरु भएर कृष्णाअष्टमीसम्म विभिन्न समयमा लाग्ने वर्षे जात्राहरु विगतका वर्षहरु झँै नहुने भएका हुन् ।


गत वर्षहरुमा साउन कृष्ण चतुर्दशीका दिन अर्थात् घन्टाकर्ण चतुर्दशीदेखि सुरु हुने वर्षे मेला यस वर्ष कोरोनाको कहरको कारण कुनै चहलपहल नै छैन । कर्णाली प्रदेश दैलेख, सुर्खेत, जाजरकोट, जुम्लालगायतका जिल्लाहरुमा साउन महिनामा विभिन्न जात्राहरु मनाउने गरिन्छ । विशेष गरि जिल्लाका सदरमुकामहरुमा नेवार समुदायको वासस्थान रहेका जिल्लाहरुमा वर्षेमेला मनाउने गरिन्छ । परापूर्वकालमा नेवार समुदायले मनाउदै आएको वर्षे मेला यतिखेर अन्य समुदाय तथा जनजातिले पनि मनाउँदै आइरहेको भएपनि यस वर्ष उक्त बर्षे मेलाहरुको चहलपहल देखिएको छैन ।

श्रावण कृष्ण चतुर्दशीको दिन घण्टाकर्ण चर्तुदर्शीका रूपमा पनि मनाइन्छ । गठेँमंगलबाट सुरुवात गरेर लाखेजात्रा, टाकटुकेजात्रा, रोपाइँजात्रा, बाघजात्रा, जोगीजात्रा वर्षे मेलाका मुख्य जात्रा हुन् । नरभक्षी घन्टासुरको मृत्यु स्मरण गर्दै गठेँमंगल मनाइँदै आइएको हो ।
यसैग्रि गठेँमंगलको दिनदेखि जनै–पूर्णिमाको दिनसम्म निरन्तर लाखेजात्रा निकाल्ने चलन रहँदै आएको छ । जनै धारण गरिसकेपछि टाकटुके निकाल्ने परम्परा रहेको छ । टाकटुके जात्रामा डोकोमा बाँसको चोया बाँधेर बाँसको टुप्पोमा चवँरसहित मुकुन्डो र कपडाले मानव आकृति बनाइन्छ । चार दिशामा बाँधिएका सारीको फेरो समाउँदै आकर्षक पोशाकमा सजिएका युवा बाँसुरीको तालमा नाच्ने गर्छन् ।
भाद्र कृष्ण प्रतिपदाको दिनलाई गाईजात्रा पर्वका रूपमा मनाउने गरिन्छ । गाईको पुच्छर समातेर वैतर्णी तरिन्छ र मोक्ष प्राप्त हुन्छ भन्ने हिन्दु मान्यताअनुरुप गाईजात्रा मनाउने प्रचलन रहिआएको छ । साथै मृत्यु भएका आफन्तको सम्झनामा आत्माको शान्तिको कामना गर्दै दानदक्षिणा दिने परम्परा पनि रहिआएको छ ।

यसैगरि दैलेखमा रोपाइँ जात्रा समेत मनाईन्छ । जात्रामा सिँगारिएकाहरुले स्याकु, छाता, रोपार÷रोपार्नी रोपाइँको बेलामा गाइने गीतसँगै प्रस्तुत हुन्छन् । यसैगरि बाघ र भालुको अभिनय गरेर जंगलको राजा बाघको सम्झना गर्ने गरिन्छ । बाघ र भालुको भेषमा किसानले लगाएको बाली चोर्ने र मेला भर्न आउनेलाई तर्साउने सताउने गर्नु यस जात्राको मुख्य आकर्षण हो । गेरुवा, कपडा, दिगम्बर लगाउँदै चिम्टा, त्रिशुल र कमन्डलु भिरेर जोगीको भेषधारण गर्ने गरिन्छ । मेलामा मानिसको गृहस्थपछिको वानप्रस्थ र संन्यास जीवनको चित्रण गर्नु धार्मिक मान्यता रहिआएको छ ।

वर्षे जात्राहरुको महत्वपूर्ण जात्राको रुपमा रहेको लाखे जात्रा हो । मध्यरातमा मथुरामा भगवान श्रीकृष्णको जन्म भएको मान्यता रहदै आएको छ । सप्तमीको रात मन्दिरमा कृष्ण जन्माउने प्रचलन रहेको छ । यस रात भक्तजन उपवास बस्ने, भजन–कीर्तन गर्ने तथा पूजा गर्ने गर्छन् । सप्तमीको मध्यरातपछि अष्ठमीका दिन लाखे (कंशको प्रतिक) र कृष्णसहितको कृष्णलीला प्रस्तुत गर्ने चलन छ । कृष्णलीलामा भगवान कृष्णको तरबारबाट लाखेको मृत्यु हुन्छ । लाखेको टाउकोलाई रथमा राखेर भजन–कीर्तन गर्दै भक्तजन मन्दिर परिक्रमा गर्दै वर्षाको समयमा लगाइएको खेतीको (मकै, भट्ट जस्ता अनाज) न्वागी चढाउने गर्छन् ।