टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ ।
गत महिना भारतले प्रतिबन्ध लगाएसँगै टिकटक आलोचनाको सिकार हुँदै आएको छ । अमेरिकाले समेत टिकटकमाथि बन्देज लगाउने तयारी गरिरहेको बताइएको छ । त्यस्तै अष्ट्रेलिया सरकारले समेत टिकटकमाथि कडा कदम चाल्ने सम्भावना रहेको बताइन्छ ।
उता टिकटकले भने प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने दाबी खारेज गर्दै आउको छ । अहिले सम्म चीन सरकारले प्रयोगकर्ताका डाटा उपलब्ध गराउन आग्रह नगरेको र आग्रह गरिहाले पनि उपलब्ध नगराइने टिकटकले स्पष्ट पारिसकेको छ ।







