महामारीबीच परदेशबाट तिजको शुभकामना सन्देश !
घुमीफिरी फेरि पनि तिज हाम्रो घर–आँगनमा आइपुगेको छ । देश–विदेशमा सबैतिर एक किसिमको छुट्टै रमाइलो वातावरणका साथ हरितालिका तिज आउने गर्दछ । तर, यस वर्षको तिजको अलिक फरक परिवेश छ ।

संसारभर फैलिएको कोरोना भाइरसको महामारीले हामी सबै आक्रान्त बनेका छौँ । स्वभाविक हो कि यतिबेला आर्थिक जीवन पनि कष्टकर बाटो हिँड्न विवश छ । सामान्य जनजीवन पनि मुस्किलमा परेको छ भने कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पनि बढेको बढ्यै छ । प्रथमतः यस महामारीको कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै प्रभावित हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, आधारभूत स्वास्थ्य मापदण्डको प्रयोग गरी यस महामारीबाट आफू बाँच्न र अरुलाई पनि बचाउन सक्दो सहयोग गर्नु मानवीय धर्म भएकाले सबैलाई यस कार्यमा सरिक हुन अपिल गर्दै २०७७ को हरितालिका तिजको हार्दिक शुभकामना भन्न चाहन्छु ।
हरितालिका अर्थात् तिज परापूर्वक कालदेखि नै प्रचलनमा आएको र यसको आरम्भ कुन समयदेखि भयो भन्न कठिन छ । तथापि यो निकै लामो समयदेखिको नेपाली समाजको एक सांस्कृतिक पर्व हो भन्नेमा संस्कृतिविद्हरूले जोड दिएका पाइन्छ । जब मातृसत्ता समाजबाट पितृसत्तात्मक समाजमा समाजको प्रवेश भयो त्यसयता महिलामाथि क्रमशः भेदभावको व्यवहार सुरुवात भयो र निश्चित कालखण्डपछि त्यो बढेर गई महिला र पुरुषको बीचमा व्यापक खाडल बन्यो, असमानताहरू बढेर गए । सामाजिक चेतना अत्यन्त कमजोर र धरातल सामन्तवादी भएकाले यस खालको असमानता बढ्नु स्वभाविक थियो । यो असमानताको खाडलको प्रत्यक्ष उदाहरण हाम्रो जस्तो पछौटे समाजमा बढि पर्नु स्वभाविक थियो ।
छोरीलाई अंशको हकदार नबनाउने, शिक्षाबाट बञ्चित गर्ने, अर्काको घरमा जाने सन्तानको रूपमा मात्र हर्ने, छोरी जन्मनुलाई बोझको रूपमा लिने र जतिसक्दो छिट्टै अर्काको नासो बुझाइदिन पाए हुन्थ्यो भन्ने मानसिकताले चाँडो विवाह गरी पठाइदिने जस्ता पुरातनवादी सोचहरू समाजमा विद्यमान रहे । भिन्दै समाज परिवेशका बीचमा आफ्ना पीडाहरूलाई अभिव्यक्त गर्ने र उकुसमुकुसको वातावरणबाट मुक्त हुने मनसायबाट तिजका अवसरमा गीत गाएर मनको वह पोख्ने प्रचलन चल्दै आएको छ । माइतीबाट टाढा विवाह गरिी दिएकी चेलीलाई घरको सासुको व्यवहारलाई पनि गीतको माध्यमबाट अभिव्यक्त गर्ने अवसरको रूपमा यस पर्वलाई हेरिन्छ ।
हिजोको दुर्गम परिवेश यातायात र सञ्चारको अभावमा चेली र माइतीको बीचमा भेटघाट गर्ने एक वार्षिक अवसरको रूपमा पनि यस पर्वलाई बुझ्न सकिन्छ । साथै पारिवारिक जमघट हुने, सुख–दुःखका कुरा गर्ने, मिठो–मसिनो खाने, आफ्नो पतिको दीर्घायु र प्रगतिको लागि ब्रत बस्ने जस्ता प्रचलनहरू पनि यस पर्वमा गरिन्छ । तर यस महान् पर्वका रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।
तिज उत्सव मनाउने क्रमसँगै केही असङ्गत विकृतिहरूमा पनि वृद्धि हुँदै गएको छ । अनावश्यक पोशाकको प्रदर्शन, गरगहनाको खरिद र प्रतिस्पर्धा, अनावश्यक आर्थिक बोझ र आर्थिक हैसियतको दम्भ जस्ता नकारात्मक कुराहरूको विकास बढ्दो छ । तिजमा दर खाने नाममा महिनौँसम्म रेस्टुरेन्ट र भोजघर (पार्टी प्यालेस)हरूको बुकिङ र जमघटले सामाजिक जीवनशैली भड्किलो बनिरहेको यथार्थ हाम्रोसामु छ । अरु अस्वस्थकर खानाको प्रयोगसँगै आधुनिकताको नाममा नसालु पेय पदार्थको प्रयोगले सामाजिक तथा पारिवारिक संरचनामा बाहिरी नकारात्मक प्रभाव पार्न सक्ने निश्चित छ ।
तिजमा सार्वजनिक गरिने गीत–संगीत प्रस्तुतिहरूमा देखिने पश्चिमा संस्कृतिको भड्किलो प्रयोग र कतिपय अपाच्य शब्दहरूको चयनले तिजको सुमधुर सांस्कृतिक मान्यताको महत्वमाथि प्रहार गरेको देखिन्छ । समय परिस्थितिसँगै सामाजिक मान्यताहरू पनि थोरै परिमार्जित हुँदै जान्छन्, जसलाई स्वभाविक मान्न सकिन्छ । तिज पर्वमा पनि हिजोको विज्ञान र प्रविधिमा आएको युगान्तकारी परिवर्तनले हिजोको असहजताहरू सहजतामा परिवर्तन भएका छन् । हिजोका दुर्गम भनिएका क्षेत्रहरू आज सहज पहुँचमा छन् । टेलिफोन, मोबाइल फोन र अन्य सामाजिक सञ्जालको प्रयोगबाट हरेक घण्टा आफ्नो परिवार र इष्टमित्रको बारेमा दिल खोलेर घण्टौँ कुरा गर्न सकिन्छ । दुःख–सुख र खुशी आदि साट्न हप्तौँ या महिनौँ कुर्नुपर्ने दिनको अन्त्य भएको छ । विश्वव्यापी चेतनाको लहरले शिक्षा क्षेत्रमा समेत ठूलो परिवर्तन भएको छ । हिजोको पुरातनवादी मान्यता भत्किँदै छ । महिलाहरूको सामाजिक पारिवारिक हैसियतमा काफी परिवर्तन भएको छ । घर–माइतीमा कमै भिन्नता महसुस गर्न सकिन्छ ।
विज्ञान र प्रविधिको जतिसुकै विकास भए तापनि असल सांस्कृतिक मान्यताहरूको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । तिज पर्वमा गरिने कतिपय कर्महरू पुरातनवादी र भेदभावमुखी छन्, जसलाई विस्तारै परिमार्जन गर्न सकिन्छ । माइती–चेली सम्बन्ध, खुशीयाली र दुःखको साँटासाँट, पारिवारिक पूनर्मिलन र सांगीतिक माहोलमा दिल खोलेर हाँस्ने पाउनु पक्कै पनि रमाइलो विषय हो । भड्किलोपन, विकृतिउन्मुख शैली र सामाजिक रूपमा गलत सन्देश जाने क्रियाकलापमा चाहिँ नियन्त्रण गर्नु जरुरी छ । तसर्थ, सफा मन लिएर चाडपर्वलाई भव्य र सभ्य तरिकाले मनाउँ । परदेशमा बसेर पनि आफ्नो संस्कार र संस्कृतिको जगर्ना गरौँ । फेरि पनि सबै आमा, दिदी–बहिनीहरूमा हरितालिका तिज २०७७ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । घटना र विचारबाट






