यस्तो बन्यो अद्यावधिक नक्सासहित संसदको लोगो
काठमाडौं ।
संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरे ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।
प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए ।
स्रोत : अनलाइन खबर






