Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

म, मेरो रङ्गमञ्च र आगत, विगत

‘समृध्द नेपाल र सुखी नेपाली’ भन्ने नारा सहित रारा राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको पनि झण्डै डेढ वर्ष वित्न थालेछ । २०७५ फागुन २३ गते देखि २९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा इतिहासमै पहिलो पटक राष्ट्रिय नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको थियो ।


सांस्कृतिक संस्थान काठमाण्डौको मूल आयोजना तथा आरङ्ग नेपाल सुर्खेतको स्थानीय आयोजना तथा कर्णाली प्रदेश सरकारको संरक्षकत्व र स्थानीय पालिकाहरुको मनग्य सहयोग तथा स्थानीय सास्कृतिक संघसस्थाहरुको सहभागितामा एक हप्तासम्म सञ्चालन भएको सो नाटक महोत्सवमा पूर्वमा इलामदेखि सुदुरपश्चिमको कैलालीसम्मका केहि नयाँ, केहि पुराना, केहि पाका र केहि सिकारु रङ्गकर्मीहरुको उत्साहजनक सहभागिता भयो । परम्परागत होस् कि आधुनिक, पूर्वीय भनौ अथवा पाश्चात्य अनि शास्त्रीय र लोक सबै खालका नाटकहरु प्रस्तुत गरिए । प्रा.डा.अभि सुवेदी, डा.सावित्री कक्षपति, डा.कान्छीमाया महर्जन, डा.अशोक थापा, प्रविण पुमा, रमेश रञ्जन झा लगायतका मुर्धन्य नाट्य समिक्षकहरुबाट नियमित रुपमा नेपाली रंगमञ्चका विविध पाटाहरुमा नाट्य विमर्स कार्यक्रम चलिरह्यो । अनुप बराल, वीरेन्द्र हमाल तथा राजन खतिवडा जस्ता स्वनामधन्य प्रशिक्षकहरुबाट कार्यशाला गोष्ठीहरु सञ्चालन भइरहे ।

त्यस्तो खालको महोत्सव आयोजना गर्न उपयुक्त हुने प्रेक्षागृह नहुँदा नहँुदै सुविधा सम्पन्न नाट्यघरको सख्त अभावमा टेण्ट लगाएर भए पनि हामीलाई नाटक महोत्सव सम्पन्न गर्नु थियो । जिल्ला ब्याडमिन्टन संघ र जिल्ला प्रहरी कार्यालयको सदासयतापूर्ण सहयोग रहेपनि नाटक महोत्सवको महत्व र गरिमालाई नबुझेका केहि ब्याडमिन्टन खेलाडीहरु तथा जि.प्र.का. भित्रैका केहि लाल बुझक्कडहरुले तेस्र्याएका प्रसस्त बाधा व्यवधानहरुलाई छिचोल्दै जिल्ला प्रहरी कार्यालयको परिसर भित्र रहेको ब्याडमिन्टन खेल्ने हललाई नाटकघरको रुपमा परिणत गरिएको थियो । यसमा तात्कालिन प्रदेश प्रहरी प्रमुख कथाकार महेशविक्रम शाह लगायतका केहि शुभचिन्तकहरुको रचनात्मक सहयोग रहेको थियो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलज्यूबाट उदघाटन भएको नाटक महोत्सवमा प्रत्येक दिन दुईवटा नाटक प्रस्तुत गरिएको थियो । नाटक महोत्सवमा सातै दिन दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । कर्णाली प्रदेशका प्रदेश प्रमूखज्यु, मूख्यमन्त्रीज्यु लगाएत प्रदेश सरकारका सबै मन्त्रीज्युहरु तथा प्रदेश सरकारका उच्च पदस्थ व्यक्तित्व तथा कर्मचारीहरु साहित्यकार कलाकारहरुको प्रत्येक शोमा दर्शकको रुपमा उत्साहजन उपस्थिति रहयो ।

यसरी भारी उत्साह र उमङ्गका साथ सम्पन्न भएको रारा राष्ट्रिय नाटक महोत्सवको समापनको दिनमा समापन भाषण गर्दै सामाजिक विकास मन्त्री श्री दल रावलज्यूले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश सरकारले एक सुविधा सम्पन्न नाटकघर निर्माण गर्नेछ भन्ने वचनवद्धता दिनुभएको थियो । वास्तवमा उहाँको यहि वचनवद्धताले नै हाम्रो यो महायज्ञ एकहदसम्म सफल भएको महशुस हामीले गरेका थियौ ।

वास्तवमा यो नाटक महोत्सव गरेर हाम्रो सरकारलाई यस क्ष्ोत्रमा भएको नाटकघरको अभावको महसुस गराउनु नै हाम्रो प्रमुख ध्येय थियो । मन्त्रीज्युले नाटकघर निर्माणको वचनवद्धता दिएसँगै हामी हर्षले गद्गद् भएका थियौ र सुर्खेतमा सुविधा सम्पन्न नाटकघरमा नियमित कर्णालीका नाटकहरु मञ्चन भइरहेको र देश विदेशका दर्शकहरु यहाँको संस्कृतिको अवलोकन गर्न ओइरो लागिरहेको कल्पनामा हराएका थियौ ।

वीरेन्द्रनगर नगरपालिकाले भवन निर्माणका लागि जग्गा दिने प्रतिवद्धता गरे पछि प्रदेश सरकारले आफ्नो वार्षिक कार्यक्रममा रु. दश लाख रकम छुट्याएको छ भन्ने सुन्नमा आयो र हामी अव कहिले सरकारले निर्माण कार्य शूरु गर्छ ? सो निर्माण कार्यका लागि हामी को कसलाई के कस्तो जिम्मेवारी तोक्छ भनेर सामाजिक विकास मन्त्रालय तर्फ कान तेस्र्याइरह्यौ । तर त्यताबाट त्यस्तो कुनै आवाज आएन । आखिर आर्थिक वर्ष नै समाप्त भयो ।

कर्णालीका रंगकर्मीहरुमा एकाएक पलाएको उत्साह र हौसलामा हठात् तुषारापात हुन पुग्यो । यस कुराले मेरो मनमा एक प्रकारको घोर निरासा छायो र एक किसिमले अव यस क्षेत्रबाट सन्यास लिने सम्मका विचारहरु उर्लन थाले । मैले आज भन्दा चार दशक अघि रंगकर्म सूरु गर्दा कर्णालीको रंगमञ्च जस्तो थियो आज पनि त्यहि अवस्थामा छ । चलचित्रको पर्दामा घटनाक्रम सररर पछाडी फर्कदै गए जस्तै म आफ्नो रंगयात्रामा पछाडी फर्कदै जान थाले :
“संसार रङ्गमञ्च हो,मानिस एउटा पात्र हो र भगवान यसको निर्देशक हो ।”

यो विश्व नाट्य सम्राट शेक्सपियरको भनाइ हो । नाट्यकर्मको एउटा विद्यार्थी भएको नाताले मलाई पनि के लाग्ने गर्छ भने जसरी मान्छेको जिन्दगी एउटा नाटक हो त्यसरी नै नाटक पनि एउटा जीवन हो । नत्र किन एउटा जीवनको पात्र अजम्वरी बन्न सक्दैन तर नाटकको एउटा पात्र अजम्वरी बनिदिन्छ † अर्थाभ्यासी आजको व्यस्त मान्छेलाई यो कुरा नपच्ला तर हो त त्यही नै । मान्छे जन्मन्छ र मर्छ , जीवनदेखि मृत्यूको यस अभिनय यात्रामा मानिसले विविध भूमिकाहरुको निर्वाह गर्ने गर्छ । भनिन्छ मानिसले जन्म लिए पछि यस धराधाममा बाचुन्जेल उसले हरेक कुरा अभिनयको माध्यम बाटै सिक्दै जान्छ ।

मानिसले जन्म देखि नै जे पनि गतिविधि गर्छ संघर्ष गर्छ त्यो कुनै न कुनै रुपमा आनन्द र सुख प्राप्तीकै उद्देश्यले अभिप्रेरित भएर गर्ने गर्छ । यसैको एक उत्कृष्ट प्राप्ती साहित्य र कला हो । पूर्वीय र पौरस्त्य सभ्यतालाई अध्ययन गर्दा नाटक एउटा यस्तो प्राप्ती हो जसमा मान्छेको सिङ्गो जीवन ससक्त रुपमा प्रतिविम्बित हुने गर्छ । जीवन अनि सभ्यताको विकासक्रमलाई नियाल्दा संसारमा विविध शैली र दर्शनमा आधारित नाटकहरु लेखिएका र खेलिएका देख्न सकिन्छ ।

जीवनरुपी नाटकको यस अभिनय यात्रामा म पनि कसरी नाटकरुपी जीवनको पात्र बन्न पुगे ,आज यस यात्रालाई फर्केर हेर्न मन लागेको छ । हुन त यस विशाल अनि अथाह रंगयात्राहरुको झुण्डमा मेरो रंगकर्म त्यस्तो कुनै अर्थ राखिहाल्ने खालको होला र ? तर पनि यहा आज म आफ्नो रंगयात्रालाई खोतल्ने जमर्काे गर्दै छु । पारखी पाठक महोदयहरुले यसलाई अभिरुची पूर्वक अध्ययन गरिदिनु भयो भने आफूलाई कुनै न कुनै रुपमा सफल भएको ठान्ने छु ।

सायद अभिनय गुण भनेको प्रत्यक मानिसमा जन्म देखि नै अन्तर्निहित भएर आउछ त्यो कसैमा कलाको रुपमा प्रस्फुटित हुन्छ भने कसैमा सुसुप्त अवस्थामा रहिरहन्छ ,ममा पनि त्यो अभिनय गुण सानै देखि प्रस्फुटित हुदै आएको हो । शैशवकालमा खेल्दा समेत मैले अरु मानिसको विभिन्न भावहरुको नक्कल गरेर अरुलाई मनोरञ्जन प्रदान गर्ने गर्थे । पछि स्कुल पढ्दा त्यो गुण र क्षमता अलि बढी प्रखर हुदै जान थाल्यो । १०÷१२ बर्षको उमेरमा मैले आफ्नै नेतृत्वमा साना साना हास्य नाटकहरु तयार गरेर नाच र गितहरु समेत समावेश गरी एउटा खाली घरको छिडीमा स्टेज निर्माण गरी टिकट सोमा एउटा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको थिए । रु.२ को टिकटदर रहेको त्यस कार्यक्रममा मैले आफैले टाइपराइटरमा टाइप गरेर सायद करिव १०० को हाराहारीमा टिकट छापेको थिए त्यो सबै टिकट विक्रि भएर हाउसफूल भएको थियो र हाम्रो कार्यक्रम अत्यधिक सफल भएको थियो । हुन त म आत्माबल कमजोर भएको अन्तरमुखी स्वभावको मान्छे हँुु तर विद्यालयमा हुने कार्यक्रमहरुमा म केहि न केहि गरिरहन्थे । २०३८ सालमा हाम्रो गाउमा रहेको एउटा क्लवले गरेको नाटकमा मैले केटीको भुमिका निर्वाह गरेको थिए । आजसम्म सुर्खेतमा एउटा सामान्य सुविधा सम्पन्न रंगमञ्च बन्न सकेको छैन भने त्यतिखेरको अवस्था कस्तो हुँदो हो † पेट्रोलमेक्स बालेर नाटक गरिन्थ्यो । नाटकलाई विभिन्न अंकहरुमा विभाजन गरिएको हुन्थ्यो । हुन त सेटिङ्ग त्यस्तो केहि पनि हुदैनथ्यो सामान्य पपर्टीको सम्म उपयोग गरिएको हुन्थ्यो । तर पनि दृश्य परिबर्तनमा सहजता होस भन्ने हेतुले दृश्य परिवर्तनको बीचमा कुनै गित अथवा नाच वा कमिक राखिन्थ्यो जो नाटकको प्रसंगसंग मिल्दो पनि हुन सक्थ्यो अथवा नमिल्दो पनि हुन सक्थ्यो । नाटकका कतिपय पात्रहरुले समेत नाटकको कथा र विषयवस्तु नबुझेका पनि हुन्थे ।

हुन त सुर्खेतको रंगमञ्चको इतिहास करिव एक शताव्दी पुरानो छ । सुरुवाती अवश्थामा गरिने रामायण र महाभारतका नाटकहरुमा समेत विभिन्न खाले पर्दाहरुको प्रयोग हुने गरेको बुझिन आएको छ । तर मैले नाटक सुरु गर्दा न त्यहाँ कुनै पर्दाको व्यवस्था थियो न त ध्वनी र प्रकाशको व्यवस्था । पात्रले चरित्र सुहाउदो पोषाक लगाएको हुन्थ्यो अनि उपलब्ध भएसम्म सामान्य केहि पपर्टीको उपयोग हुन्थ्यो र उ आफ्नो पालोमा स्टेजमा आउथ्यो अनि याद भएसम्म घोकेको सम्वाद बोल्थ्यो र जान्थ्यो न त्यहाँ कसैले मुभमेन्टको बारेमा सम्झाउथ्यो न त सम्वादको फिलिङ्ग अनि उतार चढाव । निर्देशकले के सिकाउथे त्यो मलाई याद छैन ।

काठमाण्डौ पढ्ने क्रममा २०४५ सालमा साथी सूर्य बोहोरासंग विभिन्न क्याम्पसमा नाटक गर्दा गर्दे त्रि.वि.मा रहेका अडिटोरियम मैले पहिलो पटक देखेको थिए । मैल नाटक गर्नका लागि निर्माण गरिएको प्रेक्षागृह पहिलो पटक देखेको त्यहि नै हो जहाँ पछाडीको दर्शकलाई नछेकिने गरी बस्ने व्यवस्था गरी पछाडी तिर अग्लो बनाउदै लगेको प्रेक्षालय हुन्छ भने ठूलो रंगमञ्चमा विभिन्न खालका पर्दाहरु टङ्गीएका हुन्छन् र दाया बाया दुबैतिरबाट बाहिर जान मिल्ने द्वारको व्यवस्था गरिएको हुन्छ । अनि दुबै तिर कलाकारको भेषभुषा कक्ष अनि श्रृंगार कक्ष समेत हुन्छ । रंगमञ्चमा बाहिरको प्रकाश नछिर्ने गरी अध्यारो बनाइएको हुन्छ ।

म काठमाण्डौ पढ्न जानु भन्दा अगाडी नाटक मालतीमङ्गलेको अत्याधिक चर्चा चलेको थियो, काठमाण्डौ गएर आउने मान्छेहरुले गरेको नाटकको कथावस्तुको बयान संगसंगै त्यसमा गरिएको प्रविधि र रंगसज्जाको चर्चा सुनेर म त्यतिखेर चकित खाएको थिए । स्टेजमा देखाइएको गाउँघर खोला नाला,रात परेको, जुन तारा लागेको, पानी परेको, आकाशमा बादल मडारिएको विजुली चम्केको आदिको बयानले म मन्त्रमुग्ध मात्र हैन चकित परेको थिए र मलाई त्यो कुरा पत्याउन बडो गाह्रो परेको थियो ।

२०४६ सालमा नेपाल एकेडेमीले आयोजना गर्ने १ वर्षे अभिनय कक्षामा प्रवेश पाए पछि त्यहाँ रहेको प्रविधि र सुविधा सम्पन्न नेपालकै सबैभन्दा ठूलो रंगमञ्चमा खेल्ने अवसर पाइयो । मेरो मनमा गहिरो प्रभाव पारेको मालती मंगले नाटकका नायक नायिका हरि बहादुर थापा र लक्ष्मी श्रेष्ठ अनि निर्देशक बसन्त श्रेष्ठ ,लेखक माधव प्रसाद घिमिरे संगित निर्देशक अम्वर गुरुङ्ग लगायतलाई पनि दैनिक त्यही भेटियो किनभने उहाँहरु सबै जना त्यतिखेर त्यही जागिरे हुनुहुन्थ्यो । त्यहाँ १ वर्ष सम्म प्रशिक्षार्थी कलाकारको रुपमा रहँदा आदरणीय गुरुहरु हरिहर शर्मा, शकुन्तला शर्मा, प्रचण्ड मल्ल, तीर्थ शेरचन जस्ता नेपालका नाटक र रंगमंचका हस्तीहरुसंगको सामिप्यमा नाटक र रंगमंच के हो भन्ने विषयमा ज्ञान हासिल गरियो भने राष्ट्रिय नाचघर र नेपाल एकेडेमी अनि राष्ट्रिय शभागृह जस्ता सुविधा सम्पन्न रंगमञ्चहरुमा अभिनय गर्ने अवसर पाइयो ।

पछि सुर्खेतमा २०४८ सालमा सडक नाटकको प्रदर्शनको सुत्रपात गर्दै मेरो रंगयात्रा जोडिएको हो । विभिन्न संघ संस्थाहरुको आयोजना मा विभिन्न खाले स्टेज नाटकहरु त्यतिखेर प्रदर्शन गरियो पछि हामीले बागिना समूह स्थापना गरे पछि सडक नाटक र मञ्च नाटकको प्रशिक्षण प्रदर्शन प्रतियोगिताहरु हामीले सञ्चालन गरी रह्यौ । अनगिन्ति सडक नाटक र स्टेज नाटकहरु हामीले ग¥यौ ।

रहरले भनौ अथवा करले भनौ सुर्खेत लगायत मुलकका विभिन्न स्थानहरुमा हामीले नाटक गर्दा सधै अभावको सामना गर्नु प¥यो खुला दिलले ढुक्क संग कहिल्यै नाटक गर्न पाइएन । २०५२ साल देखि मेरो नेतृत्वमा राष्«िटय नाटक महोत्सवमा सुर्खेतको सहभागिता हुन थाले पछि एक प्रकारले सुर्खेतको रंगकर्मीको पछिल्ला पुस्ताले सुर्खेतमा नभए पनि काठमाण्डौ पुगेर प्रविधि र सुविधा सम्पन्न रंगमञ्चको अनुभव संगाल्न पाएँ । तर अन्तर्राष्ट्रियस्तरका रंगयात्रा भने केवल काठमाण्डौका रंगकर्मीहरुको चंगुलमा रह्यो हामीले गर्न पाएनौ ।

काठमाण्डौ भन्दा बाहिर नाटक गर्दा हाम्रो अनुभवले के भन्छ भने जहिले पनि हामीले केवल गर्जाे टार्नका लागि मात्र रंगकर्म गर्ने ग¥यौ । त्यस्तो अवस्थामा पनि २०५४ सालमा सांस्कृतिक संस्थानसगको सहकार्यमा नेपालको इतिहासकै ठूलो नाटक प्रतियोगिता हामीले सुर्खेतमा सम्पन्न ग¥यौ ।

ढुक्कसंग खुलेर नाटकलाई नै जीवन ठानेर कहिल्यै नाटक गर्न पाइएन । यसो हुनुको कारणहरु के के हुन भने एक त सुविधा सम्पन्न रंगमञ्चको हाहाकार अर्काे कलाकारको मूल पेशा अर्कै हुनु कलाकारिताले जिविकोपार्जन नहुनु । रंगकर्ममा लागेर भविष्य सुरक्षित नदेखिनु लगायतका थुप्रै कारणहरुले काठमाण्डौ बाहिरको रंगमञ्च मृत प्रायः छ । जीवन नाटक जस्तो भए पनि नाटक चाहि जीबन जस्तो बन्न नसकिरहेको अवस्था हो यो ।

जे जसरी भए पनि आखिर रंगमञ्चमा लागेर झण्डै चार दशक बिताइएछ । यो पनि एउटा लामै समयावधि हो । मूल पेशा अरुनै भए पनि मनको पेशा त रंगकर्म नै हो । आफूलाई सरकारी कर्मचारी भन्न मन लाग्दैन कलाकार नै भन्न मन लाग्छ । आफुले रंगकर्मको क्षेत्रमा गरौला भनेर सोचेका अनगिन्ति कामहरु मनको मनमै साचिएका छन् । खै के मा हो के मा अल्झिए झै भएको छ । अवत समय पनि ओरालो लाग्ने बेला भइसक्यो ।

आज भोलि काठमाण्डौमा रंगमंच केही मौलाए जस्तो देखिए पनि बाहिर भने सुस्ताएकै छ सुर्खेतको रंगमंच पनि सुस्ताएकै छ । देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । आज देश संघीयतामा छ । स्थानीय सरकारहरु छन् । प्रदेश सरकारहरु छन् संघीय सरकार छ । सबै क्षेत्रको समानुपातिक विकासका नाराहरु घन्काइन्छ । तर किन आफ्नो कला संस्कृति र मौलिक पहिचानको पाटोलाई उपेक्षा गरिन्छ ? कर्णाली प्रदेशमा सास्कृतिक प्रतिष्ठान कहिले गठन हुन्छ ? नाटकघरको जग कहिले खनिन्छ ? बस् आजलाई यत्ति ।