Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

कर्णालीमा पत्रकार महिलाका चुनौती

नेपालको कुल जनसंख्याको ५१ प्रतिशतभन्दा बढी महिला भएपनि राज्यका अन्य निकाय जस्तै पत्रकारिता क्षेत्रमा पुरुषको तुलनामा महिलाको उपस्थिति न्यून छ । नेपालमा रेडियो, टेलिभिजनको विकाससँगै महिला पत्रकारको सहभागिता बढेपनि महिला पत्रकारको दोहोरो/तेहेरो जिम्मेवारीबाट मुक्त हुन सकेका छैनन् । पेशागत जिम्मेवारीसँगै घरेलु श्रममा पनि त्यत्तिकै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । महिला पत्रकारले प्रजनन् भूमिका निर्वाह गर्दा पत्रकारिता पेशा त्याग्नुपर्ने वाध्यात्मक अवस्था आउने गरेको छ ।


त्यसमापनि महिला पत्रकारको जति नै क्षमता भएपनि सहकर्मी पुरुषको तुलनामा न्यून पारिश्रमिक दिने गरेको पाइन्छ । कमै मात्र महिला पत्रकारले परिवारबाट पत्रकारितामा लागिरहन सहयोग र उत्प्रेरणा पाउने अवस्था छ । राज्यका अन्य निकायमा झै राष्ट्रको चौथो अंग पत्रकारिता क्षेत्रमा समेत न्यून रहेको तथ्यांकहरुले देखाउंछ । एक त महिला पत्रकारलाई यस क्षेत्रमा रहरकै रुपमा मात्र प्रवेश गरेको उदाहरण पनि पाईन्छ भने यस क्षेत्रलाई नै पेशा बनाउंछु भन्ने मानसिकता सहित प्रवेश गरेका महिला पत्रकारलाई टिकाउन र विकाउनकै पनि थुप्रै समस्या छन् ।

कर्णाली प्रदेशमा पनि पुरुषको तुलनामा पत्रकार महिलाको उपस्थित न्यून छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको तथ्यांक अनुसार महासंघमा आवद्ध आठ सय चार जना पत्रकारमध्ये एक सय १३ जना पत्रकार महिलाको संख्या रहेको छ । यही तथ्यांकबाट पनि पत्रकार महिलाको उपस्थिति प्रष्ट हुन्छ ।

एक त महिला पत्रकारको दोहोरो÷तेहरो घरदेखि पेशागत जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता त्यस माथि समाजले पत्रकारिताको मर्म, धर्म र कार्यगत प्रकृति नबुभ्mनाले महिला पत्रकारलाई हेर्ने दृष्टिकोणकै कारण पनि यस क्षेत्रमा महिला पत्रकारहरु व्यावसायिक रुपमा टिक्न सकिरहेको अवस्था छैन ।

विहे अगाडी राम्रो व्यावसायिक पत्रकारिता गरिरहेका महिलाहरु पनि विहे पश्चात पलायन हुनुपर्ने अवस्था छ । त्यस्तै महिला पत्रकारहरु सुत्केरी पछि र अघिका शारीरिक तथा मानसिक अवस्थाका कारण र बच्चा जन्मिएपछि हेरचाहकै समस्याका कारण पनि पत्रकारिता छोड्नु पर्ने बाध्यतामा छन् ।

कर्णाली यहाँको भाषा, संस्कृति र भेषभुषाको खानी हो । यहाँका महिलाको पनि आफ्नै खालको रितिरिवाज, बोलिचाली र संस्कृति रहेको छ । त्यसैले उनीहरु पनि आफ्नै भेषभुषा र संस्कृति भएका महिलाहरुसँग जति खुलेर आफ्ना पीडा पोख्छन् सोही अनुसार अरुसँग सक्दैनन् त्यसैले यस क्षेत्रका आवाज विहिन, सिमान्तकृत वर्गको आवाज बुलंन्द पार्न यहाँका पत्रकार महिलाको अहम् भूमिका रहेको छ । र महिला अधिकारका मुद्धालाई समाज र सरोकारवालासम्म लैजान उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

यहाँका महिला महिला मुद्दामात्र होइन संसद र भ्रष्टाचारका मुद्दाहरु पनि उठाउँदै आएका छन् । यहाँ भन्न खोजिएको के हो भने महिलाका मुद्दामा पुरुषको तुलनामा महिला पत्रकारहरुले नै बढी आवाज बुलंन्द पार्दै आएका छन् । तर समाजमा यति महत्वपूर्ण भूमिका हुँदाहुदै पनि महिला पत्रकारहरुलाई विश्वास नगर्ने र उनीहरुको बौद्धिकस्तरमा प्रश्न गर्ने गरिन्छ ।

कर्णालीमा करिव एक सय ५० संख्यामा संचारमाध्यमहरु छन् । जसमा ४४ वटा एफएम रेडियो, २० वटा दैनिक पत्रिका, २४ वटा साप्ताहिक र ४० वटा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा छन् । अधिकांस महिलाहरु भने एफएम रेडियोमा संलग्न छन् त्यसमा पनि गित संगीतको कार्यक्रम संचालन गरिरहेका छन् । समाचार तिर पनि समाचार पढ्नमा मात्र महिला पत्रकार सिमित रहेको देखिन्छ । समाचार कक्षमा र खोज पत्रकारकोे संख्या एकदमै न्यून छ । काम गर्न खोज्नेलाई पनि हत्तोसाहित गराउने गरेको पत्रकार महिलाको गुनासो रहेको छ ।

महिला पत्रकारहरुको गुणस्तर वृद्धिमा मिडिया हाउसहरु पनि खासै गम्भीर देखिदैन । अर्को तर्फ पुरुष पत्रकारहरु झै विहानको चिया र बेलुकाको तातो चियाको चुस्कीमा संलग्न हुन सक्दैनन् । त्यसैले समाचार तथा खोजीका विषयमा महिला पत्रकार बञ्चित हुनु पर्ने अवस्था छ ।

महिला पत्रकारका पारिवारिक कारणले पनि आपनो काममा गुणस्तर बढाउन बञ्चितिकरणमा परेका छन् । वजेट भाषण तथा संसदिय रिपोर्टिंगमा जांदा समय ठेगान नहुने, समाचार लेखि घर पुग्दा राती भइसक्ने कारण संसद तथा राजनैतिक विटमा समाचार लेख्ने पत्रकार महिलाको संख्या कम छ । त्यसमा कर्णाली भौगोलिक रुपमा विकट भएकाले अझै कठिन अवस्था छ ।

त्यसैगरी महिला पत्रकारको तुलनमा पुरुष पत्रकारको प्रमोशन हुने र तलब बढी हुने गरेको पनि महिला पत्रकारहरुको भनाई रहेको पाइएको छ ।

महिला पत्रकारको कामको प्रकृति समाजले नबुझ्दा पनि परिवार समाजको भनाई र हजारौं प्रश्नको सामना गरिरहनु पर्दा पनि यो पेशा छोड्ने गरेको कर्णालीका पत्रकार महिलाको अनुभव छ ।

पत्रकार महिलाको महिनावारीको समय र सुत्केरी अघि र पछिका समय निकै कष्टकर हुने गर्दछ । महिलाको शारीरिक र मानसिक अवस्था प्रति धेरै कम संचार गृह संबेदनशिल छन् ।त्यसैले पनि पत्रकारिताबाट महिला पत्रकार पलायन हुनुपर्ने अवस्था छ । अझ बच्चा स्याहारको लागि व्यवस्था नहुंदा अधिकांस महिला पत्रकारहरु सुत्केरी पछि संधैंको लागि यो पेशा छोड्ने गरेको अनुभव छ ।

चुनौति मात्र होइन पत्रकारितामा त्यतिकै अवसरहरु पनि छन् । पत्रकारितामा संलग्न भएका पत्रकार महिलाहरु यहि पेशालाई अपनाएर नाम र दाम दुवै आर्जन गरेको अवस्था पनि छ भने अर्काेतिर पत्रकारिताबाट पलायन भएपछि पनि उच्च सरकारी पद तथा राम्रो प्रोजेक्टहरुमा काम गरेको अवस्था छ ।

पत्रकारितामा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुगेको छ । तर, महिला पत्रकारको न्यून उपस्थितिले महिला अधिकार जुन रुपमा उठान हुनुपर्ने हो, त्यसका लागि समस्या भएको छ । राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्थालाई सञ्चार संस्थामा पनि लागू गर्नु पर्दछ ।

पत्रकारिता क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु, महिलामैत्री वातावरण सिर्जना गर्दै महिलालाई अवसर दिने कुरामा कन्जुस्याई गर्ने परम्पराको अन्त्य गर्नु पर्दछ । महिला पत्रकारको उपस्थितिलाई अझ बढाउन सरकार, सञ्चार गृह, नेपाल पत्रकार महासंघ जिल्ला र प्रदेश शाखाले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ र पत्रकार महिला पनि अझै सक्रिय हुन जरुरी छ ।