Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कथा – भरोसा

उमालाल आचार्य

सिरानीतिर मोबाइल फोन बज्यो । बजिरहोस एकछिन । मैले नाडीको घडीमा बटन थिचेँ, घडी बोल्यो, फोर फोर फाइव । पौने पाँच बजेछ । फोन उठाएँ ।
“हेलो !”
“भित्रबाट ढोकामा किन चुकुल लगाउनुभको ? खोल्नुसन ।”
“चुकुल ? होइन तिमी काँ छ्यौर ?”
“म कामले एकछिन बाहिर आथेँ, हजुरले त चुकुल….।”
“वाहियात कुरा नगरन, ओछ्यानबाट उठेकै छैन कसरी चुकुल लगाउनु ?”
“ए आम्मै कोले लगायो त ! झर्नुसन तल ढोका खोल्नुस त ।”
टाउकाबाट टिशर्ट छिराएर म तल झरेँ ।
” हेर हेर तल माथि दुबै ठाँउबाट पो चुकुल लगाको रैछ ।”
“हे भगवान ! कोले लगायो ! किन लगायो ….?”
“होईन तिमी काँ गकिथ्यौर राति ?”
“राति होइन, बिहानीपख सानिमाले….।”
” बल्ल त पौने पाँच बज्दैछ, कस्तो बिहानपख ?”
” तीन बजेतिर सानिमाले बोलाउनुभो बहिनीलाई त व्यथाले च्याप्यो, अस्पताल लानुपर्‍यो….।”
” मलाई किन नबोलाको ? किन नउठाको त त्यसोभए ?”
“एकछिन त बोलाएँनी उठ्नुभएन । निदाको मान्छेलाई नउठाउँ पो क्यारे भनेर हिने । ए राम ! लौन त्यो झ्याल त खुल्लै…।”
“झ्याल खुला ? होइन हिजो साँझ बन्द गरेको होइनर ?”
“यो झ्याल त कहिल्यै खोलेकै होइननी । चोर पसेर बित्याँस त पारेन !”
“अवश्य चोरले दाउ हेरेको हुँदोहो, तिमी बाहिरिएको मौका छोप्यो ।” सरिता र म हतार हतारमा सिंढी उक्ल्यौं ।
“हे भगवान ! हे ईश्वर ! दराज त ह्वाङ्गै छ त । सबै मालताल जिलिकम्मली पार्‍योकि पापीले ?”
हतारमा मैले लकर छामे खुल्लै थियोे, झन हतारमा अर्को खानको पाकेट छामे त्यो पनि खुल्लै ।
” सरिता सुन र नगद उडायो पापीले…।” मैले त्यसो भनेपछि ओछ्यानमा ढल्दै सरिता हिक्का छोडेर रोइन् म पनि निशब्द भएँ ।
” चाबिको गुच्छा ओछ्यानमुनि राख्ने गरेको, बाँदरलाई लिस्नु हाल्देको झैँ भएछ । हजुरले केहि सुन्नुभएन ?”
” म त कुम्भकर्ण भएछु, केहि थाहा पाइन । किन यस्तो राक्षसी निन्द्रा लाग्छ कुनै कुनै दिन ! अब पुलिसलाई खबर गर्नुपर्छ चोर उम्कन नपाओस ।”
” अहिले हतारमा पुलिसलाई खबर नगरौंकी ! यसो सोच बिचार गरौं छिमेकीहरुसँग पनि बुझौं ।”
” सरिता ! पचास साठी हजार नगद र आठ तोला सुनको गहना चोरी भयो । सानो कुरा हो ? के सोच बिचार गर्ने अरु ?”
” मैले सानो रकम भनेकी होइन हजुर ! पुलिसलाई खबर गरेको थाहा पाए चोर बाठिएर भाग्न सक्छ । मेरा माइतीमा खबर गयो भने बा आमा रोइ रोइ मर्छन । घरमा हजुरका दाइ भाउजुले थाहा पाउनुभो भने कति चित्त दुख्ला । उतातिर हजुरका दिदि भिनाजुले थाहा पाए कति तनाव होला । आखिर ती गहना मेरैलागी त थिएनी होइनर ? जसरी पनि म चित्त बुझाउँछु ।”
“होइन, के तर्क हो तिम्रो ? कसैलाई तनाव होला चित्त दुख्ला भनेर चोरको तलास नगर्ने ? चुपो लागेर बस्ने ?”
” चोर आफ्नैतिरको रहेछ भने जोरिपारी हाँस्दैनन् खुन्चिङ भन्दैनन् ? हाम्रो अमृते गान्टाको निको चाल थिएन । मलाई त्यसमाथि शंका छ ।”
” तिम्रो कान्छो भाइ अमृत ?”
” त्यसैले घरको इज्जत बाहिर नछरौं मेरो प्यारो हजुर ! म बिन्ती गर्छु ।” मलाई अंगालोमा कसेर बेस्सरी रोइन् सरिता । ढाडस दिंदै मैले उनको पिठ्युँमा थपथपाएँ ।

मान्छेहरु सिंढी चड्छन् झर्छन खुट्किला गन्दैनन् म अनिवार्य गन्छु । झ्याल खोल्छ्न हेर्छन्, म त झ्यालको लम्बाइ चौडाइ अन्दाज गर्छु । दिनहुँ ढोकाबाट भित्र बाहिर गर्छन म उचाइको अनुमान गर्छु । मान्छेले हेक्का राख्न नभ्याएका तमाम चिजबिज छन् मैले मनन गर्ने, यो मेरो ईश्वरीय देन हो । किन ? किनकि ईश्वरले मेरो दृष्टि खोसेर बदलामा यस्तो ज्ञान विवेक दिए । ब्रेललिपी त अलि पछी आइपुग्यो त्यो भन्दा अगाडि नै स्कुलमा सजिलै पढ्ने लेख्ने गर्थेँ दृष्टिगोचरसरि । आफ्नो कक्षामा म पनि अब्बल दर्जाकै विद्यार्थीमा गनिन्थेँ । सुनेका कुरा अमिट हुन्थ्यो । श्रवण शक्तिमा जति तागत थियोे त्यो भन्दा पटक्कै कम थिएन घ्राण शक्तिमा । नछोइ सुंघेर मात्र रुपैयाँको दर छुट्याउनु सक्छु । मनका यी कुरा मान्छेका अगाडि म कहिल्यै बोल्दैन, किनकि घमण्ड गरेको ठहरिन्छ । मेरा आँखा खोस्ने जाति भगवान ! मलाई कहिल्यै घमण्ड नआओस् ।
“टाइ रातो बान्दिउँकी निलो ?” मलाई लुगा लगाउन सघाउँदै थिइन् सरिता ।
” रातै बान्देउन त ।” मैले कमिजको टाँक लगाउँदै भने ।
म जन्मै दृष्टिविहीन होइनरे । छ बर्षको उमेरमा ज्योति हराए पछी मेरो संसार पूरै अन्धकार । सिक्नु र सिकाउनु जीवनको मुल उदेश्य बन्यो । “विश्व विद्यालयमा आफ्नो पुसाईँ रजिस्ट्रार भएर सोझो पर्‍यो ” भनेरे भन्नेहरुले । त्यो सबै सत्य होइन, मेरो योग्यता ल्याकत र क्षमता नभएको भए पुसाँइले मात्र के गर्ने बिचरा ! अंग्रेजी र नेपाली दुबै भाषामा साहित्य पढाउँथे । यता कलेजतिर होल टाइमर भएपछि तब मैले उताको हाइ स्कुल छोडेँ ।
“जुत्ता त कालै लाउनुहुन्छ कि…?”
“हुन्छ कालै ठिक छ ।” सरिताले कपालमा चमेली तेल घसिदिइन् । मैले घडीको बटन दाबेँ, नाइन थ्री जेरो भन्यो । आँखामा कालो चस्मा चढाएर हातमा सेतो फोल्डिङ लठ्ठी समाउँदै सिँढी ओर्लिएँ एक दुई तीन चार ….बाह्र । छ फिटको ढोकाबाट निस्केर सडक छेउमा हिडिरहेको थिएँ, गाडी मोटरहरु पनि ट्याँट्याँ टुँटुँ गर्दै मच्चिरहेका थिए । एउटा मोटरसाइकल मेरै छेउमा सुस्तरी रोकियो । चीरपरिचीत मानव गन्ध मेरो नाक भित्र पस्यो । मैले चिने मेरो प्यारो छात्र गोविन्द गिरिलाई ।
” ए गोविन्दे के छ तेरो खबर ?”
“सर नमस्कार !”
“नमस्कार । बाँचिरहेस् बुद्धिमानी भएस् ।”
” सरले आज चिन्नुहुन्नकी झैँ लाग्याथ्यो, चिनिहाल्नुभो ।”
” किन ? तँ पानीमुनी जान, नचिनी छोड्दैन ।” आफ्नो लठ्ठी फोल्डिङ गरेर म उसको मोटरसाइकलमा बसेँ । म आफ्ना विद्यार्थिहरुलाइ प्रायः तपाईं हजुर भन्दैन । मन जितेर तँ भन्नुमा अत्यन्त मिठो भावनात्मक सम्बन्ध हुँदोरहेछ । हो, कोहि अपरिचितलाई बाहिरबाट सुन्दा आपत्ति लाग्ला तर मेरा चेला चेलीलाई जाति लाग्थ्यो । मलाई हजार छात्र छात्राको नाम मात्रै होइन, ठेगाना तीनपुस्ते कण्ठ थियोे । ती मध्ये धेरै जसोको बानी व्यहोरा पनि बुझ्दथेँ । यिनिहरुसँग रमाउँदा समय त के दिन बितेको पनि थाहा हुंदैनथ्यो । मलाई यिनिहरु आफ्नै नातागोता भित्रका भाइ बहिनी हुनकी झैँ लाग्थ्यो । तब त श्रद्धापूर्वक झुण्डिएको थियोे यिनका ओँठ ओँठमा मेरो नाम “दिलिप सर । दिलिप सर ।”
अस्ति नेपालीमा कविता पढाउनु पर्‍यो । काव्यमा के तागत हुन्छ र मान्छेलाई कसरी मुग्ध वा मोहित बनाउँछ ? यही बिषयमा भूमिका बान्दैगर्दा क्लास स्तब्ध भयो । गोविन्दलाई नजिक बोलाएर उसको हात समाउदै कविता भट्याएँ ।

रहरका रंगहरु
जब रहरहरु सिमा नाघेर बाहिर जान्छन्
हुने भन्दा नहुने कुरामा अल्झिन्छन
नपुग्ने इच्छा एउटै छ मनमा हर प्रहर
क्षितिजमा उज्यालो उदाएको हेर्ने रहर
रहर तुहिएर मन विक्षिप्त हुन्छ
तब,
घनघोर जंगलमा डाँको छोडेर रुन मन छ
आँखाबाट सबै आँसु निथारेर
दुनियाँ डुबाइदिन मन छ
फेरि
मुठीमा रंगहरु समाएर आकाशमा उछाल्दै
सुस्तरी धरतीमा बसाल्न मन छ
बच्चा झैँ उफ्रंदै उफ्रंदै खुसी भएर
पृथ्वीलाई उचाल्न मन छ
गोविन्द !
तेरा आँखाले हेरिदेन रंगहरु
भनिदेन मेरा आँखालाई
कस्ता देखिन्छन् सुन्दर संसारका
निला राता पहेँला हरिया रंगहरु ।
कविता पढ्दै गर्दा कोहि कोहि नानीहरु सुँकस्ँकाएको थाह थियो । जब गोविन्दले मलाई अंगालो हालेर रोयो मैले पनि मन थाम्न सकिन । त्यसरी आँसुले पनि लगाइदिएको थियोे माया हाम्रो जीवनमा ।

बेलुकी घर पुग्दा एकोहोरो ट्वाक ट्वाक ट्वाक आवाज आइ रह्यो । भित्र पसें ।
“केको आवाज हो सरिता के गरेको ?”
” मिस्री बोलाएर झ्यालमा ग्रील ठोक्देको । अब चोर्लास तेरो नास हुने चोर ।”
” पोर मरिन् सासू अहिले आए आँसु । अब के छर चोर्छ ?”
” पहिल्यै गर्‍याभए हुन्थ्यो गरिएन, यस्तो दशा लाग्यो । अब नगरे पछी पछुतो हुन्न ?”
” ल हो राम्रो काम । जाउँ त माथि ।”
” मेरो शंका सहि रैछनि त, हेर्नुस् त त्यो गान्टे अमृतले त्यत्रो अपराध गर्न सकेको ।” मेरो कोट फुकाल्दै भनिन् ।
” कसरी थाहा भोतनी ?”
” माइत फोन गरेनी आमालाई । हप्ता दिन भयोरे घर छोडेर भागेको । दिदिको गहना लुटेर खाने तँलाई किरा परेर मर्न परोस् ।”
” ओहो ! आमालाई नभएको भए हुन्थ्योनि, पीर पो मान्नु भयोहोला ।”
” चोरीको कुरा गरिन, बुझेको मात्रै । त्यसको अंशबाट असुलेर छोडिन्छ एक एक हिसाब । चिया बनाउँ ?”
” चिया पर्दैन, पानी खाउँ एक गिलास ।”
” हुन्छ ल्याउँछु । तरकारी के बनाउनु आज ? पनिर ल्याउँ ।”
” हुन्छ हुन्छ । पनिर गजब हुन्छ ।”
सरितासँग बिहा भएको तीन बर्ष नाघ्यो । हाम्रो परिवार मध्यम बर्गिय र उनको परिवार निम्न बर्गको हुँदा हाम्रो दाजुले सुरुमा मन्जुर गर्नुभएको रहेनछ । दाजुलाई दिदि र भिनाजुले संझाएको कुरा पनि ठिकै हो । म दृष्टिविहिनलाइ कसले पो सहजै आफ्नी छोरी चेली दिन्छन् त ! उनी पनि एसएलसीमा अल्झेर बसेकी रहेछिन । आफू भन्दा कान्छी बहिनीको बिहा भैसकेपछी अलिकति अप्ठ्यारो पनि पर्‍योहोला । अवश्य कुनै खोट छ तब बिहे भएन भन्ने अन्दाज काटेहुनन् मान्छेले, त्यही अड्कलमा सिङ पुच्छर थपे हुनन् । त्यो परिवारमा दाजुले प्रष्ट हाम्रा कुरा राख्नुभयो । उनको र मेरो पनि एकान्त भयो, हामीले मन पेट साटेर कुराकानी गर्‍यौं । हित्त चित्त मिलेपछि बिहे पनि भयो । बिहे भन्नाले मन्दिरमा सिंदुर हालेको भोज घरतिरै खुवाएको । शर्त बमोजिम दाजु भिनाजु र पुसाईंको सयुँक्त पहलबाट यो सहरमा घर किनेर सरिताका नाममा पास गरियो । म स्कुल पढाउँदा देखि नै यतै बस्थेँ ।

खाना खाएर हामी सयन कक्षमा पुग्यौं सरिताले ओछ्यानमा तन्ना मिलाइन् ।
“आज अमाजुले फोन गर्नुभथ्यो जसरी पनि दुईचार दिन बस्न आउ पो भन्दैहुनुन्थ्यो ।”
” के भन्यौ त ? नभए जाउँ दुइचार दिन ।”
” जान त हुन्थ्योनि मनमा यत्रो दिकदारी छ ।”
” छोड्देउके त्यो कुरा । ग्रह काटियो, चिन्ता नलेउ । हाम्रो थियो र पो चोर्‍यो नभए यत्रो चोर्थ्यो ।”
” त्यो त होकि ! त्यसका माइती चोर रहेछ्न् , गहना चोरी भागेछ्न् भन्ने हल्ला फैलियो भने हाम्रो कत्रो बेइज्जत होला । म त मरे पनि भयो ।”
” तिम्रा माइती मेरा कोही होइनन् ? मेरा माइती ससुरालीको मलाई प्रवाह छैन ? तिमीले मुख बन्द गर्नु हल्ला सल्ला कतै केहि हुन्न ।”
” बसमा दिनभरि लाग्छ, सानो गाडीमा जाँदा चार घण्टामा पुगिन्छ ।” मैले घडीमा बटन थिचेँ एट फोर जेरो भन्यो ।
” पौने नौ बज्न लागेछ, रेडियो बिबिसीमा लगाउन खबर सुनौ के भन्छ ।”
” के भन्छ बिबिसीले राजनीतिका तिनै थाङ्ने कुरा बाहेक ?”
” आठ तोला सुनका गहना बेच्दाबेच्दै नेपाल प्रहरीले अमृत बराल नामको एकजना युवकलाई पक्राउ गरेको छ, पो भन्छकी !”
” पटक्कै चिन्ता छैन है हजुरलाई ? जस्तो कुरालाई पनि ख्याल ठट्टामै उडाइदिने । केटाकेटी जस्तो ।”
” के गर्छ्यौ त ? तिमीहरूलाई चिन्ता पर्‍यो लैजाउ भनेर चोरले फिर्ता दिदैन त ।”
” छिटो दूध खानुस चिसो भैसक्यो ।”
“ओहो गिलासभरी रहेछ, मलाई धेरै हुन्छ ।”
” हजुरले खानुसन त, नसके म खाउँलानी ।”
” जुठो खाए माया बड्छ भनेर होला ।”
” हाम्रो माया जुठो खाएनि नखाएनि सँधै बढ्छ ।”
” ए ! कति दिन सम्म हो ?”
” के अरे ? कस्तो कति दिन ?”
” जिन्दगी कति लामो हुन्छ ?”
“बाङ्गो बाङ्गो नबोल्नुस है ।”
” खुर्सानी पिरो हुन्छ सबैलाई थाहा छ, तर दाल र तरकारीमा नभै हुन्न । त्यस्तै माया पिरतीमा पनि बाङ्गो नबोली मजै आउँन्न । कि कसो ?”
” खै कसो कसो ! कुरौटे मान्छे ।”

पढ्न त भिनाजुले कानून पढ्नुभएकोरे । तर घर जग्गाकै कारोबारले वहाँलाई पेशागत मर्यादा र कानूनी वहसका लागि अदालतको आँगनमा टेक्नै दिएनछ । भिनाजु अफिसबाट फर्केपछि कान्छी भान्जी र सरिता तिहुन तरकारी किनमेलका लागि बजारतिर गए । दिदी भिनाजु र म बैठक कोठामा थियौं लामो एउटा सोफामा झुरुम्म तीनजना ।
“……….। मेरा ओरिपरीका गतिविधि नाक मुख कान र स्पर्श ले थाहा पाउँछु, तर पाँच मिटर टाढाकै मौन गतिविधि त म कसरी थाहा पाउन सक्छु ? हो त्यतिबेला आवश्यकता छ दिदी आँखाको….।”
“त्यसोभए म गर्छु प्रष्ट कुरा । त्यसले खोजेको केहो ?” दिदीको आक्रोशलाई मत्थर पार्दै भिनाजु फेरि बोल्नुभयो ।
” यस्ता कुरालाई रिशले पार लगाउन्न डल्ली । शीतलो कुरा गर्न सकिहालिन्छनी । तात्तिनै पर्दैन, यो कुरा मिल्छ तिमीहरु चिन्ता नलेउ ।”
” त्यो भन्दा अघिल्लो एउटा घटना भिनाजु । ढोकाको भित्री ह्याङ्गरमा टिशर्ट खोज्दै थिएँ एउटा कमिज हातमा पर्‍यो, जो
मेरो होइन ।
“अरे, यो कमिज कसको हो ? कहाँबाट आयो ?” हत्तपत्त त्यो कमिज तानेर उता फाल्दै उनी बोलिन् “यो मयल परेको छ, यी बरु यो टिशर्ट लगाउनुस ।” त्यसलाई अरु धुने लुगाहरुले पुर्न थालिन् ।
” त्यो कमिज कसको रहेछ ? मेरो त होइन त्यो ।”
फेरि उनिले अर्को मेरो पुरानो कमिज मेरै हातमा राख्दै जर्किन् ” होइन यो कमिज तपाईंको ? आफ्नो लुगा चिन्न छोड्नोभो ? भगवान ! यस्ता मान्छेसँग कसरी दिन काट्नु मैले ।” त्यसो पो भनिन् । ल हेर्नुस त जो चोर उसैको ठूलो स्वर ।
” सरि सरि ! मैले तिम्रो चित्त दुखाएँ । कहिले कन्फ्युज हुन्छ, नरिसाउ है,” भने । वादविवाद गर्नुको कुनै अर्थ छैन किनकि हार मेरै हुन्छ । किन मेरो हुन्छभने मसँग दृष्टि छैन ।”
” पीर नगर दिलिप । गल्ती कमजोरी हुन्छ सबैको । सच्याउन मिले सच्याउँला नमिले चिरफार गरौंला । हिम्मत नहार जसरी पनि सुधारौंला ।”

माइजु भान्जीले मेहनत पूर्वक खाना बनाए । खाना तयार भएपछि हामी डायनिङ टेबुल ओरिपरी बस्यौं ।
” दिलिप, अब तिमीहरू काठ्माण्डुतिर बस्ने मेलोमेसो मिलाउ । ठाउँ भनेको ठाउँ हो आनन्द हुन्छ ।”
” नाइँ भिनाजु डेरामा बस्दा पालिन गाह्रो हुन्छ ।”
“आफ्नै घर किनेर बस्ने भनेकोनी । केको डेरा सेरा भन्छौ ।”
” आहा ! कुरा त मनासिब हो । घर कसरी किन्ने त भिनाजु ?”
” सरिताको नामको त्यो घर बेच । तिम्रो भागको आधा खेत बेच । काठमान्डुमा साढे तीनतलाको घर आउँछ ।”
“होर भिनाजु ? गजब हुन्थ्यो त । फेरि जागीर त यतै रहन्छ ।”
” पुसाईँलाइ भनौलानी । जागिर त सार्न सकिन्छ उतै पायक पारौंला । प्रथम तिमीहरूको ईच्छा हुनुपर्‍यो । हँ सरिता के भन्छ्यौ तिमी ?”
” म के भन्छुर दाइ ! पहिला पनि हजुरहरुले उद्धार गर्नुभकै हो । अब पनि कल्याणै त होलानी ।”
” काठ्मान्डुमा घर किन्दा पनि सरिताकै नाममा पास गर्नुपर्छ किनकि राजश्व रकम बचाउ हुन्छ ।”
” हो त्यसै गर्ने हो फोकटमा राजश्व किन तिर्ने ! बरु यताको घर पो कसलाई बेच्नु ?”
” यतापट्टिको चिन्ता तिमीहरूले लिनै परेन । मेरो कार्यक्षेत्रमा पर्छ म गरिहाल्छु । बरु सरिताले मलाई एउटा अधिकृत वारेस नामा गरिदिन पर्छ ताकी बेच्दा तिमीहरूलाई झन्झट नहोस् ।”
” हुन्छ दाइ म गर्छु, कता गर्नुपर्छ अधिकृत वारेसनामा ?”
” त्यो अदालतबाट गर्नुपर्छ । फुर्सद निकालेर त्यो प्रक्रिया मिलाउँला ।”
” भिनाजु एकचोटि दाजुसँग पनि सल्लाह गर्नुपर्लाकी ?”
” अवश्य पर्छ । उदयले नमान्ने त अर्थै छैन भाइको भलो हुने कुरामा ।”

खाना र कुराकानी सकेर सिग्रेट खान भिनाजु माथी छतमा उक्लिनुभयो, म पाहुना कोठामा पसें जहाँ हामीलाई सुत्ने प्रबन्ध गरिएको थियोे । चुलो चौकाको काम सकेर एकछिन पछि सरिता पनि आइन् ।
” सरिता ! कस्तो लाग्यो भिनाजुका कुरा ?”
” कस्तो मौका साइतमा आइएछ हजुर ! सोचेको न संझेको कुरा, हेर्नुस त भाग्यमा भएपछि …….।” ओछ्यानमा हामीले लामै बात मार्‍यौं ।
” सरिता अब सुतौं क्यारे ! भोलि फेरि बिहानैको गाडीमा फर्कनु छ ।”
” सुन्नुसन हामीले त्यत्रो घर किनेपछी त एउटा मोटर पनि चाहिन्छ है ?”
” चाहिन्छ, चाहिन्छ । मलाई निन्द्राले च्याप्यो ।” भन्दै म निदाए झैँ गरेँ । उनी आफैसँग बोलिरहिन् लामै बेलासम्म ।
” बा आमालाई घुमाइदिउँला पूरै काठ्मान्डु सहर । आफ्नो मोटर छँदैछ, हामीले जे भन्यो डाइभरले मानिहाल्छ । माइती सबैलाई ओरापरी फेर्दिउँला ….. ।” बडो मुस्किलले हाँसो दबाएर निदाए झैँ गरिरहेँ ।

एक दिन त्यो घर बेचियो । अब मुलबाटा अगाडि दक्षिण मोहडा भएको घिउ रंगको ठूलो घर किनेर सर्न बाँकी रह्यो । त्यसैका लागि गाउँबाट दाइ भाउजू आउनुभएको थियो, बेलुका म पुगेपछि ढोग भेट र भलाकुसारी भयो ।
” कस्तो भयो तनि तेरो भ्रमण ?” दाइले सोध्नुभयो, म दिदीको बाट फर्केर बाह्र दिनको शैक्षिक भ्रमण गएको थिएँ ।
” ठिकै भो दाजु । केटाकेटीसँग समय वितेको पत्तै हुन्न ।”
” दुब्लाउनु भएछ्नी !” भाउजूले भन्नुभयो ।
” दुब्लाएको छैन । जति मोटाए पनि आमा दिदी र भाउजुको जातले मोटाएछ किन भन्दैनन् ?” मैले त्यसो भन्दा भाउजूले मेरो कान बटार्नुभयो । मैले वहाँलाई अंगालो हालेँ, मायाले ।

घर बेचेको, किन्दै गरेको गतिविधि र यहाँ दाइ भाउजूको उपस्थिति सरितालाई त्यति जाति नलागेको कुरा पनि मैले बुझी रहेको थिएँ । खाना खाएपछि आफ्ना लम्बेतान घरायसी कुराकानी मेटेर सबै सुत्ने तरखरमा लाग्यौं ।
आफ्नो कोठामा आएपछि फेरि बटन दाबें, घडीले वान जेरो
फाइव जेरो भन्यो ।
” घर कसको नाममा पास गर्ने हो ?” उनीले एकैचोटि पेचिलो र कठोर प्रश्न गरिन् ।
” दाजु आउनुभाछ दाजुकै नाममा हुन्छहोला ।”
” मेरो नामको घर बेचेर दाइका नाममा पास गर्न पाइन्छ ?”
” आँफुलाई यो घरको सदस्य मान्दिनौ तिमी ?”
“काठ्मन्डुको सपना देखाएर थाङ्नामा सुताए मान्छेले, कसको बुद्धिमा हिन्दैहुनुन्छ ? दाइको सन्तानबाट चल्छ तपाईंको वंश ? ए चेतकान हराएका मान्छे ! किन आफ्नी स्वास्नीको विश्वास छैन …..?”
” विश्वास विश्वास विश्वास । हजारौं हजार पटक बोल्छ्यौ तिमी यो विश्वास भन्ने शब्द । विश्वास छैन भनौभने तिमी रिसाउने, छ भनौभने यो मुटुमा गाँठो पर्ने । ल तिमी नै भन म के गर्ने ?”
” ए आम्मै ! मेरो विश्वास छैन तपाईंलाई ?”
” पटक्कै छैन । सुन्छ्यौ किन छैन ? धैर्य धारण गरेर सुन । लोग्नेलाई निन्द्रामै थुनेर ढोकामा ताला लगाइ आधा रातमा बाहिर जान्छ्यौ…..।”
” हे भगवान ! सानिमाकि छोरी बिरामी ……।”
” चुप लाग । तिम्रो कुनै उपाय नभएपछि हतारमा त्यो कम्जोर बहाना बनाएको म सजिलै बुझ्छु । तर घटना धेरै फरक छ ।”
” हजुरले जे भने भन्नुस त्यो पाप तपाईंलाई हो ।”
” खबर्दार ! बीचमा नबोल । त्यो रात पनि गिलासको दुध थमाएर भान्सामा गयौ उतै अलमलियौ । दुधको कैफियत मेरो नाकले थाहा पायो, यसै कामको लागि लो बेड्मुनी पुरानो लोटा राखेको थिएँ दुध खन्याएर लोटा फेरि त्यतै लुकाएँ । गिलास टेबुलमा राखेर र सुतेँ मुढो जस्तै भएर ।”
” हे ईश्वर ! त्यस्तो किन गरेको भन्नुस त ?”
” खबर्दार ! नबोल्नु भनेको छु । तिम्रो चर्तीकला बुझ्न । त्यसपछि तिमी आयौ मलाई बोलायौ छामछुम पार्‍यौ । छिल्लिएर लामै फोन गर्‍यौ खित्खितायौ । अन्तिममा अंग्रेजी बोल्यौ, ओके आइविल कम जस्ट मोमेन्ट । अनि सिंढी झरेर गयौ त्यतिबेला एक बजेको थियो ।”
” यस्ता पाजी हुँदै नभका कुरा । सद्दे मान्छे कसैले पत्याउँदैन उडन्ते कुरा ।”
” तिमीले बाहिर ताला लगाएपछि मैले हो भित्रबाट ढोकामा चुक्कुल लगाएर झ्याल खोलेको ।”
” त्यसोभए सुन र पैसा तपाईंले दबाउनुभको छ ।”
” एक्ज्याक्ट । मलाई जसरी पनि तिमीबाट त्यो सुन फुत्काउनु थियो, यस्तै मौका ताकेको थिएँ ।”
” मलाई चाहिन्छ जसरी पनि मेरा गहना ।”
” अहिले त बैंकको लकरमा थन्किएको छ, हेरौंन भोलिका दिनमा समज्दारी कस्तो हुन्छ । चोरीको बारेमा पुलिसलाई खबर गरौं भन्दा तिम्रो आँत काम्यो । किनकि पुलिसको पहिलो अनुसन्धान तिमीमा सोझिन्थ्यो, तिम्रो चरित्रको आन्द्रा भुँडी छरिन्थ्यो । त्यसो त म पनि चाहन्नथेँ पुलिस बोलाउन, किनकि मैले लोबेड भित्र लुगाले लपेटेर लुकाइराखेको नगद र सुन भेटाउन सक्थ्यो पुलिसले ।
” बिन्ती गर्छु पाउ पर्छु, ती गहना मलाई फिर्ता दिनुस् ।”
” अब तिम्रो रोदनले मलाई पगाल्दैन सरिता । हेर, तिमीले माइतीमा फोन गरेर स्यालभाका मिलायौ र आफ्नो निर्दोष भाइलाई चोर बनायौ, मैले पनि होमा हो मिलाएँ । चोरीको चर्चा बाहिर गए माइतीको र हाम्रो इज्जत खरानी हुने डर देखायौ, त्यसमा पनि हो हो मिलाइदिएँ ।”
” मैले गल्ती गरेछु । जानिन बिराएँ, हजुरले नै हो मेरो सिउँदो भरेको । यो लाज इज्जत हजुरले बचाइ दिनुपर्छ ।”
” यो नेत्रहीनलाई तिमीले धेरै सतायौ सरिता धेरै धेरै । मेरो भरोसा ढल्यो । म सिग्रेट नखाने मान्छे, कोठाभरी धुवाँ गन्नाउँछ । म कारण सोध्छु तिमीले पारी छिमेकीको झ्यालबाट आयो होला भन्छ्यौ । कहिले घरमा पुरुषले छिमेको सुन्छु कोहो भन्दा, म हो मैले छिमेको भन्छ्यौ । सिँढिमा कोहि हिंडेको पदचाप सुनेर कोहो भन्छु, कोही होइन तपाईंको भ्रम हो भन्छ्यौ । त्यस्ता तमाम अपमान मैले चुपचाप सहेँ व्यहोरेँ । किन थाहा छ ? किनकि यो हाम्रो घर कानूनत: तिम्रो नाममा थियो ।”