Loading... आजः १७ आश्विन २०८३, शनिबार । Saturday 3rd October 2026

कविता – ती नारी को हुन् ?

डा. महेन्द्र कुमार मल्ल

ब्रह्माण्डको गतिहरूमा
जिउनुको अस्तित्वहरूमा
सुरभि हराभरा बनाउने
भावप्रबल आकांक्षाहरूमा
भरेर कोख मातृत्वको
सहेर पीडा गर्भाधानको
सुम्पेर काख स्नेहको
आँखाहरूलाई दुनियाँ देखाउँदै
गौँडो र गल्छेडोहरूमा हिडाउँदै
रहरहरूमा डोर्याउँदै र उकाल्दै
ग्रीष्मकालीन तापको छहारीसरि
रूख बनेर ओत लगाउँदै
या उखुम गर्मीहरूमा
शीताद्रि बनेर पवन बहाउँदै
श्रेष्ठ मनुष्यको सपना सजाउने
नारी
ती आमा हुन् ।

टेकेर पराइ थाँतीमा
बगाएर पसिना मेलापातहरूमा
बोकेर भारी पिठ्यूँहरूमा
सेकाएर रोटी अँगेनामा
मारेर डुबुल्की प्याराका आनन्दमा
जिन्दगी साटेर समर्पणहरूमा
सजाएर सौभाग्य सिउँदोहरूमा
गाएर गीत पिरती(भाकाहरूमा
खुसी भित्र्याउने
नारी
ती पत्नी हुन् ।

फोरेर ओखर पत्थरहरूमा
घुमाएर दियो सिरिस्थानहरूमा
छरेर लावा क्षितिवृत्तमा
लगाएर सप्तरङ्गी टीका निधारहरूमा
पहिर्याएर माला गुरदौलीको गलाहरूमा
वाधा र व्यवधान धपाउने
रोग र व्याधि हटाउने
लामो आयुको मनोकाङ्क्षा
देवताका दलिनसम्म पुर्याउने
दुःखहरूमा आँखा रसाउने
खुसी देखेरै अघाउने
नारी
ती दिदी र बहिनी हुन् ।

लाडिएर काखभरि आमाको
फुलेर बगैँचाभरि बाबाको
लुटपुटिएर छातीभरि हजुरबाको
कुदेर आँगनभरि माइतीको
दौडेर चौरहरूमा गाउँघरको
डुलेर पार्कहरूमा सहरको
आकाशको सेतो बादलझैँ
निर्बन्ध उडिरहने
नारी
ती छोरी हुन् ।

तर एउटा प्रश्नले बारम्बार
मस्तिष्क बेसरी खल्बल्याइरहेको छ
मखुण्डो उत्रिने गरी
समाज हल्लाइरहेको छ
नमेटिने दाग बनेर
मानवता धमिल्याइरहेको छ
ए सभ्यता !
तैँले जवाफ दिन सक्छस् ?
धिमान जङ्गलका बीचमा
लहरू नदीका किनारमा
निर्वस्त्र लुटिएर
सीमान्त पीडा सहँदै
बलात्कृत भएर
रगतका आहालमा मृत्युवरण गर्ने
नारी
ती को हुन् ?