घ्वाच्च घोच्यो – व्यँङ्ग्य
कर्णालीका जनता किन भोकले मार्छन ? कर्णालीमा जति चामल पठाएपनि किन पुग्दैन ? कर्णालीमा जहिले पनि भोकमरी किन लाग्छ ? कर्णालीमा भएर आएको चामल थोरै किन हुन्छ ? कर्णालीको भोकलाई एनजिओ र आइएनजिओमा कसरी साटिन्छ ? अब त स्पष्ट भयो होला । कर्णालीका नाममा चामल नआएको होइन रहेछ । पुग्दो गरि चामल नपठाएको पनि होइन रहेछ । कर्णालीका मान्छेले खानका लागि पठाएको चामल जाँड बनाएर सिध्याउछन् भन्ने झ्ठो रहेछ । बल्ल थाह भयो होला । कर्णालीका लागि भनेर आएको चामल भक्तपुर पु¥याएपछि कसरी पुगोस् चामल कर्णालीमा । कसरी मेटियोस् कर्णालीको भोक । बाबै कति छिटो धनी हुने योजना बनाएका हुन् । मुगु पठाउनु पर्ने चामल भक्तपुर रे । होइन उता भरखर राजधानी हुन लागे दाङसम्म पठाएपनि आङ तन्काउन पाइने थियो नै भक्तपुर नै पठाउनु पर्ने । चोरका बाउ चण्डाल । लु खतम ।

भित्रै पुनः अर्को थैलोमा भरेर सिलाउन सिकेछन् । बिल मिलाउन सिकेछन् । कोही कोहीलाई पिलाउन सिकेछन् । अझ सात सय कति क्विन्टल त गोदाममै छैन रे । दिनेले कति दिएका हुन् लिनेले कति लिएका हुन् । उता डोल्पा, मुगुमा चामल नपाएर हैरान भएको बेलामा संघीय राजधानीसँग जोडिएको भक्तपुरमा पो पठाउने । कर्णाली चामल निकासी गर्ने प्रदेश भइसकेछ बाबै । कर्णालीको नाममा ठूलै काम गर्छौ भन्थे त । आखिर व्यापारिक हक हितका लागि नारा लगाउनेहरुलाई मान्नै पर्छ । भित्र लिएको छ रे । पाता फर्किने गरि बान्नै पर्छ । लु खतम ।
एउटा व्यापारीले एउटा ठेकेदारले त यति गर्छन भने अरुहरुले किन नगरुन क्या । अनि मुख्यमन्त्री हुनका लागि मरिहत्ते किन नगरुन । कानून मन्त्री बन्नका लागि आफ्नै पार्टी आफ्नै खेमालाई पनि लोप्पा खुवाउन किन पछि नपरुन । नेता हुन् नेता । न त्यता न यता भन्थे हो रहेछ । अब भएन भनेर पार्टी फुटाउने कुरा गर्दछन् । क्या काज नभएकाहरु लाज नभएकाहरु, ताज नभएकाहरु रहेछन् भन्या । सल्लाह गरेर पार्टी फुटाउ रे । सल्लाह गरेर मिलेका भए पो त्यसो भन्दैनथे होला त । मतका लागि मिलेका पदका लागि मिलेका कुर्सीका लागि मिलेका जे भने पनि हुँदोरहेछ । लु खतम ।
होइन क्या हाम्रा प्रधानमन्त्रीले पनि के सारो पारेका हुन् भन्या । एउटै पार्टीमा भइसकेपछि यसो सल्लाह त हुन्छ नि । निर्णय आफ्नै गर्ने भएपनि सोधेका थिए भन्ने सम्म बनाउनु पर्दैन । खतिवडालाई राष्ट्रिय सभादेखि अर्थमन्त्री अनि राजदुत बनाउने कुरा अर्का अध्यक्षलाई जनाउनु पर्दैन । कुरो त्यहीबाट बिग्रियो क्या । ती खतिवडा भन्ने काका पनि कम्ता प्रिय रहेछन् ओलीबा का । गर्भनरबाट राष्ट्रिय सभामा । त्यसपछि अर्थमन्त्री । फेरि सांसद बिनै अर्थमन्त्री । त्यसपछि राजनीतिक सल्लाहकार । त्यसपछि सिधै अमेरिकाको राजदूत । समय आयो भने ओलीबा ले यिनलाई के के बनाउँछन् हेर्न बाँकी छ ज्वानौ । लु खतम ।
दोष दिनुको पनि हद हुन्छ नि । कर्णालीका मुख्यमन्त्रीले केही गरेनन् रे । यी हस्ताक्षर गर्ने सांसदले के लछारपाटो लगाएका छन् हो । यिनका निर्वाचन क्षेत्रमा अब गर्नुपर्ने कामै केही छैन कि क्या हो । कि यिनले गर्न लागेको काम मुख्यमन्त्रीले रोके । अचम्म छ । मुख्यमन्त्री हेलिकोप्टर लिएर आफ्नो जिल्ला जान नपाइने हो र भन्या । आगलागी हुँदा होस् कि कोरोनाको लकडाउन हुँदा होस् आफ्ना मतदातालाई सुरक्षित गर्न नपाइने हो र भन्या । अझ भन्ने हो वीरेन्द्रनगर निर्वाचन क्षेत्र भएका महोदयहरु अहिलेसम्म निर्वाचन पछि आफ्ना मतदातालाई भेट्नै गएका छैनन् । तिमीहरु आवश्यकता के छन् भनेर सोधेकै छैनन् । राहत पठाएका थिए सुनका औठी लगाउनेहरु झिलिक्क पारेका बेला विचरा राहत लिन गएकाहरु तर्सेर भागे । सुनकै औठी झल्काउनेले राहत टप्काए भन्ने सुनेर फेरि एकपटक यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ
आजको सूक्ष्मदृष्टिमा प्रकाशित ।






