Loading... आजः १४ माघ २०७७, बुधबार । Wednesday 27th January 2021

जीवनको अमूल्य उर्जा हाँसो र खुसी

मनमा एक किसिमको रमाइलो अनुभूति भइरहेको थियो । एक महिना अघिको विशेष योजनाअनुसार हामी नेपाली भाषा साहित्य संघको मिटिङ बाघखोर होमस्टेमा गर्दै थियौँ । एक रातको बसाइँ उतै हुने गरी कार्यसमितिका सबै सदस्यहरुलाई खबर गरिएको थियो ।

दिउँसोको ४ः३० बजे हामी नौ जनाको टिम डण्डा बजारमा जम्मा भएर बाघखोर होमस्टे तर्फ हिँड्यौँ । लगभग २० मिनेट जतिको मोटरसाईकल यात्रा गरी गन्तव्यमा पुग्यौँ । नारायणी नदीको बाढीको डुबानमा पर्दा राहात बाड्न जाने गरेको त्यो ठाउँ आजकल यति सुन्दर भएको देख्दा यसका योजनाकार होमस्टेका अध्यक्ष तथा अहिलेका कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियालाई धन्यवाद नदिइरहन सकिन । सकरात्मक र दूरदर्शी योजना छ भने विकास हुन बेर नलाग्ने कुरा यस क्षेत्रको परिवर्तनबाट पनि स्पष्ट हुन्छ ।

टिका सापकोटा

खाजाको लागि पहिल्यै खबर गरिएकाले तयार हुँदै थियो । हामी पनि फ्रेस भएर संस्थाको मिटिङमा व्यस्त भयौँ । कतिपय साथीहरु मिटिङ सकेर घर फर्कने भएकाले पनि हामीेले छिटो मिटिङ सकाउनु पर्ने बाध्यता थियो । हामी विविध प्रस्ताव माथि छलफल गर्न थाल्यौँ । संस्थाको स्थापना कालदेखि नै नेपाली भाषा र साहित्यको चिन्तनमा जुटेको यस संस्थाले दुई बर्षको दौडानमा थुप्रै सिर्जनात्मक कामहरु गरिसकेको थियो । संस्थालाई दिगो बनाउने योजना र भर्खरै सम्पन्न कार्यक्रमको समीक्षा बैठक थियो यो । मैले प्रस्ताव र निर्णयलाई लिपिबद्ध गर्दै गएँ । संस्था स्थापना गर्न सजिलो छ तर उद्देश्य बमोजिम काम गर्न गाह्रो छ । नेपाली भाषा तथा साहित्यको संरक्षण वृद्धि विकासका निम्ति संस्थालाई अझ सशक्त बनाउने विषयमा गहन छलफल भयो । करिव दुई घण्टाको बसाइँमा हाम्रो मिटिङ सकियो ।

होमस्टेको चर्चित खाजा हाँसको छोइला,हाँसकै ग्रेबी, अचार र कोक फेन्टा टेवलमा आइपुग्यो । भेजका लागि भने फलफुलको व्यवस्था थियो । चितवन तासका लागि चर्चित भएजस्तै नवलपूर हाँसको छोइलाका लागि चर्चित बन्दै गएको छ । नवलपुरका होमस्टेमा बस्नेको मात्र होइन हाँसको छोइलाकै पार्टी हुन थालेका छन् । धेरैको रोजाइमा परेको परिकार हो हाँसको छोइला । साथीहरु सबैलाई आजको खाजासेट असाध्यै मन पर्यो ।

होमस्टेमा संस्कृतिक कार्यक्रम पनि हुँदो रहेछ तर बत्ती नभएको कारण हामी यो अवसर बाट बन्चित भयौँ । त्यसपछि हामी हाम्रै साथीहरुका विविध प्रतिभाबाट मनोरञ्जन लिन थाल्यौँ । दिन अब रमाइलो साँझमा परिणत हुन थाल्यो । जोक, कविता ,गजल, गीत फुर्न थाले ।

सर ! ८ नम्बरको जोक भन्नु न ‘ मैले भने । बिशेष खालका निकै हसाउने जोकहरुको नम्बरिङ भैसकेको थियो । “नम्बर सम्झेर हाँस्नु न किन जोक चाहियो ?” मेरो बोली भुँइमा खस्न नपाउदै नेत्र सरले भन्नु भयो । यति भए पछि पुग्यो हाँस्नलाई । दुई घण्टाको बसाईमा लगभग हामीमा जोकहरुको बाढी नै आयो । जोक हाँसो चलिरह्यो हामी हाँसी रह्यौ । अर्जुन सर निदाउन थाले पनि ओठको आयतन भने अझै फराकिलो नै थियो । आनन्द सर हाँस्दै म ननभेज जोक भनुँ भनेर डवल अर्थ लाग्ने जोक भन्न थाल्नु भयो । ए बाबा ! जोक पनि ननभेज , भेज, चिकन, मटन बफ हुन्छ र ? मैले प्रतिक्रिया जनाइहाले । कस्तो जोक पनि भेज ननभेज हुँदो पो रहेछ । यो त थाहा नै थिएन मलाई आजसम्म ।

यसरी जुटेर मन हल्का हुने गरी हाँस्न छोडेको धेरै भएको थियो । यो मौका नेपाली भाषा साहित्य संघ नवलपरासीको विशेष बैठकका कारणले मिलेको थियो । संस्थाको स्थापना कालदेखि नै नेपाली भाषा र साहित्यको चिन्तनमा जुटेको यस संस्थाले दुई बर्षको दौडानमा थुप्रै सिर्जनात्मक कामहरु गरिसकेको थियो । संस्थालाई दिगो बनाउने योजना र भर्खरै सम्पन्न कार्यक्रमको समीक्षा बैठक थियो यो ।

हामीले खाना खादै पनि थियौँ यत्तिकैमा नेत्र सर खाना खान बस्नु भयो । म लगायत , अर्जुन सर , कृष्ण सर , लक्ष्मी म्याडम , श्रीषा म्याडम , दिपक सरले खाना खाइसकेका थियौँ । तर नेत्र सर र सोम सरको थालमा भने आधा भन्दा बढी खाना बाँकी नै थियो । कुन्नि किन हो हाँस्दा हाँस्दै होला सायद खाना ढिलो भएको । तर मैले झट्ट सोधिहाले , खाना खान किन ढिलो सर?? सरले तत्कालै भन्नु भयो ,” मलाई खाना सकाउन कि त गाजर कि त गजल चाहिन्छ,” नत्र म यो खाना सकाउन्न । फेरि जोक फरर आइहाल्यो । जोक होइन क्या गाजर वा गजल । त्यस पछि सोम सरको एक शेर गजल आयो ।

“दाह्री पनि पालेको छु् ,कपाल पनि पालेको छु नवलपुरको यादमा जोगी हुन थालेको छु ।”
सरको शेरमा नवलपुर बाहिर र परिवार भन्दा टाढा रहनाको मनोकुण्ठा झल्किएको थियो । ल न टिका म्याडम यस्को जवाफ जाओस् । साथीहरुको आग्रह टाल्न सकिन । त्यस पछि मैले नि जवाफ दिन थाले ।

खुशी छैन नवलपुर तिम्रो तर्काइमा
बसेको छ नवलपुर तिम्रो पर्खाइमा ।

यसरी दोहोरी चलिरह्यो । नेत्र सरको थाल पनि खाली भयो र हामी दोस्रो सेसनमा रमाइलो गीत गाउन थाल्यौ फेरि सोम सरको दोहोरी सुरु भयो । “मुखै तीतो गरायो तीते करेलीले मलाई लठ्टै बनायो झिमझिम परेलीले ।” गाउन थालेपछि मुखै तितो पछि करेला नभनेर करेलाको सङ्केतमात्र गर्ने र झिमझिम मा आखाँ झिम्क्याउने भनेर जोक शुरु भयो । हामी अमेरिकी राष्ट्रपति ट्रम्पको पहाड घरको जोक सुनेर फेरि हाँस्यौ । नेपालीले अमेरिकी राष्ट्रपतिलाई त पहाड घर कहाँ हो भनेर सोध्छन् भने अरु कस्लाई बाँकी राख्लान र ?? पहाड घर सोध्ने संस्कारको एउटा गतिलो उदाहरण हो यो जोक । रमाइलो गर्दा गर्दै रात छिप्पिदै थियो । हामी बिस्तारै सामान्य कुराकानीतिर आइपुग्यौँ ।

मानिसले समाजका लागि आफूसँग भएको ज्ञान र सीपका माध्यमबाट केही न केही गर्न चाहन्छ । हामी नेपाली भाषा साहित्यका शिक्षक ! यही बिषयमा बढी चिन्तन र चासो थियो । नेपाली भाषामा आएका समस्याहरु समाधान र शिक्षक र विद्यार्थीहरुलाई नेपाली भाषा साहित्यमा सृजनशील कसरी बनाउन सकिन्छ भन्नेमा आजपनि हाम्रो ध्यान केद्रित हुन्छ । साहित्यमा लाग्ने नयाँ पिढीलाई उत्प्रेरणा र उर्जा दिने काम पनि यस संस्थाले गरेको छ । अङ्ग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषा बोलाइ र लेखाइमा पनि कमजोरी देखा पर्न थालेका छन् । यस्तै अवस्था रहने हो भने नेपालीहरुले नेपाली भाषा नै बिर्सन समय लाग्दैन । हाम्रो पहिचान भनेकै भाषा साहित्य र संस्कृति हो । भूगोलले मात्र देशको पहिचान बन्दैन । अङ्ग्रेजी भाषामा बिद्यार्थीको जति लगाव छ त्यति नेपाली भाषामा छैन । अङ्ग्रेजी भाषामा ध्यान दिने विद्यार्थीहरुले नेपाली बिषयमा ध्यान नदिएकाले नेपाली भाषामा विद्यार्थी कमजोर भएका छन् । यस कुराले सबै साथीहरुलाई गम्भीर बनायो । नेपाली भाषामा सिकाइ उपलब्धि बढाउन विद्यार्थीहरुलाई नेपाली भाषा साहित्यप्रति रुची जगाउदै सृर्जनात्मक लेखनमा जोड दिनुपर्ने कुरामा सबैको सहमति भयो ।

जिम्मेवारी बहन गर्दागर्दै हामी आफूलाई समय दिनै सक्दौँनौँ । परिवार समाज र काम भन्दा भन्दै हामीले जीवनको महत्वपूर्ण समय गुमाईसकेका हुँदारहेछौ र यस्को उदाहरण सोम सरको उदास अनुहार थियो । जोक भन्दा हाँसे पनि सरको अनुहारमा एक किसिमको उदासी थियो र त्यस्ले उहाँबाट हाँसो खोसेकोे थियो । त्यसो त परिवारबाट टाढा रहदा कस्लाई खुसी मिल्छ र ? साँच्चै हामीले यसरी नै खुसी हुने मौकालाई वास्ता गर्न सक्दारहेनछौँ । सोच्छु सानो छदा मुस्कुराउनुको मतलव पनि थाहा हुदैनथ्यो तर त्यो मुस्कानले परिवारलाई निकै आनन्द दिने गर्दथ्यो । ठूलो भइयो हाँस्न बिर्सियो ? यसो सम्झिनुस् त तपाई पछिल्लो पटक पेट मिचिमिचि हाँसेको कति भो ? एक्लै हुँदा हाँसेको पल छ ? मलाई लाग्छ हामी समयको परिवन्धमा परेर आफ्नो खुसी बिर्सिसकेका हुन्छौँ । हामी सानो छदा दिनमा कति पटक खुलेर हाँस्थ्ययौ ??

हाँसो मानिसको जीवनमा कति महत्वपूर्ण छ यो विज्ञानले पनि प्रमाणित गरेको कुरा हो । यो स्वास्थ्यको लागि उपयोगी हो भनेर योग शास्त्रले बताउछ तर हामी यति व्यस्त छौँ कि हामी कौ हौ भन्ने नै भुलिसकेका हुन्छौँ । यो बढ्दो शहरीकरण सँगै हामीले होहल्ला र तनावमा दिन काटिरहेको छौँ यही तनावबाट बाहिर निस्किन र प्रकृतिसँग रमाउन हामीले बाघखोर होमस्टे रोजेका हौँ । नारायणी नदिको बहावसँगै आएको चिसो हावाले हामीलाई सुस्तरी स्पर्श गरिरह्यो र हामी प्रकृतिको न्यानो काखमा सुस्ताइरह्यौ ।

साउनको झरी, नारायणी नदीको सुस्साहट र बलेनीको एक नासे आवाज हामीले घरीघरी महसुस गरिरहेका थियौं । तर केही रमाइलो कुरामा भने हामी निकै ब्यस्त थियौं । यो अनुभूति हाम्रो लागि नौलो थियो । यसरी रमाइलो गर्दा गर्दै रात छिप्पिसकेको थियो । साथीहरु आआफ्नो कोठातिर जानुभयो ।

मैले सोचे जीवन यसरी नै रमाइलो गरि बिताउन पाए कति जाती हुन्थ्यो । हो त हामीले यस्ता कति अवसर गुमायौँ होला ?? स्वतन्त्र भएर आकासमा चरा जस्तै उड्ने रहर ?? हामी समाज परिवारप्रतिको आफ्नो कर्तव्य जिम्मेवारी बहन गर्दै पनि त रमाउन सक्छौ नि । यस्तै यस्तै सोचले म रुमानी भए । एक साउने बाछिटाले मलाई चिसो बनायो । हामी यादको भूमरीमा कति चाडै हराउँछौ । यही यादमै कति बेला निदाएँ थाहा नै पाइन ।

बिहान श्रीषा म्याडमको हातको स्पर्शसँगै मेरा आँखा खुले । सूर्यको किरणले मेरो कोठामा एकछत्र राज गरेको थियो । उठेर फ्रेस भएँ । साथीहरु पहिल्यै उठिसक्नुभएको रहेछ । हामी होमस्टेमा चिच्चर र तामाको अचारको स्वाद लिन थाल्यौँ । साथमा रमाइला कुराकानी । स्थानीय सरकारको अधिकारबारे निकै बहस भयो । होमस्टेमा ४ वटा विराला आए । साथीहरुले सिंह दरबार गाउँ गाउँ भनेर उपहास गर्नुभयो । सानो भन्दा सानो काम पनि स्थानीय सरकारको मातहतमा चल्ने कुरामा चर्चा भयो ।

गाउँ गाउँमा सिंह पठाएको भन्छन् , म्याऊ नगरे हुन्थ्यो भनेर साथीहरुले चिन्ता व्यक्त गर्नु भो । यत्तिकैमा विदेशी बिरालो कराउँदा के भन्छ होला भनेर फेरि जोक सुरु भयो । अर्जुन सरले जहाँको बिरालोले पनि म्याऊ नै भन्छ होइन र भन्नुभयो । आनन्द सरले विदेशी बिरालोले म्याऊ होइन द म्याऊ ! भन्छ होला भनेर जोक गर्नुभयो । फेरि हाँस्यौ मज्जाले । यतिबेलासम्म बिहानको ८ बजिसकेको थियो । जङ्गल सफारीको लागि पनि व्यवस्था रहेछ ।

हाम्रा आआफ्नै बाध्यताले गर्दा जङ्गल सफारी भने गर्न पाएनौँ । नारायणी नदीको किनारमा पुगेर जङ्गललाई टाढै बाट नियाल्यौँ । बगी रहेकी नारायणीलाई हृदय भरी अंगाल्दै जीवनको गति स्मरण गर्‍यौँ , एउटा ग्रुपको फाटो सँगै खिच्यौँ ।

अर्को पटक समय मिलाएर जङ्गल सफारी गर्ने वाचासहित हामी छुट्टियौँ । यस बसाइँले साँच्चै जीवनमा नयाँ उर्जा थपिएको थियो । जीवनलाई कर्तव्य र जिम्मेवारीको भारमात्र होइन हाँसो र खुसीको उर्जा पनि चाहिँन्छ । यी सबैलाई सन्तुलन मिलाउँदै अगाडि बढ्न सकियो भने जीवन सुन्दर हुनेछ । सायद यो मेरोमात्र हाइन सबैको अनुभूति हो !

स्रोत : जीएनएन नेपाल