Loading... आजः १४ माघ २०७७, बुधबार । Wednesday 27th January 2021

व्यङ्ग्य

आयो भन्दा भन्दै दशैं गयो । कतिलाई हसाएर गयो कतिलाई ऋणमा फसाएर गयो । कति बोकाहरुलाई कसाईको डोरीमा कसाएर गयो । कतिका आँसु खसाएर गयो । कतिलाई खुसीयालीका टिका टसाएर गयो । कतिका घरमा पुरानै थिति बसाएर गयो । आखिर जसरी गएपनि गयो । आएपछि जानु त थियो नै गयो गयो । फेरि एक वर्षपछि आउने गरि गयो । त्यसपछि तिहार आउँछ भन्दा भन्दै आयो । तिहार भनेको आफैमा झिलिमिलि बन्ने र बनाउने हो । कतिले लक्ष्मीपूजा गरे । कतिले सामान्य भूजा गरे । कतिले सम्बन्धहरु धुजा–धुजा गरे । कतिका घरमा बत्ति बले । कतिका घरमा बत्ति निभे । यो तिहार पनि अचम्मको छ । कतिलाई त्यसै दुःखी बनाइदिन्छ कतिलाई गनाईदिन्छ । आखिर चलेको रिति र थिति न हो कतिको घरमा आफ्नो उपस्थिति जनाइदिन्छ । कतिलाई खुसी दिन्छ र मनाइदिन्छ । कतिलाई रुवाइदिन्छ । लु खतम ।


विगतका तिहारमा खबै रमेर भैली खेल्नेहरु, जमेर भैली खेल्नेहरु यसपाली रम्नपनि पाएनन् जम्नपनि पाएनन । बलिराजाले चलाएको चलनलाई कोरोनाका कारण वलीराजाले बन्द गरेपछि रम्नेहरु पनि ल्यात्त परे । जम्नेहरु पनि फ्यात्त परे । उहिलेदेखि चलेको चलन भनेर भट्याउनेहरु यसपाली देखिएनन् । दक्षिणा कति दिन्छन् र भोज खान गएर मोज गरौला भन्दै मुख मिठ्याउनेहरु पनि देखिएनन् । उहिलेका बलिराजा भन्दा अहिलेका वलीराजा शक्तिशाली देखिए । रातभरी भैली खेल्दै आपसमा मन मैली बनाउनेहरु भने जोगिए । सोमरसमा रमाउनेहरु भैली भन्दै गिलास समाउनेहरु पनि जोगिए । तर जोगिएनन् तास खेलेर पास हुनेहरु । लु खतम ।

उहिलेपनि भन्ने गर्दथे तास लेख्नेहरु पास हुन्छन् । बल्छि खेल्नेहरु अल्छि हुन्छन् । छक्का खेल्नेहरु पक्का हुन्छन् र जाल खेल्नेहरु माल हुन्छन् भनेर । यतिबेला देखियो । बल्छि खेल्नेहरु अल्छि नै रहेछन् । जाल खेल्नेहरु माल हुन सकेनन् । तास खेल्नेहरु पास भए । प्रहरीले समाउँदा पनि भित्रै रमाउला भन्नेहरु पनि देखिए । तर खासमा कुरो के भने छक्का खेल्नेहरु पक्का भए । हाम्रो देशको ठूलो पार्टीका कार्यकारी पाइलटले ल्याएको प्रस्तावलाई बलिराजाको आदेश समेत रोक्न सक्ने हिम्मत भएका वली राजाले विश्लेषण नै नगरिदिएपछि वली राजा पक्का भएनन् त । लु खतम ।
पूर्व मन्त्री पनि बचेनन् । बहालवाला वडाअध्यक्ष पनि बचेनन् । त्यसरी मार्रा भन्दै झ्याप्प समाएका गाँठहरु पचेनन् । कोही फोनको स्वीच अफ गरेर बसे । कोही तनक्क तन्किँदै भित्र पसे । नतन्किनेहरु फसे । पुलिसले ड्यूटी गरेकै छ । उता माल झरेकै छ । क्या अचम्मको कानून छ क्या हाम्रो देशमा । कसैले भनिदियो भने मात्र थाह पाउने प्रशासन उस्तै । लुकिछिपी गरेको कार्य भनिदिने उस्तै । एक बाजीमै लाखौ रुपैयाँ गनिदिने उस्तै । काँ बाट आउँछन् क्या त्यत्रा पैसा । कसैलाई छाक टार्नै मुस्किल छ । कसैलाई ओछ्याए पनि पुग्ने यो पैसो भन्ने चीज पनि अचम्मको हुँदोरहेछ । लु खतम ।

खान पनि कति सकेका । तिहार हो भन्दैमा पेटमा नअटाउने गरि खाइदिनेहरु रहेछन् । खाएको बेलामा अंग्रेजीमा गाइदिनेहरु पनि रहेछन् । त्यसपछि रातभर समाजमा छाइदिने पनि रहेछन् । सरकारले जे सुकै भनेपनि दिनरात भट्टिमै धाइदिने पनि रहेछन् । अन्तिममा फेरि उपचार गर्नका लागि रातभर जाग्नु पर्ने डाक्टरलाई । समाज मिलाउनु पर्ने मास्टरलाई । तिहारको नाममा पिउनेहरु पनि देखियो । बेहाल जिन्दगी जिउनेहरु पनि देखियो । आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको धोती नै फुस्किने गरि चिच्याउनेहरु पनि देखियो अनि लाज ढाक्न भएपनि नेताका धोतिहरु सिउनेहरु पनि देखियो । तिहारको फिनी खान नपाएकाहरु सेल किनी खाँदै गरेको अवस्थामा पार्टी फुटाउनेलाई लाठी लगाउने कुराले फेरि एकपटक यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ आजको सूक्ष्मदृष्टिमा प्रकाशित व्यङ्ग्य ।