Loading... आजः १४ माघ २०७७, बुधबार । Wednesday 27th January 2021

श्री ७ महाराजकी जय !

कुनै समयमा संसदमा पद र शक्तिका लागि आरोप र प्रत्यारोपमा उत्रिएका केपी शर्मा ओली र प्रचण्ड एक हुने कुराले नेपाली कम्यूनिष्ट आन्दोलनमा ठूलै खैलाबैला मच्चायो । आफैले प्रस्ताव गरेर निर्वाचित गरेका प्रधानमन्त्री विरुद्धमा आफैले अविश्वासको प्रस्ताव ल्याएर उनलाई थुकका आँसु लगाउन बाध्य पारेको अवस्थालाई भूलेर केपी शर्मा ओलीले नै भने राजधानीमा दीर्घ मित्र र दीर्घ सत्रु कोही हुँनै सक्दैनन् । यही कुरालाई समातेर नेपाली कम्यूनिष्ट आन्दोलनको मियोको रुपमा काम गर्नेहरुका मनमा निकै उत्साह र उमंग मात्र आएन नेपाली जनताले झण्डै दुइतिहार भोट समेत दिए ।

खगेन्द्र अधिकारी ‘अमृत’

निर्वाचनको समयमा दश दौडाहामा रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गज्जबको भाषण गरे । जसले गर्दा नेपाली जनताको मनमा एक खालको छाप नै प¥यो । तत्कालिन एमालेको नौ महिने शासनकालमा मनमोहन अधिकारीले ल्याएको आफ्नो गाउँ आफै बनाऔं भन्न अभियानले जसरी नेपाली जनताका मन मात्र नभई जीवन नै परिवर्तनको अस्त्र बन्ने मौका पायो त्यसरी नै केपी शर्मा ओलीको भाषणमा आउने उखान टुक्काहरुले समेत जनतालाई प्रभावित पार्न सके ।

नेपाली जनता भोकले मर्नु पर्दैन भन्दै भाषण गर्ने हाम्रा प्रधानमन्त्रीले अहिले काठमाडौंको खुलामञ्चमा भोकाहरु देखे कि देखेनन् ? उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन भन्ने व्यक्ति नै देशको प्रधानमन्त्री भएको बेलामा जनताका उपचारका लागि सर्वोच्चमा रिट दायर गर्नु प¥यो । भ्रष्टाचारीको अनुहारसम्म हेर्न चाहान्न भन्ने व्यक्ति नै झण्डै दुईतिहाईको प्रधानमन्त्री भइरहेको बेलामा उनकै प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ७० करोडको भ्रष्टाचार काण्डमा मुछिए । उनकै नेतृत्वको सरकार वाइडवडी काण्डमा मुछियो । यी त केही उदाहरण मात्र हुन् । यस्ता बाहिर आएका र बाहिर आउन नपाएका काण्ड त कति छन् कति ।

भारतल एकतर्फी रुपमा गरेको नाकाबन्दीको समयमा भारत सामु नझुकेर आफूसँगै नेपालीको शिर ठाडो पारेर राष्ट्रवादी कहलिएका ओलीले नेपालको नक्सा नै परिवर्तन गरेर भारतले हडपेको नेपाली भूमि फिर्ता ल्याउने कुरामा अपवाद बाहेक संसदमा रहेका सबैले समर्थन गरेर संविधान नै संशोधन गरे झै आउँदो निर्वाचनमा पनि कम्यूनिष्टको शासनसत्तालाई नेपाली जनताले त्यसरी सर्वसम्मत्ले अनुमोदन गर्न पक्षमा थिए । जसले गर्दा पनि केपी ओली साँच्चिकै राजनेताको रुपमा, लोकप्रिय नेताका रुपमा र राष्ट्रवादी नेताका रुपमा पूजनीय हुने अवस्था थियो ।

नेपालमा कम्यूनिष्टहरुलाई एक हुन नदिने र आन्तरिक रुपमा आफ्नो स्वार्थ पूरा गर्ने तत्वको पहिचान गर्न नसक्नुले ओलीको लोकप्रियता भंग हुने अवस्थामा पुगेको छ । जबसम्म कम्यूनिष्टहरु एक हुन सक्दैनन् तबसम्म उनीहरुको साम्यवादको आन्दोलनले सफलताको शिखर चुम्न सक्दैन भन्ने सबैलाई थाह छ । त्यसका लागि आँखा अगाडिको सत्ता, स्वार्थ र शक्ति भन्दा पनि दुरदर्शीता हुनु जरुरी छ । तर ओलीमा यो देखिएन ।

नेपाली राजनीतिको इतिहासमा कहिल्यै पनि बहुमत प्राप्त गर्न नसकेका कम्यूनिष्टहरु फरक फरक पृष्ठभूमिबाट आएका दुईवटा पार्टी मात्र जब एक हुने कुरा आयो तबमात्र पनि नेपाली जनताले अब देशले आर्थिक विकासमा होस् कि भौतिक विकासमा होस् फ्को मार्छ भन्ने आंकलन गरिहाले । अझै पनि सानातिना धेरै पार्टीहरु छिट्टबिछिट्ट अवस्थामा छन् ।

तत्कालिन एमाले र माओवादीका बीचमा गठबन्धन भइसकेपछि बनेको नेकपा ठूलो पार्टी भएकोले त्यसमा हामी दुई अध्यक्ष पाइलटको रुपमा जिम्मेवारी सम्हालेका छौ भन्ने ओली र प्रचण्डले अरु कम्यूनिष्टहरुलाई पनि मिलाएर एक भएर अगाडि बढ्नुको साटो अहिले आएर पार्टीलाई नै संकटमा पार्नुले नेता कार्यकर्ताहरु, आसेपासे र झोलेहरु मात्र होइन सिंगो नेपाली जनता नै के हुने हो भन्ने चिन्तामा परेका छन् । पार्टीमा आइलागेको संकट टर्ला कि नटर्ला यो पिरले कम्यूनिष्ट शुभचिन्तकहरुलाई पिरोलिरहेको छ ।

पार्टी एक भइसकेपछि सबै एक हुनु पर्ने हो । तर देखावटी रुपमा मात्र पार्टी एक भएको बताएर मन एक बनाउन नसकेका कारण आज पार्टी नै संकटमा परेको हो । प्रधानमन्त्री ओलीले सरकार संचालन गर्ने क्रममा आफ्नो मनोमानी ढंगले अगाडि बढ्ने अनि पार्टीका अर्का अध्यक्ष प्रचण्डले त्यसको खण्डन गरेर अगाडि बढ्ने प्रवृत्तिले आजको अवस्था आइलागेको हो । विश्वविद्यालयका उपकूलपतिको नियुक्ती प्रक्रिया होस् कि राजदूत नियुक्ती प्रक्रिया होस् । यस्ता अनेकन राजनीतिक नियुक्तीमा प्रधानमन्त्रीले आफ्नो शक्ति प्रदर्शन गरेपछि नै सरकार र पार्टीका बीचमा खलबल मच्चिएको हो । प्रधानमन्त्री ओलीले अन्धभक्त भएर कोही नेताहरुलाई काँधमा बोक्ने र कोहीलाई मतलव नै नगर्नु भनेको प्रचण्डको उपहास गर्नु हो । पार्टी एक भइसकेपछि, दुई अध्यक्ष भइसकेपछि र अझ भन्ने हो भने प्रचण्ड कार्यकारी अध्यक्ष भइसकेपछि सरसल्लाहमा जान नसक्नु ठूला कमजोरी हो । जसले गर्दा आजको अवस्था सिर्जना भएको हो ।

पछिल्लो समयमा पार्टीमा आएको संकटलाई समाधान गरेर कम्यूनिष्ट नेतादेखि कार्यकर्ता र कम्यूनिष्टलाई भोट दिने मतदाताहरुको समेत सम्मान हुन सकेन भने ओली र प्रचण्डले नराम्रोसँग पछुताउनु पर्नेछ । हिजोका जस्ता चिल्ला भाषणले मात्र जनता अब प्रभावित हुनेवाला छैनन् । आजको परिस्थितिमा दुई अध्यक्षले पार्टीलाई दुई चिरा पारेर आ–आफनो भागबण्डा गरेर दोबाटो समाते भने जनताको मन सिसाको महल जस्तो चकनाचुर हुनेछ । त्यसलाई जोड्नका लागि न ओलीले भाषण गरेर सम्भव हुनेछ न प्रचण्डले फर बन्दुक बोकेर नै । मौका आउँछ पर्खिदैन भने झैँ यो मौका हो । मौकामा हिरा फोर्न सक्नु पर्छ ।

विगतका दिनहरुमा काँग्रेसले कम्यूनिष्टहरुलाई आँखाको कसिंगर भएको बताउँदै कम्यूनिष्टहरुले गरेको आन्दोलन, हडताल र विरोधका कारण काम गर्न सकेनौ भन्दै पानी माथिको ओभानो बन्ने जुन कोसिस गरेको थियो । आज दुई तिहाइ नजिकमा पुगेका कम्यूनिष्टहरुले त काँग्रेसलाई दोष दिएर भएपनि जनता झुक्याउन सक्ने अवस्था छैन । किनकी आज काँग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नै सकेको छैन । सरकार वा संसदमा कुनै पनि निर्णय गर्नु पर्दा नेकपाले जे चाहान्छ त्यो पूरा हुन्छ । काँग्रेस त श्राद्ध गर्नका लागि बाँधिएको विरालो जस्तै निरिह अवस्थामा छ ।

पछिल्लो समयमा सचिवालयमा प्रचण्डले प्रतिवेदनका रुपमा प्रस्तुत गरिएको पत्रमा जुन दोष र आरोपहरु छताछुल्ल भएका छन् । तिनको विश्लेषण गरेर आत्मआलोचना गर्दै अगाडि बढ्न सक्नु नै ओलीको महानता हुनेछ । अर्काे प्रतिवेदन ल्याउने कुरामा प्रचण्डले उठाएका प्रश्नको जवाफी फायरको रुपमा ओलीले आफ्नो शक्ति प्रदर्शन गरे भने त्यसले अझ नेकपामा ठूलो भुँइचालो ल्याउने छ । जसले नेकपा एक रहन्छ रहन्न दुविधा छ । त्यसैले ओलीले पनि आत्मालोचना गर्ने र प्रचण्डलाई पनि स्वयम् आत्मालोचना गर्न लगाउने भूमिका निर्वाह गर्नु बुद्धिमानी हुनेछ । एउटै व्यक्तिलाई अर्थमन्त्रीदेखि राजदूतसम्म, अनि एउटै व्यक्तिलाई लगायत विश्वविद्यालयको उपकूलपतिदेखि वाणिज्य बैंकको अध्यक्षसम्म पु¥याउनु पर्ने कारण के ? के नेकपा भित्र उनीहरु बाहेक अरु कोही व्यक्ति छैनन् जसले ती पदको जिम्मेवारी पूरा गर्नै नसकुन् ? प्रा.डा. उपेन्द्र कोइराला र डा. खतिवडा जस्ता व्यक्तिलाई ओलीले जिम्मेवारीबाट बाहिर राख्नै नचाहनुको कारण के हो ? यो आम नेपाली जनताले गरिरहेको प्रश्न हो ।

आज नेकपामा संकटमा भएकोले त्यसको संकटमोचन गर्नका लागि ओली प्रचण्डले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक र जवाफदेहितापूर्वक कार्य गर्न जरुरी छ । कसैका आसेपासेको कारण होस् कि कसैका छोरी बुहारीको कारण होस् कुनै पनि हालतमा नेकपालाई दुर्घटनामा पारेर आफ्नो स्वार्थसिद्धि गर्ने अधिकार छैन । यदि त्यसो भयो भने ओली र प्रचण्डलाई नेपाली जनताले दिएको मतको सराप लाग्नेछ । कम्यूनिष्ट आन्दोलनका लागि रगतको खोलो बगाउने शहिदको आत्मले पोल्नेछ ।

इतिहासलाई सांक्षी राखेर वर्तमानमा संघर्ष गरेर भविष्यको निर्माण गर्नुपर्छ भन्ने सिद्धान्तबाट कम्यूनिष्टहरु फेल हुनेछन् । त्यसपछि फेरि देशमा अर्को आन्दोलनको ज्वाला दन्किनेछ । जसले गर्दा न नेपाली जनताले सुख पाउनेछन् न नेपाल समृद्धिको मार्गमा अगाडि बढ्नेछ । यदि नेपाल फेरिपनि द्वन्द्वमा जानु पर्ने अवस्था आयो भने केपी र प्रचण्डसँगै तिमीहरुका नजिककाहरु पनि पछुताउनु पर्ने समयसम्म पाउने छैनौ । अतः कम्यूनिष्टको व्यवहार गरेर पार्टी जोगाउने हिम्मत राख । अनि सरकार जोगिन्छ । त्यसपछि देश जागिन्छ र जनता जोगिन्छन् । यसैमा सबैको भलाई हुन्छ । श्री ७ महाराजकी जय ।