Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

भेरी क्षेत्रको लोपोन्मुख फाग दोहोरी गीत र नाच

भेरी क्षेत्रमा तिहार वा द्वारका अवसरमा फाग गाउने र नाच्ने प्रचलन थियो । सुदूर पश्चिम प्रदेशमा मागलका रूपमा गाइने फागभन्दा यो नितान्त भिन्न हो । यसलाई एकातिर महिला र अर्कातिर पुरुष भएर डेउडाका छाँटले दोहोरीका रूपमा गाउँदै नाचिन्थ्यो । खास गरेर अन्य गाउँबाट सैरेलीका रूपमा आमन्त्रित युवतीहरु र स्थानीय पुरुषहरुबिच सबाल जबाफका रूपमा यसलाई गाइन्थ्यो। यस लेखका लेखकले वि.सं. २०४८मा “गरिमा”को पूर्णाङ्क १११मा प्रकाशन गरेको लेखमा सैरेली प्रथाबारे विस्तृत प्रकाश पारेको छ जसमा फागका विषयमा पनि केही चर्चा गरिएको छ । ।
जिबेन्द्रदेव गिरी
लहर्या नाचकै हारमा उभिएर मादलका तालमा हातखुट्टा नचाउँदै र अगि बढ्दै डेउडाका छाँटले फागको दोहोरी चल्छ । लहर्या नाचलाई पैँसरी पनि भनिन्छ । यो नाचगान गर्दा नचारुहरुले खुट्टामा पैचन लगाएका हुन्छन् । पैँचनलाई खाँकर पनि भनिन्छ । पैंचन एक प्रकारको फलामे कल्ली हो जसका भित्र फलामकै ससाना गेडी हुन्छन् र खुट्टा चलाउँदा छ्याइँछ्याइँ बज्छन्। यस लेखकले बाल्यकालमा सुर्खेत सिम्ताको काप्रीचौर गाउँमा फागको अवलोकन गर्ने अवसर पाएको थियो । त्यसयता यसको पुनरवलोकन गर्ने अवसर मिलेको छैन । नचारुहरु रौसिएर गाउँदै नाच्तै गरेको दृश्य मनमा उपस्थित भइरहन्छ र त्यसले एक प्रकारको आनन्द दिइरहन्छ । यस नाच र गीतका मौलिक विशेषता अत्यन्त लोभलाग्दा हुँदाहुँदै पनि यो हराएर गयो भन्नु पर्दा दु:खको अनुभूति हुन्छ । डेउडाकै अर्को विशिष्ट रूप भनौँ वा दोहोरीको एक अलगै भेदका रूपमा यो रहेको थियो । यसले भेरी क्षेत्रको बेग्लै सांस्कृतिक पहिचान दिन सक्थ्यो तर यो अहिले छैन । सायद सैरेली प्रथाको अन्त्यसँगै यो हराएर गयो । सैरेली प्रथा अहिलेको युगसँग मेल नखाने भएकाले सायद त्यसको अन्त्य भयो होला तर फागका गीत र नाच पनि सँगसँगै हराएर नजानु पर्ने हो । तिनलाई जीवित राख्न पुनर्जागरणको खाँचो छ । त्यसैको चासो जगाउने प्रयत्न यहाँ गरिएको छ ।
Six years on, Bheri bridge construction remains unfinished
फाग गीत दोहोरीका रूपमा गाइने भएकाले तिनको विषयवस्तु व्यापक हुन्छ । सुरुमा नाचगानका लागि पुरुषहरु महिलाहरुलाई आँगनमा आउन र बाहुली जोड्न आह्वान गर्दै भन्छन्-
गाइति जान्या गुवालैले काट्यो कावलि
आइजौ लाल्मै आङनिमा जोरौँ बावलि
यहाँको अगिल्लो पइ्क्ति पछिल्लोसँग लय मिलाउने सन्दर्भमा आएको हो । त्यसमा गाईसँग जाने गोठालाले काउलो नामक वनस्पति काटेको बयान छ भने भन्न खोजेको खास कुरो दोस्रो पङ्क्तिमा छ जहाँ शिष्टतापूर्वक नाचगानको मैदानमा उत्रेर दोहोरीमा जुट्न लाल्मै अर्थात् लालमाई/ लालुमायालाई आमन्त्रण गरिएको छ । लालुमाया शब्द कतिपय गीतको थेगोका रूपमा पनि रहेको छ ।
गाउने क्रमको थालनीमा महिलाहरुले नाचिने थलो, त्यहाँको जमिन र भूमि दाहिना होउन् , आँगन शुभ होअोस् भनेर मङ्गल कामना गर्दै मङ्गल गान गर्छन् । दाहिने हुनु जस्तो टुक्काको प्रयोग गर्दै भनाइलाई लाक्षणिक बनाइएको उनीहरुले गाउने गीतले भन्छ-
यसु गाउँको सुजि दाइले तुन्यो थाङनि
दाइन्या भया जिमिभुमि सुब्ब्या आङनि
हरेक कामको थालनीमा मङ्गल कामना हाम्रो परम्परामा छ । गीत गाउँदा होओस् वा काव्य महाकाव्य सिर्जना गर्दा होओस् मङ्गलाचरणबाट कार्यारम्भ भएको पाइन्छ । त्यही भएर होला यहाँ पनि मङ्गल गान गाइन्छ । यसपछि जीवनका भोगाइ, दु:खसुख, मायाप्रेम, घोचपेच, मिलन बिछोड आदि अनेक विषयका गीतहरू दोहोरीका रूपमा गाइन्छन् । यस क्रममा गाइएका केही गीतहरु यस प्रकार छन्-
लेखैको निगालि डुख्लो खायो थारैले
आङको मासु आङै भिज्यो मनका खारैले
यस गीतमा लय सन्दर्भ मिलाउन आएको पहिलो हरफले स्थानीय परिवेशको सुन्दर चित्रण गरेको छ । यहाँ निगालो र थारल हुने लेकलाई अगाडि सार्दै थारलले निगालाको कलिलो डाँठ खाइरहेको रहरलाग्दो दृश्य उभ्याइएको छ । दोस्रो हरफले मनको खार वा पिरले जिउको मासु जिउमै भिजेको अर्थात् जिउ सुकेर खँगारिएको मर्म प्रस्तुत गरेको छ ।
जीवन दर्शनका गम्भीर कुरा पनि फागका दोहोरीमा कति सहज र सरल रूपमा आउँछन् भन्ने कुराको एक उदाहरण यहाँ प्रस्तुत छ-
रातो बल्ल रचन्या ए कालो बल्ल बाउँ
गयाउ जोबान आउन्या भया पैसा हालेल्दाउँ
यहाँको पहिलो हरफमा बल्ल भनेको गोरु हो । रातो गोरुलाई रचन्या भनिने र देब्रे राखेर जोतिने कालो गोरुलाई बाउँ नाम दिइने स्थानीय प्रचलनको जानकारी यहाँ दिइएको छ । दोस्रो हरफमा भने गएको जोबान अर्थात् बैँस फर्किने भए पैसा हालिहाल्दो हुँ भन्ने कुरा गरिएको छ । जतिसुकै पैसा हाले पनि जोबान फर्काउन सकिँदैन भन्ने कुरा व्यञ्जनाका साथ अगि सारिएको छ ।
दोहोरीका क्रममा घोचपेच पनि गरिन्छ । यस्तै एउटा घोचपेचको प्रसङ्ग छ । भेरी क्षेत्रमा कमाइ कजाइका लागि भारतमा खयर काट्न जाने चलन थियो । पुरुष सँगसँगै महिला पनि खयर काट्न जान्थे । यहाँ पहिले घरेलु तानमा ठेटुवा नामक कपडा पनि तयार गरिन्थ्यो । बारीमा कपास लगाउने, ऐँटाले ऐँटेर गेडा फाल्ने, चर्खाबाट धागो तयार गर्ने र तानमा राखेर बुन्ने गरिन्थ्यो । यसरी तयार गरेको कपडा मोटो र सेतो रङको हुन्थ्यो । विदेशबाट कारखानामा तयार गरिएका मसिना रङ्गीन कपडा आउन थालेपछि आकर्षण त्यतै गयो । घरेलु तानका कपडा कमसल ठानिन थाले । अहिले न कपास खेती गरिन्छ न त ठेटुवा उत्पादन नै । यही खयर काट्न जाने चलन र मोटो कपडाको पहिरनलाई लिएर गरिएको घोचपेच तलका गीतमा देख्न सकिन्छ –
महिला – यसु लेख पल्लापट्टि कार्यो पटुवा
यति नाम्रो द्वारदसैँमा लायौ ठेटुवा
पुरुष – यसु लेख पल्लापट्टि पर्यो असिनो
खैर गयौ पानि बोक्यौ लायौ मसिनो
यहाँका प्रसङ्ग मिलाउन आएका अगिल्ला पङ्क्तिहरुले कुनै लेकको ओल्लापट्टि आफूहरु रहेको सङ्केत गर्दै त्यसका पल्लापट्टि पटुवा कारिने वा काढिने ठाउँ रहेको र त्यहाँ असिनो परेको जानकारी गराएका छन् । यसले गाईवस्तुका दाम्ला जस्ता वस्तु तयार गरिने वनस्पति नजिकै पाइने र प्रकृतिले असिना बर्साउने भूगोल त्यहाँ रहेको सूचना पनि दिन्छ । पछिल्ला पङ्क्तिहरुमा भन्न खोजेका गाँठी कुरा भेटिन्छन् । त्यहाँ महिलाका तर्फबाट द्वारदसैँमा ठेटुवाको पोसाक लगाएकामा पुरुषको खिसीट्युरी गरिएको छ भने पुरुषले पनि खयर काट्ने ठाउँमा गएर पानी बोकेका पैसाले मसिनो पोसाक लगाएको कुरा उदाङ्गो पारेर महिलालाई होच्याउने प्रयत्न गरेका छन् । तिहारलाई यहाँ द्वार पनि भनिन्छ ।
मोटो ठेटुवाको पोसाक मसिनो आफूले लगाएको पोसाकभन्दा घटिया हो भन्ने महिलाको धारणा छ भने विदेशमा गई अरूको पानी बोकेको कमाइबाट किनेको मसिनो पोसाक पनि ठुलो होइन भन्ने पुरुषको भनाइ छ । यस्ता सबालजबाफ रोचक हुन्छन् ।
फागको नाचगान सकिएपछि आआफ्ना बाटा लाग्नु स्वाभाविक नै छ । छुट्ने वेलामा परस्पर सम्झना रहिरहोस् भन्ने भाव गीतमा यसरी व्यक्त हुन्छ –
मुखियाका भिर्तबारी बास्यो सुनभाल्या
अबदेखि मायालुयौ माया नमार्या
यस गीतको पहिलो पङ्क्तिले गाउँले मुखियाको घर परिसर र उनका बारीमा बास्ने सुनौलो भालेको प्रसङ्ग प्रस्तुत गरेर उनको विशिष्ट अवस्थातिर सङ्केत गरेको छ । वास्तवमा उहिलेको समाजमा जिमुवाल मुखियाले नै गाउँमा शासन गर्थे र स्तुतिका पात्र पनि उनै हुन्थे । तल्लो पङ्क्तिले सँगै नाचगान गरेर चिनजान गरेका महिलाहरुलाई मायालुको संज्ञा दिँदै माया नमार्न वा सम्झना राखिरहन आग्रह गरेको छ । सार्वजनिक रूपमा यसरी गरिने नाचगान र आग्रहलाई समाजले सहज ठान्दथ्यो ।
फागका गीतको लय आफ्नै प्रकारको छ । यसको संरचनातिर दृष्टि लगाउँदा ४ +४+२+३ =१३ अक्षरको पङ्क्तिगत संरचना पाइन्छ । तलका पङ्क्तिहरु यसका उदाहरणस्वरूप प्रस्तुत छन् –
४ + ४ + २ + ३
गाइति जान्या गुवालाले काट्यो कावलि
आइजौ लाल्मै आङनिमा जोरौँ बावलि
गीतलाई मिठासयुक्त तुल्याउन “यस”लाई “यसु” र “आङन”लाई ठुलनि” जस्ता शब्द प्रयोग भएका छन् । टुक्काको प्रयोग र व्यङ्ग्यात्मक भनाइ उत्तिकै मनमोहक छन् । “दाइन्या भया जिमिभुमि “, ” गयाउ जोबान आउन्या भया पैसा हालेल्दाउँ”, ” आङको मासु आङै भिज्यो मनका खारैले” यिनका सुन्दर उदाहरण हुन् । यहाँ प्रयोग भएका नाम्रो “राम्रो”, सुब्ब्या “शुभ”, खार “पिर”, बल्ल “गोरु”, डुख्लो “कलिलो डाँठ”, द्वार “तिहार”, गुवाला”गोठाला”, भिर्तबारी, “भित्रबारी” जस्ता स्थानीय शब्दले नौलो अनुभव गराउँछन् । यसरी नै क्रियापद र अन्य कतिपय शब्दमा “ए”का ठाउँमा “या”को प्रयोग भएको छ । जस्तै; जान्या” जाने”, नमार्या “नमारे”, दाइन्या “दाहिने”, “रचन्या” रचने, सुनभाल्या ” सुनभाले” आदि। “गाइति” मा प्रयोग भएको ” ति ” विभक्ति “सँग” अर्थमा तृतीया विभक्तिका रूपमा प्रयोग हुनु र “गयाउ” मा प्रयोग भएको “याउ”ले “एको” बुझाउनु पनि यहाँको भाषिक वैशिष्ट्य हो । रूपध्वनि सन्धिको विशिष्ट प्रयोगका रूपमा “हालेल्दाउँ”लाई लिन सकिन्छ जसमा “हालि हाल्दो हुँ “को योग रहेको छ । “रचन्या ए” मा रहेको “ए” ले “त” निपातको काम गरेको छ भने “मायालुयौ”मा रहेको “यौ”ले सम्बोधनात्मक ” हो/हौ”को अर्थ बोध गराउँछ ।
फाग दोहोरी लोकगीत र नाचको जगेर्ना गर्न सकिएन भने हाम्रो संस्कृतिको एक महत्त्वपूर्ण सामग्री हराउने हुँदा भेरी क्षेत्र वा भेरी नदीका सेरोफेरोका बासिन्दाको सर्वप्रथम यसतर्फ गम्भीर ध्यान जान आवश्यक छ । यसलाई गाएर नाच्न जान्ने महिला पुरुषको खोजी गरेर श्रव्यदृश्य सामग्रीमा सुरक्षित राख्न सकियो भने यो अमूल्य सम्पत्ति भावी पुस्ताका लागि सुरक्षित रहने छ । हेर्दाहेर्दै डब बाजा बजाउँदै डब गीत गाउन जान्ने मान्छेहरु सकिए । फाग दोहोरी पनि समाप्तिको सँगारमा छ । सरकारी तहबाट पनि यसको सोधखोज र संरक्षणमा विशेष प्रयास अपेक्षित छ । यस्तै सामग्री संरक्षित रहन सके भने हाम्रो मौलिक पहिचान रहिरहने छ ।