१६ दिने अभियान र लैङ्गिकताको सवाल
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराको साथ यस वर्ष पनि २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६दिने लैङ्गिक हिंसाविरुद्धको २९औँ अन्तर्राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । यस अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा समाजिक संस्थाहरूले १६ दिनसम्म विभिन्न कार्यक्रमको साथमा अभियान चलाउँछन्/मनाउँछन् । विश्वभरी नै एकसाथ चलाइने यस अभियानलाई महत्वपूर्ण कार्यको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नै लिने गरिएको छ । यस अभियानले एक पक्षलाई मात्र नभइ लैङ्गिक दृष्टिकोणबाट महिला, पुरुष तथा तेस्रोलिङ्गीलाई पनि समेटेको छ । कुनै पनि बहानामा महिला, पुरुष वा तेस्रोलिङ्गीउपर हिंसा हुनुहुँदैन भन्नु नै यसको तात्पर्य हो ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि समुदाय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू भइरहेका छन् । महिलाको सम्मानपूर्वक बाँच्न पाउने हक-अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रूपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न नेपालमा वि.स. २०५४ देखि महिला हिंसाविरुद्धको १६ दिवसीय अन्तर्राष्ट्रिय अभियान विविध कार्यक्रमहरू गरि मनाउने गरिएको छ । अहिले मुलुक केन्द्र, प्रदेश र स्थानीय सरकार गरेर तीन तहको सरकारको संरचनामा छ । यिनै तीन तहमा महिलाको स्थान कहाँनेर छ भन्ने कुरालाई हामीले लिनुपर्छ ।
परिवर्तनको संघार पार गरी मुलुकले एक फड्को मारेको छ, तर पनि महिलालाई दिइएको राजनीतिको स्थानको विश्लेषण गर्दा राजनीतिक रुपान्तरण भए पनि महिलाको निर्णयमाथि अधिकार अहिले पनि हुन सकेको छैन । राजनीतिक रूपमा महिला सहभागिता भयो तर अर्थपूर्ण सहभागिताको आवश्यकता अझै खट्किएको महसुस हुन्छ ।
१६दिने अभियानको इतिहास
विश्वभरी हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको यो अभियानलाई महत्वपूर्ण स्थानमा राखिएको छ । डोमेनिकन गणतन्त्रका तत्कालीन त्रुजिले तानासारी सरकारले सन् १९६० मा लोकतन्त्रका लागि लड्ने मिरावेल परिवारका तीन दिदी-बहिनी (प्रेटिया, मिनर्भा र मारिया) को निर्मम हत्याको विरोधस्वरुप यो अभियान सुरु भएको हो । हत्याको विरोध सर्वत्र भइरहँदा संयुक्त राष्ट्र सङ्घबाट सन् १९९१ मा यो घटनाको सम्झनामा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर यो दिवसलार्ई महिला हिंसाविरुद्धको दिवसको रूपमा मनाइने प्रचलन रहँदै आएको हो ।
पितृसत्तामा निहित मूल्य-मान्यता
महिलामाथि हिंसा किन हुन्छ ? भन्ने प्रश्न कहीँबाट आयो भने सजिलैसँग भन्छौँ- पितृसत्ताको कारण । वास्तवमा घटनाको गहिराइमा गएर हेर्ने हो भने पितृसत्ता नै देखिन्छ । किनकि यो सत्तामा महिलालाई दोस्रो दर्जा र कमजोर वर्गको रूपमा परिभाषित गरिएको छ । कमजोर व्यक्तिको अघि शक्तिशाली व्यक्तिले आफ्नो शक्ति देखाउँछ र त्यो हिंसाको स्वरुपमा जान्छ । यसैगरी अर्कातिर समाजका विभिन्न रुढिवादी सोच तथा हानिकारक परम्परागत मूल्य-मान्यताका कारण नै महिलामाथि अंकुश लागेको छ । यसले छोरी वर्गको लागि धेरै सिमारेखा कोरेको छ । छोरी अरुको इच्छामा हिँड्नु पर्छ, खानुपर्छ, छोरीको आफ्नो निर्णय हुँदैन, परिवारको निर्णय हुनुपर्छ जस्ता हानिकारक धारणाका कारण आजसम्म पनि छोरा र छोरीबीच विभेद भएको छ ।
सांस्कृतिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक आदि समग्र पक्षसँग सम्बन्धित, ज्ञान अनुभव, जीवन भोगाइ, अधिकार, अवसर पहुँच जस्ता कुराहरूमा महिला र पुरुषका बीचमा ज्यादै भिन्नता रहेको छ । यही भिन्नताको फलस्वरुप महिलामाथि विभिन्न खाले हिंसाहरू हुँदै गयो । महिलालाई सांस्कृतिक, आर्थिक र राजनितीक अधिकारबाट टाढा राखेर समाज र राज्यले हिंसाको जोखिममा धकेल्दै गए । घर-परिवारदेखि समाज र राज्यको तह-तप्काहरूमा महिलाको स्थान न्युन हुँदै गयो । जहाँ महिलालाई आफ्नो कुरा खुलेर राख्ने वातावरणको सृजना गरिएन । सदियौँदेखि आएका विभेदकारी सोचहरूको कारण महिलामाथि हिंसाहरू बढ्दै गए । महिलामाथि गरिने हिंसा मानवताविरोधि हिंसा हो भने यो महिलाको मानवअधिकारको हनन पनि हो । पित्तृसत्ताको संरचनामा दोस्रो स्थानको रूपमा राखिएको महिला जातीको भविष्यको निर्णय पित्तृसत्ता चलाउनेउपर छोडियो । जसले गर्दा शासकले महिलालाई जबर्जस्ती कब्जामा बाँध्दै गयो । उसको आत्मसम्मानमा ठेस पुऱ्याएर समाजमा महिलाको स्थान तल पार्न खोजियो भने अर्कातिर उसलाई कब्जामा राख्ने व्यक्ति समाजको उच्च स्थानमा पुग्यो । फलस्वरुप महिला र पुरुष बीच ठुलो पर्खाल खडा भयो ।
यति कुरा गर्दा महिलाअधिकारका सवालहरू पुरुषविरोधि हुन् भन्न खोजिएको होइन, यो त एक सोचले बाँधेको ठुलो घेरा हो जहाँ पुरुषलाई उपल्लो र महिलालाई तल्लो दर्जा दिइयो । असमानता सदियौँदेखि चलनको रूपमा स्थापित हुँदै आएको छ जसलाई सामाजिक दृष्टिकोणले पछ्याइरहेको छ । लिङ्गको आधारमा महिला र पुरुषमा भिन्नता रहे पनि समाजिक संरचनाले महिला–पुरुषको भूमिकालाई नै भिन्न बनाइ दिएको छ । आजको महिला आन्दोलन पनि समाजिक संरचनाले छुट्याएको विभेदको विरुद्धमा हो । यस विभेदको कारण महिला मात्रै होइन पुरुषलाई पनि असर पुऱ्याएको छ । पुरुषमाथि जबर्जस्ती तिमी बलवान, तिमी शक्तिशाली, तिमी रुनु हुँदैन, यो वंश चलाउने तिमी नै जस्ता शब्दहरूको प्रयोगका कारण पुरुष वर्गलाई बलियो बनाइदियो भने त्यहीँ महिलालाई तिमी लजालु, मायालु, दयालु, कोमल जस्ता शब्दको प्रयोग गरेर अघि बढ्नै दिइएन । यी सामाजिक विभेदको कारण आज महिला र पुरुषबीच कार्यको बाँडफाँड कायमै छ ।
हामीकहाँ लैङ्गिकताको सवालमा वर्षौंदेखि बहस हुँदै आइरहेको छ । महिला-पुरुषबीचको असमान शक्ति सन्तुलनका कारण उब्जिएको सवालसँगै परम्परागत हानिकारक मूल्य मान्यताको विरुद्धमा पनि थुप्रै आन्दोलनहरू भए, महिला हक अधिकारको सवालमा थुप्रै बहस भए । परिणामस्वरुप राज्य महिलाको पक्षमा भयो र महिलाकै पक्षमा कानूनहरूको निर्माण भयो । राज्यको नीति निर्माण तहमा महिला सहभागिताको कुरा उठ्यो र फलस्वरुप समान सहमागिताको सङ्ख्या बढ्दै गयो । कामहरू धेरै भएका छन् तर वर्षौंदेखि गडेको पित्तृसत्तात्मक सोचमा परिवर्तन हुन सकेको छैन । यति धेरै उपलब्धि हुँदाहुँदै पनि महिलाको सवालमा अझ पनि बहस जारी छ । लैङ्गिकताको सवालमा एक महिला मात्रैका चर्चा धेरै हुने गरेको छ ।
परापूर्व कालदेखि चलिआएको चलनले महिला र बालबालिकालाई असर त पुऱ्याएको छ नै तर बदलिँदो समाजमा पुरुष पनि हिंसाको चपेटामा परिरहेका छन् । यो पक्कै पनि राम्रो होइन । मानवअधिकारको बहसमा सबै मानवको उच्च सम्मानको कुरा आउँछ । सबैले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ । पुरुषलाई हिंसा भयो भने उसलाई खुलेर बोल्ने कुनै स्थान छैन । कहीँ गएर आफ्नो समस्या राख्यो भने पनि तिमी पुरुषले नै हिंसा गरेका होलाउ नि भन्ने जस्ता शब्दहरू प्रहार हुन्छन् । पुरुष हुँदैमा हिंस्रक हुने र सबै महिला पीडाबाट प्रताडित हुने पक्कै पनि हुँदैन । त्यसैले महिला या पुरुष जो-कोही उपर पनि हिंसा हुनु हुँदैन । पितृसत्ताको विपरीत समानता हो ।
अपराधको दृश्य
कानूनले जुन कार्य गर्न बन्देज लगाएको हुन्छ त्यहि कार्य गर्नु अपराध हो । यस्ता अपराध गरिने श्रेणीमा बालिका तथा महिला पर्दछन् । उनीहरूमाथि विभिन्न समयमा विभिन्न प्रकारका हिंसा हुने गर्दछन् । महिलामाथि हुने हिंसालाई महिलाको मानवअधिकार कुण्ठित पार्नको लागि गरिने अपराधको रूपमा राखिन्छ । उसलाई विभिन्न प्रकारको नामाकरण गरी अथवा नैतिकतामा प्रश्न उठाएर हीनता बोध गराइन्छ । जब उसले हीनता बोध गर्छे तब त्यहाँबाट पलायन भइ जघन्य अपराधतिर जान्छे । समाजले महिलाको चरित्रमा समाजको इज्जत देख्यो । उसलाई हिंसा पुऱ्याउने व्यक्ति सर्वश्रेष्ठ भयो भने हिंसा पाउने व्यक्ति विभिन्न आरोपप्रत्यारोपको शिकार भइरह्यो । यो सबै पित्तृसत्ताको उपज हो । दूरदराजमा अहिले पनि महिला तथा बालबालिकामाथि हिंसा हुने क्रम रोकिएको छैन । देशमा बढ्दै गइरहेको बलात्कार र बलात्कारपछिका हत्या र मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराध लैङ्गिक हिंसाको कारक तत्व हुन् ।
विश्वभरि कोरोना भाइरसको प्रकोप बढिरहँदा नेपालमा पनि यो भाइरसको प्रवेश भयो । उक्त भाइरसलाई न्युनीकरण गर्न नेपाल सरकारले बन्दाबन्दीको घोषणा गऱ्यो । भाइरसको जोखिम न्युनीकरण गर्न गरिएको बन्दाबन्दीमा घरेलु हिंसा झनै बढेको नेपाल प्रहरीको तथ्याङ्कले पनि देखाएको थियो । कोभिडकै समयमा महिला तथा किशोरीहरूमाथि विभिन्न किसिमका सामाजिक दुर्व्यबहार लगायत यातना, हिंसा जस्ता घटनाहरू सार्वजनिक भएका थिए ।
समाजलाई परिवर्तन गर्नु छ भने सबैभन्दा पहिले आफ्नै सोचमा परिवर्तन आवश्यक छ । हामीकहाँ लैङ्गिक समानताको बहस वर्षौंदेखि हुँदै आइरहेको छ । यति भनिरहँदा देशमा व्यवस्था त परिवर्तन भयो तर महिला र पुरुषलाई हेरिने असमानताको सोचमा भने परिवर्तन हुन सकेको छैन । आज समाजमा तरङ्गित हुने यावत घटना-दुर्घटनाहरू पनि यही सोचकै उपज हुन् । (घटना र विचार )






