Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

म भुन्टी – भुन्टी छु

टुनुनु–टुनुनु मोवाइलमा फोन आउँछ । हत्तपत्त फोन उठाउँछु म । नचिनेको स्वर । को बोल्नुभयो होला ? मेरो प्रश्न पूरा हुन पाउँदा नपाउँदै ‘ए ! चिन्नै विर्सिनु भो ?’ उताबाट प्रतिपश्न तेर्सिन्छ । अलि अलि चिनेको झँै लाग्छ पनि लाग्छ । ठ्याक्कै ठम्याउन सक्दिन पनि । ए, चिने चिने मैले पनि अन्दाजकै भरमा भनिदिएँ ।

बलिराज रोकाया

एउटा सहयोग गर्न सक्छु हुन्छ ? उताबाट फेरि प्रश्न आयो । सहयोग । यो सहयोग भन्ने चीज अचम्मको छ । गरौं भने आफूलाई गारो नगरौं भने अरुलाई गारो । गारो सारो परेका बेला सहयोग माग्ने आफन्तीहरु नै हुन्छन् । शुभ चिन्तकहरु हुन्छन् । उनीहरुले आफ्नो हृदयलाई जितेर नै सहयोग मागेका हुन्छन् । अनि त्यस्तालाई सहयोग गर्न पाउनु मानव धर्म पनि त हो । सहयोग शब्दको व्याख्या र विश्लेषण यसरी नै गर्ने गर्छु मैले ।

सहयोग गर्नु भनेको केही पाउनका लागि होइन । यो मलाई राम्रोसँग थाह छ । तर आफूलाई परेको बेलामा हिजोको सहयोगको बदलामा होइन गुणको बदलामा नुनसम्म खान पाइन्छ यही सिकेको छु मैले जीवन भोगाईबाट । अनि म किन पछि पर्नु सहयोगको लागि । एक छिनको समय दिँदैमा मेरो कत्ति नै काम वित्छ होला र । त्यसको साटो अर्को दिन अलिकति धेरै काम गरे भएन र ? आफ्नै मनले आफ्नै मनसँग गरेका प्रश्नोत्तरहरु हुन् यी । फोनमा बोल्ने अर्धपरिचित मान्छेको लागि म सहयोग गर्न तयार भएँ ।

एउटाको मन बुझाउन अर्कासँग बहाना बनाउनै पर्ने । कार्यालय प्रमुखसँग एउटा बहाना बनाउँदै निस्किएँ म सहयोगी बन्नका लागि । मेरो एउटा मात्रै गन्तव्य थियो मसँग सहयोग माग्नेले तोकिदिएको स्थान ।

टिट–टिट हर्न बजाउँदै पुगे म तोकिएको स्थानमा । एउटा अपरिचित मान्छेलाई भेट्न जाँदै गर्दा मेरो मनमा अनेकन तर्क वितर्कहरु आइरहे । एउटा मनले ठीकै गरेकोमा मलाई ढाढस दिइरहेको थियो भने अर्को मनले कता–कता आफैलाई प्रश्न गरिरहेको थियो । तर पनि म त सहयोग गर्न गइरहेको छु । के सहयोग गर्नु अनर्थ हो ? मेरो मनलाई नै म प्रतिप्रश्न गरिदिन थालेपछि मेरो मन आफैमा चुप्प लाग्न बाध्य भएको थियो । प्रतिक्षाको समय निकै लामो हुने गर्दछ । पट्यार लाग्ने खालको समय भनेकै प्रतिक्षाको समय हो ।

म निकै हतारिएर हुइँकिइरहेको थिएँ त्यसको मतलब उनलाई त्यति लामो समय प्रतिक्षा गर्नु नपरोस् भन्ने नै हो । पहिलो पटक म सहयोग गर्नका लागि जाँदैछु त्यसैमा पनि पट्यार लाग्ने गरि पर्खाए भने त्यो सहयोगको अर्थ रहने छैन ।

मैले उनको हुलिया मागेको थिएँ हिड्नुभन्दा पहिले । कस्तो रंगको कपडा लगाउनु भएको छ ? मेरो प्रश्नमा उताबाट आएको उत्तर थियो ‘म भुन्टी–भुन्टी छु’ । अब भने म अलि अलि फसादमा परेको थिएँ । किनकी राम्रोसँग नचिनेरै सहयोग गर्न जान थालेको त्यो पनि हुलियाको नाममा ‘म भुन्टी–भुन्टी छु’ बाहेक अरु थाह छैन । कोही भुन्टीलाई तपाईं हो भनेर कोट्याए भने । बाटामा दौडिने क्रममा यो प्रश्नले दरो रुपमा डेरा जमायो मेरो मनमा । तर पनि म निस्कि त हालें । पुगे म तोकिएको स्थानमा । डुलाए आँखाहरु दायाँबायाँ । अहँ ! कतै देखिन । त्यसपछि मेरा आँखाले भुन्टि खोज्न थाले । कानमा त्यही स्वर गुन्जिन थाल्यो । अहँ कतै पत्तो छैन । कोरोनाको संक्रमणबाट बच्नका लागि लगाइएको मास्क पनि खोले । मैले मास्क खोल्नु भनेको आफ्नै ज्यानलाई जोखिममा राख्नु नै हो । तर पनि त्यसको प्रवाह गरिन । गर्नु पनि हुँदैनथ्यो । किनकी म सहयोगी बनेर गएको थिएँ ।

अयोध्याका राजकुमार लक्ष्मण उनका दाजुको सहयोगीको रुपमा बनवास गएका थिए । कैकेयीले त रामचन्द्रलाई मात्र वनबासको बर मागेकी थिइन । अनि राजा दशरथको आदेश पनि त्यही थियो । तर श्रीमान्को सेवाको लागि आफू पनि सँगै जाने सीताको भनाई र दाजुको सहयोगीको रुपमा आफू पनि दाजुसँगै जाने लक्ष्मणको अगाडि सारा दरबार, भाइभारदारहरु समेतको केही जोर चलेको थिएन । हो लक्ष्मण बराबरको हैसियत नभएपनि एउटा मान्छेको सहयोगको खातिर गएको मान्छे म सहयोग गरेरै फर्कनु पर्ने थियो । मेरो कर्तव्य र जिम्मेवारी पनि त्यही थियो ।

मसँग सहयोगको आशा गर्ने सहयोगाापेक्षीलाई नभेटेपछि मैले विकल्पको रुपमा प्रयोग गर्नुपर्ने एउटा मात्र सञ्चार माध्यम बाँकी थियो । जसलाई मैले पुरै उपयोग गर्ने योजना अनुसार नै लगाए फोन र बज्यो घण्टी । तर उठेन फोन । लगातार फोन लगाइरहे । घण्टी बजिरहयो । तर फोन नै नउठेपछि मैले आँकलन गरेको मान्छे उनी पुग्न सक्ने गन्तव्यमा पुग्नु बाहेक अर्को विकल्प रहेन । मोडिए म ।

किन फोन नउठेको होला । मनमा अलि अलि शंका अनि अलि अलि रिससँगै लिएर अर्को बाटो हानिएको थिएँ । फेरि कोही ‘भुन्टि’ देख्यो कि यही त होइन भन्दै रोकिने कोसिस पनि नगरेको होइन मैले । तर मुखमा लगाएको मास्क र एकोहोरो हिडाइमा भएको मान्छेलाई रोक्ने आँट नै कहाँ थियो र मसँग । त्यसपछि पुनः पहिलेकै स्थानमा फेरि पुग्ने र फर्किने अनि चक्करका चक्कर लगाउने बाहेक अरु काम भएन मेरो । फोन सम्पर्क गर्ने कार्य भने जारी नै थियो । तर उता फोन नै रिसिभ नभएपछि बाघको लखेटाइबाट थाकेको बाख्रा झँै फर्किएँ फेरि आफ्नै कार्यकक्षमा ।

त्यसपछि फेरि एकपल्ट फोन लगाए । अहँ ! उठेन । न मैले सहयोग गर्न पाएँ न उनले सहयोग लिन पाइन् । यो कुराको पछुतो हुँदाहुँदै पनि मेरो मनमा अनेक तर्क विकर्तहरु भने आइरहे र गइरहे । यत्तिकैमा कवि मनु मन्जिलको ‘मेरो एउटा दुष्मन छ’ कवितालाई सम्झन पुगे । सहयोग गरौला भन्नेले विचैमा धोका दिनु भनेको पनि दुष्मनले गर्ने झैँ व्यवहार हो । सायद उनले त्यही कवितामा कवि मनु मन्जिलले भने जस्तै मलाई ठानिहोलिन् । मेरो एउटा मनले पनि त्यस्तै ठान्यो उनलाई ।

म आफ्नै काममा व्यस्त थिएँ । फेरि आयो फोन । मन नलागि नलागि उठाउन बाध्य थिएँ म । उठाएँ फोन । यताबाट हेलो भन्न नपाउँदै उताबाट मनु मन्जिलका कवितामा भने झँै मज्जाले फलाकिन् उनले म एकोहोरो सुनिरहें । खत्र्याक्क फोन राखेको आवाज समेत सुने मैले । त्यसपछि मलाई लाग्यो ऊ मान्छे मात्र भुन्टि भुन्टि रहेछ तर स्वर र दम भने अनि रिस र आवेस भने राजेश हमालको भन्दा पनि कडा रहेछ । मनमनै सोचे ‘ढिला आयो कडा आयो ।’