Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

उठ युवा जाग तिमी

हँुदैन विहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।

भूपि शेरचनका कविताका यी पंक्तिहरु अहिलेपनि त्यत्तिकै मार्मिक र सान्दर्भीक छन् । देशको लागि मर्न तयार हुने सपुतहरुको बारेमा उनले कवितात्मक शैलीमा यति मीठा हरफहरु लेखिरहँदा देशको समृद्धिका लागि र जनताको स्वतन्त्रताको लागि लेखेका थिए होलान् । देशले विभिन्न राजनीतिक परिवर्तनहरु झेल्दै गर्दा समयले साँच्चिकै सपुतहरुलाई शहिद बनाएर कपुतहरुलाई मात्र जीवित छोडेको हो कि भन्ने लाग्न थालेको छ । तसर्थ अब तिनै भूपिका कविताका हरफहरुलाई भन्नुपर्ने भो,

हस्तराज रेग्मी

हँुदैन विहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार कपुत मरेर नगए ।
नेपाल अहिलेसम्म स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा रहन सक्यो । त्यो हिजोका दिनमा पूर्खाहरुले जुन त्याग, बलिदान र तपस्या गरे त्यसको प्रतिफल हो । आजपनि त्यही प्रतिफलको कुरा गर्दै बस्ने अवस्था छैन । अबको बाटो के हो ? कसरी तय गर्नुपर्छ ? आजको दिनसम्म आइपुग्दा देशलाई कस्तो बनाउन आवश्यक छ भन्ने बारेमा दत्तचित्त भएर लाग्नुको साटो अझैपनि कुर्सीको लागि, स्वार्थको लागि, हप्कीदप्कीमा, सत्ता र शक्तिको आडमा फेरि नेपाली जनता माथि शासन चलाउन खोजिन्छ भने त्यो नेपाली जनतालाई कदापी सह्य हुँदैन ।

शहिद भन्ने शब्दकै अपमान भएको जस्तो लाग्छ । कसरी मरेको वा के कारणले मरेको वा किन मरेको भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ । कस्तो अवस्थामा मृत्युवरण गरेको मान्छेलाई शहिद घोषणा गर्नुपर्छ भन्ने हेक्का नराखी आफ्नो पार्टीको मान्छे गाडि दुर्घटनामा मरेपनि शहिद घोषणा गर्ने र उसको परिवारलाई १० लाख नगद दिने अनि त्यसको आफूले श्रेय लिने कुराले सच्चा शहिदको अपमान हुन्छ कि हुँदैन ? जो व्यक्तिले देशको लागि लडे, जसले आफ्नो प्राणको आहुति दिएमा बाँकी नागरिकले सुखको सुखको सास फेर्न पाउँछन् भन्ने आशा राखे । जसले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरेर मर्न तयार भए उनीहरुका लागि वर्षको एकदिन एक मिनेट मौनधारण गर्नु बाहेक अरु केही गर्न नसक्नेहरुले हामी शहिदका सपना पूरा गर्छौ भन्न लाज मान्नु पर्ने होइन र ?

नेपाली जनताले राजनीतिक परिवर्तनका लागि गर्नु आन्दोलन गरिसके । बगाउनु रगत बगाईसके । खेप्नु दुःख खेपिसके । त्यसैले अब देशमा आर्थिक क्रान्तिको आवश्यकता छ । कुरिती, कुसंस्कार र अन्धविश्वासलाई चिर्ने जरैदेखि उखेल्ने क्रान्तिको आवश्यकता छ । औद्योगिक क्रान्तिको आवश्यकता छ ।

अब देशमा कलकारखाना निर्माण गर्ने क्रान्ति चाहिएको छ । अब देशमा सबैको समानताका लागि नारा लाग्नु पर्ने बेलामा फेरिपनि विभिन्न बहाना बनाएर कोही बा र कोही छोरा हुने, कोही दा र कोही भाइ हुने आन्दोलनका पछाडि लाग्न आवश्यक छैन ।

राणाहरुको विरुद्धमा लडेर हाँसी हाँसी मर्न तयार हुने वीर शहिदहरुका सपना के थिए ? गौडाका झ्यालबाट बोरामा हालेर फालिँदै गर्दा अन्तिम इच्छा भनेको पञ्चायती निरंकुशताको अन्त्यको माग गर्नेहरुका सपना के थिए ? आज कसैले कुर्सीका लागि आन्दोलन गर्ला र देशलाई भड्खालोमा जाकिदेला भन्ने सोचेका थिएनन् ती महान योद्धाहरुले । नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि खरीको बोटमा झुण्डिना तयार हुने वीरले सोचेका थिएनन् कि आफ्नो स्वाभिमानलाई समेत बन्धकीमा राखेर नेताहरु बस्नेछन् र जनतालाई सधै साँढेको जुधाईमा पारिरहने छन् ।

ती शहिदका सपनाहरुलाई साकार पार्नु त कता हो कता अहिले त देश चलाउनेहरु कमेडिएन भएका छन् । कमेडिएनहरुको जागिर खोसिएको छ । यो भन्दा हाँस्यास्पद अवस्था अझ भन्ने हो लाजमर्दो अवस्था के हुनसक्छ । जनताका छोरीछोरीलाई यो वा त्यो बहानमा लडाउने, मर्न र मार्न लगाउने अनि आफू शेर बनेर सिंहदरबारमा पस्ने योजनाका कारण नेपालले भौतिक, आर्थिक र उत्पादनको क्षेत्रमा फड्को मार्न नसकेको हो । शैक्षिक रुपमा तेजिलो दिमाग भएको एउटा विद्यार्थी दैनिक आवश्यकता परिपूर्ति गर्न लाख कमाउने योजनाका साथ खाडी मुलुकमा जान बाध्य हुन्छ । तर नेताहरुका छोराछोरा विदेशका महंगा विश्वविद्यालयमा पढ्छन् र उतैको पिआर लिएर बस्छन् । अनि हामी इन्जिनियर बाहिरबाट ल्याउन बाध्य हुन्छौ ।

एउटा राजनीतिक दल मात्र होइन देशमा भएका सबै राजनीतिक दलहरुको अवस्था उस्तै छ । गणितीय हिसावमा संख्यात्मक रुपमा साना हुन् वा ठूला । राप्रपादेखि नेकपासम्म, तराइ केन्द्रित दलहरुदेखि नेपाली काँग्रेससम्म कहिले फुट र जुटको वातावरणमा अल्झिदै नेपाली जनतालाई गुमराहमा राखेर आफ्नो स्वार्थपूर्तिका लागि लागिरहेको स्पष्ट छ । संसदमा सबैभन्दा ठूलो दलको रुपमा रहेको झण्डै दुईतिहाइ नजिकको बहुमत भएको नेकपा अहिले शक्ति प्रदर्शनमा उत्रिएको छ । हिजोका दिनमा देउवाले काँग्रेस फुटालेकै हुन् । वामदेवले एमाले फुटालेकै हुन् । कमल थापाले राप्रपा फुटालेकै हुन् । रविन्द्र मिश्रले साझा पार्टी फुटालेकै हुन् । अरु त कसले के के फुटाले लेखाजोखा नै छैन । तर हाम्रा क्रान्तिकारी युवाहरु भने गीत घन्काइरहेका छन्,
टुटफुट र खण्डितको कुरा नगर
आत्मसमर्पणका कुरा नगर

वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्ने हो भने प्रतिनिधि सभा के का लागि विघटन गरियो ? प्रचण्ड – माधव समूहले किन केपी ओलीलाई काम गर्न दिएनन् ? पार्टी भित्र के का लागि शक्तिको तानानात हुन थाल्यो ? हिजो कुन शर्तमा पार्टीमा गठबन्धन भएको थियो ? कुन उद्देश्यले एकिकरण भएको थियो ? आज किन फुटको संघारमा उभिएर आफ्नो थुकको आँसु लगाएर रुनु परिरहेको छ ? यस्ता हजारौं प्रश्नहरु छन् । जसको उत्तर आउँदो निर्वाचनमा जनतालाई नेताहरुले दिने नै होलान् । जसले यी र यस्तै प्रश्नहरुको उत्तर दिन सक्दैन उसको अस्तित्व मेट्न पनि जनताले बेर लगाउँने छैनन् । तर सामान्य कुरालाई मात्र आंकलन गर्ने हो भने अध्यक्षद्वय प्रचण्ड र केपी ओली पार्टीको आन्तरिक बैठकमा बस्दाको अवस्थामा उनीहरुलाई बस्नका लागि राखिएका कुर्सीको रंग फरक हुँदा पनि विवाद गर्नुपर्ने ? एउटा पूर्व र अर्को पश्चिम फर्केर बसे पो आमनेसामने हुन्छ त । तर एकले अर्कातिर ढाड फर्काएर पूर्वपश्चिम भइयो भने आमनसामने हुन सकिदैन भन्ने कुराको हेक्का समेत नराख्ने ? यिनीहरुको मन कति ठूलो रहेछ भन्ने त यस्तै स–साना कारण र यिनीहरुको बालहठले नै स्पष्ट गर्दैन र ?

हो, राज्यसत्ता संचालन गर्न सजिलो पक्कै छैन । सबैको मन बुझाउन सकिदैन । सबै स्थानमा एकै पटक विकास पूर्ण रुपमा गर्न सम्भवपनि हुँदैन । सबै व्यक्तिको इच्छा र चाहनालाई पूरा गर्न सम्भवपनि छैन । अझ भन्ने हो भने प्रधानमन्त्रीले आफूलाई काम गर्न कसरी सहज हुन्छ त्यो ढंगले कतिपय अवस्थामा आफ्नो पक्षमा हुने गरि निर्णय गर्नुपर्ने स्थितिपनि आउँछ । तर एउटा सामान्य उदाहरणकै रुपमा लिने हो भने राष्ट्र बैंकका गर्भनर साहेवलाई ल्याएर राष्ट्रिय सभाको सदस्य बनाई अर्थमन्त्री बनाइयो । अर्थमन्त्री राम्रो मान्छेलाई बनाइयो । किनकी उनको ज्ञान, अध्ययन, अनुभवलाई देशका लागि प्रयोग गर्नु राम्रो हो । तर तिनै अर्थमन्त्रीको पदावधि राष्ट्रिय सभा सदस्य पदमा सकिएपछि अघिल्लो दिन राजीनामा फेरि भोली पल्ट दुई सदन मध्ये कुनैपनि सदनमा सदस्य नभएको मान्छेलाई अर्थमन्त्रीको सपथ । संविधान बमोजिम गरियो रे ल ठीकै छ । उनको दोस्रो कार्यकाल सकिएको भोलीपल्टै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार अनि त्यसको १५ दिन नबित्दै अमेरिकाको राजदूत । कहिले काँही लाग्छ प्रधानमन्त्री यस्तै यस्तै कार्यमा निरंकुश, हठि, एकल निर्णय गर्दै जाने क्रममा प्रचण्ड–माधव समूहले उनलाई यस्ता कामहरु गर्न दिएनन् त्यसैको सनकको भरमा प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गरिदिए । यो भन्दा ठूलो नेपाली जनतालाई धोका के हुनसक्छ । यो भन्दा ठूलो गैरजिम्मेवारीपन के हुनसक्छ । यो भन्दा ठूलो नालायकीपन के हुनसक्छ । यो भन्दा ठूलो अपराध के हुनसक्छ । यहाँ नेकपाकै साथीहरुका मनमा दरो प्रश्न उठ्छ, के डा. खतिवडाभन्दा अर्को सक्षम मान्छे कोही थिएनन् त नेकपा भित्र ? यो स्वभाविक प्रश्न हो ।

हिजो एकखालको सहमति गरेर पार्टी एकिकरण गर्ने अनि त्यसलाई कार्यान्वयन गरेर देश र जनताको लागि समृद्धिको ढोका खोल्नु पर्ने समयमा प्रचण्ड समूह हामी यता छौ । केपी समूह जता पो जानोस् भन्ने । यो कसका लागि भइरहेको छ ? के का लागि भइरहेको छ ? सशस्त्र युद्धको समयमा प्रचण्डको नेतृत्वमा मान्छे मारिएकै हुन भन्ने थाह पाएका केपीले ती सबै घटना र परिघटनालाई विर्सेर उनीसँग एकिकरण गर्दा उनी पवित्र अनि आज के म मान्छे मार्दै विधुवा बनाउँदै हिडुँ त ? यस्ता तर्क जसले गरेपनि कुतर्क हुन् । केटाकेटीपना हुन् ।
प्रतिनिधि सभा विघटन हुनु भनेको असंवैधानिक हो भनेर सर्वोच्चमा रिट परेका छन् । बहस भइरहेका छन् । एउटा पक्ष मात्र होइन दुबै पक्षले सडकमा अनेक टिकाटिप्पणी गरिरहेका छन् । खै उनीहरुको बुद्धिमत्ता ? एकथरीको समर्थन गर्नेहरु भन्दैछन् संसद पुर्नस्र्थापना भएन भने देशले ठूलो आन्दोलनको सामना गर्नुपर्छ । अर्कोथरी भन्दैछन् संसद पुनस्र्थापना भयो भने देशमा गृहयुद्ध हुनसक्छ । शैनिक शासन पनि लाग्न सक्छ । यो धम्की कसलाई दिइएको हो ? २००७ सालदेखि राजनीतिक आन्दोलनका कारण सुखको सास फेर्न नपाएको नेपाली जनता र विकासबाट बिमुख हुनुपर्ने अवस्थाबाट गुज्रिरहेको नेपालमा फेरि गृहयुद्धका कुरा, फेरि शैनिक शासनका कुरा गरेर यिनीहरुले आफ्नो इतिहासलाई मात्र नामेट पार्न खोजिरहेका छैनन् देशलाई सिक्किमीकरणको बाटो तर्फ धकेलिरहेका छन् ।

प्रतिनिधि सभा विघटन भइसक्यो । आउँदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति समेत तोकिसकेको अवस्था छ । देशको शासन सत्ता सम्हालेको सरकारमा रहेको र सबैभन्दा ठूलो दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रमुख दायित्व अब संविधान बमोजिम निर्वाचन गराउनु हो । यस्तो अवस्थामा सरकार निर्वाचनको तयारीमा होइन जनप्रर्दशनको तयारीमा जुटिरहेको छ । निर्वाचन घोषणा भएको झण्डै दुई महिना भइसक्यो । निर्वाचन गराउनका लागि पहल गर्ने जिम्मेवारी बोकेको सत्तारुढ दल आफ्न पार्टीका नेताहरुको खोइरो खन्न लागिपरेको बेलामा निर्वाचन हुन्छ नै भनेर नेपाली जनताले विश्वास गर्ने वातावरणपनि छैन । अर्कोतिर कसैगरि पनि निर्वाचन भइहाल्यो भनेपनि धाँदलीरहित, निष्पक्ष निर्वाचन हुन्छ भनेर जनताले निर्वाचन प्रक्रियामा भाग लिने ढुक्कता छैन ।

नेपाली जनताले लोकतन्त्रका लागि ७० वर्षे लडाई लडे । अब राजनीतिक लडाई सकिनु पर्ने हो । तरपनि त्यसो हुन सकेन । अब त कृषिका लागि, पशुपालनाका लागि, उद्योग धन्दा र कलकारखाना स्थापनाका लागि आन्दोलन हुनु पथ्र्यो । देशमा भएको शक्तिले पनि कामदारको अभाव भएपछि आज नेपालीहरु जसरी खाडिमा गइरहेका छन् त्यसरी अन्य देशबाट रोजगारीका लागि मान्छे ल्याउने प्रक्रियाका लागि आन्दोलन हुनुपथ्र्यो । अनि नेपाल समृद्ध नेपाल हुन्थ्यो ।

हाम्रो देशको अर्को विडम्बना के हो भने राम्रो पढ्न सकेका र आर्थिक रुपमा सम्पन्नका छोराछोरीहरु विदेशमा पढ्न जाने र उतै पलायन हुने । लगनशील र मिहिनत गर्न सक्नेहरु लोकसेवा पास गर्ने र सरकारी जागिरको नाममा सरकारले जे गरेपनि ताली पिट्ने अनि आफ्नो जागिर पकाउने । शैक्षिक क्षेत्रमा लाग्नु पर्छ भन्ने मनसाय बोकेकाहरु शिक्षक हुने र घर पायकको जागिर खाएर घर जागिर दुबैको सोझो गर्ने । अब नेता हुने र देश संचालन गर्ने को त ? उच्च शिक्षा पढ्न नसकेकाहरु । विदेश जान नसकेकाहरु । लोकसेवा पास गर्न नसकेकाहरु । शिक्षक हुन नसकेकाहरु । त्यस्ता व्यक्तिहरुले देशमा कसरी समृद्धि ल्याउन सक्छन् ? एउटा ल्याप्चेलाललाई विज्ञान प्र्रविधि मन्त्री बनाइन्छ अनि उसले के प्रविधिको विकास गर्छ । त्यो त्यही मन्त्रालयको सचिवले जे भन्यो त्यही मान्न बाध्य हुन्छ । अर्को ल्याप्चेलाललाई शिक्षा मन्त्री बनाईन्छ । अनि उसले आफ्ना चिनजानको मान्छेले लेखेको कुरालाई पाठ्यक्रममा समेट्न दबाब दिन्छ अनि कसरी हुन्छ शिक्षामा प्रगति ।

नेता हुनका लागि देश संचालन गर्नका लागि साँच्चिकै जनताको भलो चिताउनका लागि त शैक्षिक ज्ञानपनि हुनुपर्छ । कुनै विश्वविद्यालयले दिएको मानार्थ विद्यावारिधीले केही गर्न सक्नेवाला छैन । सल्लाहकारहरुको भरमा राज्य संचालनमा सहज हुने भएको भए राजा ज्ञानेन्द्रको गद्दी आजपनि सुरक्षित भइरहेको हुन्थ्यो ।

युवा भनेका युगको बहाक हुन् र हुनपनि सक्नुपर्छ । युवाको जोश र जाँगरमा बुद्धिका ढाकरको रुपमा रहेका बुढाहरुका सिकाइ, अनुभव र भोगाईहरुलाई प्रयोग गर्न सक्नुपर्छ । नेपाललाई अब साँच्चिकै समृद्धिको दिशा तर्फ अगाडि बढाउने हो भने देश संचालनको जिम्मा युवाहरुलाई दिनुपर्छ र बुढाहरुले विश्राम लिनु आवश्यक छ । अब युवाहरुले नै समृद्ध देश निर्माणको अभियान चलाउनु पर्छ ।

राजकीय सत्ता र सार्वभौमसत्ता जनतामा निहित छ भन्दै गर्दा हाम्रा नेताहरु पदका लागि लडाई गरिरहेका छन् । पदको तिर्खाबाट माथि उठ्न नसकेकाहरुबाट देशले समृद्धिको सपना देख्नु व्यर्थ छ । अमेरिकाको १६ औं राष्ट्रपति अब्राहन लिंकनले कति दुःख र संर्घष गरेका थिए । माओ, लेलिन, गान्धी जस्ता नेताहरुले कति कष्ट भोगेका थिए । चिया बेच्ने एउटा सामान्य मान्छे अहिले भारतको प्रधानमन्त्री छन् । त्यसैले राजनीतिमा आफूले सफलता प्राप्त गर्नका लागि भन्दापनि देश र जनतालाई अशिक्षा, गरिबी, बेरोजगारी, विभेदबाट मुक्त गराउनका लागि दुःख गर्नैपर्छ । मलाई आशा र विश्वास छ त्यो दुःख गर्न नेपाली युवाहरु सक्षम छन् । त्यसका लागि युवाहरु एकजुट भएर लाग्न आवश्यक छ । अब पनि देश निर्माण नहुने हो भने देशबाट अशिक्षा, गरिबी, बेरोजगारी, विभेद नहट्ने हो भने नेपाल अझैँ सयौं वर्ष पछाडि पर्नेछ । त्यसैले अन्तमा यत्ति भन्छु उठ युवा जाग तिमी, देश निर्माणमा लम्क अनि चम्क तिमी ।