Loading... आजः २० बैशाख २०८१, बिहीबार । Thursday 2nd May 2024

विदेशको विरामी – कथा

आमाका आँखा आँसुले भरिएका थिए । मेरो मन पिरले भरिएको थियो । आमालाई भन्दा मलाई पीडा कम थियो किनकी म भित्र विदेश जाने रहरपनि थियो भने आमालाई छोरोसँग छुट्निुपर्दाको कहर ।

खगेन्द्र अधिकारी ‘अमृत’

आमाको अनुहारमा हेरेपछि मलाई पनि सहन गारो हुने भएकोले आमाको अनुहारमा हेर्दै नहेरी विदाईको दण्डवत गरेर म बस चढे । एकछिनमै बस आफ्नो गन्तव्य भेट्नका लागि हुँइकियो सुर्खेतदेखि काठमाडौंतर्फ ।

सुर्खेतदेखि काठमाडौं झण्डै ६१२ किलोमिटरको यात्रा जहिलेपनि पट्यारलाग्ने । ननुस्टपको गुडाईमा पनि १६ घण्टासम्म गुडिरहँदा कहिले निदाउँदै कहिले कुनै लेखकका किताब पढ्दै त कहिले साथीहरुसँग गफिने गर्थे । तर यसपटक भने मनमा अनेक तर्कनाहरु खेलाउँदै विभिन्न घुम्ति र मोडहरु पार गर्दागर्दै कति छिटो काठमाडौं पुगे म आफैलाई पत्तो भएन । मन अशान्त हुने हो भने यात्रा झन कष्टकर हुँदोरहेछ । त्यही कष्टकर यात्रा भित्र म भविष्यको सुन्दरता खोजिरहेको थिएँ ।

साँझ चार बजे सुर्खेतबाट गुड्न सुरु गरेको गाडि भोलिपल्टको विहान ९ बज्दा नबज्दै काठमाडौं पुगेको थियो । त्यसपछि रातभरको अनिदोको समेत वास्ता नगरि मेरा पाइलाहरु म्यानपावर कम्पनीतिर लाग्नु स्वभाविकै थियो ।

म्यानपावरमा पुगेर जसलाई पासपोर्ट बुझाएको थिएँ उसैलाई बुझाएँ पैसाको बिटो । हुन त्यो पैसाले मलाई आफ्नै देशमा केही गर्न सघाउ त गथ्र्यो होला । तरपनि त्यति पैसा नबुझाएपछि सम्भव थिएन खाडीमा पुग्न । त्यसको तीन दिनपछि म खाडीका लागि जहाज चढ्ने कुराको पक्कापक्की भयो अनि लागे होटलको खोजिमा । नयाँ बसपार्क नजिकै एक होटलमा बासको बन्दोबस्त गरें ।

घडीले कति बजाएको थियो ठ्याक्कै थाह भएन । साँझको करिब ६ बजेको हुँदो हो । मोवाइलमा घण्टी बज्यो टिङ् टिङ् टिङ् टिङ् । आमाले गरेको फोन थियो । हिजो बसपार्कको दृष्य आँखा अगाडि उभ्याएर फोन उठाएँ ।

आमा ! के छ खबर ?
ठीकै छ । तेरो खबर कस्तो छ ? कति बेला पुगिस् । बाटोमा हिड्दा फोन किन अफ गरेको ? पुगेपछि फोन गर्नुपर्दैन ? धेरै प्रश्नहरु तेर्सिए म तर्फ ।

ठीकै छ । राम्रोसँग पुगे । फोनमा चार्ज नभएकोले फोन गर्न सकिन । अहिले होटलमा बसेको छु । फोन चार्ज गरें । अब एकछिन पछि फोन गर्नेवाला थिएँ । मैले पनि सबै प्रश्नका उत्तरहरु लगातार दिने कोसिस गरे ।

अँ, सुन त ।
भन्नु न ।
तँ बिदेश न जा बाबु फर्किहाल घर ।

किन आमा फेरि यस्तो कुरा । विदेश गएर केही वर्ष दुःख गरेभने सुखका दिन फिर्छन भने किन विदेश नजानु । मैले सबै कुरा घरमै हुँदा गरेर आएको होइन ।

त्यसो होइन क्या । खान र लगाउनकै लागि विदेश जानु पर्दैन । बाहुनको छोरो यतै जजमानहरु कहाँ पाती लगाएर, नाग टाँसेर, रक्षाबन्धनको डोरो बाँधेर पनि खान सकिन्छ के । आमा बोल्दै हुनुहुन्थ्यो म सुनिरहेको थिएँ । आमाले भन्नुभयो, अँ सुन न ।
हजुर भन्नुहोस् ।

त्यो थियो नि रामबहादुर क्या ।
अँ ! अँ ! मैले सही थापें ।
त्यो कतार गएको थियो । लाहुरे जेठाजुको छोरा क्या ।
अँ के अँ । थाह पाए रामु दाइ कतार गएका छन् । मैले रामबहादुर दाइलाई जहिले पनि रामु दाइ भन्ने गर्दथे । उनी हामी भन्दा दुई भोटो बढि फटालेका मान्छे हुन् ।
फोनमा आमा बोल्दै हुनुहुन्थ्यो । त्यो त उतै सुतेको सुत्यै भयो रे नि ।
हँ ! म एक छिन त छाँगाबाट खसे झैँ भएँ ।
हो र ? कहिले ? मैले आमासँग प्रश्न गरे ।

दिन त धेरै भइसके छन् । तर यहाँ रुवावासी हुन्छ भनेर खासै हल्ला नगरेका रे । भोली विहान ८ बजे लास आइ पुग्ने हो रे काठमाडौं त्यही भएर बल्ल कुरा बाहिर आएछ । तँ न जा बाबु आइहाल ।

आमापनि । सबैलाई त्यसो हुन्छ त । मन सारै डराएको भएपनि मैले आमालाई केही हदसम्म सान्त्वना दिने कोसिस गरे । ल ल के हुन्छ म जाने नजाने खबर गर्छु नि आमालाई यति भनेर फोन राख्ने अनुमति मागे ।

त्यसपछि मेरो दिमागमा कालो बादल नराम्रोसँग मडाारियो । म खाडी जानै लाग्दा एक जना सन्तानले खाडीमै प्राण त्यागेको खबर सुन्नु मेरा लागि सहज थिएन । मेरै गाउँका धेरै जनाले खाडीमै ज्यान गुमाइसकेका छन् । कतिको त मरेको लास पनि आएको छैन । कतै म पनि … ।

हैट, यस्तो पनि सोच्नु हुन्छ । आफ्नै मनले झपार्छ मलाई । लामो सास तानेर एक छिनपछि खान खान गएँ । त्यो खान खाइरहँदा फेरि मेरो दिमागमा रामु दाइ आए । सँगै खेलेका सँगसँगै हुर्केका थियौ हामी । उनी हामी भन्दा ठूलो भएकोले खेल्ने क्रममा आफूले जितेको भन्दै हामीलाई हराउन सिपालु थिए । हामीले जित्दा पनि निकै झ्याल्ली गर्ने उनको नराम्रो स्वभाव थियो ।

काफल खान वनमा गएको बेला अरुले टिपेका काफल खोसेर खाइदिने हरामी पनि रामु दाइ । विद्यालय जाने बेलामा उर्लिरहेको रुमखोलामा किताबले भरिएका हाम्रा झोलासहित हामीलाई पनि बोकेर पारि तारिदिने पनि रामु दाइ । समाजसेवा भने पछि जहिले हुरुक्क हुने उनलाई गाउँघरमा कसैले नराम्रो भनेनन् ।

यस्तै कुरा मनमा खेलाउँदै खान खाएँ । त्यो खान कत्ति पनि मीठो लागेन । लागोस् पनि कसरी । एकातिर आफू विदेश जाने योजनामा काठमाडौं पुगेको अर्कोतिर एक जना दाजुको लास कतारबाट आउँदै गरेको ।

ह्याँ नजाउ क्या रे । आमाले भने झैँ गाउँघरमा जजमानी गर्नुपर्ला । अलि अलि खनिखोस्री गर्नका लागि पाखो जग्गा पनि छँदैछ । त्यसैमा गुजारा चलि हाल्ला नि । के मेरा बाबु बाजे विदेश नै गएका थिए र ? एउटा मनले यसो भनिरहँदा अर्को मनले फेरि आफैलाई हकार्दै भन्छ मर्द भएर पनि नामर्द झै सोच राख्ने ? बाउबाजे विदेश गएनन् त अहिलेपनि त्यही एकछाने घरमा गुम्सिरहनु परेको छ । कमसेकम जीवनका दैनिक आवश्यकता परिपूर्ति गर्नका लागि समस्या त हुँदैन । अनि घरको बसाई र सन्तानको पढाईमा त परिवर्तन ल्याउन सकिन्छ । यस्तै यस्तै सवालजवाफ गर्दा गर्दै हिजो १६ घण्टाको बाटोमा २२ घण्टा लगाएर गुडेको थकाईले कति बेला निदाएछु पत्तै भएन ।

भोलीपख मित्रनगरको होहल्लाले मेरो निद्रा भगाएको थियो । विहानको ६ बजिसकेछ । म हत्तपत्त उठें । चिया खाइवरी एअरपोर्ट जानका लागि तयार भएँ । मनमा फेरि उनै रामुदाइको सम्झनाले पिरोल्न थाल्यो । करिब अढाई वर्षपछि ऊसँग आज भेट हुँदैछ । तरपनि ऊ मरेको अवस्थामा । खिन्न मन लिएर म एअरपोर्ट पुग्ने योजनाका साथ माइक्रो चढें ।

एअरपोर्टको गेट अगाडिको यात्रु प्रतिक्षालयमा झरें । झ्वाट्ट भित्र जाने हिम्मत थिएन । म रोकिएकै ठाउँमा शैलेस पुगेपछि केही सहास आए जस्तो भयो । मायाराम (रामबहादुरको ठूल्दाई) दाइपनि त्यहाँ पुगेको जानकारी शैलेसले नै दियो । त्यसपछि भित्र गयौं म र शैलेस । झ्वाट्ट मायाराम दाइलाई देखे । झम्टेर रुन मन लाग्यो तरपनि मैले संयमता गुमाउनु हुँदैनथ्यो त्यो समयमा । करिब ३२ वर्षको उमेरमा खाडीमा प्राण त्यागेको भाइको लासलाई ट्याक्सीको छतमा रातो बाकससँगै बाँधिरहेका छन् मायाराम दाई कति सहास र हिम्मत गरेर । मैले उनको हिम्मतलाई टुटाउनु हुँदैनथ्यो । त्यसैले पनि म सम्हालिएँ ।

एकैछिनमा त्यो ट्याक्सी पशुपतिमा पुगेर रोकियो । निकालियो ट्याक्सीबाट रातो बाकस । आफ्नै हातले खोल्नु पर्ने अवस्था आयो त्यो बाकसलाई । बाध्यता र विवशताले भरिएको थिएँ म ।

खोले बाकस ।
मस्त निद्रामा सुतिरहेका थिए रामुदाइ । कहिल्यै नबिउझने गरि । झट्ट अनुहार हेर्दा लाग्यो उनी मरेकै छैनन् । निदाएका मात्र छन् । तर लागेर मात्र कहाँ हुन्थ्यो र । घटना सत्य थियो । सत्य जहिले पनि सत्य नै हुन्छ ।

बाकसबाट निकालेपछि राखियो पशुपति आर्यघाटको छेउमा । कमसेकम मरिसकेको भएपनि नेपाली भूमिको पानी उनको मुखमा हालिदिने योजनासँगै सबैले पानी हालियो । अर्धवेहोस् अवस्थामा रोइरहेको उनको जेठो छोरोपछि अञ्जान उनको कान्छो छोराको पालो आयो ।

बाबु बुवाको मुखमा पानी हालिदे । मैले गिलास हातमा दिँदै भने ।
अञ्जान अवस्थामै बोल्यो ऊ कसका बुबा हुन् अंकल ?
तेरो बुबा हुन् बाबु ।

ए ! ए ! हाम्रो बुबा । पानी अलि धेरै छ्यापिदिउँ अहिले नै उठ्नुहुन्छ हाम्रो बुबा । घरमा पनि पानी नछ्यापी उठ्नु हुन्नथ्यो ।

रामु घरमा पनि विहान अबेरसम्म सुत्ने मान्छे हुन् । केटाकेटी उनलाई उठाउनकै लागि भएपनि पानी छ्यापिदिने गर्दा रहेछन् । त्यो अबोध बालकले बोलेका यी शब्दहरुले मेरो जिउ नराम्रोसँग गल्यो । जिउ नै थरथराएको जस्तो भयो । म विचलन भएँ । त्यस्तो अहिलेसम्म कहिल्यै भएको थिएन । ढल्न मात्र बाँकी थियो म । खै कसरी अडिएँ आफैलाई थाह छैन ।

केही क्षणपछि लगाइयो आगो उसको मृत शरिरमा । त्यसपछि भने उनको कान्छो छोराले थाह पायो क्यारे बुबा त मरेछन् । जोड जोडले रुन थाल्यो । चिच्याउन थाल्यो । नपोल मेरो बुबालाई । आगो लगाउन गएकाहरुलाई हटाउने प्रयास गर्दैथ्यो तर विधिको विधान रामुदाइको मृत शरिरमा आगो लगाउन म पनि विवस थिएँ र विवस थिइन भाउजु (रामुदाइको श्रीमती) पनि ।

हेर्दा हेर्दै खरानी बन्यो । रामुको शरिर । कतारको भूमिमा मरेको १२ दिनसम्म कत्ति नगलेको शरिर आफ्नो भूमिमा पुगेको केही घण्टामै खरानीमा परिणत भएर खुला आकाशमा उड्यो । रामुलाई न कतारी भूमि चाहियो न आफ्नै भूमि । एकछिन पनि ओत दिन सकेन आफ्नै भूमिले पनि । त्यसपछि फर्किए मायाराम दाइहरु घरतिर । म विदेश जाने योजना भएकाले बसे काठमाडौंमा एक्लै ।

विहानको खान खानै सकिन । खाने कुरापनि भएन । आजको दिन मात्र हो मैले पनि नेपाल बस्न पाउनु । भोलि म पनि खाडिकै लागि प्रस्थान गर्ने योजनामा छु । झण्डै ४ हजार ३१ किलोमिटरको दुरी हवाई यात्रामा पार गर्नुछ मैले ।

विदेशी भूमिमा जानकै लागि बन्धकी राखेका केही थान खुसीहरु सकुशल फर्किनेछन् भन्ने विश्वास गर्न दिइरहेको थिएन मनले । त्यही गरुङ्गो मन लिएर होटलको कोठामा पसे । एकछिन निराम्रोसँग भक्कानिएर रोएँ । अलिकति हलुका भएको महसुस भयो । रोएर मन हलुका धोएर भाँडो उज्यालो ।

त्यो दिन कसरी बित्यो । छोटो थियो वा लामो पत्तै भएन । समयले कोल्टे फे¥यो सूर्य आफ्नो गतिमा लागे पश्चिमतिर । साँझको खान पनि खानै मन लागेन । केवल चियाकै भरमा निदाउने कोसिस गरे । तर रातको १२ बजेसम्म पनि निदाउन मानेनन् मेरा आँखाले । खै कसरी र कतिबेला निदाएँ केही पत्तो छैन ।

हातमा ठूलो सुटकेश । कालो पाइन्टमा सेतो सर्ट अनि रातो कोर्टसँगै चिटिक्क मिलेको रातो टाइ लगाएर आइरहेका रामुदाइसँग मेरो भेट भयो । जहिले पनि आफ्नो दुःखसुखको वर्णन गरेर नथाक्ने रामुले भन्न थाले, म विदेश पुगे । महिनामा आम्दानी पनि राम्रै थियो अनि काम पनि सुखकै । अब त मेरो घरको आर्थिक अवस्था पनि सुध्रियो । विद्यालय पोशाक किन्नका लागि, कापी, कलम र झोलाका लागि छोराहरुले किचकिच गर्नै पर्दैन । भन्यो कि फ्याट्ट काम हुन्छ ।

अनि श्रीमतीले पनि उसका जोरीपारीसँग दाँजिने गरि सुनका गहना लगाउन पाउनेछ । हेर तेरो लागि पनि मैले यो खजुर ल्याइदिएको छु । खजुर कतारमा निकै प्रचलित फल हो । खा मीठै हुन्छ । रामुदाइ मलाई खजुर दिइरहेका थिए । खजुरको दाना टिपेर मुखमा हाल्न थालेको मात्र के थिएँ मोवाइलमा बजेको घण्टीको आवाजले मेरो निद्रा नै भंग गरिदियो । त्यसपछि मैले रामुदाइलाई अहिलेसम्म सपनामा देखेकै छैन ।

त्यो टिङ् टिङ् टिङ् टिङ् बजेको मोवाइलप्रति नराम्रोसँग रिस उठ्यो । रामुदाइसँग कति धेरै कुरा गर्ने मन थियो । अँ साँच्चि हिजो मात्र हो उसलाई पशुपति आर्यघाटमा जलाएको । आजै सपनामा आइहाल्यो ।

छोडिदे यस्ता सबै कुराहरु मेरो मनले मलाई आदेश ग¥यो । मनको आदेश म मान्न तयार थिएँ । शरिर कमजोर भएको महसुस भएको भयो । हिजो विहानदेखि खान पनि खाएको छैन । जसको कारणले पनि होला । आज मपनि खाडिका लागि हवाइ यात्रामा निस्कनुछ । होटलकै कोठामा आफैले दारी काटे । विहान रामुदाइसँगको सपनाको भेट नै बिथोल्ने गरि म्यानपावरको मान्छेले १२ बजे नै आउन आदेश दिइसकेको छ । विदेश जान किन डराउनु । आखिर काल आयो भने यहाँ पनि मर्ने हो त्यहाँ पनि मर्ने हो । तरपनि आफ्नै माटोमा मर्नु र पराइको माटोमा मर्नु निक्कै फरक छ ।

हिन्दुहरुको आराध्यदेव पशुपतिको दर्शन गर्न जान पनि मन छ । तर जुठोका कारण जान सकिने अवस्था छैन । त्यसैले अनि होटलको काउण्टरमा पुगेर चिया र नास्ताको अर्डर गरे । चिया नास्ता पश्चात फेरि कोठामा पुगे । करिब १० बज्दा नबज्दै विहानको खान खाइ लागे म्यानपावरतिर । म्यानपावरमा पुगेर आफ्नो महिनौ अघि बुझाएको पासपोर्टसँगै भिसा र टिकट बुझ्नका लागि म्यानपावरको मान्छेले भनेका करिब १५ ठाउँमा सहीछाप ल्याचे लगाएँ । ती कागजमा के लेखिएको थियो हेर्ने चाह भएपनि उसले के पढ्छौ यार सही गर फटाफटा भनेपछि सहीछाप गर्न बाध्य थिएँ ।

तोकिएका कागजहरु लिएर दिउँसो करिब २ बजेतिर त्रिभुवन विमानस्थल हुइँकिएँ ट्याक्सीको सहायतामा । विमानस्थलको चेकजाँच सकियो । झोलामा एउटा आफैले किनेको र एउटा माया गरेर आमाले राखिदिएको कोलगेट थिए । प्रहरीले केही नपाएपछि त्यही कोलगेट भएपनि राखिदिने योजना बनायो । नत्र ५० रुपैयाँ भएपनि चाहियो भन्न थाल्यो । मलाई नराम्रो रिस उठ्यो । त्यसपछि त्यसलाई ५० रुपैयाँ दिनुको साटो वा कोलगेट छोडिदिनुको साटो कोलगेट नै डस्विनमा निचोरीदिएँ । प्रहरी हेरेको हे¥यै भयो । त्यसपछि करिब ४ बजे मात्र म जहाज चढे ।

जहाजमा बसिरहेको बेलामा आमालाई फोन गर्न मन थियो । एक पटक छोरा र उसको आमासँग बोल्न मन थियो । त्यो पनि सकिन । डाँको छोडेर रुनपनि मन लाग्यो । तर थिचे आफ्नो मन र मुटु दुबैलाई । मनमा कता कता डरपनि लागिरहेको छ । पहिलो पटक यति ठूलो जहाजमा चढेर पराइको देशमा जाँदैछु । अलि अलि रमाइलो पनि । तर सोचे म मात्र हो र त्यो जहाजमा भएका यात्रुहरु मध्य आधा त म जस्तै खाडिमै कमाइ गर्नकालागि जाँदैछन् । चित्त बुझाएँ ।

मनमा अनेक आशा र भरोसाका कथाहरु समेटेर पुगे म साउदी अरेवियाको दमाममा । एउटा श्रीलंकाको मान्छे आएको रहेछ लिन । उसले मेरो नाम ठूलो अक्षरमा लेखेर समाति रहेको थियो । म उसको नजिकै गएँ । उसले मेरो पासपोर्ट हेरेपछि गाडिमा बस्न भन्यो । ऊ अंग्रेजी र हिन्दी राम्रो बोल्दोरहेछ मलाई भाषाको खासै समस्या भएन । त्यसपछि पुगियो मैले काम गर्ने कम्पनी रहेको रासतनुरामा ।

कम्पनीमा काम गर्न थालेपछि सबै राम्रै भएको कुरा सुनाए घर परिवारमा । आमालाई केही सान्त्वना मिल्यो । काम गर्दै जाँदा अचानक विरामी भइयो । एकातिर प्रेसर लो अर्कोतिर वान्ता हुने र रिंगटा लाग्ने अनौठो रोग लाग्यो । यस्तो रोग मलाई नेपालमा कहिल्यै लागेको थिएन । उपचार त गरियो खासै विषेक भए जस्तो लागेन । सबै आ–आफ्नो ड्यूटीमा जान्थे । म रुममा एक्लै सुतिरहेको हुन्थे । त्यो एक्लोपनले पनि मलाई झन रोगी बनाएको थियो । तातो पानी पिउन डाक्टरको सल्लाह थियो । तर मलाई तातो त के चिसो पानीपनि दिने कोही थिएन । विदेशमा विरामीको तड्पाई कस्तो हुन्छ त्यो मलाई थाह छ ।