Loading... आजः २८ बैशाख २०७८, मंगलवार । Tuesday 11th May 2021

ढुङ्गा मुनिको प्रेमपत्र – कथा

समयले फेरि एक पटक उछ्ट्यिाएछ । पु¥यायो तिम्रो नजिकै । हुन् त पृथ्वी गोलो छ भन्छन् । समयको चक्रले पनि मान्छेलाई अप्रत्यासित रुपमा भेट गराउँदो रहेछ । त्यही चक्रमा परे म पनि र भयो तिमीसँग भेट । तिमीसँगको भेटमा केवल तिम्रा र मेरा आँखामात्र जुधेनन् । मलाई अतितको मिठो नमिठो याद पनि आयो ।

खगेन्द्र अधिकारी ‘अमृत’

म कक्षा ८ मा अध्ययनरत थिएँ । तिमी कक्षा ६ मा । तिम्रो र मेरो उमेर पनि त्यही २ वर्ष जतिकै फरक हो । हुन त त्यति बेला हामी संचारको दुनियाँबाट धेरै टाढा थियौ । अहिलेको जस्तै मोवाइलको कल्पना पनि थिएन । अनि तार फोन पनि ठूलै मानिथ्यो शहरमा । तर गाउँको विद्यालयमा पढिरहेका हामीलाई संचारको के थाह । तर पनि संचारले हामीलाई नजानिँदो रुपमा पछ्याइरहेको थियो । त्यो थियो चिठीको माध्यम । त्यही चिठीले धेरैका बिचमा संचारको भूमिका खेल्ने गर्दथ्यो कुनै जमानामा ।

पढ्दै जाने क्रममा म एक कक्षा माथि उक्लिएँ र तिमी पनि । तिमी र म एउटै विद्यालयमा अध्ययन गर्ने भएपनि खासै बोलचाल भने थिएन । तर जब म ९ कक्षामा पुगे र तिमी ७ कक्षामा । त्यति बेला म १५ वर्षे अनि तिमी १३ वर्षे । हामी दुबै नाबालक थियौ । उमेरले नाबालक भएपनि तिम्रो शारीरिक बनावट भने नाबालक जस्तो थिएन । तिमीलाई पहिलो पटक देख्ने मान्छेहरुले करिब १७÷१८ वर्षे ठान्थे होला ।

एकातर्फी रुपमै भएपनि तिमी मलाई राम्री लाग्न थालेकी थियौ । तिम्रो शारीरिक बनावटले कसलाई लोभ्याउँदैनथ्यो होला र । त्यसमा पनि म त झन तिमीलाई एकातर्फी रुपमै भएपनि राम्री देख्ने मान्छे । त्यसैले मनमनै म तिम्रो रुप र जिउडालको निकै बखान गर्ने गर्थे । मसँगै पढ्ने मेरै छिमेकी अनि मेरो एकदमै मिल्ने साथी कर्णले ९ कक्षामा पढ्दै गर्दा भागी विवाह गरिदिए पछि मेरो अपरिपक्क बुद्धिले पनि के के सोच्यो । तर पनि मैले तिमीसँग कुनै हिम्मत नै गरिन त्यस्तो कुरा गर्ने ।

कसैलाई भन्न नसकेको कुरा त्यही कर्णलाई सुनाएँ । उसले आफूले चिठीको माध्यमबाट कमलालाई फकाएको कुरा सुनाए पछि म दंग परेको थिएँ । अनि म पनि चिठी लेख्ने कोसिस गर्न थाले । त्यसपछि मैले प्रत्येक दिन तिमीलाई चिठी लेख्न थाले । तर ति चिठीहरु तिमी समक्ष पु¥याउने हिम्मत भने थिएन मसँग । तैपनि लेख्न भने छोडिन । लेख्दै गएँ र थुपार्दै गएँ सिरानीमा । मैले चिठी लेख्ने क्रममा एक दिन कर्णले भेटे । म लेखिरहेको थिएँ,

जमुना
संसारमा कसैले धेरै माया गर्छ भने म गर्छु तिमीलाई । तिम्रा लागि मैले के गुमाउनु पर्छ भन म तयार छु, ……. यस्तै शब्दहरु लेख्दै गर्दा भेटेका थिए कर्णले मलाई । आखिर मेरो नजिकको साथी उही भएकोले मैेले उसँग लुकाउन पनि सकिन र खुलस्त रुपमा देखाउन पनि सकिन । उनले भने, तरुनीलाई चिठी लेख्ने अनि यस्ता गोरुमुते अक्षरमा । झस्किएँ म । मेरो मन अमिलो भएर आयो । हुन पनि मैले लेखेका हस्त लिखित अक्षर सबै सबैले राम्रोसँग बुझ्न सक्दैनथे । त्यसैले पनि खुब मिहिनेत गरेर लेख्न थाले म । जसको कारण मेरा हस्त लिखित अक्षरहरु अहिलेपनि सायद अरुहरुका भन्दा राम्रा छन् भन्ठान्छु म । तिमीलाई चिठी लेख्ने र त्यही चिठीका माध्यमबाट तिमीलाई फकाउने उद्देश्यका साथ गरिएको मिहिनेतले तिम्रो अनुहार जत्तिकै राम्रा अक्षरहरु लेख्न सफल भएको थिएँ म ।

सबै भन्दा राम्रा अक्षरमा लेखिएको पत्र तिमीलाई दिनै पर्छ भन्ने मान्यता राखेर म एक दिन तिम्रो पछि पछि लागेको थिएँ । विद्यालय बिदा भइसकेपछि तिमी घर जाने क्रममा म पनि अनेक बहाना बनाएर तिमीसँग पछि लागेको तिमीलाई त याद छैन होला । तर मेरो मानसपटलमा अझै पनि ताजै छ त्यो क्षण । त्यो चिठी बोकेर तिम्रो घरको डिलसम्म पुगेर पनि तिमीलाई दिन सकेको थिएन । मैले एकोहोरो रुपमा त्यो पनि मनमनै सोचेकोले होला सायद तिमीलाई कुनै मतलब नभएको । गरिनौ तिमीले मेरो कुनै वास्ता । घरको आगनी हुँदै पस्यौ घर भित्र र टाँसियो आमाको काखमा । यो संसारको सबैभन्दा ठूलो नाता आमा । तिमी विद्यालयबाट फर्किएकी भएपनि आमाको आँचलमा टाँसिएकी थियौ । मुस्कान छाएको थियो आमाको अनुहारमा । हेरिरहेको थिएँ मैले तिमीलाई पत्तो नहुने गरी तिम्रो घरको बार्दलीको झ्यालबाट ।

त्यसपछि लागे म गन्तव्यहिन बाटोतिर । हिड्दै जाँदा पुगे राजनको घरमा । म सँगै पढ्ने साथी राजन । राजन र मेरो कुरा त्यति धेरै मिल्दैन । तरपनि उसको परिवारसँग मेरो परिवारको नातागत सम्बन्धले गर्दा पनि म त्यहाँ जानै पथ्र्यो र गएँ । साँझ राजन र म एक छिन् पढे जस्तै ग¥यौ । उसले पढ्यो होला पनि किताबका अक्षरहरुलाई । पढ्न त मैले पनि पढे अप्रत्यक्ष रुपमा तिम्रो अनुहारलाई । तिम्रो अनुहारलाई पढ्ने क्रममा निद्रादेवीले पटक्कै माया गरिनन् मलाई । बडो आनन्दसँग निदाएको थियो राजन । उसको निद्रा नखल्बलियोस् भनेर म पनि निदाएको बहाना बनाइरहेको थिएँ । सायद मेरो जिन्दगीको लामो रात त्यही थियो क्यारे । जति कोल्टो फेरे पनि उज्यालो भएन । हिजो नै तिमीलाई दिनका लागि लेखेको चिठी फेरि पढ्ने मन छ मलाई । कमिजको गोजीमा राखेको छु सुरक्षित तरिकाले । निकालेर पढौं पढौं लाग्छ । तर कतै राजनले थाह पायो भने । सक्दिन । किनकी उसले मलाई त्यति राम्रो ठान्दैन । म र ऊ कक्षामा पढाइमा निकै प्रतिस्पर्धा गर्ने साथी हौं । तिमीलाई छामिरहेको अनुभव गर्दै त्यो तिम्रो निम्ति लेखिएको पत्र छामिरहेको थिएँ । कतिबेला निदाएछु थाहै भएन ।

उठायो राजनले मलाई । धारामा गयौं हामी । एक गाग्री पानी लिएर आयौ । राजन पनि स्कुल जाने भएकोले समयमा नै खाना तयार हुनेमा कुनै शंका थिएन । ठीक समयमा नै हामीले खाना खायौं । तर आज राजन स्कुल नजाने भयो । खै घरमा उसको के काम छ रे । म एक्लै जानु पर्ने । मेरो मनमा थोरै भएपनि आशाको त्यान्द्रो पलायो । राजन स्कुल नजाने भएकोले । किनकी राजन नगएपछि आज त जमुनालाई चिठी दिएरै छाड्छु भन्ने आँट छ म भित्र ।

समय भन्दा अलि छिटो नै निस्के म राजनको घरबाट । तिम्रो घरको बाटो हुँदै । तिम्रो घरको आगनमा पुगेपछि अडिएका थिए मेरा पाइलाहरु । ब्रेक लगाएको गाडी जस्तै । उचाल्न खोज्थे खुट्टाहरु मान्दैनथे अगाडि बढ्न । तिमी आमासँग केही कुरा गरिरहेकी थियौ । खै राम्रोसँग बुझिन मैले । निकै मिहिनेत गरेर उचाले पाइलाहरु र अगाडि बढे । करिब १० मिनेटको हिडाई पछि अगाडि बढ्नै सकिन म । बसे थचक्क । बाटोको छेउमा । तिमी कतिबेला आउछ्यौ भन्ने प्रतिक्षामा । सबै भन्दा अप्ठ्यारो भनेको प्रतिक्षा गर्नु हो । प्रतिक्षाको घडिले यति धेरै अत्यास बनाउँदो रहेछ मैले सायद पहिलो पल्ट अनुभव गरिरहेको छु ।

विद्यालयको पोशाकमा सजिएर आयौ तिमी । आकाशे रंगको कमिज र गाढा निलो रंगको फ्रकमा । बाटेकी थियौ दुई चुल्ठी र बाँधेकी थियौ रातो रिबनले ति चुल्ठीहरुलाई । जसरी बाँधेको हुन्छ हलुणोले हलो र जुवालाई । गहुँगोरो छाला, मृगनयन, उज्यालो भृकुटी, पूर्णिमाको चन्द्रमामा दाग लागे जस्तै माथिल्लो ओठमा दायाँपट्टी सानो कालो कोठी । सलक्क परेको जीउ । अनि फक्रिन थालेको यौवन । साँच्चिकै भगवानले फुर्सदमै बनाएका हुन् तिमीलाई । फेरि एक पटक तिम्रा लागि लेखेको चिठी राखेको आफ्नो गोजीलाई छाम्न बाध्य भएँ म । किनकी आज जसरी भएपनि त्यो चिठी मैले तिमीलाई दिनु छ र कर्णले कमलालाई आफ्नी बनाए झैँ तिमीलाई सदाको लागि आफ्नी बनाउनु छ ।

त्यति धेरै बोलचाल पनि भएको छैन आजसम्म तिमी र म बिचमा । तर पनि धेरै कुरा गरेको छु मैले तिमीसँग । तिम्रो अनुहारसँग बोलेको छु । तिम्रा शरीरका प्रत्येक अंगहरुसँग भलाकुसारी गरेको छु । एकोहोरो रुपमै भएपनि । त्यसैले त मेरो भाषा बुझ्ने क्षमता देखिएन तिमीमा । बाटोको छेउमा बसिरहेको देखेर तिमी नै बोल्यौ, जाँऊ । आकाशवाणी जस्तै लाग्यो त्यो आवाज । बेदका ऋचाहरु जस्तै पवित्र शब्द । मन फुलेर ढक्क भयो । उठे जुरुक्कै म । निस्कियो मेरो मुखबाट पनि जाँउ जाँउ भन्ने आवाज । लाग्यौं तिमी र म स्कुल तिर ।

करिब आधा घण्टाको बाटोमा न तिमी त्यत्ति धेरै बोल्न चाह्यौ । न म नै बोल्न सके । अघि अघि तिमी हिडिरहेकी छ्यौ र पछि पछि म । मैले म हिडिरहेको बाटो भन्दा धेरै तिमीलाई हेरें । तिम्रो शारीरिक बनावटको एक अध्याय मैले त्यो आधा घण्टाको बाटोमा कहिल्यै नबिर्सिने गरी कण्ठाग्र पारे । अब स्कुल आउन पनि दश मिनेट जति मात्र छ । तिमीलाई दिन भनि लेखेको पत्र बारम्बार निकाल्छु म गोजीबाट । थरथर काँपीरहेका छन् मेरा हातहरु । मनको दायाँ भागले दिनै पर्छ भन्दा पनि हातले मानिरहेको छैन । कारण त्यही मनको बायाँ भागले रोकिदिन्छ हातलाई अगाडि बढ्नबाट । तेस्र्याउछ प्रश्न, यदि उसले स्वीकार गरिन भने ? यदि त्यो लगेर हेडसरलाई दिइ भने । पख पख । अझै विचार गर । अहिले मुर्खता गरिस् भने भोलि विद्यालयमा सबैको हाँसोको पात्र बन्नेछन् । सजायको भागीदार बन्नेछस् । सायद मेरो मनको बायाँ भाग मसँग नभई दिएको भए भन्ने सोचिरहेको छु । किनकी यसले मलाई रोकिरहेको छ । यो तगारो बनेको छ मेरो लागि । चन्द्रमारुपी कागजमा दूधको मसी राखेर सुनको कलमले जमुनाको लागि लेखेको चिठी उसलाई दिन दिएको छैन । एक चोटी बेस्सरी थिच्न मन लाग्छ आफ्नै मनको बायाँ भागलाई । लामो सास फेर्छु । अँह आएन हिम्मत ।

पर्ख र हेर भने झैँ । ऊ र म एउटै विद्यालयमा पढ्दै छौं भने किन हतार गर्नु । विस्तारै उसको पनि मन बुझ्नु पर्छ । बरु अनेक बहाना बनाएर भएपनि नजिक हुने कोसिस गर्नु पर्छ । आफ्नो मनलाई आफै बुझाएँ । तिमी हिडिरहेकी थियौ । म रोकिए र जान दिएँ तिमीलाई अलि परसम्म । पानीको जरुवा । त्यो जरुवाको माथि बैंशको एउटा रुख । त्यो बैंशको रुख र तिमीमा खासै भिन्नता छैन क्यारे । फरक यति हो त्यो रुख हो तिमी मान्छे । त्यो वनस्पतिको नाम मान्छेले त्यसै बैश राखेका होइनन् क्यारे । साँच्चिकै सुन्दर हुन्छन् बैंशका रुखहरु ।

तिम्रा निम्ति लेखेको चिठी निकाले कमिजको गोजीबाट । हेरे एक पटक तिमीलाई । तिमी अलि पर पुगिसकेकी थियौ । त्यही बैंशको फेद नजिकै रहेको एउटा चिटिक्क परेको ढुङ्गा मुनी लुकाएर राखे त्यो चिठी । किनकी त्यो चिठी बोकेर म स्कुल जान सक्ने अवस्थामा थिइन । कतै अरुहरुले पत्तो पाए भने । भोलि त दिन्छु दिन्छु । तर दुर्भाग्य । त्यो दिनदेखि त्यो चिठी राखेको ठाउँमा करिब २० वर्षसम्म म पुग्न सकिन । किनकी त्यसकै भोलिपख बाध्यता र विवशतामा परेर मेरो परिवारसँगै मैले पनि बस्ती सरेर मुग्लान पस्नु प¥यो । जमुना, मेरा लागि त्यो भोलि अहिलेसम्म आएको छैन ।

वैशाख पूर्णिमाको अवसर पारेर कूलपूजाका लागि म उक्लेको छु पहाडमा । यही क्रममा राजनसँग भेट हुन्छ । राजनको बहिनीको बिहेमा निम्तो मान्न पनि जानु छ । उसले फोनबाटै भएपनि १५ दिन अगाडि बहिनीको बिहेको निम्तो दिएको छ । एकातिर कूलपूजा अर्को तिर राजनको बहिनीको बिहे । राजनको घर जाने क्रममा त्यही बाटो हुँदै हिड्दै थिएँ म जुन बाटोमा कुनै दिन तिमी अघि अघि र म पछि पछि भएर हिडेका थियौ । रोकिए मेरा पाइलाहरु, फेरि रोकिए । तिम्रा निम्ति लेखेको तर दिन नसकेर ढुङ्गामुनी लुकाएर राखेको त्यो चिठी खोज्न मन लाग्यो फेरि एक पटक । तर चिठी त उम्रेछ । एउटा पिपलको स्वरुप धारण गरेर । त्यो बैंशको रुख बुढो हुँदै गइरहेको छ र तन्नेरी हुँदै गइरहेको छ त्यो पिपल रुपी मेरो चिठी । आज निकै सन्तुष्ट भए म । मैले रोपेको चिठी पिपल बनेर म हिडिरहने बाटोमा ठिङ्ग उभिएको देख्दा । मेरो मनमा आउँन थाले मैले कुनै दिन कण्ठाग्र गरेका तिम्रा अध्यायहरु । तिनै अध्यायहरु मनमनै वाचन गर्दै तिम्रो माइतीघरमा पुगे । कतै देख्न सकिन्छ भन्ने आशले भरिएका मेरा नजरहरु तिम्रो माइतीघरको चारैतिर कुदे एकपटक । तर सकेनन् भेटाउन । केही मान्छेहरु ओहोर दोहोर गरिरहेका थिए । म पनि लागे राजनको घरतर्फ ।

त्यतिबेला छक्क परे म । जतिबेला तिमी नाचिरहेकी थियौ राजनको आगनमा । हेरे तिमीलाई । उस्तै देखें जस्तो देखेको थिएँ तिमी ८ कक्षामा पढ्ने बेलामा । सायद केही थियो होला तिम्रो मनमा पनि । त्यसैले त नाच्दा नाच्दै रोकियौ र हे¥यौ मलाई । जुधें तिम्रा र मेरा नजर । नदिको एक किनारमा भएको बर र अर्को किनारमा भएको पिपलका आँखा जुधें जसरी । तिमीलाई प्रत्यक्ष रुपमा देखेपछि पूरै अतित नयाँ भएर उभियो मेरो अगाडि । सम्झिएँ स्कुल पढ्दाका दिनहरु । अनि त्यो चिठीलाई एउटा पानीको जरुवा नजिकै ढुङ्गा मुनी लुकाएर राखेको दिनलाई । त्यो ठाउँमा खै कसले हो पिपल रोपिदिएछ । मेरो आँखाले देखेको कुरा पनि पत्याउन छोडिदियो । त्यो पिपल कसैले रोपेको नभई मैले ढुङ्गामुनी लुकाएर राखेको प्रेमपत्र उम्रिएछ । यही कुरालाई विश्वास गरिरहेको छ मेरो मन । जमुना, पढ्न मन छ फेरि एकपटक त्यो ढुङ्गामुनीको प्रेमपत्र ।