Loading... आजः २ असार २०७८, बुधबार । Wednesday 16th June 2021

आज प्रणय दिवस

किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखु भन्छु उति उड्छ मन यो
छायाँ एउटा सँधै डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नी के मा म भुले ??

यो फूल र प्रीतियुक्त गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्छ । डाली–डाली फूलेको फूल अनि भमरासहित पिरतीमा परेको प्रेमी या प्रेमिकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गरौं, आजको दिनमा विशेष शब्दहरू ।

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौ । तर यति अवश्य भन्छौ कि यो संसारका हरेकका मनमा माया–प्रीतिको गुरुत्वाकर्षण भरिएको हुन्छ, जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

तपाईले माया गर्नुभएको या तपाईलाई माया गर्ने अनि एक–अर्कासित माया–प्रेम छँदा छँदै पनि जोडिन नसकेका जीवनका धागा र याद लाखौं गुलाबका फूलहरूसहित प्रेमपूर्ण यात्रामा किन नहिँड्ने ? माया त माया नै हो, कि कसो ?

हुन सक्छ धेरैमा पहिलो प्रेमको त्यो स्मृति । अनि स्कूलमा किताब साटासाट गर्ने बाहनामा पानाभित्र प्रेमपत्र लुकाएको स्मृति । आधुनिक कालमा घण्टौं घोरिएर शब्द रोजी–रोजी पठाएका मोवाइल म्यासेज । अनि राती राती लुकेर गरेका च्याट । रिप्लाई कुर्दै अनिँदो बसेका रातहरू ।

पहिलो भेट, जुधेका आँखाहरू अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषाका पलहरू… । मन परेको केटा या केटीसँगै हुँदा या बोल्दा महसूस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतिर लग्ने, त्यो अर्कैखाले आह्लादित संसार । माया–प्रेमका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको शुरुवात गर्ने, पुराना स्मृति खोतल्ने र प्रेमयुक्त खुसी साटासाट गर्ने विशेष दिन हो आज । अर्थात्, ‘भ्यालेन्टाइन डे ।’

हाम्रो मुलुक चाहिँ निकै पछि मात्र भित्रिएको हो, ‘भ्यालेन्टाइन डे ।’ त्यसो त, पश्चिमा संस्कृतिको ‘भ्यालेन्टाइन डे’ नभित्रिँदा पनि माया–पिरती अनेकन कथा हुन्थे नै । केवल पुराना पुस्ता र नयाँ पुस्ताबीच अलि फरक शैली मात्र फरक न हो । प्रेम–प्रीतिका दृश्य र शैली बद्लिएका मात्र त हुन् नि ।

पश्चिमी सभ्यताबाट आयातित ‘डे’ को हल्का टिप्पणी गर्दै ‘भ्यालेन्टाइन डे’को आलोचना गर्ने पनि हाम्रो समाजमा प्रशस्त छन् । माया–प्रीति तोकिएको दिन या कुनै विशेष समय भन्दा पनि निस्वार्थ भावले सँधैभरि अँगाल्नुपर्छ भन्ने मान्यता राख्ने पनि छन् । तर कुनै दिन मायाकै कुरा गरिन्छ र पिरती आत्मसात् गरिन्छ भने यो ‘दिन विशेष’सँग किन रोष राख्नुप¥यो र ? मायाको यो दिवस हामी सबैलाई मीठै लाग्छ, होइन र ?

पुस्ता–पुस्तान्तरमा भाका, भाषा, शैली फरक भएपनि माया–प्रेमका कहानी नबोक्नेहरू बिरलै पात्र हुन्छन्, महिला हुन् कि पुरुष । समाजअनुरूप कहीँ खुला त कहीँ लुकी–चोरी प्रेम–प्यार साटासाट भएकै हुन्छन् । प्रेम सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिए होलान् । कति त्यस्ता प्रेमकथा बीचैमा ‘ब्रेक’ पनि लागे होलान् । तर यसको अर्थ संसार सकिएको हुँदैन । तपाईलाई माया गर्ने पात्रको कमी हुँदैन । शायद ! तपाईलाई धेरै माया अर्कै पात्र अन्त कतै कुसिबसेका हुन्छन् ।

एउटा अचम्मको तथ्य के छ भने, ‘संसारमा स्वर्ण अक्षरले कँुदिएका प्रेम कथाहरू संयोगान्त भन्दा वियोगान्त बढी छन् ।’ अर्थात् माया सहज छैन । उदाहरणका लागि भगवान श्री कृष्ण अनि राधाबीच समेत विवाह भएको थिएन । मुना–मदनदेखि रोमियो अनि जुलियटसम्मले पनि संयोगान्त कथा कोर्न सकेनन् । तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वका साथ प्रेमीले मनमा अमर राखेका छन् । केवल चोखो माया, अनि चोखो पिरतीका कारण…।

मनै त हो, स्वीकारिए पनि या अस्वीकार गरिएपनि आत्तिने या मात्तिने नगरौं । आफूले एकोहोरो चाँहदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने हुन्न । किनभने प्रेम दोहोरो हुन्छ । अनि मूल कुरो हो, एक–अर्काबीच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ । तब सबै प्रेमिल सङ्गीत अपूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो । अनि यो पृथ्वी बाँच्नुको कारण पनि प्रेम हो ।

कुनै बेला इटालीका सम्राट क्लाउडिअस–२ ले नागरिक विवाहमा प्रतिबन्ध लगाए । उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षमा पादरी भ्यालेन्टाइन उभिए । तर सम्राटलाई त्यो दृश्य मन परेन । उनलाई जेल हालियो ।

सम्राटले भ्यालेन्टाइनलाई बन्दी बनाएर राखे । तर बन्दी गृहकै एक सिपाहीकी छोरीसँग प्रेम रहन गयो । मृत्यु अघि उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रूपमा गरिएको एउटा सम्बोधन….। त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदय निकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रूपमा सम्झिने गरिन्छ । उनै सन्त पादरीको बलिदानको सम्मानमा आज संसारभरि प्रेम–दिवस मनाइन्छ । उनले विश्वभर प्रेमी–प्रेमिकाका सन्त संरक्षकको पहिचान कमाए ।

उनैको सन्तको सम्झनामा विश्वभर करोडौंको संख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान–प्रदान गरी यो मायालु दिनको उत्सव मनाइँदैछ ।

मायाका नाममा कुनै दुव्र्यवहार नगरौं । माया–प्रेमको सम्मान गरौ । अनि प्रेम पहिचान बनाऔं । बलजफ्ती प्राप्तिको लालसा प्रेम कदापि हुनै सक्दैन । त्यो अपराध हो, अपमान हो । प्रेमलाई संकुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर लग्दै पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । एकले–अर्कोप्रतिको समर्पण भावसहित अनुभूति भ्यालेन्टाइन जसरी युगौयुग अमर भइ बाँच्नेछ ।

प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरू बीचमा मायाको शितल आँचल लहराइरहोस् । माया नै धर्म हो । शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस् । तपाई कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस् । एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्ने गरी माया मुटुभरि भर्नुहोला । हाम्रो पात्रो