Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सुर्खेतमा बर्डफ्लु भित्रियो

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।

पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए ।

‘सुर्खेतमा पनि बर्डˆलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ । बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको छ,’ सूचना अधिकारी चपाईले भने ।

चपाईका अनुसार बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ ।

बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाइले बताए ।