Loading... आजः ११ बैशाख २०८१, मंगलवार । Tuesday 23rd April 2024

यस्तै छ देशको वर्तमान

नयाँ नेपालका गुरुकूलहरुले नौलो फूलबारी रोप्ने तयारी नगरेका होइनन् । साथै देशलाई झलमल्ल बनाउने दियो पनि निर्माण गर्ने संकल्प गरे । तर खै त्यो कस्तो खालको प्रकाश दिने हो भन्ने अझैँ पनि एकिन हुन सकेको छैन । उनीहरुले निर्माण गरेको फूलबारीमा कस्तो फूल फूल्ने हो र कस्तो वासना दिने हो त्यसको अझैँ एकिन हुन सकेको छैन । हिजोका दिनमा नेपाली जनताले सोचे जस्तो वर्तमानमा समेत साँच्चिकै नयाँ नेपालको निर्माण हुन सकिरहेको छैन । प्रत्येक नागरिकहरुको मन र मस्तिष्कमा अनि प्रत्येक नागरिकका घर घरमा शान्ति र विकासका लहरहरु ल्याउने संकल्पहरु आएका थिए ।

दिर्घलाल न्यौपाने

गरिब जनताको आगनमा विकासरुपी वासनाको लहर ल्याउने कुरामा दृढ संकल्प छौ नेताहरुले भनेकै हुन् । त्यसपछिका दिनहरुमा कसैले पनि अध्यारोमा बस्नु पर्ने छैन भने कुनै पनि जनताले दुःखको सामना गर्नु पर्ने छैन । खानका लागि गास र बस्नका लागि बास अनि शिक्षाका लागि विद्यालय तथा विरामीहरुका लागि औषधी गर्न अस्पतालको व्यवस्थापनमा हामी जुटिसक्यौ । कति मीठा, गतिला र ओजिला शब्दहरु थिए ती । आज पनि त्यो आशाबाट नेपाली जनता विमुख छैनन् ।

यिनै आशावादी कुराहरुले नेपाली जनताले वर्तमान नेकपालाई आफ्नो मतदान गरे । एकातिर कम्यूनिष्टहरु एक भएका अर्कोतिर झण्डै दुईतिहाइको बहुमत अनि विकासे क्रान्तिका लागि र नेपाली जनतालाई शान्तिको छहारी दिनका लागि कोही कसैले पनि रोक्न र छेक्न नसक्ने बलियो सरकार बन्यो । नेपालको राजनीतिक इतिहासमा यो भन्दा बलियो सरकार अहिलेसम्म बनेकै थिएन । यसले पनि नेपाली जनताका मनमा खुसी ल्याउनु र आउनु स्वभाविक हो ।

तर पछिल्लो समयको घटनाक्रम भने त्यसो भइदिएन । फेरियो समय । त्यो समयसँगै फेरिए नेताका मनहरु र जसका कारण जनताले दिएको मतको समेत अपमान भयो । समयको चक्रमा फसे यिनीहरु । समयको चक्रमा घुम्ने क्रममा जसरी सूर्यलाई ग्रहण लाग्ने गर्दछ । भगवान विष्णुले पनि विन्द्राको श्रापका कारण झार, वृक्ष, शालिग्राम तथा बोट भएर श्राप भोग्नु परेको थियो । ठीक त्यसैगरि यिनीहरुलाई पनि के सतिको श्राप लागेको हो त ? जनताले लख काट्न थालेका छन् ।

अबका दिनमा यिनीहरुको मति बुद्धि नफेरिने हो भने नेपाली राजनीतिमा एकता हुनेछ भन्ने कुरामा शंका गर्नु पर्ने अवस्थाको सिर्जना भयो । फेरि पनि शक्ति र सत्ताकै लागि भागबण्डादेखि आफ्ना र आफन्तका लागि खिचातानी हुने प्रवृत्तिको सुरुवात हुनुले पक्कै पनि नेपाल आमालाई शान्तिसँग बाँच्न नदिने कुपात्रहरु भएको महसुस हुन थालेको छ ।

देशलाई आर्थिक क्रान्तिमा अगाडि बढाउने समयमा विभिन्न खाले भ्रष्टाचारमुखी कार्यहरु गर्नुले देशले काँचुली फेर्छ भन्ने आधारहरु नै हराउन थालेका छन् । आज आधुनिक नेपालको नाम दिनेहरुले हिजोका दिनमा गुरुकूलमा के हुन्थ्यो र कस्तो हुन्थ्यो अनि एउटा गुरुले हजारौं चेलाहरुलाई कसरी सक्षम बनाउन सक्थे भन्ने इतिहासलाई अध्यायन गर्न आवश्यक छ । नाम अनुसारको काम नहुने र पद अनुसारको आचरण नहुने हो भने त्यसले लक्ष्य भेट्न सक्दैन । पानीको काम बग्ने हो । अनि आगोको काम सेक्ने तथा पोल्ने हो भने छायाँको काम शितलता प्रदान गर्ने हो । त्यसै गरि कर्मचारीहरुले आफ्नो काम गर्ने हो भने नेताहरुले आफ्नो काम गर्ने हो । कर्मचारी र नेतागणहरु मिलेर देशको ढुकुटीलाई नै रित्तो बनाउने कार्यमा लाग्ने अनि लोकतन्त्र र गणतन्त्रका फूँइ लगाएर देश कंगाल बनाउने हो भने नेपाल न समृद्धि बन्न सक्छ न नेपालीहरु सुखारी बन्न सक्छन् ।

हिजोका दिनमा गुमेको नेपालको भूभाग आज नक्सामा समेटियो भनेर खुसी मनाएकाहरु हामीले नै हाम्रा बालबच्चाहरुलाई त्यो नक्सा पाठ्यक्रममा पढाउन नपाउने हो भने त्यो केवल खोक्रो राष्ट्रवाद मात्र भएन र ? अर्कोतिर आन्तरिक रुपमा कलहमा फसेर देशलाई दुर्दशामा लैजाने जुन कोसिस भयो । त्यसले नेपाली जनताको भलो गर्न सक्दैन भन्ने कुरालाई छर्लङ्ग पारेको छ । नेपालमा न्यायपालिका आफ्नो शक्ति र बुद्धिमा अडिग छ अनि संविधानको मर्म र भावना अनुसार अगाडि बढ्छ भन्ने विश्वास जागेको छ ।

चाहे स्थानीय तहका सरकार हुन् चाहे प्रदेश सरकार हुन् । यिनले पनि जनताका लागि काम गर्नु पर्ने हो । तर अहिले मिलेमतोमा कतै आफू बन्ने र स्वार्थपूर्ति गर्ने योजनाका साथ अगाडि बढेका कारण ती तल्ला तहका सरकारहरु प्रति पनि जनताको मनमा वितृष्णा जाग्न थालेको छ । वीरेन्द्रनगरकै कुरा गर्ने हो भने आज तीन वर्षसम्म पनि बाटाहरु बन्न सकेका छैनन् । हिजोका दिन राजा वीरेन्द्रले संचित गरेर राखिएको जग्गालाई समेत राजनीतिका आडमा बाँडिरहेका छन् । भोलीका दिन कुनै प्राकृतिक विपत्ति आएको खण्डमा जनतालाई खुला स्थानमा बसाल्न सक्ने अवस्था नै छैन भने यिनीहरुले हामीले आधुनिक ढंगबाट नयाँ शिराबाट काम गरिरहेका छौ भन्न त लाज मान्नु पर्ने होइन् र ?