Loading... आजः २ असार २०७८, बुधबार । Wednesday 16th June 2021

घ्वाच्च घोच्यो – व्यङ्ग्य

चौध गते केपी सुर्खेत आउने रे । फेरि पनि उखान टुक्का गाउने रे । उनका समर्थकहरु मोटरसाइकलमा रमाउने रे । लाल झण्डा समाउने रे । देश केपीमय भयो भनेर अलि अलि सान पनि जमाउने रे । कसै कसैले यसो मिलाएर भएपनि धेर थोर कमाउने रे । यो निर्वाचन भन्ने चीज आयो भने बुद्धि हुनेहरु कमाउछन् । शक्ति हुनेहरु रमाउँछन् । बल हुने एक दुई थप्पड जमाउछन् । पुलिसले पनि दुई चार जनालाई समाउछन् । त्यसैले नेपालमा निर्वाचन भन्ने चीज आएकै फाइदा छ । घाटा हुने त लाटाहरुलाई हो । लाटालाई कहिले पो फाइदा भएको थियो र । कसैले तेलका कुरा गर्छन कसैले तेल हाल्न पाउँछन् । एक छिन भएपनि जुलुसमा आउँछन् । कसैले रेलका कुरा गर्छन । कतिले त सेलका कुरा गर्छन । लु खतम ।

यता एक नम्बरमा अविश्वास आइसक्यो । दर्ता भइसक्यो । सबै भन्दा पहिले कर्णालीबाट सुरु भएको अविश्वास न विश्वासमा परिणत हुन सकेको छ । न दर्ता हुन सकेको छ । हुन त दुई तीन पटक जन्मेदेखिको बल लगाएर पनि सफल हुन नसकेपछि के लाग्दोरहेछ र । मुटु माथि ढुङ्गा राखी हास्नु परेको छ । खेल त खेलिँदै होला । रेफ्रिले पनि हाल्न खोजेको गोलमा रोक लगाएपछि गरेको दस्तखत पनि फिर्ता लिन तोक लगाएपछि नसकिने रहेछ भन्ने लागेर होला । आजभोली हो हल्ला पनि सुनिन छोडेको छ । लु खतम ।

कर्णालीमा लोक सेवा गठन भयो । अब यसले कर्मचारी भर्नाका लागि बाटो खोल्ने छ । हैन लोक सेवा भनेको लोकको सेवा गर्ने हो कि दुई तीन जना मान्छेको सेवा गर्ने संस्था हो । भन्ने बेलामा संवैधानिक भन्छन् काम त फेरि असंवैधानिक गर्छन । अब जनताले बुझिसके । धेरै आँखामा छारो नहाले हुन्छ । आफ्नै श्रीमतीलाई लोक सेवामा छिराएपछि अरु किन चाहियो र । अरु बेलामा खुव यो पार्टी र उ पार्टी । यो गुट त्यो गुट भनेर बम्कनेहरु भागबण्डा मिलेका बेला सिंगो आयोग निलेका बेला कमिलाले चिलेको बेलाको जति पनि उफ्रिदैनन् त बा । लु खतम ।

हामी भागबण्डाका लागि आएका होइनौ भनेर ठूलै भाषण दिनेहरुले पनि भागबण्डा गरे । कुन जिल्ला कसको भागमा परे । कतै सचिव बदले कतै अध्यक्ष बदले । कतै पुरानै थाँती राखे । कति जानेका हुन् कुरा मिलाउन पनि । हुन मिलाउन नजानेको भए यतिको भाँडमैलो हुने पनि थिएन होला । कोही जु मा लगेर थुन्ने कुरा गर्छन कोही कु मा लगेर जाकिदिने कुरा गर्छन । यिनीहरुका कुरा सुनेर पनि पत्याउन गारो छ । हिजो मिलेर खाएकाहरु एउटै ड्याङमा उम्रेकाहरु आज किन यति अतिबित्ति गरेका होलान् । भोली फेरी एकिकरण हुने कुरा आयो भने राजनीतिमा दीर्घ सत्रु र मित्रु कोही हुँदैनन् भन्दै जनतालाई ठग्ने त होलान् । गायिकालाई लगेर सांसद बनाउनेदेखि परिवारिक राजनीति गर्नेहरु सम्मको के कुरा गर्नु । प्रचण्डलाई मात्र छोरी बुहारीको दोष लगाउनेहरुले शंकरले शिवको जस्तो ताण्डव नृत्य गर्दै भान्जादेखि साडुभाइको छोराछोरीलाई समेत आश्रय दिएको नदेखेपछि यो हरिलठ्ठकलाई घोच्ने नै भयो । त्यो घोचाईले जनतालाई समेत पिरोलेको देखेर हरिलठ्ठकलाई फेरि एक पटक घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ