Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

आज विश्व उपभोक्ता अधिकार दिवस

सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए । उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए । त्यसै दिनको सम्झनामा हरेक वर्ष मार्च १५ तारिखमा उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ ।

हरेक मान्छे उपभोक्ता हो । क्रय अनि बिक्रय मानव सभ्यताका अपरिहार्य कारोवार हुन् । परापूर्वकालदेखि नै हामीले क्रय–बिक्रय अर्थात् खरिद र बिक्री अनि वस्तु तथा सामानहरूको उपभोग गर्दै आएका छौं । त्यसो त, प्रकृति हाम्रो सबैभन्दा ठूलो उपभोग श्रोत हो । श्वास फेर्ने हावा, पिउने पानी, आकाश, न्यानो घाम, चिसो बतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका विषय हुन् । जुन विना हाम्रो मानव अस्तित्वको अर्थ हुँदैन । यस्ता प्राकृतिक तत्व मानव धेरै हदसम्म स्वतन्त्र र निःशुल्क उपभोक्ता हो । तर बजारमा पाइने विभिन्न वस्तु तथा सेवाहरूको क्रय अनि बिक्रयसँगै उपभोक्ता अधिकारका मुद्दा अनि तथ्यहरू आउँछन् ।

शुरुवातकालमा हाट–बजारको प्रचलन थियो । मानिसहरू त्यही हाट–बजारमा सामान अनि सेवा साटासाट गर्दथे । जतिखेर पैसाको प्रचलन थिएन, मानिसहरू एक–अर्काबीच सामान साटासाटबाटै उपभोग गर्थे । धानसँग आलु साट्थे । मकै र कोदो साटासाट हुन्थ्यो । यसरी वस्तु तथा सेवाको विनिमय गरिन्थ्यो । भनाईको तात्पर्य जहाँ आफूसँग भएका सामानको साटो अन्य आफूसँग नभएका सामान विनिमय गरिन्थ्यो । बिस्तारै पैसा अर्थात् मुद्राको चलन आयो । पछिल्ला कालखण्ड त संसार हाम्रो सामु छर्लङ्गै छ ।

अब त सामान किन्न बजार पनि नगइकन घरबाटै इन्टरनेटबाट हेरेकै भरमा सजिलै मगाउन सकिन्छ । यस्ता युगान्तकारी उपभोग शैलीका परिवर्तनसँगै अवसर र चुनौती दुवै हाम्रा सामु छन् । स्मरणरहोस्, संसारका ४० प्रतिशत बासिन्दाहरू अनलाइन माध्यमहरूमा संलग्न रहेको विश्वब्यापी अध्यनहरूले देखाएको छ । नेपालमा भने अझै पनि भरपर्दो ‘अनलाइन पेमेन्ट गेटवे’हरू सबैसमक्ष परिचित छैनन् । तर बिस्तारै अनलाइन बजार नेपालमा पनि बढ्दो क्रममा छ ।
कोभिड–१९ पछिको समयमा त नेपालमा पनि अनलाइन क्रय–बिक्रयको बाढी नै आएको छ । यसरी अनलाइनमा उपभोक्ताहरूको अधिकारको संरक्षण एउटा कुरा होला भने अर्कातिर भौतिक रूपमा किनिने सामान अनि पर्यावरणीय सुरक्षाका सवाल पनि यो दिवसले उठाउँछ । सन् २०२१ को विश्व उपभोक्ता दिवसको नारा नै प्लास्टिक प्रदुषणसँग जुध्दै भन्ने छ । ‘Tackling plastic pollution’ अर्थात्, आमतहमा प्लास्टिकको प्रयोग बढेपछि यसले पर्यावरणीय पक्षलाई निकै ठूलो आघात पारेको छ । विश्वमा बढ्दो उपभोक्तावादसँगै वातावरण परिवर्तन पनि विश्वकै निम्ति चुनौति हो । त्यहीकारण यो वर्षको उपभोक्ता दिवसमा ‘प्लास्टिकसँगै जुध्दै’ भन्ने नारा तय भएको हो ।

आजको विश्व बजारमा उपभोक्ताहरू ठगिन सक्ने, अखाद्य वस्तु मारमा पर्न सक्ने जस्ता प्रशस्तै खाडल देखिएको छ । आजको दिन यसै विषयमा छलफल गर्दै एउटा ‘फेयर ट्रेड’ अर्थात् स्वच्छ–स्वस्थ र पारदर्शी व्यवसायको पैरवी गरिन्छ । दुधमा पानी, घिऊमा वनस्पति घिऊ, मिनरल वाटरमा कोलिफर्म, मरिचमा मेवाका सुकेका दाना मिसिन्छन् र उपभोक्ता पीडित बन्न पुग्छन् । अनि शिक्षा जस्तो महत्वपूर्ण विषयमा अनेकन अनुचित शुल्क जोडिन्छ । खाद्य पदार्थमा चर्काे मूल्य असुलिन्छ, अनि गुणस्तरहीन सामानको मारमा उपभोक्ता पर्छन् ।

सेवा ठानिने स्वास्थ्य उपचारमा विरामीहरू अझ रोगी बनाउने गरी मूल्य असुलिन्छ । नेपालमा उपभोक्ता अधिकारका विषयमा बेलाबखत बहस हुन्छ, तर हामी चरम उपभोक्ता अधिकार हननका मार खेपिरहनेमा पर्छाै । नेपालजस्तो विकासोन्मुख देशमा उपभोक्ता अधिकारका सवालमा खिल्ली उडाइन्छ भने उपभोक्ता अधिकारका त के कुरा ? पैसा तिर्छु भनेर सैयौ घन्टा लाइनमा उभिँदा समेत इन्धन लगायत अत्यावश्यक सामान नपाउनु हामी नेपालीको दिनचर्या नै भइसक्यो । औषधी नपाएर मृत्यु शैयाका विरामीहरू छटपटिएकादेखि स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा कार्यक्रम नै देशब्यापी रूपमा प्रभावित भएका दृश्यले नेपाली अवस्था छर्लङ्गै पारेकै छ । संसारभरि तेलको भाउ स्वात्तै घटेका बेला पनि हामी नेपालीहरू संसारकै गरिब मुलुकमध्ये परेर पनि संसारभरिकै महँगो मूल्यमा तेल खरिद गर्न वाध्य छौं, त्यो पनि घन्टौ लाइनमा बसेर । आजको दिन सरकार अनि समुदाय, नेपाली उपभोक्ताको यो हविगतप्रति संवेदनशील हुन जरुरी छ ।

दूधमा कोलिफर्म, पुष्टकारीका कथा, सार्वजनिक यातायातका मनपरी भाँडा, स्कूलै पिच्छेको फरक चर्को शुल्क, अस्पतालका हृदय विदारक घटना अनि शुल्कका फेहरिस्तले उपभोक्ता अधिकारप्रति उदासीन नेपाली सरकार र नेपाली औसत जनमानसको कारुणिक अवस्थाको बयान गर्छ । विदेश जाने नेपाली दाजुभाईहरूलाई यहाँका कम्पनीले अनि विदेश पुगेपछि पनि ठगिने हविगतका साथै दिनहुँजसो काठका बाकसमा फर्केका निमुखा नेपालीहरूको दर्दनाक कथाले पनि वैदेशिक कामदारहरूको अधिकार र उनीहरूले एउटा वैदेशिक कामदार भएर जान चाहँदा सहजीकरणका लागि बसेका कम्पनीहरूको उनीहरूप्रतिको जवाफदेहिता र दिएको सेवाको जिम्मेवारीपनाको ब्याख्या गर्दछ ।

कहिले काहीँ मिठाइमा अखाद्य रंगदेखि फोहोरसम्म विषय आएपछि एकाध पटक छापा मारिएका घटना छन् । गुलियो मिठाइमा अखाद्य बस्तु मिसावटले स्वास्थ्यमाथि कुन हदसम्म हेल्चेक्र्याई हुन्छ भन्ने देखाउँछ ।

त्यसमाथि हामी उपभोग्य वस्तुको गुणस्तरका विषयमा जति संवेदनशील हुनुपर्छ, त्यति गम्भीर छैनौ । उपभोग्य बस्तुबाट मर्कामा परेमा कानूनी उपचार खोज्ने प्रचलन पनि बसेको छैन । उपभोक्ता ठग्नेहरूलाई दण्ड–जरिवाना हुन्छ भन्ने तथ्य समाजमा स्थापित हुन सकेको छैन । उपभोक्ताको संरक्षणसम्बन्धी मुलुकमा प्रशस्त कानूनहरू पनि छन् ।

अर्कोतर्फ हरेक बिक्रेता क्रेता हो, अनि हरेक क्रेता बिक्रेता हो । हामीहरू कतै आफ्नो समय या सीप बेच्दछौ भने कतै आएको रकमले बस्तु अनि सेवा क्रय गरेर क्रेता बन्न पुग्छौ । यो उपभोक्ताको वृत्त हो । क्रय र बिक्रय दुवैमा पारदर्शिता जरुरी छ ।

किनेको सामानको या सेवाको चित्तपर्दो मूल्य र गुणस्तर नलागे विरोध गर्न नहिच्किचाऔ । कुनै वस्तु एवं सेवा खरिदपछि बिल माग्न नभुलौ । केही समस्या परेमा गुनासाहरू सरकारी संयन्त्र या सम्बन्धित जिल्ला विकास कार्यलय या खाद्य गुणस्तर कार्यलयमा गरौं ।

विहान उठेर दाँत माँझ्ने ब्रस र पेस्टदेखि लगाएका लुगा, चढेका गाडी अनि हाल्ने इन्धनसम्म अधिकांश विदेशी उत्पादन प्रयोग गर्ने नेपाली भूमिमा स्वदेशी उत्पादन अनि ब्यवसाय र उत्पादनमुखी अर्थतन्त्रको वकालत गर्दै दिगो विकासमा टेवा पु¥याउने संयन्त्रको परिकल्पना साकार होस् । हाम्रो पात्रो