Loading... आजः २ असार २०७८, बुधबार । Wednesday 16th June 2021

कर्णाली, मुख्यमन्त्री र काठका मुढाहरु

आज भन्दा अगाडि मैले विभिन्न राजनीतिक लेखहरु लेख्दै गर्दा कहिले इतिहासलाई नियाल्ने कोसिस गरियो कहिले वर्तमानलाई । इतिहासलाई सांक्षी नराखेसम्म वर्तमानमा अगाडि बढ्नै सकिदैन । किनकी इतिहास भनेको पाठ हो । सिकाइ हो । सिकाइ विनाको गराई अधुरो हुन्छ अझ भनौ भने अपुरो हुन्छ अर्थात असफल हुन्छ । इतिहासलाई सम्झँदै लेख्दै गर्दा वर्तमानको यथार्थता र भविष्यको योजनालाई पनि सँगसँगै लैजानु लेखकको धर्म र पाठकको रुचि हो भन्ने मैले राम्रोसँग बुझेको छु । कुनै एउटा पुस्तकको समीक्षा गर्नु वा समालोचना गर्नु र राजनीतिक लेख लेख्नु फरक हुन मेरो विचारमा । समालोचना वा समीक्षामा पुस्तकका बोक्रादेखि गुदीसम्मलाई कोट्याउनु र पाठक समक्ष पस्किनु हो । तर राजनीतिक रुपमा लेखिने लेखले राजनीतिक दल, नेताहरु र तिनका समर्थकदेखि आम नागरिकहरुलाई प्रभाव पार्न सक्नुपर्छ । अनि मात्र राजनीतिक लेखले अर्थ राख्छ । राजनीतिक लेखको नाममा आफू समर्थक दल वा आफूले मन पराएको नेताले गरेका कार्यहरुको वर्णन गर्ने र अर्को पक्षका नेताहरुलाई मात्र झटारो हानेर पानी माथिको ओभानो बन्नेहरु दलका लेखक हुन् मेरो विचारमा । आज म जुन विषयमा लेख्ने जमर्को गर्दैछु यो राजनीतिक लेख होइन । सामाजिक मूल्य र मान्यतालाई सांक्षी राखेर अगाडि बढिरहेको हाम्रो समाजमा सामाजिकत्वको अर्थ कति छ भन्ने कुरालाई मैले केवल अक्षरमा उतार्ने कोसिस मात्र हो ।

लेखक : खगेन्द्र अधिकारी अमृत

मैले यस लेखको शीर्षकमा राखेका शब्दहरुमा तीनवटा शब्दहरु मुख्य बनेर आएका छन् । कर्णाली, मुख्यमन्त्री र काठ । म यिनै तीनवटा शब्दहरुलाई आफूले बुझेको चिनेको र जानेको आधारमा मेरा पाठकहरु समक्ष शब्दरुपी पुष्प अर्पण गर्न गइरहेको छु ।

कर्णालीः कर्णाली भन्ने वित्तिकै हामी साविकको कर्णाली अञ्चल भनेर बुझ्ने गर्दछौ । अझैँ पनि कर्णाली प्रदेशको रुपमा चिन्नेहरुको कमी छ । तर साविकको कर्णालीमा बसोबास गर्नेहरु कर्णाली भन्ने वित्तिकै कर्णाली नदी बुझ्ने गर्दछन् । अबको वास्तविक कर्णाली भनेको केवल साविकको कर्णाली नभई कर्णाली प्रदेश भइसकेको छ । कर्णाली प्रदेश भइसकेपछि यहाँ प्रदेश सरकार छ । प्रदेशमा सांसदहरु छन् । यसको आफ्नै राजधानी छ । त्यसैले कर्णाली अब साविकको जस्तो सानो छैन । कर्णाली भौगोलिक रुपमा, विकासको रुपमा, शिक्षाको रुपमा समेत ठूलो भइसकेको छ । कर्णालीले आफ्नो भोक आफै मेटाउने उपाय खोजिरहेको छ । निरन्तर बगिरहेको कर्णालीले पानी मात्र बगाएको छैन । यसले हाम्रो सपनालाई पनि देखाएको छ । बगाई कर्णालीको जस्तो निरन्तर हुनुपर्छ । विकासको गति निरन्तर हुनुपर्छ । परिश्रम र मिहिनेत निरन्तर हुनुपर्छ भन्ने कुरालाई कर्णाली नदीको बगाइले सिकाएको छ ।

कर्णाली प्रदेशवासीले कर्णाली प्रदेश पाएकोमा खुसी छन् । किनकी देशले राजनीतिक परिवर्तन गर्ने बेलामा कर्णाली माथि गरेको अन्यायका विरुद्धमा कर्णालीका चार जना सपुतहरुले आफ्नो प्राणको आहुती दिएर भएपनि यस प्रदेशको स्थापना गरेका हुन् । त्यसैले कर्णाली प्रदेशको रेखाङ्कन वीर शहिदहरुको रगतले भएको छ । कर्णालीका सपुतहरुको रगतले कर्णालीको नक्साङ्कन भएको छ । तत्कालिन सरकारले उपहासमा पारेको कर्णाली प्रदेश सिमाङ्कन दृष्टिले सबैभन्दा कान्छो प्रदेशको रुपमा जन्मिएको भएपनि नामाकरणका दृष्टिले सबैभन्दा जेठो प्रदेशको रुपमा चिनिएको छ । जन्मको हिसावलाई एकछिन् गौण मान्ने हो भने कर्णाली प्रदेश नेपालकै जेठो प्रदेश हो ।

अन्य प्रदेशहरुले भने कर्णालीलाई चिन्ने उपमाहरु फरक छन् । रोगले ग्रस्त, भोकले व्याकुल, गरिबीले आक्रान्त, अशिक्षाले पिरोलिएको, भौगोलिक विकटताले थिलथिलो परेको प्रदेशको रुपमा चिन्दै गर्दा हामीले त्यस्ता उपमाहरुलाई इतिहासका पानामा मात्र सिमित गर्नुपर्ने जिम्मेवारी बोकिरहेका छौ । अब कर्णालीले रोगसँग लड्नका लागि आफूलाई मात्र होइन देशलाई चाहिने औषधीको उत्पादन थलोको रुपमा विकसित हुनु छ । जसका लागि कर्णालीले अथाह भण्डारण गरेको जडिबुटिको प्रयोग गर्नु आवश्यक छ । भोकको व्याकुलता हटाउनका लागि कर्णालीमा भएका बाँझा जमिनहरुलाई आवादी गरेर यहाँको जनशक्तिलाई एकातिर रोजगारी र अर्कोतिर उत्पादनको क्षेत्रमा लगाउन सकेको खण्डमा कर्णाली आफ्नो मात्र होइन अन्य प्रदेशका जनताको समेत भोक मेटाउन सक्छ भन्ने कुरालाई उदाहरणका रुपमा प्रस्तुत गर्नका लागि सक्षम बन्नु छ । गरिबीको आक्रान्तबाट मुक्ति पाउनका लागि कर्णालीमा बगिरहेको पानीलाई उपयोग गरेर विद्युत उत्पादनदेखि जलस्रोतबाट उत्पादन गर्न सकिने अनेकौ वैज्ञानिकता अपनाउन आवश्यक छ । अशिक्षाबाट मुक्ति पाउनका लागि कर्णालीमा भएका शैक्षिक संस्थाहरुलाई व्यवस्थित रुपमा संचालन गर्दै अभाव भएका स्थानमा नयाँ शैक्षिक संस्थाको स्थापना गरेर भएपनि अशिक्षाको अध्याँरोलाई चिरेर शिक्षाको ज्योति फैलाउने जिम्मेवारी पनि कर्णालीवासीकै काँधमा छ । अन्य प्रदेशले भौगोलिक विकटताले थिलथिलो परेको भन्ने उपमा दिँदै गर्दा हामीले त्यो भौगोलिक विकटतालाई प्राकृतिक बरदानको रुपमा स्वीकार गरेर त्यसलाई विकासका रुपमा प्रयोग गर्न आवश्यक छ । डाँडाकाँडाहरुलाई पर्यटकीय स्थलको रुपमा प्रयोग गर्ने र अन्य भूभागलाई खेतीयोग्य जमिनको रुपमा प्रयोग गर्ने कर्तव्य पनि हामीसँगै छ । कर्णालीमा भएको पानीदेखि यहाँ भएका ढुङ्गा, जंगल, जडिबुटी के विक्दैन । तर बेच्नु छ भन्दैमा हामीले जंगलका रुखहरु काटेर बेच्न थाल्यौ भने खुट्टामा मुतेर क्षणिक न्यानो भने जस्तै हुन्छ । तर ती रुखहरुलाई जोगाउँदै त्यसको हरितकणदेखि औषधीय तत्वलाई बेच्न सक्यौ भने हाम्रा लक्ष्य पूरा हुन सक्छन । त्यसैले हामीले त्यतातिर सोच्न आवश्यक छ ।

अलिकति फरक प्रसंग कोट्याउँ । कुनै समयमा अछुतको रुपमा व्यवहार गरिने दलितहरु अहिले शिक्षाको ज्योति प्राप्त गरेसँगै कतिपय जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । उनीहरुलाई अछुत हुन् भनेर पढ्नै नदिएको भए के उनीहरु त्यो जिम्मेवारीमा पुग्न सक्थे त ? यो एउटा उदाहरण के दिन खोजिएको हो भने शिक्षाको ज्योति पाउन सक्यो भने क्षमता र दक्षता प्राप्त गर्न सक्यो भने सबैले गर्न सक्छन् भन्ने हो । अन्य अर्थ नलागोस् कतिपय दलितहरु अहिले पनि दलितकै नाममा पिछडिएका छौ, हेपिएका छौ, चेपिएका छौ भनेर आफै पछाडि परिरहेका छन् । अगाडि आउनका लागि उनीहरुले पनि मिहिनेत गर्न जरुरी छ भने उनीहरुलाई अगाडि ल्गाउनका लागि सरोकारवालाहरुले पनि साथ र सहयोग गर्न आवश्यक छ । हो त्यही हो कर्णालीको यथार्थ पनि । हामी पछाडि परेका छौ । गरिब प्रदेशका हौ । रोगी छौ । भोकै छौ भनेर परनिर्भरतामा बाँचिरहन थाल्यौ भने हामी समृद्ध कर्णाली बनाउन सक्दै सक्दैनौ । तर अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढ्ने कोसिस गरियो भने अप्ठ्यारो पार हुन्छ हुन्छ ।

मुख्यमन्त्रीः देश संघीयतामा गइसकेपछि विभिन्न सात वटा प्रदेशहरु बने । प्रदेशको निर्माण भइसकेपछि त्यहाँ प्रदेश सरकार बन्नु आवश्यक र स्वभाविक थियो । वर्तमान संविधानले दिएको अधिकार बमोजिम नेपाली जनताले मतदान गरेर आफूले छानेका प्रतिनिधिहरुलाई सरकार संचालनको लागि पाँच वर्षे जिम्मेवारी दिएका हुन् । निर्वाचनका समयमा तत्कालिन एमाले र माओवादीले गरेको चुनावी गठबन्धनका कारण प्रदेश नं. २ बाहेक अन्य ६ वटा प्रदेशमा कम्यूनिष्टहरुले एकलौटी सरकार बनाउने जिम्मेवारी प्राप्त गरे भने संघीय सरकार पनि झण्डै दुइतिहाइ नजिकै पुग्ने गरी जनताले आफ्नो मताधिकार प्रयोग गरे । जसले गर्दा देशमा स्थायी सरकार बन्लान् देशले अब विकासको गतिमा आफ्नो क्रान्तिको सुरुवात गर्ला । रोजगारीको सिर्जना होला । कलकारखानाहरु स्थापना होलान् । विदेश जानु पर्ने पीडाबाट मुक्ति पाइएला । शिक्षा, स्वास्थ्य जस्ता अति आवश्यक कुराहरुको व्यवस्थापन होला । जनताले गरेको लोभ यस्तै यस्तै थिए र छन् पनि ।

कुरा कर्णाली प्रदेशकै गरौं । कर्णाली प्रदेशमा सबै जिल्लाका जनताले आफूले मन पराएका व्यक्तिलाई जनप्रतिनिधिको रुपमा पठाइसकेपछि राजनीतिक दलहरुले आन्तरिक रुपमा गरेको भागबण्डाकै कारण कर्णालीमा माओवादीका तर्फबाट निर्वाचित महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री हुने अवसर प्राप्त गरेका हुन् । पहिलो पटक बनेको प्रदेश सरकार । एउटा पनि कानून नभएको अवस्था । कुनै पनि संरचना नभएको अवस्था अनि अथाह जनताका चाहना र इच्छा । मुख्यमन्त्री हुन सजिलो थिएन र छैन पनि । मुख्यमन्त्री भइसकेपछि कानूनहरुको निर्माण गर्दै सिमित स्रोत र साधनहरुको उपयोग गर्दै कर्णालीका सारथीको रुपमा काम गरिरहँदा झेल्नु पर्ने अनेक बाधा र अड्चनहरु झेल्दै गर्दा पनि अदम्य साहसका साथ महेन्द्र बहादुर शाही अगाडि बढिरहे ।

हिजोका दिनमा जनयुद्ध लडेर जनसेनाको कमाण्डरको रुपमा कार्य गरेका कारण पनि उनी भित्र जोश, जाँगर र साहसका साथै योजनाहरु पनि हुनु स्वभाविक हो । संघीय सरकारले दिएको सानो बजेटलाई पनि ठूलै देखेर त्यसलाई परिचालन गर्ने क्रममा कतै कर्मचारीको अभाव, कतै कानूनका अभाव झेलेर भएपनि उनी अगाडि बढिरहेका हुन् । प्रदेशको पहिलो बैठकमा नै हामी कोही पनि पक्ष र प्रतिपक्ष नभएर कर्णालीको रोग, भोक, अशिक्षा, अविकास, गरिबी जस्ता उपमाहरुलाई प्रतिपक्ष मानेर अगाडि बढ्ने सबै दलहरुको एक्येवद्धता भन्दा बलियो आशा र भरोसा केही पनि थिएन ।

समय वित्दै जाने क्रममा निर्वाचनको गठबन्धनको एउटा दल र पछि नेकपा भइसकेपछि आफ्नै बनेको दल भित्रका केही व्यक्तिहरुको लोभ, लालच र स्वार्थका कारण कर्णाली प्रदेशमा किचलो सुरु भएको सत्य कसैले चाहेर पनि लुकाउन सक्दैन । त्यही किचलो संघमा पुगेर संघमा समेत निकै ठूलो उथलपुथल भयो । जसका कारण विभिन्न राजनीतिक घटना र परिघटनाहरु भए । आज पुनः माओवादी र एमाले आ–आफ्नो स्थानमा आउन कानूनी र व्यवहारिक रुपमा समेत बाध्य भए ।

यहाँ उल्लेख भएका वाक्यहरु धेरैलाई मन नपर्न सक्छन् । सत्य तितो हुन्छ । तितो नै लागोस् । व्यक्तिगत रुपमा मलाई महेन्द्रबहादुर शाहीले चिन्दैनन् । सायद त्यसैले होला मैले गरेको नमस्कारमा समेत उनले त्यत्ति ध्यान दिँदैनन् । अझ स्पष्ट शब्दमा भन्ने हो भने मेरो नमस्कारलाई उनले ग्रहण त गर्छन होला तर कहिल्यै फर्काउँदैनन् । त्यसैले व्यक्तिगत रुपमा उनीसँग मेरो कुनै सम्बन्ध छैन । तर यथार्थलाई उजागर गर्नैपर्छ । हिजो महेन्द्र बहादुर शाहीको स्थानमा अन्य कुनै बहादुर वा प्रसाद वा लाल नै आएको भएपनि यहाँ भन्दा धेरै केही गर्न सक्ने थिएनन् भन्ने कुरा त स्पष्ट छ । किनकी विकास गर्नका लागि समय चाहिन्छ । पूँजि चाहिन्छ । स्रोत र साधन चाहिन्छ । गर्ने मन त कसलाई पो हुँदैन र तर के गर्दैछ र के गर्न सक्यो भन्ने कुरा मुख्य रुपमा रहन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मात्र होइन विकासशील देशहरुमा पनि धेरै कार्यहरु हुन बाँकी छन् । सत्य के हो र तथ्य के मा आधारित छ भन्ने कुरालाई बुझ्न सक्नुपर्छ । पछिल्लो एक वर्षदेखि कोरोनाको कहर एकातिर सरकार ढाल्नका लागि र मुख्यमन्त्री हुनका लागि गरिएको रहर अर्कातिर भएकै कारण पनि कर्णालीका मुख्यमन्त्री अझ सकसमा परेका हुन् ।

पछिल्लो समयमा देखिएको राजनीतिक घटनाक्रमले एमाले भित्रको किचलो रछ्यानसम्म पुगिसकेको छ । जसका कारण मुख्यमन्त्रीको पद मात्र जोगिएको छैन उनी माथि चुनौतिहरु पनि थपिएका छन् । ती चुनौतिहरुको सामना गरेर प्रदेशवासीको मन जित्ने अवसर पनि उनलाई प्राप्त भएको छ । त्यसैले ती चुनौतिहरुको सामना गर्न दिउँ । अप्ठ्याराहरुलाई पनि झेल्न दिउँ । बाँकी अवधि पनि प्रदेश सरकार संचालन गर्न दिउँ । यो बाँकी अवधिमा पनि ग्रीन सिग्नल नदेखिएको खण्डमा भोली आउने निर्वाचनमा जनताले उनलाई पाखा लगाइहाल्छन् भन्ने कुरा जान्दा जान्दै आज नै तातै खाउ जलि मरिजाउ नगरौ ।

काठका मुढाः वैशाख ३ गते कर्णाली प्रदेश सभामा भएको फ्लोर क्रसपछिको पहिलो बैठक तथा सातौ अधिवेशनको दोस्रो बैठकमा कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले दिएको मन्तव्य विश्लेषण गर्न लायकको छ । आफ्नै पार्टीको योजनालाई विफल बनाएकोमा उनले आफ्ना पार्टीका सांसदहरु प्रति व्यक्त गरेको रोष स्वभाविक हो । भगौडाको संज्ञा दिनु वा अपराधिको सज्ञा दिनु उनको अधिकारको कुरा हो । राजनीतिमा कसले इमान्दारिता देखायो कसले देखाएन त्यो उनले नै विश्लेषण गरुन । तर एउटा महत्वपूर्ण कुरा उठाए कंडेलले । त्यो के भने हाम्रा मुख्यमन्त्रीलाई दशरथपुरका काठमा मुढाहरुले चिन्दछन् । त्यो कुन अर्थमा भनेका होलान् भनेर विभिन्न तर्क विकर्तहरु भइरहेका छन् । कसैले भन्छन् उनी दशरथपुरको क्यान्टोन्म्यान्टमा बसेका कारण भनेका हुन् । महेन्द्र बहादुर शाही र काठमा मुढाहरुको सम्बन्ध के छ ?

मेरो विश्लेषणमा काठले मानिसलाई एकपटक मात्र चिन्दछ । त्यो हो अन्तिम दिनमा जब मानिसले काठ नचिन्ने भइसकेको हुन्छ । कंडेलको विचारमा ती काठमा मुढाहरुले कसरी चिने हाम्रा मुख्यमन्त्रीलाई ? हुन त यस बारेमा मुख्यमन्त्रीले पनि जवाफ त फर्काउलान् । या त कुनै अर्थ नै नलगाइ नेता कंडेलले यस्ता शब्दको प्रयोग गरिदिएका हुन् ? यदि त्यसो हो भने उनको राजनीतिक र विश्लेषणात्मक क्षमतालाई अबको निर्वाचनमा जनताले नै विश्लेषण गर्नेछन् । किनकी एउटा जिम्मेवार नेताले आफ्नो राजनीति सफल नभएकै कारण जे पायो त्यही बोलिदिन मिल्छ या मिल्दैन ? यो निकै सोचनीय विषय हो । जंगलमा बसेर लडेका कारण काठका मुढाले चिन्छन् भनेका हुन् भने हिजो गठबन्धन हुँदा अझ भन्ने हो भने नेकपा हुँदा किन यस्ता कुराहरु आएनन् । आफूसँग भएको ढुङ्गालाई पनि हिरा देख्ने र अरुसँग भएको हिरालाई पनि ढुङ्गा देख्ने प्रवृत्तिको अन्त्य नभएसम्म न कर्णाली समद्ध बन्छ न कर्णालीवासी सुखारी बन्छन् । बाँकी नेताहरुकै जिम्मा ।