‘कश्यप ज्योतिःसार’ लोकार्पण
सुर्खेत :
ज्यो.प. खगेन्द्रप्रसाद अधिकारीद्वारा लेखन तथा संकलन गरिएको ‘कश्यप ज्योतिःसार’ ग्रन्थको लोकार्पण गरिएको छ। लोकार्पण कार्यक्रममा ज्योतिष शास्त्रको महत्व, अध्ययन तथा समाजमा यसको उपयोगिताबारे चर्चा गरिएको थियो।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि विकास पौडेलले ज्योतिष शास्त्रको संरक्षण, संवद्र्धन र विकासका लागि ‘कश्यप ज्योतिःसार’ उपयोगी ग्रन्थ बन्ने बताए। उनले अधिकारीले ज्योतिष क्षेत्रमा गर्दै आएको योगदानले कर्णालीको पहिचान, भाइचारा र सम्बन्धलाई राष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको उल्लेख गरे।
कार्यक्रममा नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा.गौरीशंकर शर्मा, केन्द्रीय उपाध्यक्ष विकास पौडेललगायतको उपस्थिति थियो। वक्ताहरूले अधिकारीले लामो समयदेखि ‘कश्यप पञ्चाङ्ग’ समेत प्रकाशन गर्दै आएको उल्लेख गर्दै ‘कश्यप ज्योतिःसार’ मार्फत ज्योतिष शास्त्र र यसका विभिन्न पक्षबारे अध्ययन गर्ने अवसर प्राप्त हुने बताए।
कृतिले ज्योतिषीय ज्ञानको अध्ययन तथा आकलनमा सहयोग पुर्याउनुका साथै दैलेख, जुम्लालगायतका स्थानीय भाषा, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान गर्ने विश्वास व्यक्त गरिएको थियो।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य पूर्णप्रसाद अधिकारीले आज गरिने कर्म र कामले भावी पुस्ताले आफूलाई कसरी सम्झनेछन् भन्ने विषयमा हरेक व्यक्तिले सोच्नुपर्ने बताए।
लेखकका पिता कृष्णप्रसाद अधिकारीले आफ्नै सन्तानले तयार पारेको कृति लोकार्पण गर्न पाउँदा जीवनकै ठूलो हर्ष लागेको बताए।
पञ्चाङ्गकार तथा कृतिका लेखक ज्यो.प. खगेन्द्रप्रसाद अधिकारीले आफ्ना गुरु तथा पिता कृष्णप्रसाद अधिकारीबाट सिकेको ज्ञानलाई निरन्तरता दिँदै आफ्नै पिताबाट कृति लोकार्पण गराउन पाउँदा खुसी लागेको बताए। उनले वर्षा र बाढीजस्ता प्राकृतिक विपत्तिले ल्याउने चुनौतीबाट पछि हट्नुभन्दा कठिन परिस्थितिको सामना गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
कश्यप पञ्चाङ्ग हालसम्म ४४ जिल्लामा पुगेको जानकारी दिँदै अधिकारीले सबैको साथ र सहयोगले ‘कश्यप ज्योतिःसार’ नयाँ पुस्ताका लागि उपयोगी ग्रन्थ बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा ज्योतिष, पण्डित, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यकारहरूको उपस्थिति थियो।








