गोलीसँग सकेका प्रचण्डले ओलीसँग सकेनन्
हाम्रो समाजमा पुर्खौदेखि चलिआएको एउटा उखान हो ‘बाठो लड्दैन लडे सात बल्ड्याङ् पल्टिन्छ’ । यो उखानले आज नेपाली राजनीतिलाई चरितार्थ गरिदिएको छ । किनकी नेपाली राजनीतिक घटनाक्रमलाई यो उखानले ऐना हेरे झैँ बनाईदिएको छ । नेपाली राजनीति बृत्तमा मुख्य पात्रको रुपमा चिनिएका झापा आन्दोलनबाट स्थापित एमालेका अध्यक्ष केपी शर्मा ओली र दश वर्षे जनयुद्धले जन्माएका राजनीतिक कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् ।

सामान्य मान्छेको नजरले हेर्ने हो भने यी दुबै जना एउटै स्वभावका नेता मात्र नभएर मान्छे पनि हुन् । अझैँ भन्नुपर्दा यी दुबै जना सर्वसत्तावादमा उभिन खोज्ने पात्र हुन् । यी दुबै जनाको स्वभाव सधैं अरु माथि नै राज गर्ने र आफू सिंहासनमा विराजमान भइराख्नु पर्छ भन्ने हो । दुनियाँका छोराछोरीलाई ललिपप देखाएर त्यसको गुलियोमा भुलाउनु पर्छ भन्ने मान्यता बोकेका मान्छेपनि हुन् । लगभग दश वर्ष भन्दा लामो जनयुद्धको ताण्डव मच्चाएका प्रचण्ड नेपाली काँग्रेसका तत्कालिन सभापतिसमेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकार हुँदा २०६३ मंसिर ५ गतेका दिन शान्ति सम्झौतामा आइसकेपछि शान्तिपूर्ण राजनीतिमा उनले प्रवेश पाएका हुन् ।
शान्ति सम्झौतापछि २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा सबैभन्दा ठूलो दल निर्माण गर्न सफल भएका माओवादी अध्यक्ष प्रचण्डले देशको शासन सत्ता संचालन गर्ने जिम्मेवारी प्राप्त गरे । आफूले पाएको जिम्मेवारीलाई बच्चाबच्चीको खेल सम्झी त्यसको बहन गर्न नसक्नु भनेको उनको अपरिपक्वता र अनुभवहिनता नै हो । त्यसैको फलस्वरुप २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी तेस्रो दलको रुपमा सिमित हुनु बाहेक अरु विकल्प रहेन ।
नेपालको संविधान २०७२ जारी भएपछि संविधानमा व्यवस्था भए अनुरुप २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको ललिपप देखाएर स्थानीय निर्वाचनमा राजनीतिक नतिजालाई आफ्नो पोल्टामा पार्ने मात्र होइन आफू जनताका माझ स्थापित हुनका लागि हदैसम्मको लचकता अपनाउनु पनि उनको राजनीतिक रणनीति थियो । जसले गर्दा उनले धेरै स्थानीय तहमा जीतको स्वाद लिनुका साथै नेपाली काँग्रेसको बलियो स्थानको रुपमा हेरिएको चितवनमा समेत मतपत्र च्यातेरै भएपनि छोरीलाई चितवन महानगरको मेयर बनाउन सफल भएर चितवनलाई आफ्नो चिर्वाचन क्षेत्र बनाउन समेत सफल भए । यो उनको राजनीतिक रणनीति थियो ।
स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसलाई कुकुरले हड्डि छोडे झैँ छोडि तत्कालिन नेकपा एमालेसँग प्रदेश र संघको निर्वाचनमा गठबन्धनको नाममा ‘लौणो हाली सौरो’ गरेका प्रचण्डले ओइलाई सकेको माओवादीलाई रसायनिक मलको प्रयोग पछिको विरुवा झँै केही मात्रामा भएपनि हराभरा बनाउन सफल भए । जसका कारण गठबन्धनले पनि झण्डै दुई तिहाइ जनमत लिन कम्यूनिष्टहरु सफल भए । त्यसपछि नेपाली जनताले एउटा आशा गरेकै हुन् । देशमा झण्डै दुईतिहाइको सरकार निर्माण भएको छ । यसले स्थायी शान्ति र आर्थिक तथा भौतिक विकासमा नयाँ आयाम थप्नेछ । जुन सरकारको नेतृत्व प्रचण्डकै प्रस्तावकमा तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री बन्न सफल भए ।
जसमा गाउँदेखि शहर र शहरदेखि सिंहदरबारसम्मका नेकपाका कार्यकर्तालाई खुसी छाउनुका साथै अब यो दुनियाँमा हामी बाहेक कोही छैन भन्ने जस्तै लाग्यो । हामीले जे गरेपनि हुन्छ भन्ने भान पर्नु कत्तिको जायज थियो त्यो अहिले आएर सत्य सावित भएकै छ । नेपाली जनताले आश र भरोसाका साथ नेपालमा स्थिर सरकारको आवश्यक छ भन्ने ठानेर नै गठबन्धनलाई भारी मतदान गरि कम्यूनिष्टहरुलाई ठूलो सहयोग गरेका हुन् ।
सारांशमा भन्नुपर्दा जनयुद्धका कमाण्डर प्रचण्डले आफूसँगैका सहयात्री साथीहरु मोहन बैध किरण, नेत्रविक्रम चन्द विल्पव र बाबुराम भट्टराई जस्ता थुप्रै साथीहरुलाई एक कुनामा राखेर आफूले मात्र पार्टी भित्रको राज गरिरहे । गठबन्धन पश्चात पार्टी एकताको विषयलाई बलियो बनाउँदै आफू दोस्रो वरियतामा बसेका प्रचण्डलाई केपी शर्मा ओलीले खलखलि पसिना बगाउने बनाए । जसका कारण पार्टीभित्र आन्तरिक कलहको विउ रोपियो । कलहको विउ रोपिएकोमा मात्र केही फरक पर्ने थिएन । तर विउ उम्रेर विरुवाकै रुपमा विकसित हुन थालेपछि पार्टीभित्र भएको अन्तरविरोधका कारण एकले अर्कालाई दोष दिने र हिलो छ्याप्ने कार्यको प्रतिस्पर्धा नै भयो ।
एमाले र माओवादीको गठबन्धन पार्टी एकतामा परिणत भइसकेपछि निर्वाचन आयोगमा नेकपा नामको दल दर्ता भइरहेको अवस्थामा पनि केपी र प्रचण्डको बल मिच्याइँले नेकपा नामकै पार्टी दर्ता गरेर उनीहरुले आफ्नो निरंकुशता प्रकट गरेको जनतालाई पत्तै भएन । तर उनीहरु भित्रै भएको विरोधका कारण अदालतले एकातिर एमाले र माओवादीलाई आ–आफ्नो स्थानमा पु¥याइदियो भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई पूनस्र्थापना गरिदियो ।
नेकपा एमाले भित्रैको माधव समूहलाई काखी च्यापेर केपीको निरंकुशतालाई आच्छु आच्छु पारेका प्रचण्ड अन्ततः गल्नै पर्ने स्थितिको सिर्जना भएपछि माधव समूहले पनि केपी ओलीको रणनीतिको अगाडि घुँडा टेकिदिँदा फेरी अर्को पटक प्रचण्ड हायल कायल भए । माओवादी र काँग्रेससँगै जसपालाई लिएर सरकार बनाउने र आफू प्रधानमन्त्री भइहाल्ने शेरबहादुर देउवाको सपना चकनाचुर भए झैँ केपी ओलीलाई गलाएर सिंगो कम्यूनिष्टको नेता आफै बन्ने प्रचण्डको दाउ पनि चकनाचुर भयो ।
आफैले विघटन गरेको प्रतिनिधि सभामा विश्वासको मत मागेर हास्यास्पद बनेका ओलीको रणनीतिका अगाडि अन्य दलहरुले बहुमतको सरकारको दाबी गर्न नसकेपछि अल्पमतकै भएपनि केपी ओली फेरी पनि प्रधानमन्त्री बन्न पुगे । उनले लिएको पद तथा गोपनीयताको सपथ ग्रहणमै ‘त्यो पर्दैन’ भन्नुले उनी देश र जनता प्रति कति प्रतिवद्ध छन् भन्ने कुरालाई झल्काउँछ ।
अन्तमा, हिजोका दिनमा बम, बारुद र गोलीसँग खेलेर पनि जनयुद्धलाई हाँक्न सकेका प्रचण्ड ओलीको रणनीतिको अगाडि फेल भए । जसले गर्दा अबको एक महिना भित्र प्रधानमन्त्रीलाई विश्वासको मत लिएर उनलाई सरकार चलाउन दिने अनि आफू संगठन बनाउन लाग्ने वा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जाने र माओवादीको संगठनात्मक अस्तित्वलाई खसाप पार्ने प्रचण्डकै हातमा छ । गोलीसँग सकेका प्रचण्डले ओलीसँग सकेनन् । त्यसै भनिएको होइन रहेछ तरबार भन्दा कलम बलियो । चेतना भया ।






