Loading... आजः २१ पुष २०८२, सोमबार । Monday 5th January 2026
ताजा खबर
  

दिक्‍क छन् अभिशप्‍त मालाहरु

राजेन्द्रप्रसाद अधिकारी

न जन्म दिनको शुभकामना

न मृत्युको समवेदना

संवेदनाहीन बुख्याचाहरुको गलामा

चाकडीबाजहरुका स्वार्थी डुँडुल्नाहरुबाटउचालिएर

खातका खात थुप्रिएर

फोटो शेसनकालागि पोज दिनु पर्दा

खुम्चिएर लाजले

मुर्झाएका छन् विचरा फुलहरु

 

बेशरम हाँसिरहेका

सर्कसका जोकरका जस्ता नक्कली अनुहार, र

साउनका जुकाहरुझैं सगबगाइरहेका

सिकसिक लाग्दा आसेपासेहरुको ठेलमठेल देखेर

किंकर्तव्यविमूढ छ विचरोमालामा उनिएको धागो

 

न जन्म दिनको शुभकामना

न मृत्युको समवेदना

शरमहीनहरुको गलामा थुप्रिएर

फोटो शेसनकालागि पोज दिनु पर्दा

दिक्क छन् अभिशप्‍त मालाहरु

***

काठमाण्डौं,३० जेठ २०७८