आज विश्व रक्तदाता दिवस
आज विश्व रक्तदाता दिवस । हरेक वर्ष जुन १४ तारिखका दिन विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानवजीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्न यो दिवस मनाउन थालिएको हो ।
मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । यस वर्षको विश्व रक्तदाता दिवसको नारा ‘रगत दिनुहोस् र संसारको धड्कनलाई चलायमान बनाइ राख्नुहोस्’, भन्ने रहेको छ ।
यो दिवस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विगतका वर्षमा यो दिवसका अवसरमा रक्तदान कार्यक्रमसहित रक्तदानको महत्वबारे जानकारी दिने खालका ¥याली, कोणसभा, प्रभातफेरीलगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएको भए पनि यो वर्ष कोरोना संक्रमणका कारण भिन्नि भर्चुअल कार्यक्रम गरी यो दिवस मनाइँदै छ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदरस्वरूप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन आयोजना गरिएको थियो ।
रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका विरामीहरूको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तीनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’समेत भन्ने गरिन्छ ।
मानव शरीरमा औसत पाँच दशमलब पाँच लिटर रगत हुन्छ । शरीरको वजनको करिब सात प्रतिशत भाग रगत रहेको हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव तीन प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलब सात प्रतिशत रहेको हुन्छ ।
चिकित्सकहरूका अनुसार सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानि नोक्सान हुँदैन । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुन्छ ।
आज हामीले दान गरेको रगतले कसैले नयाँ जीवन पाउँछ आउनुहोस् हामी पनि रक्त दान गरौँ ।





