Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

आफैलाई चिनौं, दुःख गर्नु पर्दैन

नेपाल, नेपालीहरुका लागि मात्र होइन विश्वमा बसेर नेपालको बारेमा जान्नेहरुका लागि र सुन्नेहरुका लागि पनि सुन्दर भूमी हो । ऋषिले ज्ञान आर्जन गरेको भूमी, तपस्वीहरुले तपस्या गरेको भुमी, देवहरुको लोक भएकाले देवलोक भूमी, हिमालय पर्वत श्रृङ्खलाले युक्त भूमी । त्यति मात्र होइन, भौगोलिक विविधतायुक्त भूमी पनि नेपाल । उत्तरदेखि दक्षिण तर्फ हिमाल पहाड तराई भएर पूर्वपश्चिम फैलिएको भूमि भएकाले पनि यो सुन्दर छ ।

त्रिलोक अधिकारी

यहाँको राजनैतिक गतिविधिभन्दा पनि यस पटक विज्ञान र आध्यात्मलाई जोडेर केही दिन सकौं भन्ने भावले ओतप्रोत भएर यो लेखको तयार गर्ने जमर्को गरिएको छ । त्यसैले सर्वप्रथम नेपाल भूमीका बारेमा उच्चारण गर्ने सु अवसरलाई आत्मसाथ गरिएको हो ।

आजको संविधानलाई नेपाललाई धर्म निरेपक्षता भनेको भएपनि नेपाल हिन्दुहरुको देश हो । ओमकार परिवारको देश हो । धर्म निरपेक्षताको अर्थलाई गलत व्याख्या गर्नेहरुले अनि अर्काको धर्म र विचार माथि प्रहार गर्नेहरुले यसलाई अतिरञ्जित गरेका छन् । तर पंक्तिकारको विचारमा अहिले पनि नेपाल हिन्दुहरुको पवित्रस्थल हो हिजो पनि थियो र भोली पनि रहनेछ ।

जतिबेला विभिन्न देशहरुको भागबण्डा भइसकेको थिएन । त्यतिबेला सिन्धु नदीको किनारमा तपस्या गर्नेहरु, ध्यान गर्नेहरु, योग गर्नेहरु हिन्दु भएका हुन् भन्ने कुरालाई कसैले नकार्न सक्दैनन् । आजको विज्ञानलाई यो अवस्थासम्म पुग्नमा सहयोग गर्ने सेतु भनेकै हिन्दु दर्शन हो । सबै दर्शनहरु भन्दा उदार र वैज्ञानिक दर्शन भएकाले हिन्दु धर्म विज्ञानसम्मत् धर्म हो भन्ने कुरा अन्य धर्मालम्बीहरुले समेत स्वीकार गरेका छन् । कसैको धर्म सानो र कसैको धर्म ठूलो हुँदैन । जुनसुकै नामले पुकारे पनि कुनै पनि भगवान साना ठूला हुँदैनन् । कसैको अस्थित्व सानो र कसैको ठूलो हुँदैन । त्यसैले हामीले सबै धर्मलाई त्यत्तिकै आदर र सम्मान गर्नसक्नु पर्छ । हिन्दु धर्मको पण्डितले इश्लाम धर्मको कुरानको ज्ञान पनि प्राप्त गर्नु आवश्यक छ । ख्रिष्टियनको बाइबलको ज्ञान पनि आर्जन गर्नु आवश्यक छ भने संस्कृत हुँदै अन्य भाषाहरुको पनि ज्ञान प्राप्त गर्न आवश्यक छ । अनि मात्र ऊ पण्डित कहलाउँन सक्छ । केवल आफुनो धर्म र आफ्नो भाषाको मात्र प्रवचन दिँदैमा पण्डित हुँ भन्दा कर्मकाण्डिय पण्डित त हुन सक्ला तर ज्ञान प्राप्त गरेको ब्राह्मण पण्डित हुन सक्दैनन् ।

अर्को कुरा हाम्रो सबैभन्दा पवित्र धर्मग्रन्थ गीता । गीता भनेको के हो ? भन्ने बारेमा जान्दै नजानी गीतालाई पवित्र छ भन्नु पनि अल्पज्ञानी हुनु हो । अझ स्पष्ट शब्दमा भन्ने हो भने अज्ञानी हुनु हो । धर्मको रक्षकको रुपमा आफूलाई उभ्याउनेहरु गीताको ज्ञानको बारेमा स्पष्ट हुन सकेका छैनन् । अनि भन्छन् गीता पवित्र छ । यो प्रसंगको उठान गर्दै गर्दा पवित्र र अपवित्र भनेको के हो ? भन्ने कुरालाई बुझ्नै पर्दछ । जुन कुरासँग कुनै कुराको टकराव हुन्छ । जुन कार्यबाट प्रतिफलको आशा गरिन्छ त्यो अपवित्र छ । हिन्दु धर्मको पवित्र ज्ञान भएको गीता मात्र यस्तो ज्ञान हो जुन हरेक कर्मको फल प्राप्तिको आशा नराख्न भन्छ । कर्म के का लागि गर्ने त ? प्रश्न खडा हुन्छ । कर्म सन्तुष्टिको लागि गर्ने । मनलाई सफा बनाउनका लागि । आज कुनै वस्तुको दान गरेमा भोली दोब्बर आउने आशा गरिन्छ भने त्यो व्यापार हो । दान होइन ।

त्यसैले म के गर्दैछु किन गर्दैछु र कसका लागि गर्दैछु भन्ने कुराको हेक्का राखेर जुन कर्म गरिन्छ त्यसले फलको आशा गरिएको हुन्छ । गीतालाई सरसर्ती पढ्नेहरु भन्छन्, गीतामा त भगवान श्रीकृष्णले म नै यो संसार हुँ, म नै सूर्य हुँ, म नै ब्रमाण्ड हुँ, म भन्दा दोस्रो कुनै छैन भनेका छन् । आफुनो मात्र व्याख्या गरेका छन् । आफूलाई मात्र पूजा गर्नुपर्छ भनेका छन् । त्यसैले गीता श्रीकृष्णले अर्जुनलाई दिएको पाठको सारतत्व हो । यही बुझ्ने गर्दछन् अनि यही नै भन्ने भए । जुन स्वभाविक छ । तर गीतालाई जब गहिराईमा पुगेर बुझ्ने कोसिस गरिन्छ अनि आखिरमा श्रीकृष्ण पनि कोही रहनेछ्न भन्ने कुराको स्पष्ट हुन्छ । त्यो सर्वैसर्वा त म पो रहेछु भन्ने कुराको ज्ञान प्राप्त भयो भने मान्छेले आफूलाई म को हुँ भनेर चिन्न सक्दछ ।

मान्छेले आफूले आफूलाई चिनिसकेपछि अब उसले संसारमा मानव भएर जन्मिनुको सारतत्वको ज्ञान बोध गर्दछ । त्यसपछि छोडिदिन्छ लोभ, लालच, पाप, रिस, इश्र्या, डाहा, शंका, क्रोध । जब सम्म आफूलाई चिन्न सक्दैन तबसम्म यी सबै तत्वहरुले मान्छे भित्र बास गरिरहेका हुन्छन् । अनि मान्छे काटमार, झैझगडा तेरो, मेरो भन्ने कुरामा लागिरहेको हुन्छ ।

विज्ञानका अनुसार बाबुको शुक्रकिट आमाको डिम्बासयमा प्रवेश गर्दा एक करोड शुक्राणुहरु हुन्छन् । तर त्यसबाट ९९ लाख ९९ हजार ९ सय ९९ वटालाई पछि पारेर एउटा मात्र सफल हुन्छ जुन मान्छेको रुपमा जन्म लिन्छ । विज्ञानले अदभूत जन्म भनेको जस्तै हाम्रो आध्यात्मकले मानव जन्म दुर्लभ भनेको छ । त्यो एक करोडबाट एउटा मात्र जन्मिनु दुर्लभ होइन त ? त्यसरी जन्मेको हामीले आफ्नो जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने भन्दा पनि कसरी सम्पत्तिको जोहो गर्न सकिन्छ । कसरी अरुलाई दबाबमा राख्न सकिन्छ । कसरी मै खाउँ मै लाउ गर्न सकिन्छ । यस्तै यस्तै कुराको पछि लाग्दै गर्दा आफूलाई चिन्नै नपाएर एक दिन हामीले आर्जन गरेको सम्पत्ति मात्र होइन हाम्रा घर परिवार आफन्त अति नै प्रिय वस्तु, अति नै प्रियजनहरु समेत छोडेर यो भौतिक शरिरबाट देहत्याग गर्नैपर्छ । त्यसपछि के रहन्छ हामीसँग ? के लिएर जान्छौ हामीले ?

आफूलाई जन्मदिने आमाबाबु वा आफन्त वा कसैको मृत शरिर चितामा जलिरहेको हुन्छ मान्छे चाहान्छ त्यो आगोले छिटै जलाओस् । उसलाई घर फर्किन हतार भइसकेको हुन्छ । मलामीहरु एक आपसमा सोध्ने गर्दछन् अब कति बाँकी छ ? शरिरमा प्राण हुनेबेलामा त्यही मान्छे कति प्रिय थियो । प्राण गइसकेपछि अब मान्छे आत्तिन थालिसक्यो । छिटै जलेको भए छिटै घर फर्किनु हुन्थ्यो । भने अब हाम्रो के रहेछ त ? अनि मेरो के रहेछ त ? त्यसैले गीतामा भनेको जस्तै जे छ सृष्टिकर्ताको छ । गीताले दिएको अर्को महत्वपूर्ण ज्ञान भनेको समानता हो । सुकर्म हो । शुद्ध मन हो । जबसम्म हाम्रो मन शुद्ध हुँदैन भने हामीले विभिन्न प्राप्तिका लागि दुःख गरिरहेका हुन्छौ । त्यो भौतिक सम्पत्ति पनि हुन सक्छ । भोगविलास हुन शसक्छ । तर मन शुद्ध भयो भने दैनिक आवश्यकता परिपूर्तिका लागि सम्पत्तिको आवश्यकता त होला तर अथाह सम्पत्तिका लागि हामी कहिल्यै पनि भौतारिनु पर्दैन । त्यसका लागि आफूलाई चिन्न आवश्यक छ । जुन मान्छेले आफूले आफूलाई चिनेको हुन्छ त्यो मान्छे अरुलाई झन नचिन्ने कुरै भएन । त्यसैले आफूलाई चिनेको मान्छेले अरुको मनलाई चिन्न सक्ने भएकै कारण संसार बुझ्न सकेको हुन्छ । संसार नै बुझिसकेपछि मान्छेले किन दुःख गर्नुपर्दछ र ?