महाधिवेशन र काँग्रेसको गुटबन्दी
वर्तमान अवस्थामा काँग्रेसको नेतृत्वमा सरकार छ । गठबन्धनबाट निकै असहज परिस्थितिमा नेतृत्व लिएर सरकार निर्माण गरेको काँग्रेसलाई निकट भविष्यमा नै गर्नु पर्ने पार्टीको महाधिवेशनले झनै चुनौति थपिदिएको छ । देशको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेस रथको एउटा पाङ्ग्राकै रुपमा चिनिन्छ । ता कि काँग्रेस विना प्रजातन्त्रको स्थापना मात्र होइन पुनस्र्थापना समेत सम्भव थिएन । अर्कोतिर काँग्रेसकै कारणले देशले आज धर्मनिरपेक्षता, गणतन्त्र र लोकतन्त्र पाएको छ । भलै यी माओवादीका माग र विषयवस्तु भएपनि काँग्रेसको साथ बिना यी सम्भव थिएनन् । काँग्रेसको इच्छाशक्ति विना नेपालमा संविधान सभाको निर्वाचन पनि सम्भव थिएन भने अहिलेको संविधान पनि सम्भव थिएन । त्यो कुरालाई नेपाली जनता र नेपालका राजनीतिक दलहरुले स्वीकार्नु पर्छ र सत्य इतिहास पनि यही हो ।

काँग्रेसले हिजोका दिनमा सत्ता संचालन गर्दै गर्दा भएका उथलपुथल र आजका दिनमा सत्ता संचालन गर्दै गर्दा हुने उथलपुथल तथा भविष्यमा हुन सक्ने पार्टी भित्रको बारेमा चर्चा गरिरहनु भन्दा पनि सत्ता र महाधिवेशनकै पेरीफेरीमा रहेर यतिबेलाको चर्चालाई सान्दर्भिकता तर्फ लैजानु उचित होला ।
सत्ताको कुरा गर्ने हो भने २०४८ सालपछि नेपाली काँग्रेसले कहिले बहुमत त कहिले गठबन्धनका सरकारहरुमा सामेल हुने मौका पायो । तर त्यसलाई काँग्रेसले कहिल्यै पनि जनताका पक्षमा र देशका पक्षमा प्रयोग गर्न सकेन । देशमा आन्दोलनको ज्वारभाटा ल्याएर प्रजातन्त्रको स्थापना पश्चात भएको आम निर्वाचनमा नेपाली जनताले काँग्रेसलाई पूर्ण बहुमत दिए । त्यो पूर्ण बहुमतबाट गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री भए । काँग्रेसले त्यतिबेला पाएको बहुमतलाई ३ वर्ष भन्दा बढि उपयोग गर्न सकेन । आफुनो पार्टीको बहुमत हुँदाहुँदै पनि प्रतिनिधि सभाको हत्या गरेर गिरिजाले मध्यावधि निर्वाचन गराए । जुन निर्वाचनमा काँग्रेस दोस्रो दलको रुपमा खुम्चिन पुग्यो भने एमालेले अल्पमतको सरकार निर्माण गर्न पुग्यो ।
एमालेले अल्पमतकै सरकार संचालन गरिरहेका बेलामा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले ल्याएको आफ्नो गाउँ आफै बनाउ कार्यक्रमले एमालेलाई आजको स्थानमा पु¥याएको हो । त्यही कार्यक्रमलाई भजाउँदै र त्यसको ब्याज खाँदै एमाले अहिलेपनि जनताका सामुमा लोकप्रिय हुने मौका पर्खिरहेको हुन्छ । नेपाली जनताले काँग्रेसलाई दोस्रो पटक पनि बहुमत दिएकै हुन् । कृष्णप्रसाद भट्टराइलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेर गिरिजाले निकै ठूलो चर्तु¥याँई प्रयोग गरे । जसका कारण कृष्णप्रसाद भट्टराई जस्तो सन्त, निस्वार्थी र निष्कलंक नेतालाई देशले प्रधानमन्त्रीको रुपमा पाउने भएपछि भन्दै जनताले काँग्रेसलाई साथ दिए । काँग्रेसले सन्त नेता भट्टराईलाई प्रधानमन्त्री त बनायो तर काम भने गर्नै दिएन ।
एकपटक प्रधानमन्त्री पदको कुर्सीमा बसेर सत्ताको स्वाद चाखिसकेका गिरिजाले एउटा सुराई, सानो बाकस र एउटा लठ्ठिका साथ भट्टराईलाई रुवाएर सत्ताबाट गलहत्याएका थिए । त्यसपछि भट्टराई खासै नेपाली राजनीतिमा चर्चामा नै आएनन् । त्यो गुटको कारण थियो । आन्तरिक स्वार्थको कारण थियो । सत्ताको मोह थियो । जसले गर्दा न गिरिजालाई नै राम्रो भयो न भट्टराईलाई न देशलाई न जनतालाई नै ।
त्यसपछि काँग्रेसमा झनै गुटबन्दी बलियो हुँदै जान थालेको हो । आज त्यो काँग्रेसको चुनाव चिन्ह रुख जस्तै झाँगिएर बसेको छ । काँग्रेसीहरुको गुटबन्दी यतिसम्म कडा छ कि एमालेसँग, माओवादीसँग, राप्रपासँग, जसपासँग अझ भन्ने हो भने राजमोसँग उनीहरुका कुरा मिल्नसक्छन् । विचार मिलाउन सक्छन् । भावनात्मक सम्बन्ध गाँस्न सक्छन् तर आफ्नै पार्टीको अर्को गुटमा त सके पानी नै बार्नुपर्छ नसके बोली बार्नु पर्छ भएन भने सम्बन्ध त बनाउनु नै हुँदैन । यस्तो विचारले कतिसम्म बलियो बनाउँछ होला उनीहरुलाई । विगतका निर्वाचनमा काँग्रेसीजनले नै काँग्रेसको उम्मेदवारलाई भोट नदिनु है भन्दै आन्तरिक रुपमा चलखेल गरेका कयौ दृष्टान्तहरु छन् । आज आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहेका बेला हुन लागेको महाधिवेशन काँग्रेसका लागि अर्को चुनौति बनिरहेको छ ।

वडातहमा गर्ने भनिएको अधिवेशन विशेष कारणले स्थगीत भएको छ । आफ्नो पक्षले जित्न नसक्ने अवस्थाको आँकलन हुन साथ लोकतान्त्रिक पारिपाटीलाई नै बहिष्कार गरिदिने यो संस्कारले काँग्रेसलाई कहाँ पु¥याउला ।
देशभर काँग्रेसीहरु गुट बलियो बनाउने कार्यमा लागिरहेका छन् । यतिबेला यिनीहरुलाई आमनिर्वाचन भन्दा ठूलो निर्वाचन लागिरहेको छ । एकले अर्कोलाई हराउने खेलमा लागिरहेका छन् । कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेतमा खड्का र थानी गुटका मान्छेहरु कोही सहीबाट त कोही चोरबाट हिडिरहेका भेटिन्छन् । आखिर यो सब कसका लागि र किन ? निकै गम्भीर प्रश्न छ ।
देश र जनताका लागि यो सब हो भने एकले अर्कोलाई हराउने खेलले त्यो लक्ष्यसम्म पुग्न सकिदैन भनेर कहिले सोच्ने ? आफ्नो र आफ्नाहरुका लागि हो भने काँग्रेस एक हौ भनेर किन बकम्फुसे गफ छाँट्ने र जनतालाई ढाँट्ने ? तल्लो तहमा रहेका मतदाताहरुलाई भ्रममा हालेर काँग्रेसले कहिलेसम्म राजनीति गर्ने ? यस्ता यावत प्रश्नहरु काँग्रेसीहरुका अगाडि छन् ।
हो, हिजोका दिनमा नेपाली राजनीतिक इतिहास निर्माणका लागि जुन त्याग काँग्रेसले ग¥यो । जुन सिद्धान्तको प्रतिपादन गरेर विपीले नेपाली जनताका लागि देशको विकासका लागि भन्दै काँग्रेसलाई स्थापना गरेर राजनीतिक स्वतन्त्रताका लागि लडे त्यसलाई बिर्सेर आज काँग्रेस गुटका लागि लडिरहेको छ । केन्द्रमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शसांक कोइराला, कृष्ण सिटौलाका लागि लडिरहेका छन् भने त्यो हाँगो प्रदेश, जिल्ला हुँदै नगर र गाउँसम्म पुगेको छ । यसले आजको अधिवेशनसम्म मात्र होइन कालान्तरसम्म पनि गहिरो छाप छोड्ने भएकोले पनि त्यसको असर देशका लागि पर्छ र जनताका लागि पर्छ ।
व्यापारीहरुको संस्था उद्योग बाणिज्य संघमा होस् कि सञ्चारकर्मीहरुको संस्था पत्रकार महासंघमा होस् । खानेपानी संस्थाको चुनावमा होस् कि उपभोक्ता समितिको गठन प्रक्रियामा होस् काँग्रेसको गुटबन्दीको राजनीति छताछुल्ल भएको देखिन्छ । गुटबन्दीकै कारण हिजोका दिन दुई चिरा परेको काँग्रेस पुनः एकिकरण भएको भएपनि अहिलेपनि एकातिर छत्तिसे र बहत्तरे भन्ने छाप छ भने अर्कोतिर नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) भन्ने कुराको छाप मेटिन सकेको छैन । कानूनी रुपमा यो पार्टी एक भएपनि व्यहारिक रुपमा दुईटा पार्टी जस्तै भएको अवस्थामा जनताले यिनीहरुबाट धेरै आशा नगरेकै कारण गत निर्वाचनमा कम्यूनिष्टहरुले झण्डै दुइतिहाइ मत प्राप्त गरेका हुन् ।
जनताबाट पाएको जनमतको कदर गर्न नसकेका कारण नै आज फेरी देउवाले प्रधानमन्त्री हुने अवसर प्राप्त गरेका हुन् । ज्योतिषले भनेकै भरमा प्रधानमन्त्री हुने भए त कतिपयको जन्मकुण्डलीमा राजा हुने योग परेको हुन्छ । के ती राजा हुन्छन् त ? त्यसैले ज्योतिषले भनेका कारण नभई कम्यूनिष्टहरुको अदुरदर्शीता, असक्षमता र एकले अर्कालाई विश्वास गर्न नसक्ने भएका कारण र ओली बा का दम्भका कारण स्थिति यहाँसम्म आएको छ । राजनीतिक प्रतिशोध नराखेर भन्ने हो भने परिस्थिति फरक बनेका बेलामा देउवा जनादेशबाट नभई परमादेशबाटै प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री भइसकेपछि देश र जनताका के गर्नुपर्छ र कसरी अगाडि बढ्नु पर्छ भन्ने कुरालाई ख्याल गरेर अगाडि बढ्नु नै देउवाको बुद्धिमानी हुनेछ । आफ्नै पार्टीको पनि आफ्नै गुटलाई कसरी बलियो बनाउने र फेरी आफै सभापतिको कुर्सीमा विराजमान हुने सोचका लागि अगाडि बढेमा भविष्य त्यत्ति सुन्दर नहोला । कुनै समयमा देउवालाई केपी बा ले काँग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरे पनि उनै केपी बा लाई हटाएर देउवा नै त्यो प्रधानमन्त्रीको कुर्सीमा बस्न पुगे झैँ अहिले एकातिर एमालेमा भूकम्प आएको छ माओवादी शक्ति त्यत्ति बलियो नै छैन । मज्जाले निर्वाचन जितिन्छ र बहुमत ल्याएर देशको शासन सत्ता संचालन गरिन्छ भन्ने भ्रममा देउवादेखि काँग्रेसका शुभचिन्तकहरु हुनुहुन्छ भने ख्याल गर्नुहोला हात्ती आया हात्ती आयो फुस्सा होला ।






