Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कसले भन्छ म नराम्रो छु ?

साँच्चिकै संसार अनौठो छ । यो दुनियाँमा सबैले आफूलाई मात्र राम्रो देख्छन् । अर्काको रुपमा आकर्षित होलान् तर राम्रो त आफूलाई मात्र देख्ने स्वभाव सबैमा छ । त्यसमा पनि मानव जाती बराबर तुच्छ त यो संसारमा भएका कुनैपनि जीव छैनन् होलान् । मानव जाती बराबर स्वार्थी त अरु जीव हुनै सक्दैनन् । आफूलाई मात्र राम्रो देख्नेहरुको ताँतीका कारण अरुहरु नराम्रा भएका हुन् । अझ भन्ने हो भने हाम्रा नेताहरु जस्ता संकिर्ण सोच भएका अरु देशका नेताहरु त छँदै छैनन् । हाम्रो देशका नेताहरु आफू राम्रो मात्र होइन आफूले गरेको काम पनि ठीक भन्ने गर्दछन् । अरुले गरेको राम्रो कामलाई पनि ठीक देख्न सकेको भए आज नेपाल साँच्चिकै यिनीहरुले भने झैँ समृद्धि भइसकेको हुने थियो होला । यिनीहरुले भने झँै नेपाली जनता सुखी र खुसी भइसकेका हुने थिए होलान् ।

खगेन्द्र अधिकारी ‘अमृत’

प्रसँग राजनीति कै हो । देशमा बारम्बार भइरहने राजनीतिक उथलपुथल मध्ये पार्टीहरुको जुट र फुटको कुरालाई पनि जोड्दै पर्ने हुन्छ । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात नेपाली काँग्रेसले ल्याएको बहुमतको कदर गर्न नसकेका कारण नेपाली काँगे्रस फुटेर दुई टुक्रा भयो । देउवाले काँग्रेस फुटालेर प्रजातान्त्रिक बनाए । अहिलेसम्म पनि छत्तिसे र चौहत्तरेको छाप मेटिएको छैन ।

देशमा निकै ठूलो क्रान्ति गरेर हतियारको राजनीति गरेर नेपाली जनतालाई त्रसित मात्र होइन खपिनसक्नु पारेर माओवादीहरुले सत्ता परिवर्तन गर्ने कार्यमा ठूलो भूमिका खेले । जसको फलस्वरुप २४० वर्षे शाही शासन समेत पाखा लाग्यो । त्यसपछि मह काढ्नेहरुले हात चाट्ने कार्यको सुरुवात भएसँगै फेरी टुटफुटको सुरुवात पनि भयो । जसका कारण माओवादीहरु पनि विभिन्न टुक्रामा उछिट्टिन पुगे । जसरी काँगे्रसको फुटेको बेलामा एकातिर गिरिजाप्रसाद कोइरालाले म राम्रो भने र अर्कोतिर शेरबहादुर देउवाले म राम्रो भन्दै गरे त्यसरी नै माओवादीहरुमा पनि बाबुरामले आफैलाई राम्रो देखे । प्रचण्डले आफैलाई राम्रो देखे । विप्लवले आफैलाई राम्रो देखे । वैधले आफैलाई राम्रो देखे । अरुहरु आफैलाई राम्रो देख्नेहरु त कति भए कति ।

तराईमा भएको राजनीतिक आन्दोलनमा धेरैले ज्यान गुमाउनु प¥यो । त्यसबाट तराई केन्द्रित राजनीतिक दल स्थापित हुन पुगे । त्यसमा पनि स्वार्थ र शक्तिका लागि टुटफुटको क्रम सुरु भयो । जो अहिलेसम्म चलिरहेको छ । नेपाली काँगे्रसको फुटको समय पश्चात नेकपा एमालेले २०५१ को मध्यावधि निर्वाचनमा अल्पमतकै भएपनि सरकार गठन गर्ने अवसर प्राप्त गरेको थियो । उक्त अल्पमतको नेतृत्व मनमोहन अधिकारीले गरे । मनमोहन अधिकारीको दीर्घकालिन सोचले ल्याएको आफ्नो गाउँ आफै बनाउ कार्यक्रमको प्रभाव अहिलेसम्म नेपाली जनतामा परेको छ । त्यही कार्यक्रमका प्रभावका कारण अर्कातिर नेपाली काँग्रेसको शक्ति छिन्नभिन्न भएको मौकामा २०५४ सालमा भएको स्थानीय निर्वाचनलाई देश एमालेमय भयो ।

देश एमालेमय भएको बेलामा भएको निर्वाचनमा अधिकांश स्थानीय निकायहरुमा एमालेले निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्ने नै भयो । नेपाली जनतामा एउटा आशाको दियो बल्यो । अब देशमा कम्यूनिष्टहरु शासन सत्तामा पुगे भने साँच्चिकै गरिबको पक्षमा काम हुन्छ होला । निमुखाले पनि अवसर प्राप्त गर्छन होला । गरिबहरुको गरिबी जान्छ होला । जातीय विभेदको अन्त्य हुन्छ होला । लैङ्गिक विभेदको अन्त्य हुन्छ होला । सिमान्तकृत समुदायले पिल्सिएर दैनिकी गुजारा गर्नु पर्दैन होला । देशमा भ्रष्टाचारको अन्त्य हुन्छ होला । साँच्चिकै सुशासनको प्रत्याभूति गर्न पाइन्छ होला । अनि पो नेपाल विकासको गतिमा अघि बढ्छ । देशले विकासको गतिलाई पछ्याउँदै गर्दा नेपाली युवाहरु रोजगारका लागि भारत लगायत खाडिमूलुकमा जानु पर्ने बाध्यताको अन्त्य हुन्छ होला ।

परिणाम नेपाली जनताले सोचेको भन्दा फरक भयो । पदीय स्वार्थका कारण एमालेका ५२ बुँदे अपराधसहित वामदेव गौतमले जब एमालेलाई फुटाए तब फेरी नेपाली जनताको आशा र अधिकारमा फेरि नराम्रोसँग तुषारापात भयो । त्यति बेलापनि म नै ठीक अरु सबै बेठीक भन्ने कुराले त्यो अवस्थाको सिर्जना भएको हो । त्यसले गर्दा तत्कालिन विद्रोही पक्ष माओवादीलाई अझ बढि चलखेल गर्ने अवसरको सिर्जना भयो । त्यसपछि भएका विभिन्न आन्दोलनहरुले नेपाललाई संघीयता र गणतन्त्रसम्म पु¥याए । जसबाट नेपाली जनताले आफ्ना प्रतिनिधिबाटै संविधानको निर्माण गरेर संघीयता र गणतन्त्रको अभ्यास गर्ने क्रममा चुनावी कार्यगत एकतादेखि पार्टीको एकिकरणसम्म पुगेर कम्यूनिष्टहरुले विश्वलाई एउटा सन्देश दिए कि अब नेपाल आत्मनिर्भरता तिर अघि बढ्यो ।

यो सन्देशले सार्थकता प्राप्त गर्न नपाउँदै फेरी पनि म नै राम्रो भन्ने कुराबाट माथि उठ्न नसकेका नेताहरुको चलखेलका कारण पुनः नेपाली जनताका आशाका किरणहरुमा बादल मडारियो । जसका कारण नेकपा यथास्थितिमा पुग्नुदेखि एमालेमा फेरी फुटसम्मको अवस्था आयो । जसले गर्दा अब कम्यूनिष्टहरुलाई आशा र भरोसाका दृष्टिले हेर्ने नेपाली जनताको नजरमा रोष र क्रोधको चश्मा लागेको छ । जसको मुख्य जड को त ? प्रश्न गम्भीर रुपमा खडा भएको छ । आफू मात्र राम्रो भन्ने जुन प्रवृत्ति छ त्यही अर्थात यसको उत्तर राम्रो म बाहेक अरु केही होइन ।

नेपाली जनताले बुझ्नु पर्ने स्पष्ट के हो भने प्रचण्डले आफू मात्र शक्तिशाली हुने योजना बनाउनु र अघि बढ्नु अनि केपीले आफू मात्र शक्तिशाली बनेर प्रचण्डलाई राजनीतिक जीवनबाटै पाखा लगाइदिने गुप्त योजना बनाउनु बाहेक अरु केही पनि होइन । केपी ओलीले दम्भका साथ जुन कार्यहरु गर्दै गए त्यसले गर्दा आजको अवस्था आएको हो । तर आफूलाई राम्रो देख्ने केपीका आसेपासेहरुले यो कुनै पनि हालतमा स्वीकार गर्दैनन् ।

हिजो संसद नै अपहरण गरेर अर्काको पार्टी फुटाउनका लागि केपीले ल्याएको अध्यादेश ठीक । आज एमाले फुटाउनका लागि देउवाले ल्याएको अध्यादेश बैठीक । पत्रकार सम्मेलनमा सार्वजनिक रुपमा यस्तो अभिव्यक्ति दिन केपी बा ले लाज मान्नु पर्ने होइन । थुकेको थुक चाट्नु र यो अभिव्यक्ति दिनु बराबर हो ।

हिजो दुई दुई पटक प्रतिनिधि सभाको विघटन गर्नु ठीक अनि न्यायलयले त्यसलाई असंवैधानिक ठहर गरेर पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु बेठीक । हिजो विभिन्न संवैधानिक निकाय तथा आयोगहरुमा आफ्नो पार्टीको भर्तिकेन्द्र झैँ आफ्ना भारदारहरुलाई नियुक्ती गर्नु ठीक अनि कूलमानलाई विद्युत प्राधिकरणमा ल्याउनु बेठीक । हिजो तराइ केन्द्रित दलहरुलाई तहसनहस बनाउने उद्देश्यले केपीका प्रियपात्रले एउटा रिसोर्टमा लगेर कुनै समयमा राजाले झैँ आफू अगाडिको कुर्सीमा बसेर फोटोशेसन गर्नु ठीक आज माधव नेपालले आफ्ना समर्थकहरुलाई रिसोर्टमा लगेर राख्नु बेठीक ।

आफू प्रधानमन्त्री भएको बेलामा त्यो पनि दुई तिहाइको समर्थन रहेका बेलामा जनयुद्धका घाइते अपाङ्ग तथा जनआन्दोलनका घाइते अपाङ्गहरुको उपचार गर्नुपर्छ थाह थिएन । आज उनीहरुलाई राजनीतिक प्रभाव पार्नका लागि घाइते अपाङ्गको उपचार गर्नका लागि आफ्नो पार्टी कार्यालयमा बोलाउने दिमाग कहाँबाट आयो । आफ्नै उपचार गर्नका लागि नेपाली जनताको करबाट तिरेको ढुकुटीबाट करोडौ सम्पत्ति लिने मान्छेले अरुको उपचार गरिदिन्छु भन्नु लाज मान्नु पर्ने होइन र यो पनि म नै ठीक म नै राम्रोको प्रभाव बाहेक अरु केही होइन ।
एमाले भित्रै रहेर विरोध गरिरहेका माधव नेपाल र उनको समूहमा लागेकाहरुले १० बुँदेको रटान गरेर एमाले जोगाउ भनिरहँदा आफूले मात्र एमाले बनाएको झैँ गरेर साँढेका मिचाइ गरेर अघि बढ्दा ठीक । माधव नेपालले नयाँ पार्टी बनाइहाल्दा बेठीक । हो एमालेलाई माधव नेपालले फुटाउनु चाँही गम्भीर गल्ती गरेका हुन् । हिजो एमाले फुटाएकोमा आजसम्म पनि बामदेवले जसरी पश्चातापको भूमरीमा जलिरहनु परेको छ त्यसरी माधव नेपाल पनि तड्पिनु पर्ने दिन आउन सक्छ । जसले गर्दा देश र जनतालाई पनि घाटा भएको छ । तर म नै राम्रो मैले नै गरेको राम्रो र म नै ठीक भन्ने केपी ओलीको दम्भलाई भने ठीक भएको छ ।

एमालेको नाममा संघमा मात्र होइन प्रदेशमा, जिल्लामा, नगरमा, गाउँमा, वडामा र टोल टोलसम्म केपी ओलीकै रवाफ देखाउन खोज्ने उनका अन्धभक्तहरु भने अहिले गरुड देखेको नाग झैँ भएका छन् । त्यसैले म होइन हामी, हाम्रो होइन राम्रो, मेरो होइन हाम्रो, राजा होइन साझा, मेरा लागि होइन सबैका लागि आजका लागि होइन भोलीका लागि, भोली होइन आजै र आज होइन अहिले नै गरौ भन्ने सोचको विकास, चिन्तन र कार्यान्वयन हुनु जरुरी छ अन्यथा न नेताले भने झैँ नेपाल समृद्ध बन्न सक्छ । न जनताले चाहे जस्तै सुख र खुसी प्राप्त गर्न सक्छन् ।