Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

सकारात्मक सोचौ देश बन्छ

संसार विचित्रको छ । साँच्चिकै संसार विचित्रको छ । यो संसारमा भएका सबै चीजवस्तुहरु नाशवान छन् । नाशवान भएर पनि यी सबै चीजवस्तुहरुको उत्तिकै महत्व छ । एउटा बोटविरुवा होस् अथवा जीवजन्तु । किरा फट्याङ्ग्रा होस् या मान्छे । संसारमा आउँछन् निश्चित समयका लागि अनि सकिन्छन् निश्चित समयपछि । संसारको कुनै पनि चीजवस्तु अमर छैन तर अमर छ भने उसले गरेको कर्म र राखेको कृति ।

बलिराज रोकाया

कसले कस्तो कर्म गर्न सक्यो र कस्तो कृति छोड्यो भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । आज हामीले पृथ्वीनारायण शाहका कुरा गर्छौ । बहादुर शाहका कुरा गर्छौ । अनि कुरा त पूर्व राजा ज्ञानेन्द्रका पनि गर्छौ र पारस शाहका पनि गर्छौ । स–साना टुक्रामा रहेका राज्यहरुलाई एकिकरण गरेर विशाल नेपालको निर्माण गर्ने कर्म गरेकै कारण पृथ्वीनारायण शाह पूज्य भएका हुन् । हामी सम्झन्छौ विपी, पुष्पलाललाई पनि । नेपालको राजनीतिक परिवर्तनका लागि विपीले भोगेको कठोर जेल जीवन अनि पुष्पलालले गरेको त्याग सानो होइन । त्यसैले आज भौतिक रुपमा उनीहरु संसारमा नभएपनि उनीहरुको कृति पुज्य छन् ।

कुनैपनि देशको पहिचान भनेको त्यो देशको सभ्यतासँग जोडिएको हुन्छ । हामी नेपालीहरु संस्कृति र सभ्यताका धनी छौ । हाम्रो संस्कृति र सभ्यतालाई जोड्नका लागि भाषाको महत्वपूर्ण स्थान छ । त्यो भाषालाई संरक्षण, सम्वद्र्धन र विकास एवम् विस्तार गर्नका लागि नेपाली साहित्यकारहरुले खेलेको भूमिकालाई कुनै तराजुमा राखेर आंकलन गर्नै सकिदैन । त्यही सुकर्मका कारण आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युवाकवि मोतिराम भट्ट, राष्ट्रकवि माधव प्रसाद घिमिरेलगायत दर्जनौ साहित्यकारहरु पूज्य छन् । त्यो उनीहरुले गरेको कर्म र राखेको कृतिले गर्दा नै हो ।

देशमा राणा शासनदेखि वर्तमानको लोकतान्त्रिक गणतन्त्रात्मक शासन शासन व्यवस्थासम्म आइपुग्दा अनेक दुःखकष्ट सहनेहरु छन् । आफ्नो प्राणको बलिदानी दिनेहरु भौतिक रुपमा संसारमा छैनन् तर उनीहरुको नाम स्वर्ण अक्षरले लेखिएको छ । देशका निम्ति बलिदानी दिने महान छोराहरुको रगतले सिंचित भएर भएका राजनीतिक परिवर्तनहरुलाई जोगाउन सकारात्मक सोचको आवश्यकता छ ।

जबसम्म हामीमा सकारात्मक सोचको विकास हुँदैन तबसम्म हामी राम्रोलाई राम्रो देख्न सक्दैनौं । जब राम्रोलाई राम्रो देख्न सकिदैन भने न आफूले राम्रो गर्न सकिन्छ न अरुलाई राम्रो बनाउन सकिन्छ । त्यसैले राम्रो बन्न र बनाउन सकारात्मक सोच हुन जरुरी छ । नेपाली राजनीतिमा यही सकारात्मक सोचको कमी भएका कारण देशमा स्थिर सरकार बन्न नसकेको छैन । स्थायी शान्ति आउन सकेको छैन । जुन गतिमा देशले विकासको क्षेत्रमा फड्को मार्नु पथ्र्यो त्यो पूरा हुन सकेको छैन । आर्थिक क्रान्तिमा देश अगाडि बढ्न सकेको छैन । जनताले रोजगारी पाउन सकेका छैनन् । कृषिमा आत्मनिर्भर बन्न सकिएको अवस्था छैन । यी यावत समस्याहरुको एउटै जड हो सकारात्मक सोच हुन नसक्नु ।

नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधान बमोजिम भएको निर्वाचनमा नेपाली जनताले एउटा बुद्धि पु¥याएकै हुन् । तत्कालिन गठबन्धनलाई मतदान गरेर देशमा स्थायी सरकार स्थायी शान्तिको कामना गरेकै हुन् । तर नेताहरुमा सकारात्मक सोचको विकास भइनसकेको अवस्थामा जनताले दिएको मतलाई लात हानेर व्यक्तिगत स्वार्थदेखि दलगत स्वार्थमा लागेकै कारण आज देशले परमादेशको सरकारलाई स्वीकार गर्नुपर्ने अवस्थाको सिर्जना भयो । यसको मुख्य दोषि भनेका तीन जना हुन् । पहिलो दोषि केपी शर्मा ओली । जसले आफू र आफ्ना बाहेक अरुलाई कम्यूनिष्ट देख्नै सकेनन् । राजनीतिक भागबण्डामा उनले आफ्नै आसेपासेहरुलाई चुम्माचाटी गरे । चाहे संवैधानिक नियुक्तीमा होस् चाहे राजदूत नियुक्तीमा होस् या आफ्नै पार्टीको संगठनिक पदमा होस् । उनले हाम्रोलाई भन्दा राम्रोलाई देख्न नसक्नु उनीभित्रको नकारात्मक सोच हो । आफ्नो कुर्सीलाई बलियो बनाउनु, आफ्ना उत्तराधिकारीहरुलाई बलियो बनाउनु र उनीहरुको झोला भर्नमा उनको सोच गयो । जसले गर्दा जनादेशबाट आएको सरकारको पतन भयो ।

यसको दोस्रो दोषि हुन् प्रचण्ड । हिजोका दिनमा जंगलमा बसेर युद्ध लडेर भएपनि देशलाई परिवर्तनतर्फ लैजाने योजना बनाएका प्रचण्ड जब सत्तामा पुगे त्यसपछि उनलाई पनि अंश चाहियो । वाम गठबन्धनलाई पार्टी एकिकरणमा पु¥याएर पनि सफलता दिन नसक्नु प्रचण्डको कमजोरी हो । अर्कोतिर उनले केपीसँग समान हैसियत खोज्नु पनि सकारात्मक सोचबाट टाढा रहनु हो । यदि उनीमा सकारात्मक सोच भइदिएको भए प्रधानमन्त्री वा अध्यक्ष जो भएपनि ठीक छ भन्ने भावनाको विकास हुने थियो । तर एकातिर केपीले देखाएको निरंकुशता र अर्कोतिर आफूले मह काढ्न नपाउनु र हात चाट्न नपाउनुको कारणले गठबन्धनका बीचमा दरार उत्पन्न भएको हो । जसले गर्दा नेपाली जनताले चाहेको स्थायी सरकार र स्थायी शान्ति ओझेलमा पर्न गयो । यस घटनाको अर्को दोषि भनेका माधव नेपाल हुन् । १५ वर्षसम्म पार्टीको नेतृत्व गर्दा उनले आर्जन गरेको विरासतलाई एउटा पदीय भागबण्डामा लगेर पार्टीको राजनैतिक भविष्यलाई नै सखाप पार्नु उनको कमजोरी नै हो । भनिन्छ एउटा हावा भरिएको बललाई जति थिच्यो त्यत्ति माथि उफ्रन्छ । केपीले माधवलाई उफ्रन बाध्य बनाए । तर उफ्रिहाल्नु माधव नेपालमा पनि सकारात्मक सोचको कमी हो भन्दा फरक नपर्ला ।

अब अलिकति कुरा कर्णालीका पनि गरौं । कर्णाली प्रदेश सरकार तत्कालिन संघीय सरकारभन्दा पनि बलियो थियो । काँग्रेसका ६ र राप्रपाको १ सिट बाहेक अरु सबै सिटमा तत्कालिन नेकपाकै हालिमुहाली थियो । सरकार आफ्नै सभामुख आफ्नै भएन भनेर प्रदेश प्रमुख पनि आफ्नै । यस्तो अवस्थामा नीति, नियम, ऐन, कानून जे–जे आवश्यक थियो त्यही बनाएर कर्णालीलाई समद्धि तर्फ धकेल्नुको साटो आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई ढालेर आफूले झण्डा फहराउने जुन कुचेष्टा, कुसोच, कुविचार पलायो त्यसले कसैलाई राम्रो गरेन । फलतः तत्कालिन नेकपालाई अदालतले नै अलग–अलग गराइदिएपछि पनि वामशक्तिहरु एक ठाम हुने ठाउँ थियो । तर सकारात्मक सोचमा भएको कमीका कारण त्यो सम्भावनालाई नेताहरुले चुकाएका मात्र होइनन् यिनीहरुलाई मतदान गर्ने सर्वसाधारण जनताका छात्तिमा लात्तिले हानेका हुन् ।

म भए ठीक र ऊ भए बैठीकको राजनीति गर्नेहरुका कारण कर्णाली प्रदेश सरकारको संरचनामा फेरबदल भएको हो । खुलेरै भन्नुपर्दा महेन्द्रबहादुर शाहीले गरेका राम्रा कामहरुमा साथ दिनु र नराम्रा कामहरुमा आन्तरिक आलोचना गरेर कुबाटो हिड्नबाट रोक्न सक्ने सामथ्र्य नहुनु भनेको मन भित्र सकारात्मक सोच नहुनु हो । भोली आफूले जनता समक्ष जाँदा के–के गरेँ भनेर थोत्रा भाषण दिने शब्दहरु थुपार्नका लागि कम्यूनिष्टको सरकार माथि धाबा बोलिएको हो । यदि माओवादीको नेतृत्वको सरकारले गरेका कामहरु राम्रा थिएनन् र छैनन् भने आफ्नै पार्टीका प्रकाश ज्वालालाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्न किन सकेनन् ? किनकी त्यो सकारात्मक सोच लिन सक्ने बुद्धि, विवेक र क्षमता यिनीहरुले राखेनन् । उनीहरुकै शब्दलाई आधार मान्ने हो भने फ्लोरक्रस गरेर भएपनि महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन तत्कालिन एमालेका सांसदहरु नै बाध्य भएका हुन् ।

एउटा संस्थालाई निरन्तर चलाइराख्नका लागि सकारात्मक सोच चाहिन्छ । यदि सकारात्मक सोच भएका नेताहरु भएको भए न एमाले फुट्ने थियो, न काँग्रेस फुट्ने थियो, न माओवादी, न राप्रजा, न जसपा, न जनमोर्चा । त्यसैले नेपाली राजनीतिमा हालीमुहाली गर्न पल्केकाहरुसँग सकारात्मक सोच छैन भन्ने कुरा यिनीहरुको दल बदल र पार्टीको फुटाईबाट प्रमाणित भइसकेको छ ।

यदि साँच्चिकै नेपाललाई समृद्ध बनाउने र नेपालीलाई आत्मनिर्भर बनाउने हो भने सकारात्मक सोचको विकास गरौं । अन्यथा तिमीहरुले भाषणमा भने जस्तो सजिलो छैन देशमा विकास निर्माणका कार्य पूरा गर्न । प्रदेशलाई समृद्ध बनाउन र स्थानीय सरकारलाई जिम्मेवारी बनाउन । त्यसैले विरोधका लागि विरोध होइन सकारात्मक सोचका साथ अघि बढौं ।