Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

ज्योतिष ज्ञानः चिना हेर्ने र हेराउनेले जान्नै पर्ने कुरा

यो संसारमा भएका सबै धर्महरु मध्य हिन्दु धर्म पुरानो धर्म हो । सबैभन्दा पुरानो धर्म भएकोले यो धर्ममा भएका ग्रन्थहरु पुराना हुने नै भए । अर्को कुरा हिन्दु धर्म कुनै आयातित धर्म पनि होइन भने यो धर्मले कुनै एक व्यक्ति एक एउटा मात्र भगवान भनेको पनि छैन । त्यसैले अरु सबै धर्महरु भन्दा हिन्दु धर्म उदार पनि छ । धर्ममा आस्था राखेर त्यसको पूर्ण रुपमा पालना गरे राम्रै हुन्छ तर आस्था मात्र राख्ने र त्यसलाई पूर्ण रुपमा पालना नगरे पनि खासै फरक नपर्ने खालको व्याख्या र विश्लेषण पछिल्ला समयमा हुन थालेका छन् । हिन्दु धर्म त हिन्दुहरुले मात्र अनुयायी गर्छन र जुन स्वभाविक छ । तर हिन्दु धर्मसँगै जोडिएको अर्को महत्वपूर्ण विषय भनेको ज्योषित शास्त्र हो ।

खगेन्द्र अधिकारी ‘अमृत’

ज्योतिष शास्त्रलाई विश्वले अनुशरण गरेको छ । यस्तो पढ्दा मेरा पाठकहरुलाई लाग्नसक्छ चीन, जापान, अमेरिका तथा बेलायत जस्ता विकासित राष्ट्रहरु ज्योतिष शास्त्रमा अडिएको होलान् त ? यो प्रश्न उठ्नु स्वभाविक हो । विज्ञानलाई मान्नेहरुले ज्योतिषलाई मानेका छन् । विज्ञानको उत्पत्ति बेदबाट भएको हो भने ज्योतिषको उत्पत्ति पनि बेदसँगै भएको हो । त्यसैले ज्योतिष शास्त्रलाई मान्ने गरिएको छ । अर्को महत्वपूर्ण कुरा के हो भने ज्योषित शास्त्र आफैमा विज्ञान हो । त्यसैले पनि ज्योतिष शास्त्र मान्नु र विज्ञान मान्नु एउटै कुरा । तर भाषाका हिसावको, विधिका हिसावले फरक फरक देशमा फरक तरिकाले यसलाई प्रयोग गरिने भएपनि यसको मूल सुत्र भने एउटै हुने गर्दछ ।

अब कुरा गरौं ज्योतिष शास्त्र अन्तर्गत चिनाका । सर्वप्रथम चिना हेर्ने व्यक्ति योग्य एवम् ज्योतिषशास्त्रमा प्रखर हुन आवश्यक छ भने गणित र फलित दुबै शास्त्रको ज्ञान भएको हुनुपर्दछ । पछिल्लो समयमा ज्योतिषको रुपमा काम गर्नेहरु धेरै छन् । प्रविधिको विकासक्रमसँगै बनेका अनेक एप्स र सफ्टवेयर प्रयोग गरेर ज्योतिष हौ भन्नेहरुको पनि कमी छैन । गणित फलितको ज्ञान विना नै त्यसो गर्नेहरु पापी, पङ्तिदुषक हुन् । शास्त्रमा भनिएको छः

अविदित्वैव यः शास्त्रं दैवज्ञत्व प्रपघते
स पङ्तिदुषतकः पापो ज्ञेयो नक्षत्र सूचकः ।
माथिको श्लोकले स्पष्ट भनेको छ । जसले शास्त्रको ज्ञान नगरी फलादेश गर्दछ त्यो पापी, पङ्तिदुषक र नक्षत्रसूची हो । पङ्ति भेद गर्ने र नक्षत्रद्रोही हो । ज्योतिष विधामा दुई पाटा छन् । एउटा गणित छ अर्को फलित । ज्योतिषको ज्ञान विना चिना हेर्ने ज्योषितसँग आधारभूत कुराहरुको समेत ज्ञान छैन भने त्यस्ताले चिना हेरे भने उनीहरु पापको भागीदार हुनुपर्दछ । गणित फलित दुबै अभिन्न अंगको ज्ञान विना गरिएको फलादेश अपाङ्ग हुन्छ । यो कुरा ज्योतिषले पनि बुझ्न आवश्यक छ ।

ज्योतिषले शास्त्रको प्रमाणका आधारमा फलादेश गर्नुपर्दछ । सुनेका भरमा देखेका भरमा मात्र फलादेश गर्नेहरु यो पंक्तिकारको नजरमा नक्कली ज्योतिष हुन् ।

प्रायश्चितं चिकित्सां च ज्योतिषं धर्मनिर्णयम्
विना शास्त्रेण यो दूयात्तमाहुब्र्रह्मघातकम् ।
यो श्लोक नारदपुराणमा लेखिएको छ ।
जसले विना शास्त्र ज्ञान फलादेश गर्दछ त्यस्ता व्यक्ति ब्रह्माघाती हुन् भनिएको छ । ज्योतिषले चिना हेर्दा कुन कुरा कुन शास्त्रमा लेखिएको छ त्यसको विस्तृत विश्लेषण विना गरिएको फलादेश व्यर्थ छ । ज्योतिषी फलादेश गर्ने व्यक्ति पवित्र हुन आवश्यक छ । झुठो नबोल्ने, खाने चिजहरु नथुक्ने र थुक्ने चिजहरु नखाने हुनु पर्दछ । त्यसैले यहाँ प्रश्न आउन सक्छ शाकाहारी कि मांसहारी ? मान्छे स्वभावैले मांसहारी हो । किन भने नङ्ग्रा भएको र दाह्रा भएको जीव मांसाहारी नै हो । तर विज्ञानकै कुरा गर्ने हो या वेदको कुरा गर्ने हो भने मांसले स्वास्थ्यलाई फाइदा गर्दैन । औषधीको रुपमा मान्छेले खानै नहुने चीजवस्तुहरु पनि खानुपर्ने हुन्छ तर त्यो औषधीको रुपमा ग्रहण गरिएकोले कुनै दोष छैन । खासमा ज्योतिषले जन्मेको नखाने र उम्रेको खाने हुनुपर्दछ । अनि मात्र ज्योतिषमा पनि वाकसिद्धि हुन्छ । जुन ज्योतिषमा वाकसिद्धि छैन भने उसले बताएको फल पनि निष्प्रभाव हुन्छ । चिना हेर्ने ज्योतिष र हेराउनका लागि आएका व्यक्ति पवित्र मनको हुन पनि आवश्यक छ । यजमानले कति दक्षिणा दिन्छन् भन्ने लोभ गर्ने र ज्योतिषले कति दक्षिणा माग्छन् भन्ने लोभ गर्नेहरुले पनि सही फल प्राप्त गर्न सक्दैनन् । यी त ज्योतिषमा हुनु पर्ने गुण र ज्ञानका कुरा भए ।


अब हामी विश्लेषण गरौ ज्योतिषसँग चिना हेर्न जाने व्यक्ति कस्तो हुनुपर्दछ ? जसले ज्योतिष विधाका बारेमा आस्था नै राख्दैन विश्वास नै गर्दैन त्यस्तो व्यक्तिले चिना हेरे हेराएमा पनि त्यसको फल प्राप्त हुँदैन । ज्योतिषले के भन्छन् त परीक्षणको रुपमा प्रयोग गर्न खोज्ने, ज्योतिषशास्त्र प्रतिको विश्वास नै नहुने व्यक्तिले पनि चिना हुनु उचित हुँदैन ।

चिना भनेको के हो ? कुनैपनि व्यक्ति जन्मेको समय र स्थानबाट आकाशीय परिवृत्तमा रहेका ग्रहहरुको अवस्थिति अनुसारको शास्त्र ज्ञान चिना हो । कुनैपनि व्यक्तिको चिना बनाउदा चिनाको सुरुमा मंगलाचरण लेखिएको हुन्छ । ग्रहको प्रार्थना गरेर मात्र चिना हेर्न आरम्भ गर्नुपर्दछ । गणित फलितमा ज्ञान भएका ज्योतिषहरुलाई चिनाको मंगलाचरण कण्ठष्थ हुने नै भयो । चिनाको मंगलाचरण उच्चारण गर्दै चिनाको निर्माण प्रक्रिया ठीक छ छैन भन्ने कुरालाई ज्योतिषले ख्याल गरिहाल्नु पर्दछ । चिनाको सुरुदेखि अन्त्यसम्म लेखिएका कुराहरु ठीक छन् छैनन्, ग्रहको स्थिति कसरी तयार गरिएको छ, ग्रहास्पष्टा कसरी लेखिएको छ ? कुनै पनि ग्रहका राशी, अंशा, कला विकलाहरुको बारेमा लेखिएको कुराहरु ठीक छन् वा छैनन् विचार गरेर मात्र त्यसको फल बताउन सुरु गर्नु राम्रो हुन्छ ।

चिना हेर्दा चिनामा उल्लेख गरिएका तिथि, नक्षत्र, योग, बार, करणको फल सर्वप्रथम बताउन आवश्यक हुन्छ । चिनामा उल्लेख भएका घाततिथि के छ, घातवार के छ, घात राशी के छ, घात नक्षत्र के छ, घात लग्न के छ भन्ने कुरालाई बताउनु पर्दछ । त्यसपछि ग्रहास्पष्टाको बारेमा फल बताउनु पर्दछ । ग्रहस्पष्ट अनुसार ग्रहको उच्च, नीच, उदय, अस्त, बक्र, मार्गका बारेमा तिनीहरुको बलाबलको विचार पनि गर्नुपर्दछ । लग्नकुण्डली, षड्वर्ग कुण्डलीका साथै राशीकुण्डली, द्वेष्काण कुण्डली एवम् विंशोत्तरी, त्रिभागी तथा योगिनी दशाचक्रको बारेमा पनि विचार गर्नुपर्दछ । गोचरमा के कस्ता ग्रहहरु चलिरहेका छन् तिनले पार्ने प्रभावका बारेमा पनि विचार गरेर पलादेश गर्नु जरुरी छ ।

यहाँ एउटा अर्को महत्वपूर्ण कुरा के विचारणीय छ भने चिना लेख्दा स्थानीय समयलाई ध्यान दिइएको छ छैन, अनि भुक्त र भोग्य निकालिएको छ छैन भन्ने कुरालाई निकै ध्यान दिनु पर्दछ । किनकी नेपालको समयको कुरा गर्ने हो भने काठमाडौंको समयलाई आधार मानेर नेपालको समय लेखिएको हुन्छ । तर त्यो प्रमाणिक समयभन्दा सुर्खेतको समय १८ मिनेट ढिला छ । २४ मिनेटको एक घडी हुन्छ । १८ मिनेट भनेको पौने घडी हो । त्यसैले पौने घडीको फरकलाई ध्यान नदिने हो भने नक्षत्रको पाउमा फरक पर्छ । अनि नक्षत्रको पाउमा फरक पर्न साथ भभोगमा फरक परेर त्यसको ग्रह नै फरक पर्न जान्छ । यसै कारणले हो एउटा ज्योतिषले राखेको नाम र अर्को ज्योतिषले राखेको नाममा कहिले काँही अक्षरमा फरक पर्न जाने । जस्तै अश्विनी नक्षत्रमा जन्मेको भए स्थानीय समय ननिकालेमा ‘चि’ अक्षरबाट नाम आउन सक्छ भने स्थानीय समय निकालेको भए ‘चु’ अक्षरबाट नाम आउन सक्छ ।

कुण्डली निर्माण प्रक्रियाको गणितमा धयान दिइएको हुन्छ भने भाव भनेको कुण्डलीले प्रतिनिधित्व गर्ने स्थानको निर्धारित नाम हो । जसबाट व्यक्तिको गुण, दोष, अवस्था, प्रकृति आदिको बारेमा विचार गरिन्छ । यी भावहरु १२ वटा हुने गर्दछन् । प्रत्येक भावको विचारणीय पक्ष फरक फरक हुन्छन् ।

प्रथम भाव अर्थात लग्न भाव । जसबाट तनुको बारेमा विचार गरिन्छ भने दोस्रो भावबाट धनको बारेमा हेरिन्छ भने तेस्रो भावबाट सहज, चतुर्थ भावबाट सुहृत्, पाँचौ भावबाट सन्तान, छैठौ भावबाट रीपु सातौ भावबाट जाया, आठौ भावबाट मृत्यु, नबौ भावबाट धर्म, दशौं भावबाट कर्म, एघारौ भावबाट आय र बाह्रौ भावबाट व्ययको बारेमा विचार गरिन्छ । यसैगरी भाव निश्चित हुने भएपनि त्यसमा हुने अंक भने फरक फरक हुन्छन् । एउटै व्यक्तिको लग्न कुण्डली र राशी कुण्डलीमा तथा नवांशक वा द्वेशकाण कुण्डलीमा हुने अंकहरु फरक हुन्छन् र तिनीहरुले फरक फरक फल दिने गर्दछन् ।

विस्तृतमा भन्नुपर्दा प्रथम भावले शीर्ष, शरिर, स्वास्थ्य, चेहेरा, मनस्थिति, मानसम्मान, प्रसिद्धि, धर्मकर्म, आयु, जाति, सुखदुःख, प्रकृति, योग्यता, स्मरणशक्ति, रुप रङ्ग, शीर, स्थिति, व्यक्तित्व, स्वभाव, चिन्ह, यश, कृति, विवेक र आकृति तथा गुण आदिका बारेमा हेरिन्छ । दोस्रो भावमा धनm वाणी, बन्धन, देब्रे आँखा, सुसराली, खाद्य पदार्थ, कुटुम्ब, आर्थिक दशा, विद्या, वाकशक्ति, धनको अवस्था, साधन, स्वतन्त्रता, धातु आदिका बारेमा विचार गरिन्छ । तृतीय भावबाट पराक्रम, भाइबहिनी, दाहिने हात, दाहिने काँध, भाषण कला, यात्रा, परिवार, नाक, कान, घाँटी, गला, आफन्त, बल तथा बीर्यका बारेमा विचार गरिन्छ । यसैगरी चतुर्थभावबाट हृदय, सुख, माता, बन्धु, जमिन, आयजेथा, सुखका साधन, छाती, भौतिक सुख, जनसहयोग, बगैचा, भूमि, सवारी साधन, चौपाया, बाहन, मित्र तथा परोपकारका बारेमा हेर्ने गरिन्छ ।

पञ्चम भावबाट सुत, बृद्धि, सन्तान, राज्य, चातुर्य, विधा, शिक्षा, शिष्य, गुरु, मन, काव्य, मन्त्र, योगाभ्यास, नीति, न्याय, जुवा, चिट्ठा आदिका बारेमा विचार गरिन्छ भने षष्ठम भावबाट शत्रु, रोग, ऋण, झगडा, चोर भय, पेट, नोक, सेवक, घाउ खटिरा, नोक्सानी, पाप, मावली, कम्मर तथा फुपुहरुको बारेमा विचार गरिन्छ । सप्तमभावबाट आर्या अर्थात श्रीमती, मुत्राशय, गुप्ताङ्ग, जनेन्द्रिय, ढाड, दाँत, दैनिक रोजगारी, अदालती झगडा, प्रवास, ऋण व्यापार, रोजगारी, परिश्रम, लाभ, घमण्ड तथा अहंकार र छिमेकीको बारेमा विचार गरिन्छ ।

अष्टम भाव भनेको निकै विचारणीय भाव हो । यो भावमा मृत्यु, आयु, संकट, गुदद्वार, गुप्तकुरा, गुप्तविद्या, इन्द्रिय शक्ति, कुटनीति, दुर्घटना, चोरी, निन्दा, काराबास, यौन सुख र गुप्तधन आदिको बारेमा विचार गरिन्छ । नवम भावबाट भाग्य, दान, धर्म, तीर्थयात्रा, आत्मिक शक्ति, भविष्यवाणी, बुद्धि, आहार, मित्र, नम्रता, इश्वरीय साधना, कृतिहरु, तिघ्रा, सालासाली, पर्यटन आदिका बारेमा हेरिन्छ । दशम भावबाट कर्म, पिता, छाती, घुँडा, सासु, कृषि, भूमि, पदवी, सरकारी नोकरी, राज्य गर्ने इच्छा, प्रसिद्धि, सामाजिक कार्य आदिका बारेमा विचार गरिन्छ भने एकादश भावमा लाभ, पैतृक सम्पत्ति, उच्च पद प्राप्ति, क्रयविक्रय शक्ति, राजकीय पुरस्कार, प्रसन्नता, बाँया हात, कान, पिडौला, बुहारी आदिको बारेमा हेरिन्छ । द्वादश भावमा हानी, सरकारी दण्ड, शत्रु, बदनामी, दुर्भावना, देश निकाला, दान, कष्ट, विदेश यात्रा, सुत्ने कोठा, आँखा, आत्महत्या र राजकीइ संकट आदिका बारेमा विचार गरिन्छ र गर्नुपर्दछ ।