Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

आज घटस्थापना, नवरात्रि आरम्भ

दसैँ आयो

खाउँला पिउँला !
कहाँबाट ल्याउँला, चोरी ल्याउँला ! !
धत्त पापी म त छुट्टै बसौंला ! ! !

औँला भाँच्दै एक वर्षको प्रतीक्षा अब पूरा हुँदैछ । घटस्थापनासँगै दसैँ घर–घरमा प्रवेश गरेको छ । यो दसैँ अलिक फरक छ, कोभिडको त्रासले गर्दा पछिल्ला वर्षका दसैँहरू न्यूनतम मानवीय चहलपहलमा गुजारिए भने यो दसैँ चाहिँ अलिक खुकुलो र सामान्य अवस्थातर्फ उन्मुख हुँदै गरेको मान्न सकिन्छ ।

आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन्को हार्दिक मङ्गलमय शुभकामना ।

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईंलाई छुनेवाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल है ! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना ।

जमरा अर्थात् जौको जीवन । जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।

माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौं भन्ने स्पष्ट पार्छ । हिन्दूहरूको महान पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।

नवरात्रिको शुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पिठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषसँगै जीवनमा खुशीयाली प्राप्त गरिन्छ ।

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको संख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठूलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चर्तुभुज आकारको बीच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पिठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।

१६ औं शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।

उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन । त्यतिबेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो ।

आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौंसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौंको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडांै ल्याइपु¥याउनु पर्ने मान्यता समेत रहेको छ ।

लमजुङ्गको मोरियाकोटमा स्थानीयबासीहरूले राइनासकोटको तल्लो भेगलाई (धमलीकुवा र गरमवेशीका केही स्थानीय भेगहरू) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मस्याङ्गदीको दोभानमा गई नुहाई–धुवाई गरी चोखो भई कुभिण्डो तथा अन्य मौसमी फलफूलहरू लगायत फूलपाती बोकेर राइनासकोटस्थित राष्ट्रिय विभूति सरदार वीर भक्ति थापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ ।
स्मरणीयरहोस्, उक्त मन्दिर कुनै पनि देशभक्त वीरको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरू भएको लमजुङ्ग जिल्लाको पर्यटकीयस्थल हो, जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दसैँ लगायत शिवरात्रिमा पनि दर्शनार्थीहरूको विशेष भीड रहन्छ । यसबाहेक मेचीदेखि महाकालीसम्मका सम्पूर्ण शक्ति पिठहरू र कालीमाताको मन्दिरमा प्रातः कालदेखि नै मेला लाग्ने गर्छ ।

सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तीसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन् र अन्वेषण गर्दा मिश्रदेशहरू अनि चीनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्वका रूपमा हेरिन्छ ।

हाम्रा सनातन संस्कारहरू जौ, तुलसी, कुश र तिलविना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौलाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिकता निर्विकल्प छ । टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातित महँगा खाने कुराहरूमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्छ । यसमा ‘ऐण्टिअक्सिडेन्ट’ र ‘विटाक्यारोटिन’ लगायतका तत्वहरू पाइन्छ ।
यही जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् । जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदै जान्छ, त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्छ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरू माथि–माथि बढ्न थाल्छ ।

त्यसैगरी सायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरूकाबारेमा जानकारी दिएको पनि हुन सक्छ । विरुवाहरू जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनीहरूको हाँगाले आकाशै छुन खोजे तापनि जरा भने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदेन भन्ने महत्व दर्शाउँछ ।

यो दसैँमा सबैको जय होस् । मङ्गल होस् । भातृत्व बढोस् अनि शान्ति छाओस् । हाम्रो शीरमा जमरा शोभायमान रहोस् । बडा दसैँको मङ्गलमय शुभकामना ।

हाम्रो पात्रो