Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

भेडागोठालाको खर्कमा आगलागी हुँदा २५ वटा भेडाका पाठासहित भाँडाकुँडा जलेर नष्ट

जुम्ला ।

हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुँदा दुई दर्जन बढी भेडाका पाठासहित सामग्री सबै जलेर नष्ट भएका छन् ।

हिमा गाउँपालिका-२ को लेकमा रहेको खर्कमा दिउँसो आगलागी हुँदा खर्कमा राखिएका २५ पाठा मरेका किसान वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० बढी राडी कम्बल, अन्य लगाउने र बिछ्याउने लत्ता कपडा र भाँडाकुँडा समेत जलेर नष्ट भएका छन् ।

भेडापालक किसान दत्तबहादुर शाहीका तीन, धनबहादुर रोकायाका तीनसहित १२ जना किसानका २५ पाठा जलेर मरेको जानकारी गरिएको छ । किसानहरुले क्षतिको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्बा शाहीले जानकारी दिनुभएको छ ।

करिब ४ हजार मिटर उचाइमा रहेको खर्कनै जलेर नष्ट भएपछि ओत लाग्ने ठाउँ नहुँदा आगो बालेर रात कटाएकाे किसानहरुले बताएका छन् । चिसो बढी सकेको र धेरै सामूहिक खर्क जलेर नष्ट भएपछि दुःख भएको किसानहरुले जनाएका छन् ।