Loading... आजः ७ फाल्गुन २०८२, बिहीबार । Thursday 19th February 2026
ताजा खबर
  

कांग्रेस सुर्खेत सभापतिमा पोखरेल निर्विरोध, अरू पदमा आज निर्वाचन हुँदै

सुर्खेत |

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्ग पोखरेल निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शनिबारदेखि सुरु भएको निर्वाचन प्रक्रियामा सभापतिमा पोखरेलबाहेक अन्य कसैको पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

पोखरेल संस्थापन पक्षका हुन्। महाधिवेशन प्रतिनिधिमा रामचन्द्र पौडेल समूहबाट कोही पनि निर्वाचित नभएपछि पोखरेलको एकल उम्मेदवारी परेको थियो। निर्वाचन समितिले गए राति नै सभापतिमा पोखरेललाई निर्विरोध निर्वाचित घोषणा गरेको हो।

सिम्ता गाउँपालिका राकम घर भएका पोखरेल स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षका प्रत्याशी समेत हुन्। ०४६ सालको आन्दोलनदेखि राजनीतिमा होमिएका पोखरेल दुई कार्यकाल नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति समेत बनेका थिए।

उपसभापतिसहितका बाँकी पदहरूमा भने निर्वाचन हुने भएको छ। निर्वाचन आज बिहान ११ बजेबाट शुरु भएर साँझ ५ बजे मतदान समय रहेको जिल्ला निर्वाचन अधिकृत मदन रेग्मीले जानकारी दिए।

सोही पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल  सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनाबी मैदानमा छन्।

रामचन्द्र पौडेल पक्षबाट भने महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षलाइ संस्थापन पक्षले क्लीनस्वीप गरेपछि सभापति बाहेकका पदका लागि चुनावी मैदानमा छन्।

उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्त छन्।