स्वार्थी कम्यूनिष्ट, लोभी काँग्रेस र पापी राप्रपा
भुरे टाकुरे राजाहरुले राज्य गरेर टुक्रे राज्यहरुमा रहेको नेपाललाई पृथ्वी नारायण शाहले एकिकरण गरेर विशाल नेपालको निर्माण गरेपछि यही नेपालमा राजनीतिक इतिहासहरु निर्माण र ध्वस्त हुँदै गए । पृथ्वीनारायण शाहकै सन्तानहरुले पनि शक्ति र स्वार्थका लागि नेपाल माथि आफू अनुकूल नियम कानूनहरु बनाउँदै गए । आफू अनुकूलका भाइभारदारहरु नियुक्त गर्दै जानुले राणाहरुले चलखेल गर्ने मौका पाएका हुन् । जसको फलस्वरुप नेपालले १०४ वर्षे लामो राणा शासनलाई व्यहोर्नु परेको इतिहास त्यत्ति धेरै पुरानो भइसकेको छैन ।
हेपिएमा, थिचिएमा र दविएमा कुनैपनि चीज वस्तु अन्ततः विस्फोट हुन्न भन्ने कुराको चरितार्थ त्यत्तिबेला भयो जतिबेला राणाहरुको अन्याय र अत्याचारबाट जनताहरु निकै हेपिए, दबिए र थिचिए । जसको परिणाम राणा शासनको अन्त्य भएरै छाड्यो । राजा त्रिभुवनले देखाएको उदारता र महानताले पनि नेपालमा प्रजातन्त्रको स्थापना गर्नमा ठूलो भूूमिका खेलेको थियो । त्यसपछिका दिनहरुमा प्रजातन्त्रको माध्यमबाट जनतालाई सुख र देशलाई विकास दिनु पर्नेमा दुईतिहाइको बहुमत प्राप्त नेपाली काँगे्रसको सरकारले लोभ गरेका प्रजातन्त्र नै खतरामा पर्न गयो । राजा महेन्द्रलाई जति नै दोष दिएपनि उनलाई त्यो वातावरणको सिर्जना गरिदिने काँग्रेस नै थियो र काँग्रेस भित्रको लोभ थियो ।
प्रजातन्त्र गुमेपछि पञ्चायती व्यवस्थाले ३० वर्षे शासन संचालन गर्दैगर्दा राजा वीरेन्द्रको उदारवादले नेपालमा फेरी प्रजातन्त्रको पुनर्वहाली हुन सकेको हो । प्रजातन्त्रको पुनर्वहाली पश्चात फेरी देशमा राजनीतिक दलका नाममा तछाड मछाड हुन थाल्यो । स्वच्छ प्रतिस्पर्धात्मक तरिकाले हुने चिखातानी भन्दा सांसद नै किनबेचको अवस्थामा पुग्नु देश र जनता दुबैका लागि दुर्भाग्य हो । जसले गर्दा काँग्रेसले बहुमतको सरकार टिकाउन सकेन र अर्को युद्धको आवश्यकता देखि माओवादी जनयुद्ध भएको थियो ।
गाउँ गाउँमा राजनीतिक चेतनाको विकास र विस्तारमा माओवादी जनयुद्धले अहम् भूमिका खेल्न सफल भयो । विकासका लागि विनाश नामकको नाराले धेरै विनाशहरु भए । विनाश गलत थियो तर विकास सही थियो । माओवादी जनयुद्धकै कारण महिला, दलित, पिछडिएका वर्ग, अल्पसंख्यक, आदिवासी, जनजाती विभिन्न वर्ग र समुदायले राजनीतिक चेतनाको स्वाद चाख्न पाए । त्यसलाई सकारात्मक रुपमा लिनै पर्दछ । तर माओवादी जनयुद्धकै समयमा आफ्नो स्वार्थका लागि निर्दोष व्यक्तिको हत्या हुनु जस्ता घटनाले माओवादीहरुलाई कहिल्यै क्षमा दिने छैन ।
राजनीतिक घटना र परिघटनामा होमिदै गर्दा देशको कम्यूनिष्ट शक्ति एक हुनुपर्छ भन्ने मान्यताका साथ अघिबढेको दुई ठूला राजनीतिक दलहरुको एकिकरण त्यत्ति लामो समय टिक्न नसक्नु कम्यूनिष्टहरुका अन्तरकुनामा भएको स्वार्थ मात्र हो । पद, शक्ति र प्रतिष्ठाका लागि उनीहरुले जुन स्वार्थ पाले जसले गर्दा राम्रालाई होइन हाम्रालाई अवसर दिए जसले गर्दा कम्यूनिष्टहरुको बीचमा कहिल्यै मन मिल्न सकेन । अन्ततः नेकपाबाट एमाले र माओवादी केन्द्र मात्र भएनन् एकिकृत समाजवादीको समेत विजारोपण भयो । यो सव किन र के का लागि ? निकै गम्भीर प्रश्न छ । सर्वसाधारण जनतालाई जति नै भ्रम छरेपनि उसको सही उत्तर भनेको स्वार्थका लागि हो ।
झण्डै दुईतिहाइको सरकार, संविधान नै संशोधन गर्न सक्ने क्षमतामा पुगेको बेलामा राणाहरुले झैँ आफ्ना वरिपरीका आसे पासेहरुलाई विभिन्न पद दिएर स्वार्थ लिन खोजेकै कारण कम्यूनिष्टको एकता भाँडिएको कुरालाई यिनीहरुले जति नै लुकाउन खोजेपनि त्यो लुक्दैन । त्यसको बलियो प्रमाणको रुपमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्य छान्ने क्रममा केपी ओलीले जुन टिके प्रवृत्तिको सुरुवात गरे त्यसले पनि पुष्टि गर्दैन र ?
माओवादी केन्द्रका नेता प्रचण्ड जे पायो त्यही बोल्छन् र अवसर पाएको खण्डमा उनी जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा स्पष्ट छ । १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर एमालेलाई विशाल पार्टीका रुपमा संगठन विस्तार गर्ने माधव नेपाल प्रति ओलीले लगाएका आरोपहरुले उनी सँगै बस्न नसक्ने अवस्थामा पुगेका रहेछन् भन्ने कुरा चितवनको महाधिवेशन उदाहरणको रुपमा देखिएन र ? पार्टी भित्रका कार्यकर्ताहरुलाई गरेको ठेलमठेल कस्तो रहेछ भन्ने स्पष्ट भइसकेपछि आफूलाई सहज हुने कमिटी निर्माण हुनुमा कुनै आश्चर्य मान्नु पर्दैन । यो सब स्वार्थका लागि बाहेक अरु केही पनि होइन । जसले गर्दा बहुदलीय प्रणाली लोकतान्त्रिक शासन व्यवस्थाको मात्र होइन गणतन्त्रको समेत खिल्ली उडेको छ ।
यदि कम्यूनिष्टहरु आ–आफ्नो स्वार्थबाट माथि उठेर देश विकास र जनताको सुखलाई हितमा राखेर काम गर्नुपर्छ । जसका लागि उनीहरुले स्वार्थ त्याग्नै पर्दछ । होइन भने नेपालमा कम्यूनिष्टको नाममा मुकुण्डोधारीहरु बनेर राज्यको सम्पत्ति लुट्नु बाहेक यिनीहरुको अरु काम रहेनछ भन्ने कुरालाई जनताले राम्रोसँग बुझ्न आवश्यक छ । अनि त्यसको उत्तर निर्वाचनमा जनताले नै दिनुपर्दछ । होइन भने जनताले सोचेको जस्तो सुख पाउन गाह्रो छ भने देशले विकास पाउन ।
काँग्रेसको चरित्र लोभी नभई दिएको भए आज देश विकासको गतिमा अघि बढिसकेको हुने थियो । विपीले प्रतिपादन गरेको सिद्धान्तको ब्याज खाएर हामी काँग्रेसी हौ भन्दै लोभी मन लुकाउँदै हात्तिका देखाउने दाँत जस्तै जनतालाई भ्रममा हाल्ने प्रवृत्तिको अन्त्य नभएसम्म काँग्रेसबाट जनताले सुखको आश गर्नु र देशले विकासको आश गर्नु आकाशको फल जस्तै हो ।
आफ्नै पार्टीको आन्तरिक निर्वाचनमा काँग्रेसले देखाएको हर्कतले आउँदो निर्वाचनमा कतिको असर गर्ला त्यो त हेर्न बाँकी नै छ । तरपनि पार्टीको आन्तरिक निर्वाचनकै लागि लाखौको रकम चलखेल गर्नेहरुको लोभ कहिल्यै भरिने छैन । आफ्नासँग लड्दा लाखौ खर्च गर्नेहरु प्रतिपक्ष दलहरुसँगको निर्वाचनमा कति खर्च गर्लान् ? जसले गर्दा यिनीहरु देशमा विकास र जनतामा सुख होइन आफ्नो लोभको भाँडो भर्न उद्दत रहनेछन् ।
आफूलाई तेस्रो शक्तिको रुपमा उभ्याउने प्रयासमा रहेको राप्रपा त पापी नै रहेछ । संविधान सभामा २५ सिटमा रहेको राप्रपाले आफ्नो एजेण्डा माथि नै बलात्कार गरेर अघि बढेको पापले गर्दा अहिले एमालेबाट दाइजो पाएको एक सिटमा खुम्चिनु परेको छ । हिन्दु राष्ट्र र राजतन्त्रको नारालाई लगाउने राप्रपा राजतन्त्र फाल्नका लागि प्रमुख भूमिका खेल्ने कम्यूनिष्टहरुको नेतृत्वमा सरकार जानु हिन्दुले गाई काटे बराबरको पाप गर्नु होइन र ? कमल थापाले आफू उपप्रधानमन्त्री हुने लोभमा गरेको पापबाट मुक्त हुनका लागि धेरै ठूला राजनीतिक यज्ञहरु गर्नु आवश्यक छ ।
इतिहासलाई इतिहासमै सिमित रहन दिनुपर्छ र नयाँ शिराबाट अगाडि बढ्नु पर्छ भन्ने चेतनाको विकास राप्रपामा कहिले होला ? आफैले गरेको पापको कुण्डमा कमल थापालगायतका नेताहरु पर्नु परिरहेको बेला राप्रपाको एकता अधिवेशनले उनलाई अध्यक्षमा नराम्रोसँग पराजित गरोस् ।






