Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

श्रीपञ्चमी र विद्याकी देवी सरस्वती

कुनैपनि धर्म आफैमा सानो ठूलो भन्ने हुँदैन । कुनैपनि धर्मालम्बीहरु कोही उँच र कोही निच हुँदैनन् । जुनसुकै धर्मालम्बीहरुले जुनसुकै नामले पुकारेपनि भगवान अर्थात् इश्वरको रुप एउटै हो । धर्म र भाषाको कारणका मात्र फरक फरक नामहरु हुने गर्दछन् । निर्विवाद रुपमा सत्य के हो भने विश्वको सबैभन्दा पुरानो धर्म हिन्दु हो । सबैभन्दा पुरानो धर्म हिन्दु भएका कारण धेरै कुराहरु हिन्दु धर्मबाट नै सर्दै आएका हुन भन्ने कुरालाई कसैले सहर्ष स्वीकार गर्दछन् भने कसैले मनले मात्र ।


अन्य धर्महरुको दाँजोमा हिन्दु धर्म यसका कारण उदार छ कि यसले कुनैपनि कुरामा बन्देज लगाएको छैन । धार्मिक ग्रन्थ भनेका धर्मका संविधान हुन् । ती धार्मिक संविधानहरु निर्माण गर्ने क्रममा पनि विभिन्न ऋषिहरुले विभिन्न अप्ठ्याराहरुलाई आंकलन गरेर निर्माण गरेको पाइन्छ । हिन्दु धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ भनेको बेद नै । बेदबाट नै उपवेद, पुराण लगायत अन्य ग्रन्थहरुको निर्माण भएको हो । ज्योतिषशास्त्र पनि बेदकै एउटा अंग हो ।

लेखकः ज्यो. खगेन्द्र अधिकारी

बेदलाई मुख्यगरी दुई भागमा विभाजन गरिएको छ । कर्मकाण्ड र ज्ञानकाण्ड । कर्मकाण्डले कर्म गर्न सिकाउँछ भने ज्ञानकाण्डले कर्मकाण्ड गर्दा के कसरी कुन समयमा गर्नुपर्छ भन्ने कुरा सिकाउँछ । त्यही ज्ञान काण्डको माध्यमले गरिने कर्मकाण्ड फलिफाप हुन्छ भन्ने कुरालाई आधार मानेर हिन्दु धर्मले यो संसारमा भएका सम्पूर्ण चराचरलाई भगवानको रुपमा परिभाषित गरेको छ । राम्रो काम गर्नेलाई भगवान र नराम्रो काम गर्नेलाई राक्षसको रुपमा हिन्दु धर्मले परिभाषित गरेको कुरालाई कसैले लुकाएर लुकाउनै सक्दैन ।

ऋषि पुलस्तस्यको नाती ब्राह्मण कूलमा जन्मेको एउटा महान त्यागी, तपस्वि, ध्यानी र ज्ञानि भएर पनि आफ्नो शक्ति, बल, पराक्रम र धनको आडमा अन्याय र अत्याचार गरेको कारण रावण राक्षसको रुपमा चिनियो भने एउटा क्षेत्रीय वंशमा जन्मेर कहिल्यै झुट नबोल्ने सत्यको मार्गमा लम्किने अनि सबैको उद्दार गर्ने भएका कारण राम भगवानको रुपमा पूजिए । आखिर यी मानव रुपमा जन्मेका हुन् । यसले हामीलाई के के शिक्षा दिएको छ भने हामीले पनि लोककल्याणका लागि काम गरिएको भने भगवानले पाउने आदर सम्मान प्राप्त गर्न सक्छौ भने लोकलाई दुःख दिने कार्य गरेमा अर्थात् पाप कर्म गरेमा राक्षस जस्तो प्रबृत्तिका कारण राक्षसकै उपमा प्राप्त गर्नेछौ ।

वर्तमान परिस्थितिमा मान्छेहरु कोही आफ्नै वंश, गोत्र भित्र पनि बलात्कारका घटनाहरु घटाइरहेका छन् ती राक्षसहरु हुन् । हामी नै भन्ने गर्दछौ कस्तो राक्षस रहेछ । यसले गर्दा हामीलाई सुमार्गमा हिड्न मद्दत गर्दछ । कुकर्म गर्नबाट बचाउँछ । अनि राक्षस रुप भनेको हत्या हिंसामा उत्रिनु पनि हो । हामीलाई हत्या हिंसामा उत्रिनबाट पनि बचाउने गर्दछ । तर पछिल्ला समयमा धर्मलाई कुप्रचार गरेर अझ स्पष्ट भाषामा भन्ने हो भने राजनीतिक रुपमा स्वार्थ पूरा गर्नका लागि धर्मको दोहन गरेर आफ्नो भोट बैंकको स्थापनाका लागि जुन जुन नकारात्मक गतिविधिहरु भइरहेका छन् त्यसले समाजमा खलल पु¥याएको छ । जुन गलत छ ।

जातीयताका नाममा गरिने विभेदले समाजलाई नराम्रो कालखण्डमा लगिदियो । यहाँ बुझुन् पर्ने महत्वपूर्ण कुरा के छ भने हिन्दु धर्मका कुनैपनि ग्रन्थमा जातीयताको कुरा उल्लेख छैन । किनकी ऋषिहरुले जब ग्रन्थहरु लेखे त्यत्तिबेला जातीयता नै थिएन । त्यसैले त ऋषिहरुका नामहरु छन् तर जात छैनन् । आफू भन्दा कमजोरहरुलाई शोषण गर्नका लागि दमन गर्नका लागि बनाइएको जातीयतालाई धर्मसँग जोडेर कुप्रचार गर्नेहरु नै राक्षस हुन् । जसरी सीताको हरण गरेर रावणले रामको हातबाट मारिनु परेको थियो त्यसरी नै राजनीतिक रुपमा धर्मको कुप्रचार गरेर समाजलाई विखण्डन गर्नेहरुको पनि नाश अवश्य हुनेछ ।

हिन्दु धर्मको विरोधका लागि निर्माण गरिएको अर्को अस्त्र हो बलि पूजा । हामीले हाम्रा धार्मिक ग्रन्थहरुको अध्ययन गर्न आवश्यक छ । धार्मिक ग्रन्थमा बलि पूजा गर्नु काटमार गर्नु भन्ने नै छैन । अनि त्यसो भए देवीका शक्तिपीठहरुमा किन बलि पूजा गरिन्छ त ? पाठकहरुका मनमा प्रश्न आउनु स्वभाविक हो । देवीलाई बलि पूजा गरिँदैन । देवीको बहानको रुपमा रहेको सिंहको लागि बलि दिने गरिन्छ । त्यो पूजारीहरुले देवीको पूजा गर्दैगर्दा उनको बहानको लागि पनि केही न केही त दिन आवश्यक छ भनि सिंहले रगत मासु खाने भएका कारण बलिपूजा गर्न थालिएको हो । यसमा ठूलो विरोध गर्नुभन्दा पनि सहिष्णुता पूर्वक यसलाई परिमार्जन गर्नु आवश्यक छ । तर आफूले गाई काटेर खान पाउनु पर्छ भन्नेहरुले बलिपूजा गर्न पाइँदैन भनेर धर्म माथि आक्रमण गर्नु साप्रदायिक रुपमा दंगा फैलाउनु बाहेक अरु केही होइन । भगवान बुद्धका अनुयायीहरु न मासु खान्छन् न काटमार गर्दछन् । बुद्धिष्ट हौ भन्ने अनि गाई गोरुको शिकार गर्नुपर्छ भन्नेहरुले यो चर्चामा आउने बाटो बाहेक अरु केही बनाएका छैनन् ।

हिन्दु धर्मको सत्यता पूर्वक अनुशरण गर्नेहरुले काटमार नै गदैनन् र गर्नुपनि हुँदैन भन्ने कुरालाई बुझ्न आवश्यक छ । किनकी हिन्दु धर्मले यो पृथ्वीम भएका सबै चीज बस्तु, प्राणीहरुम भगवानको आत्माले बास गरेको कुरा स्वीकार गर्दछ । त्यसैले एउटा निर्जिव ढुङ्गालाई त देवताको रुपमा पूजा गरिन्छ भने प्राणीको हत्या हिंसाको बारेमा सोच्नु पनि पाप हो भन्ने कुरा सम्झिनु पर्दछ । अर्को तर्फ कुनै एउटा मान्छेलाई देवत्वकरण गरेर पूजा गर्नुपर्दछ भन्ने मान्यता हिन्दु धर्ममा छैन । हामीले सजिलै व्याख्या र विश्लेषण गर्न सक्छौ । हिन्दुको प्रमुख देवता को त ? कोही पनि छैनन् । तर सबै छन् । धनकी देवी लक्ष्मी । विधाकी देवी सरस्वती । शक्तिकी देवी दुर्गा । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता, संहारकर्ता आदि आदि कार्यहरु छन् । त्यसैले यसमा प्रधानदेवता यही हो भन्ने छैन । आफ्नो कूल अनुसार कूलदेवता ।

गोरस दिने गाईलाई हामीले गौमाताको रुपमा पूजा गर्दछौ । हलो तानेर जमिन चिरेर अन्न उमार्नका लागि सहयोग गर्ने गोरुलाई गोरु तिहारको दिनमा पूजा गर्दछौ । घरको रक्षा गर्ने भएकाले कुकुरको पूजा गर्दछौ । सन्देश बहाक चराको रुपमा कागको पूजा गर्दछौ । विषालु किरा सर्पलाई नागदेवताको रुपमा पूजा गर्दछौ । त्यसरी नै कर्म अनुसारका पूजा पनि हुने गर्दछन् । विश्वकर्मा पूजा पनि हामी नै गर्दछौ भने ब्राह्मण पूजा पनि हामी नै गर्दछौ । क्षेत्रीयहरुलाई राजाको रुपमा विष्णुको स्वरुप मान्दछौ भने हिन्दु धर्म भित्र विभेद छैन । तर विभेदको श्रृजना गरेर आफ्नो दुनो सोझ्याउनेहरुले समाजलाई विगारेका छन् । त्यसका विरुद्धमा हामी एकजुट हुन आवश्यक छ ।

विद्याकी देवी सरस्वतीको महिमा अपरम्पार छ । ज्ञानको दिव्यज्योति प्रज्वलित गराई अन्धकारबाट उज्यालो तर्फ लैजाने शक्ति भनेकै सरस्वती हुन् । सरस्वती अर्थात् विद्या भन्दा ठूलो कुरा अरु छैन । जुन ज्ञानको ज्योति हो । समस्त कला जगत्की प्रतिमूर्ति, ज्ञानकी खानी सरस्वतीको उपासना बेदले पनि गरेको छ । हरेक ज्ञानका साधकहरु सरस्वतीका उपासक हुन् । सरस्वतीको कृपा विनाको ज्ञानको चक्षु खुल्दै खुल्दैन । आद्य शक्ति भगवतीका विभिन्न रुपहरु मध्य सरस्वती पनि एक रुप हुन् । संहार गर्ने महाकाली, पालन गर्ने महालक्ष्मी, ज्ञान प्रदान गर्ने महासरस्वती ।

चन्द्रमास अनुसार माघ शुक्ल पञ्चमीको दिन अर्थात् श्रीपञ्चमीको दिनलाई सरस्वतीको जन्मदिनका रुपमा पनि मनाउने गरिन्छ । जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतुको पुर्वसन्ध्या अर्थात् आरम्भको संकेत यसै दिनबाट हुने भएकाले पनि यसलाई वसन्त पञ्चमी भनिएको हो । वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिनमा गरिने प्रमुख कार्य भनेका एउटा माता सरस्वतीको पूजा गर्नु र अर्को विद्याको आरम्भ गर्नु नै हो । यसका अलावा नाक, कान छेड्ने गर्दछन् ।

सरस्वती श्रुति महति महीयताम् भनिएको छ । अर्थात् बेद भन्दा पनि सरस्वती महान छन् । किनकी बेदको रचना पनि सरस्वतीको कृपाबाटै भएको मान्यता छ । सरस्वती नः सुभगा मयस्करत् भनेर यजुर्वेदमा उल्लेख छ । अर्थात् सरस्वतीले हाम्रो यश कृतिलाई बढाउन भन्ने वैदिक ऋचाबाट पनि सरस्वतीको महिमाको बारेमा स्पष्ट हुने गर्दछ ।

माघ शुक्ल पञ्चमीका दिन शुद्ध स्नानपूर्वक भगवती सरस्वतीको मन्दिर गई विधिपूर्वक सरस्वतीको पूजा आराधना गरिन्छ यस दिन भगवतीको षोडशोपचारले विशेष पूजा हुने गर्नुपर्दछ । पूजा पश्चात् भगवती प्रति विद्याको वरदान माग्न स्तुति प्रार्थना गर्नुका साथै आ–आफ्ना कलाको प्रदर्शनी एवं अभ्यास पनि गरिन्छ । संगीतका पारखीहरू यस दिन वसन्त रागको गान गर्ने गर्दछन् । सरस्वतीको पूजा गर्नु भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प, चन्दन, अक्षताले मात्र खुशी हुन्नन् जसले विद्याको साधना गर्छ उसैका मुखमा सरस्वतीको वास हुन्छ ।

भगवान् श्रीकृष्णले भगवती सरस्वतीको पूजा गर्ने विधान बताउनु भएका कथा प्रसङ्ग पनि पाइन्छन् । महाकाली, महालक्ष्मी र महासरस्वती वास्तवमा एउटै आद्य शक्तिका स्वरूपहरू हुन् अर्थार्थीले महालक्ष्मीको उपासन गर्दछन् । शक्तिका उपासकले महाकालीको आराधना गर्दछन् भने ज्ञानका उपासक सरस्वतीको आराधना गर्दछन् । समस्त विद्या र कलाकी देवी सरस्वती हुन् ।

ब्राह्मी सरस्वतीका सात भेद मानिएका छन् । चिन्तमणि सरस्वती, ज्ञान सरस्वती, नीलसरस्वती, महासरस्वती, किनि सरस्वती, अन्तरिक्ष सरस्वती र घट सरस्वती । कार्य अनुसार भिन्न भिन्न सरस्वतीको आराधना हुने गर्दछ । शारदा सरस्वतीका पाँच भेद छन् जसअन्तर्गत वाणी सरस्वती, वागिश्वरी सरस्वती, वाचासरस्वती, वाकप्रदा सरस्वती र पारिजात सरस्वती । यसैगरी महासरस्वतीका पनि अनेक भेद पाइन्छन् । सन्ध्या सरस्वती, अनिरूद्ध सरस्वती आदि । ज्ञानका उपासकले आराधना गर्ने सरस्वती महासरस्वती हुन् । उनको महिमा गान वेद, उपनिषद, पुराण आदिले गरेका छन् । सरस्वतीका अनेक नाम भए पनि बाह्रवटा विशेष मानिन्छन् ।

प्रथमं भारती नाम द्वितीयं च सरस्वती । तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। पञ्चमं तु जगन्माता षष्ठं कात्यायनीति च । सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी ।। नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी । एकादशं चन्द्रघण्टा च द्वादशं भुवनेश्वरी ।। द्वादशैतानि नामानि त्रिसन्ध्यं यो पठेन्नरः । जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।

अर्थात् भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, कात्यायनी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी गरी सरस्वतीका बाह्र नाम प्रसिद्ध छन् ।

सरस्वतीको स्वरूप शुक्ल अर्थात् सेतो वर्णको छ । ज्ञानका माध्यमले जगत्मा व्याप्त भएकी सरस्वतीको वाहन हाँस हो । उनका चार हात रहेका छन् । हातमा वीणा, पुस्तक, अक्षमाला र वरदमुद्रा धारण गरेकी छिन् । यसरी सरस्वतीले हातमा लिएका हरेक वस्तुको आ–आफ्नै महिमा रहेको छ । हाँस विवेकको प्रतीक हो । हाँसमा दुध र पानी छुट्याउने विवेक रहेको हुन्छ । यसैगरी वीणा नादको प्रतीक हो । संगीत विधाको प्रतिनिधित्व वीणाले गरेको छ । कमल श्रीपञ्चमी र सरस्वती महिमा शान्तिको प्रतीक हो । सेतो कमलको फूलमाथि विराजमान सरस्वतीको हातमा रहेको वेदले ज्ञान अर्थात् पुस्तकको प्रतिनिधित्व गर्दछ । अक्षमालाले चिन्तनशील रहने प्रेरणा प्रदान गर्दछ भने वरदमुद्राले नित्य आशीष प्रदान गरेको छ । सेता वस्तु शुद्ध एवं पवित्रताका प्रतीक मानिन्छन् । सरस्वतीलाई ब्रह्मा, विष्णु र महेश्वरले पनि आराधना गरेको कथा प्रसङ्ग पाइन्छ ।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निः शेषजाड्यापहा ।।

अर्थात् श्वेत कमलमा विराजमान, चन्द्रमा जस्तै स्वच्छ स्फटिकको माला गलामा सुशोभित भएकी, स्वच्छ सेतो वस्त्रले वेष्टित वरदमुद्रायुक्त वीणाघारी सरस्वती सेतो कमलको फूलमा विराजमान हुनुहुन्छ जसलाई ब्रह्मा, विष्णु, शहूर आदि गरिएका देवताले पनि विशेष वन्दना गर्दछन् । यस्ती भगवती सरस्वतीले हाम्रो जड अन्धकाररूपी अज्ञानलाई हटाउनुहोस् भनी गरिएको प्रार्थनाबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ ।

सरस्वतीको पूजा भनेको विद्याको उपासना हो । सरस्वती केवल पुष्प, चन्दन, अक्षताले मात्र खुशी हुन्नन् । जसले विद्याको साधना गर्छ उसैका सरस्वतीको वास हुन्छ अथक परिश्रम र मेहनत नै सरस्वतीको अर्को नाम मुखमा हो । भगवतीको पूजा आराधना भनेको नै विद्याको चिन्तन, अध्ययन, मनन र अभ्यास हो । भगवतीको मन्दिरमा गई पूजा गर्नु भनेको अध्ययनतर्फ स्वच जगाउन मनलाई प्रेरित गर्नु हो अर्थात् पवित्र पार्नु हो । जबसम्म हाम्रो मन पवित्र हुन सक्दैन तबसम्म हामी केही पनि गर्न सक्दैनौ अतः वसन्त पञ्चमीका दिन भगवतीको विशेष पूजा आराधना गरी मनलाई शुद्ध बनाउने यत्न गरिन्छ । पवित्र मनले गरेको चिन्तन नै सार्थक हुने भएकाले सरस्वती पवित्रताकी पनि प्रतीक हुन् भन्ने कुरा डा. नारायणप्रसाद निरौलाले आफ्नो संस्कार सुलोचनामा पनि उल्लेख गर्नुभएको छ । जसको आराधनाले जीवन सार्थक हुने गर्दछ । यही नै सरस्वतीको सच्चा पूजा आराधना हो ।