Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

प्रविधिका कारण स्थानीय संस्कृति हराउँदै

सुर्खेत ।
हण बैनई घाँस काट्न गैजाउँ गउथल्या र मेली
यसै दिन बाइजान्या हुन्क्या हाँस्दै खेली खेली ।

कुनै समय गाउँघरमा घन्किने देउडा भाकाको टुक्का हो यो । जतिबेला गाउँमा प्रविधि पुगेको थिएन त्यत्ति बेला गाउँमा आफ्नै मनोरञ्जनका माध्यमहरु थिए । तर समय फेरिएसँगै भएको प्रविधिको विकासका कारण गाउँमा टेप–रेकर्डरदेखि रेडियोमा बज्ने गीतहरु सुन्ने गरेकाहरु अहिलेको समयसम्म आइपुग्दा मोवाइलमै व्यस्त हुन थालेका छन् । सामाजिक सञ्जालले पनि यस्ता स्थानीय मनोरञ्जनलाई ओझेल पार्नमा भूमिका खेलेको छ ।

तस्विरः सुर्खेतको देउडा खेल ।

पशु चौपाया पालनमा कमी आएसँगै घाँस काट्नेहरुको संख्यामा कमी आउनु स्वभाविक होला तर गाउँघरमा हुने विभिन्न उत्सवहरुमा समेत प्रविधिकै प्रयोगले गर्दा स्थानीय मनोरञ्जनहरु हराउन थालेका छन् । दैलेखको भगवतीमाई गाउँपालिकामा कुनै समय तीजको अवसरमा होस् कि तिहारको अवसरमा होस् अथवा कसैको विवाहमा होस् कि कसैको पूजामा । त्यत्तिबेला घन्किने गीतहरु समेत ओझेलमा पर्न थालेका छन् ।

आजभोली हुने नाचगान समेत मोवाइलबाट ठूल्ठूला साउण्ड सिष्टमहरुमा बज्ने गीतका कारण ओझेलमा पर्न थालेको बताउछन् भगवतीमाई ४ का प्रेमबहादुर बुढा । कुनै समयमा दिदीबहिनीहरुले तीजमा आफ्ना दुःख पीडाहरुलाई गीतको माध्यमबाट सुरिलो भाकामा ओकल्दै कम्मर मर्काइ–मर्काइ नाच्ने गर्दथे । तर आजभोली छोरीचेलीहरु डेग बजाएर नाच्ने गर्दछन् अनि के को तीजको रौनक आउनु ? तिहारको समयमा विभिन्न झुण्डहरुमा खेलिने देउडादेखी ढोटेमांगलले तिहार साँच्चिकै तिहार जस्तो हुन्थ्यो आजभोली डेग बजायो देउसी र भैलो भन्यो अनि पाएको दक्षिणालाई समेत वनभोज खाने नाममा उडायो । यसले गर्दा हाम्रा मौलिक संस्कृतिहरु समेत हराउन थालेको बुढाको बुझाई छ ।

विवाहको बेलामा ‘नरोउ नरोउ दुलही नानी माइती घरको आमैलाई सम्झेर’ भन्ने गीत त इतिहासमै सिमित जस्तै भइसकेको छ । जति बेला दुलही अन्माएर माइतीको आगनबाट पठाइन्थ्यो दुलही रुँदै रुँदै डोलीमा चढ्थिन् त्यतिबेला यस्ता गीतहरुले माइती पक्षलाई मात्रै होइन जन्ती पक्षलाई समेत आँसु थाम्न धौ–धौ बनाउथे । तर आजभोली त्यस्तो रौनक नै हुँदैन भन्छन् भगवतीमाई ५ कट्टिका कृष्णबहादुर शाही ।

दैलेख आफैमा धार्मिक र संस्कृति रुपमा महत्वपूर्ण जिल्ला हो । नेपाली भाषाको उद्गमस्थल कर्णालीको जुम्ला भएपनि नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा छ । पञ्चकोशीको जिल्लाको रुपमा चिनिएको दैलेखमा भएका अथाह लोकसंस्कृतिहरु लोप हुने खतरा छ भन्छन् कर्णाली प्रदेश सभा सदस्य सुशील थापा । पञ्चकोशी सर्किटको नाममा बजेटको व्यवस्थापन गरेको बताउँदै दैलेखको मौलिकता र ऐतिहासिकता झल्किने गरी संरचनाहरुको निर्माण गर्न जरुरी छ थापाले बताए ।

आजको युवा पिढीले स्थानीय कला संस्कृति बिर्सिन थालेकोमा चिन्ता व्यक्त गर्दै थापाले भने ‘हामीले हाम्रा स्थानीय मनोरञ्जनलाई संस्थागत गर्न जरुरी छ । स्थानीय लोकसंस्कृतिमा जोड दिँदै यसको संरक्षण र सम्वद्र्धनमा नलाग्ने हो भने भोली इतिहासमा मात्रै सिमित रहन सक्छ । त्यसैले यसमा स्थानीय सरकारले पनि त्यत्तिकै चासो र चिन्ता गर्न आवश्यक छ ।’ श्रीस्थान, कोटिला, पादुका तथा तल्लोडुङ्गेश्वरमा काम नै सुरु भएसकेको थापाले बताए । स्थानीय वस्तुको प्रयोगमा समेत जोड दिन आवश्यक भएको सदस्य थापाको भनाई छ । स्थानीय कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि नयाँ र पुराना दुबै पुस्तालाई सँगसँगै आवद्ध गरेर स्थानीय कला संस्कृतिमा प्रतिस्पर्धा गराउनु र पुरस्कृत गराएमा पनि त्यसको जगेर्ना र संरक्षणमा टेवा पुग्ने थापाले बताए ।

सुर्खेत, कर्णाली प्रदेशको राजधानीको रुपमा विकसित भइसकेको छ । प्रदेश सरकारले सुर्खेतलाई प्रदेशको राजधानी घोषणासँगै यहाँको जनघनत्वमा बृद्धि भयो । जग्गाको मूल्यमा बृद्धि भयो तर यहाँका मान्छेहरुमा स्थानीय कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने कुरामा बृद्धि हुन सकेन । सुर्खेत उपत्यकाको जग्गालाई टुक्रा–टुक्रा बनाएर सक्नमा व्यस्त भएका मान्छेहरु कहाँबाट स्थानीय मनोरञ्जनको संरक्षणमा जुट्नु भन्छन् वीरेन्द्रनगर ११ का भक्तबहादुर बुढा ।

सुर्खेतको खुला मञ्चमा देउडा संरक्षणका लागि भन्दै प्रत्येक महिनाको १ र १५ गते देउडा खेलिने गरिन्छ । जसका कारण पनि देउडाको संरक्षणको क्षेत्रमा केही सहयोग पुगेको बताउछन् देउडा गायक शेरबहादुर खड्का ।