Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

विगत सम्झाउने ‘हटारु’ पढ्दा

चिरपरिचित मान्छे ओम रिजाल । पेशाले नेपाल सरकारको जागिरे भए पनि सम्बन्धले हामी साहित्यमार्फत जोडिएका हौं । साहित्यले हाम्रो सम्बन्ध मात्र जोडेन एक अर्काको रचनाप्रति मोह पनि बढाइदियो । २०६४ तिर रेडियो पञ्चकोशीमा रिजाल प्रस्तोता रहेको कार्यक्रम ‘स्वीना’ सुन्दै गर्दा म रिजालको प्रसंसक भएको थिएँ ।

खगेन्द्र अधिकारी ‘अमृत’

रिजालको यात्रा संस्मरण ‘रुँदै बग्दो छ मुगु कर्नाली’ पढेपछि मलाई लाग्यो उनले एउटा गज्जबको उपन्यास लेखेको भए धित मरुन्जेल पढिन्थ्यो होला । त्यही प्रसंगसँगै भएको भलाकुसारीले ओम रिजाल उपन्यास ल्याउनका लागि हाट जान लागेको सुइँको पाएको थिएँ मैले । त्यसैले त बारम्बार घच्घच्याउथे उनलाई हाट गएको ‘हटारु’ कहिले आउँछ भनेर ।

‘हटारु’ आयो रे काठमाडौंमा, सामाजिक सञ्जालमार्फत थाह पाएँ । मन आत्तियो सुर्खेत कहिले आउला ? नववर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते चिलगाडी चढेर ‘हटारु’ सुर्खेत आयो ।

उहिलेका हटारुले पिपलमेट र गुड बोकेका हुन्थे । डोकोभरि वर्ष दिनका लागि नूनदेखि सुनसम्म बोकेका हुन्थे त्यसैले चुँइक् चुँइक् आवाजसँगैको भारी बोकेर आउथे । तर ओम रिजालको ‘हटारु’ मन बोकेर आएको छ । जीवन उकाली ओराली गर्दाका कथा, व्यथा मात्र होइन सिंगो इतिहास बोकेर आएको छ । हिजोको समाजको चित्र मात्र होइन आजको समाजको चरित्र पनि बोकेर आएको छ । जातीयताका कारण भोग्नु परेका प्रताडनाहरु बोकेर आएको छ । सानालाई ऐन र ठूलालाई चैनको भएको र भइरहेको कथा बोकेर आएको छ । अझ धेरै त लैङ्गिक विभेदका कारण सहनु परेको दर्दंनाक कथा बोकेर आएको छ । माटो र संस्कृतिको सुगन्धबोकेर आएको छ ।

साँच्चिकै भन्ने हो भने ‘हटारु’ अध्ययनको सुरुवात कहाँबाट गरौं र कहिले गरौ भन्ने लागेको थियो । लेखककै हातबाट प्राप्त पुस्तक साँझ घरमा पुग्न साथ सुरु गर्न मलाई कसैले रोक्ने कुरै भएन । अगाडिको कभरपश्चात् पछाडिको कभरमा भएको लेखकको फोटो हेरें । त्यसपछि तल लेखिएका शब्दमा दौडाएँ आँखाहरुः ‘हटारु’ उपन्यास पश्चिम नेपालको मूलतः दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुति हो । नेपाली भाषा र नेपाली थरहरुको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा विस्तारै लोप हुँदै गएको संस्कृति र सभ्यतालाई यसमा मीठो–मसीनोसँग आख्यानीकरण गरिएको छ । ऐतिहासिकता, सामाजिकता, नारीकेन्द्री प्रगतिशीलताको चास्नीमा डुबाइएको ‘हटारु’ले हरेक पाठकको जिब्रोदेखि मन–मस्तिष्कमा स्थायी बास गर्नेछ ।’ यी शब्दहरु पढ्नुभन्दा पहिले नै ‘हटारु’ शब्दले बास गरिसकेको मेरो दिमागमा अब पुरै उपन्यासले बास गर्ने तरखर ग¥यो अनि बल्ल पुगे अगाडि ‘अब कथा सुरु हुन्छ’ मा ।

सान्ज्याले कथा सुनाउँदै गर्दा म ‘हटारु’ का कथाहरु पढ्दै गएँ । कुनै समयमा मलाई मेरी जियाले सुनाएका जस्तै कथाहरु पढ्न थालेपछि लाग्यो लेखकले यो उहिलेको कथा होइन अहिलेकै कथा लेखेका रहेछन् । किनकी सुनकेशा मात्र जंगलमा जन्मेकी होइन । प्रसव व्यथाले च्यापेको बेलामा सुनकेशाकी आमा मात्र एक्लै थिइनन् । म पनि जंगलमा जन्मेको हुँ । मेरी आमाले पनि मलाई जन्माउँदाको प्रसव पीडामा घाँसको भारीमा खुट्टा अड्याएकी थिइन् रे । त्यसैले मलाई लाग्यो पश्चिम नेपालको दैलेख मात्र होइन सिंगो पश्चिम नेपालकै यथार्थलाई लेखकले कथात्मक र कलात्मक रुपमा उनिदिएको २७० (पेज) वटा फूलहरुको माला हो ‘हटारु’ ।

हाम्रो समाजमा यस्ता मसीले नलेखिएका कथाहरु कति होलान् कति । सुनकेशाकी जियाले छोरो नपाउँदा खेप्नु परेका पीडाहरु भन्दा मेरी जियाले छोरो पाएर पनि खेप्नु परेका पीडाहरु कति होलान् कति । ‘हटारु’ मा भएका कथाहरु पढ्दै जाने क्रममा मलाई लाग्यो लेखकले यो मेरो कथा लेखिदिएका रहेछन् । सुनकेशाकी जिया जस्तै परलोक गइसकेकी मेरी जियालाई सम्झेर निक्कै भक्कानीएँ म पनि । यथार्थताले छुँदोरहेछ मान्छेलाई । आँखै अगाडि उभिँदोरहेछ विगत । आउँदारहेछन् सम्झनाका ताँतीहरु । कथा पढ्दै गर्दा पनि कहिलेकाँही बग्दोरहेछ अविरल कर्णाली आँखाको बाटो भएर । ‘हटारु’ पढेपछिको मेरो यथार्थता हो यो । चलचित्रका पर्दामा बग्ने कथाहरुभन्दा सुनेका, देखेका र भोगेका कथाहरु अथाह हुँदारहेछन् । त्यसैले त सुनकेशाकी जियाले भनेकी थिइन् ‘तनको ठेस मनको ठेसको अगाडि केही दुख्दो रहेनछ बाबै ।’

दाउराको भारी छेउमा राखेर सुनकेशालाई जन्माएकी सुनकेशाकी जियाले दूध चुसाउँदा दूध नझरेपछि जसरी रोएकी थिई सुनेकशा घाँसको भारी छेउमा राखेर मलाई जन्माएकी मेरी जियाले पनि मलाई दूध चुसाउँदा झरेका थिएनन् मेरी जियाका दूधका धारा । सायद म पनि सुनकेशा जस्तै बेस्सरी रोएको थिएँ हुँला । त्यसैले मेरी जियाले जंगलमा चरिरहेको बाख्रो दुहेर तिमिलाको पातभरि दूध ल्याई मलाई पिलाइदिएकी थिइन् रे । अनि मेरो भोक शान्त भएको थियो रे । पेट शान्त भएपछि रुवाइँ पनि शान्त भएको थियो रे । मेरी जियाले मलाई भनेकी थिइन् मेरोभन्दा पहिले तैले बाख्राको दूध खाएर आफ्नो भोक मेटाएको थिइस् । त्यसैले त मैले बाख्राको मासु जीवनमा खाएको छैन र खानेपनि छैन ।

‘हटारु’ को कथा मसँग मात्र मिलेको हो या दुनियाँसँग मिल्छ त्यो मलाई थाह छैन । घरमा कुकुर ब्याउँदा भात रोटी पाउथ्यो । गाई भैसी ब्याउँदा हरियो घाँस पाउथ्यो तर मेरी जियाले सुत्केरी भएको पहिलो दिन भोकै बसेकी थिइन् रे । जसरी सुनकेशाका आमा छोरी गोठको चिसोमा बस्न बाध्य थिए । आफू मरेर सन्तान बचाउने भएकाले नै जियालाई जिउँदो भगवान भनिएको हो । भगवान हुन् भने जिया हुन् । धातु र ढुङ्गाका मूर्ति त आस्था र विश्वास हुन् । सत्य जियाभन्दा अरु कोही हुँदै होइनन् । लेखकले ‘हटारु’ मा लेखेका छन्, ‘हटारुले गाएको देउडा गीत सुनेर जिया झन् भक्कानिइन् । कसैले आफ्नो जस्तै पीर गाइदियो भने बेस्सरी भक्कानिँदो रहेछ मान्छे ।’ हो त्यसैले म पनि भक्कानिएँ किनकी लेखकले ‘हटारु’ मा मेरो कथा लेखिदिएका रहेछन् ।

मेरो जीवनसँग मेल खाने कथाको अर्को पाटो निकै बलियो ढंगले लेखकले प्रस्तुत गरेका छन् । त्यो हो गाउँका ठालु, मुखिया, जिम्बवाल, तालुकदार, जमिनदारको कथा । सुनकेशाले जसरी आफूभन्दा एक बीस बढि उमेरको लोग्नेसँग प्रतिवाद गर्न नसकेर १४ वर्षे कलियो योवन पिडैपीडाका बीच ३४ वर्षे श्रीमान्लाई सुम्पेकी थिई । त्यो उसको विवशता थियो । ऊ चाहेर पनि कसैलाई भन्न सक्थिन । मेरी जियाले घरमा भोग्नु परेका दुःख कष्टहरु चाहेर पनि कसैलाई भन्न सक्थिनन् । किनकी उनी जमिनदार (जम्दार, गाउँका मुखिया) की बुहारी थिइन् । त्यसैले सहेकी थिइन् चुपचाप बुहार्तन ।

‘हटारु’ नारीवादी उपन्यास हो ।यहाँ नारीले नारीमाथि गरिएको विभेदलाई यथार्थपरक ढंगले चित्रण गरिएको छ । छोरी पाएकै कारण सासुबाट बुहारीले पीडा खेप्नु परेको छ । अपहेलित हुनु परेको छ । आज पनि समाजमा व्याप्त छ यो रोग । भलै प्रविधिको जमाना भएका कारण धेरै छोरीहरु संसार देख्नै नपाई आमाको पेटभित्र मर्न विवश छन् । अशिक्षित भन्दा शिक्षित वर्ग यो कार्यमा बढि संलग्न छ । अनि तिनैले छोरा र छोरी दुबै बराबरी भएको नारा लगाउँछन् , पातकीहरु । यथार्थपरक घटनाक्रमलाई कलात्मक ढंगले व्याख्या गरेर लेखकले विभिन्न पात्रहरुलाई बोल्न लगाएका छन् उपन्यासमा । सत्यतामा आधारित रहेर उनले उपन्यासलाई कालान्तरमा पनि जीवन्त राख्नका लागि वैज्ञानिक रुपमा प्रमाणित भएका तथ्यदेखि सामाजिक रुपमा भोगिरहेका यथार्थतालाई प्रष्ट ढंगबाट शब्द बुनेका छन् । रामायण, महाभारत, गीता जस्ता कृतिहरु अहिलेपनि जीवन्त छन् । जसरी ‘हटारु’ मा लेखकले, ‘यस संसारमा जन्मने कुनै पनि प्राणी अजम्बरी छैन । छ भने जलमा गंगाजल, वृक्षमा वर र पीपल, माटोमा अयोध्याको भूमि, ग्रहमा तारा, चन्द्र र सूर्य, कला र सुन्दरतामा पाण्डवले निर्माण गरेका सतीदेवल र सिंहासनमा भगवान इन्द्रको धर्मगादी अमर छन् ।’ भन्ने कुरा उल्लेख गरेर उनले ‘हटारु’ लाई पनि कालान्तरसम्म जीवन्त राख्न सकिने चलाखी गरेको छन् । भनिन्छ, ‘रुदैनन् जल्नेहरु रुन्छन् त केवल जलाउनेहरु ।’ हटारुमा रिजाल लेख्छन् ‘मर्नेहरु त मरेर जान्छन् बाँच्नेहरुलाई मात्र हो रुनु पर्ने । मर्नेहरुलाई रुवाइका हिक्का सुन्ने कष्ट पनि हुँदैन ।’

ठूला ठालुहरुले गरेको जातीय विभाजनका कारण समाजले खेप्नु परेका पीडाहरुलाई उपन्यासमा सरल ढंगले प्रस्तुत गरिएको छ । चाहे त्यो उपाध्यायबाट जैसीहरुले खेप्नु परेको विभेद होस् या जैसीबाट खत्रीहरुले खेप्नु परेको विभेद होस् । यति मात्र होइन गैरदलित–गैरदलित बीचको विभेद र दलित–दलित बीचको विभेद अहिलेपनि समाजमा व्याप्त छ । दलित मुक्तिका लागि आवाज उठाउनेहरु आफैभित्रको विभेदको आवाज किन उठाउँदैनन् ? एउटा कामीले दमाइले छोएको खाँदैन भने एउटा दमाईले बादीले छोएको खाँदैन । आफूभित्रको विभेदको अन्त्य गरी अरुहरुका बीचमा जान सहज छैन । श्रम चल्ने, सीप चल्ने अनि ठूला ठालुका छोराहरुको मस्ती चल्ने तर पानी नचल्ने । यस्तै विभेदका कारण समुदायमा झन खलल भएको छ ।

उपन्यासमा लेखकले बाल पीडालाई उठाएका छन् । अष्टमीको दिनमा मासु लिनका लागि थाल बोकेर थाममा अडेस लागेकी सुनकेशाले मासु नपाउँदाको पीडालाई भित्रैदेखि मनन् गर्दा पाठकको मनलाई नराम्रोसँग दुखाइ दिएको छ । अर्को कुरा बाबु गुमाएकाहरुको पीडा पनि छ त्यहाँ । टुहुरोलाई कसले माया गर्छ र भन्ने सामाजिक संस्कारलाई लेखकले टपक्क टिपेर राखिदिएका छन् ।

उहिले अहिलेको जस्तो चौतर्फी संरचनाहरु थिएनन् । अहिले धर्म कमाउने नाममा खोक्रो आडम्बर देखाइन्छ । तर उहिलेका सभ्यताहरु सबै नराम्रा पनि थिएनन् । धर्म गर्ने नाममा पाटीपौवाहरु निर्माण हुन्थे । जहाँ बटुवाहरु बास बस्थे । चौताराहरु निर्माण हुन्थे, जहाँ उकाली ओराली गर्नेहरु एकछिन् भएपनि थकाई मार्थे । तर अहिले धर्मशाला, पाटीपौवा भत्काएर आफ्नो नीजि घर बनाउनेहरुको कमी छैन । उपन्यासमा उठाइएको यो यथार्थताले सरकारमा बस्नेहरुसमेतलाई झक्झकाउन सकोस् ।

धेरै थरहरुको उद्गमस्थल पनि हो दैलेख । ती थरसँग जोडेर लेखकले निकै कलात्मक रुपमा त्यसको व्याख्या गरेका छन् भने पञ्चकोशीको पवित्र भूमिको व्याख्या र विश्लेषणलाई अध्ययन गर्दा ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार सामग्री नै बनेको छ उपन्यास ।
प्रत्येक मान्छे जन्मिन्छ अनि बालक, युवा हुँदै ठूलो हुन्छ । त्यसैले प्रत्येक मान्छे बालक हुन्छ भने उसको बालचरित्रलाई सकेसम्म उसले सम्झेको हुन्छ । को होला र बालापनलाई सम्झना नगर्ने ? डण्डीबियो खेल्ने, स–साना खोलामा पौडी खेल्ने, वैशाख जेठको महिना विद्यालय जाँदा गहुँका रोटीमा आलु पोलेर बनाइएको अचार लिएर उन्यूको झाँगमुनी लुकाएर मन्घरको विद्यालयमा पढ्न जाने अनि विद्यालयबाट आधा बाटो आएपछि सबैले बाँडेर अर्नि खाने गरेको अवस्थालाई ताजा बनाइदियो उपन्यासले ।

जन्मेपछि मर्नुपर्छ सबैले एकदिन । आखिर जन्मनु नै मर्नका लागि हो । तर जन्म र मृत्यु बीचको समयको संघर्ष नै जीवन हो । त्यसैले जे गरिन्छ जन्मदेखि मृत्यू बीचको समयमा गरिन्छ । बाँच्ने बेलासम्म के के न गरौला भन्नेहरु , अर्काको जातच्युत गरेर रमाउनेहरु कसैको जातको थमौती गरिदिएर अकूत सम्पत्ति कमाउनेहरु पनि मर्नै पर्छ । त्यसैले बाँच्ने बेलासम्म सबैको भलो गर्न सकियो भने मात्र मान्छेको जीवन बाँचेको हुन्छ । ‘काल आइसक्यो भने निधन रोकिँदैन ’ यो धुब्रसत्य बोलेको छ हटारुले ।

समाजमा अहिलेपनि छोरा र छोरीको विहे पनि फरक फरक ढंगबाट गरिन्छ । त्यो लैङ्गिक विभेद हो । लैङ्गिक विभेदबाट अझै पनि मुक्ति पाउन सकेको छैन समाजले । सुनकेशाको विवाह कलिलै उमेरमा हुन्छ । त्यो समयको समाज र परिवेश अनुसार मिल्दो भएपनि विवाह गरेकै दिन दुलही नै नभित्र्याउने भन्ने प्रसंग भने त्यति सान्दर्भिक छैन । किनकी साटो कि साठी भन्ने युगमा भएपनि साटो नभई साठी तिरेर ल्याएकी भएपनि पहिलो दिन त बुहारी भित्र्याएको देखाएको भए अझ राम्रो हुने थियो । विस्तारै उसलाई हेला गर्ने गरेको, सासुले गर्ने व्यवहारमा परिवर्तन हुँदै गएर पछि खान नदिने र काममा दुःख दिने गरेको भए वातावरण सुहाउँदो हुन्थ्यो होला । विवाह गरेर ल्याएकी बुहारी ओटालामै छोडेर अरु भित्र बसेको प्रसंगमा लेखक कतै चुकेका हुन् वा त्यसलाई अझ पीडादायी बनाउने क्रममा त्यसो भएको हो ? अर्को कुरा सुनकेशाको माइती र पोइली घरको समय दुरी जम्मा तीन घण्टाको मात्र देखाइएको छ । तीन घण्टाको दुरी मात्र भएको ठाउँमा सुनकेशाले आफ्नी बुआ मरेको थाह पाउँदिन अनि हक्र्या मरेको थाह पाउदिन अझ भन्ने हो भने ६ वर्षसम्म माइती आउँदिन । उसलाई औसी सक्रान्तिमा मीठो मसिनो पु¥याउने कोही थिएनन् वा गएनन् । तर ६ वर्षसम्म माइतीमै नआउने कुराले अलि धेरै क्रुरता देखाउन खोजिएको हो कि ? अथवा रिजालले दैलेखी लोकसाहित्यका खजानाका आधारमा कथा बुन्दा यस्तो भएको हो ? उपन्यास पढ्दा यस्तै अनुभूति भयो ।

समाजमा विद्रोह गर्नेहरु हुन्छन् । भलै उनीहरुले लक्ष्य प्राप्त गर्न सक्लान् वा नसक्लान् । कुनै समयमा राणाहरुको विरोध नगरेको भए आजपनि देशमा राणा शासन हुन सक्थ्यो । तोयानाथ अधिकारीले हलो जोतेर बाहुनहरुले पनि हलो जोत्न हुन्छ भन्ने विद्रोह गरेका थिए । हटारुमा पनि गुरु नारायण शर्माले जुन प्रवचन दिएर जातीय विभेदको अन्त्यको लागि कदम उचाले त्यसले उनलाई क्षणिक रुपमा नोक्सान गरेपनि जातीय विभेदको अन्त्यका लागि आवाज त बुलंन्द भयो ।

आफ्नो माना चामल र आना पैसो गुम्ने खतरा देखेर ठालुहरु त्रसित भएका थिए । त्यति मात्र होइन सामाजिक विभेदका कारण अहिलेपनि धर्म परिवर्तनलाई मलजल पुगिरहेकै छ । दैनिक पाश्चात्य संस्कृतिले हाम्रो संस्कृति र सभ्यता माथि प्रहार गरिरहेकै छ । एउटै धर्म र समुदाय भित्र पनि भएका विभिन्न नामका विभेदहरु नै यसको मुख्य कारण हुन् ।

आफन्तको विछोडमा मान्छेले खेप्नु पर्ने पीडाहरुलाई उपन्यासले आफ्नो छातिमा राखेको छ । जसले गर्दा पनि उपन्यास पढ्नेहरु कुनै न कुनै कोणबाट पनि उपन्यासलाई माया गर्दछन् र आफ्नै कथालाई मानसपटलमा घुमाउँछन् । आज भौतिक संरचनाको विकासक्रमले यायातातको विकासले घर दैलोकै पसलहरुमा नून पाइन्छ । हिजोका दिनहरुमा नूनका लागि कति दुःख गर्नु पर्दथ्यो । त्यो कुराको प्रसंगमा लेखकले वर्षैभरी अलिनो खाएर काटेको प्रसंगलाई निकै भावानात्मक रुपमा उल्लेख गरेका छन् ।

आज विभिन्न राजनीतिक पदका कारण होस् कि स्वार्थ र सत्ताका लागि होस् । हामीले हाम्रो भाषा, कला, संस्कृति र पहिचान बिर्सदै गएको छौ । ‘हटारु’ उपन्यासले दिएको सबैभन्दा ठूलो सन्देश नै गाउँले परिवेश अनि त्यहाँको जनजीवन, गाउँलेहरु भोग्नु परेको कथा व्यथासँगै ‘मान्छेले आफ्नो भाषा र संस्कृति बिर्सनुजस्तो अरु के होला र ?’ भन्ने कुरालाई उठाएका छन् । आज धर्म, संस्कृति, भाषा र कलाहरु हराउँदै गएका छन् । यी हराए हाम्रो संस्कृति नै मासिन्छ । संस्कृति मासिए पहिचान हराउने र पहिचान हराएपछि हाम्रो अस्तित्व पनि हराउने छ । त्यसैले सन्देश बहाकको रुपमा पनि ‘हटारु’ प्रत्येकका हातमा पु¥याउन आवश्यक छ । सबैका लागि पठनीय कृति बन्न सकेको छ ‘हटारु’ ।
माया, प्रेम, दुःख, सुखका बीचमा कहिले कर्णालीको सुसाहटमा त कहिले बालापन, कहिले जिम्मेवारी त कहिले कर्तव्यबोधका बीचमा सरसर्ती बगेको छ ‘हटारु’ । त्यसैले त लेखकले भनेका छन्, ‘मायाले हँसाउँदो मात्र रहनेछ पीडा पनि दिँदो रहेछ ।’

दैलेख आफैमा कला र संस्कृतिको धनी जिल्ला हो । यहाँ विभिन्न मेला जात्राहरु लाग्ने गर्दछन् । मेला र जात्राका आ–आफ्नै विशेषताहरु छन् । चाहे श्रीस्थानको जात्रा होस् या डाँडीमाडीको जात्रा होस् अथवा घोडाधाउनीको जात्रा नै किन नहोस् । के थियो हाम्रो समाज ? के थिए हाम्रा परम्पराहरु । कति राम्रा थिए र कति नराम्रा थिए भन्ने बारेमा वर्तमानको पुस्ताले समेत आधा बिर्सिसकेको छ सायद । भावि पुस्ताका लागि एउटा बलियो दस्तावेज बनेको छ ‘हटारु’ ।

यो नारीवादी उपन्यास भएकैले पनि नारीले खेप्नु परेको हरेक सुख दुःखहरुको वर्णन हुनु स्वभाविक हो । तर नारी नारीबाटै प्रताडित हुन्छन् भन्ने कुरा सुनकेशाले व्यहोर्नु परेको सौताको कहानीले पनि स्पष्ट पारेको छ । नारीको रुपमा लठ्ठिनेहरुका कारण नै समाजमा अझ नारीहरुले बढि दुःख र कष्टहरु भोग्नु परेको छ । ‘एक मुस्कानबाट सुरु भएर सयौं चीत्कारमा टुङ्गिने अपराध रहेछ माया ।’ मायामा प्राप्ति गर्न नसकेकाहरुको परिभाषा हो यो । कसैले मुस्कानसँगै जोडिएको माया सफल पनि भएका छन् । तर साँच्चिकै सफल हुने मायाहरु नगन्य छन् ।
समाजलाई सही ढंगले चलायमान बनाउनका लागि पढे लेखेकाहरुबाट पनि कुकर्म हुने गर्दछन् । पढे लेखेकै मान्छेहरुका आमाबाबु आज वृद्धाश्रममा बस्नु परेको छ । यो दोष कसको सोच्ने बेला भएन र ? किनकी सुनकेशाले पनि आफ्नो छोराप्रति गरेको आश र विश्वासमा समेत धोका भएको छ । पक्षघात भएको अवस्थामा समेत उनले साहारा नपाउनु भन्दा दुःखद के हुनसक्छ ? यहाँ अर्को कुरा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, ‘बाउज्यू ज्यूँदै हुँदा पनि तिमी टुहुरोजस्तै भयौ । टुहुरो हुन बाउज्यू मर्नै पर्दो रहेनछ ।’ आज पनि हाम्रो समाजमा बाबु ज्यूँदै हुँदा पनि कति टुहुरा बनेका छन् । तिनीहरुको कथा यहाँ प्रस्तुत भएको छ भने तिनीहरुले पनि जीवनमा केही गर्न सक्छन् भन्ने सान्त्वना पोखिएको छ ।

एउटी आमाले आफ्नो सन्तानको कहिल्यै कूभलो सोच्न सक्दिनन् । आज समाजमा त्यस्ता पापी आमाहरु पनि छन् जसले सन्तानलाई जन्म त दिन्छन् तर झाडीमा फ्याकि दिन्छन् ।

तर पनि उन्यूको झाडी भित्र बसेर आइतेसँग मागिएको सन्तानको भीखलाई ती जियाले त्यस्तो सोच्न सक्ने कुरै थिएन । जीवनको अन्तिम घिडीघिडीमा सन्तानको माया कति लाग्छ भन्ने कुरालाई जुन ढंगले उठाइएको छ यसले आमाबाबुलाई गर्नु पर्ने माया पलाउने छ ‘हटारु’ का पाठकहरुमा । कस्तो मीठो सन्देश ।

लेखकले आफ्नो उपन्यास मार्फत भनेका छन्, ‘भगवान ! नारीहरुमाथि कुदृष्टि लगाउने यौनका भोका नरपशुहरुको सत्यानाश गरिदेऊ ।’ यो सच्चा सबै जनले गर्ने कामना हो । आखिर मान्छेको जीवन क्षणिक रहेछ । हाटका हटारुजस्तै हुरुरुरु अयो । बास बस्यो । उठ्यो । हिँड्यो ।सिद्धियो । यो सिद्धियो शब्दसँगै ‘हटारु’ उपन्यासको कथा त सकियो । तर यसको पाठकको नाताले अर्को एउटा कथा मेरो मानसपटकमा ठिंग उभिएको छ । अझै बाँकी छ हामीभन्दा पहिले जन्मिएका मान्छेहरुको कथा पढ्न । सुनकेशा, सुर्जा, मैनकला, जौकला दिदी, काली जस्तै मेरा बालसखाहरु निर्मल, भीम, कर्ण, खिउरी, सुन्दरी, मनबीरेहरुलाई भेट्न र फेरी एकपटक बालापनमा रमाउन ।


अन्तमा, सुन्दरता र कलात्मकतालाई आख्यानीकरण गर्ने गज्जबको शक्तिशाली मान्छे रहेछन् ओम । अलि बढि आञ्चलिकता भयो भन्ने दोष खेप्नु पर्नेछ लेखकले । तर आञ्चलिकता नै नभएको भए यो नून विनाको तरकारी जस्तै हुन्थ्यो होला । हाम्रो समाज दोष दिन जान्दछ तर आफूले कर्म गर्नुपर्छ भन्नेमा जाँगर लगाउँदैन । त्यसैलै मैले भन्नैपर्छ , ओम रिजालले ‘हटारु’ नलेखिदिएको भए सायद मैले मेरो बालापनका यादहरु पनि भूल्न थालिसकेको थिएँ क्या रे त्यसको पुनर्जागरण हुने थिएन होला । मेरो समाजको ऐनामा लागेको धुलो सफा हुने थिएन होला । अझ भन्ने हो भने मेरो मनमा गुम्सिएको त्यो यथार्थ कथाको पीरको पोको फुक्ने थिएन होला । त्यसैले पनि यत्ति भन्छु, ‘ओम गुरु हजुरको लेखनको यात्रा कहिल्यै नरोकियोस् चुमोस् सफलताको शिखर र निचोरेर फालिदेओस् म र म जस्ताका मनमा भरिएका पीरका पिला र खटिराहरु ।