असल कार्यले निरन्तरता पाओस्ः जनप्रतिनिधि
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी रेको वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का जनप्रतिनिधिहरुले असल कार्यले निरन्तरता पाउनु पर्ने बताएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा वडाअध्यक्ष लोकप्रसाद चालिसेसहित सबै जनप्रतिनिधिहरुले राजीनामा दिए पश्चात आयोजित विदाई कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

वडाअध्यक्ष लोकप्रसाद चालिसेले विदाई कार्यक्रममा वडावासी दाजुभाइ दिदीबहिनी, वडा कार्यालयका कर्मचारी, नगरपालिका तथा सरोकारवालाहरुको सहयोगले वडाको काम अघि बढेको आफूहरुको कार्यकाल सफल भएको बताउँदै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘हामीले वडामा विकासको नक्सा कोरेका छौ अब आउने जनप्रतिनिधिहरुले त्यसलाई पूर्ण गर्ने जिम्मेवारी लिएर आउनु हुनेछ र वडाको विकासमा टेवा पुग्नेछ ।’
उक्त वडामा वडाअध्यक्ष लोकप्रसाद चालिसे, सदस्यहरुमा यमुना नेपाली, रामकुमार दर्लामी, चुडामणी चपाई र चन्द्राकुमारी थानी सदस्य थिए ।

जनप्रतिनिधिहरुले आ–आफ्नो पदबाट राजीनामा दिएपश्चात उनीहरुलाई एक औपचारिक कार्यक्रम गरी वडा कार्यालयले उनीहरुलाई विदाइ गरेको छ । जनप्रतिनिधिहरु विदा भएपश्चात स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार वडा सचिव उत्तम अधिकारीलाई वडा अध्यक्षको समेत जिम्मेवारी दिइएको छ ।







