Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

आज श्रीकृष्ण जन्माष्टमी

सुर्खेत ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।


अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलिलाको पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

भगवान कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिन्छ । कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

कृष्णका कुरा गर्दा “मीरा“ लाई पनि इतिहासले बिर्सन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खोजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

यति मात्र होइन महाभारत जस्तो युद्धमा समेत भगवान श्रीकृष्णले सत्यको पक्ष लिएर पाण्डहरुलाई विजयी बनाउन अहम् भूमिका निर्वाह गरेका थिए । महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्तिका रुपमा युद्धमा साथ दिएर काम कहिले पनि सानो ठुलो हुँदैन भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन् ।
एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीवजन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकिक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया९प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ । तपाई चाहे जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलाई लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।