Loading... आजः ११ बैशाख २०८१, मंगलवार । Tuesday 23rd April 2024

सोह्रश्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध
वैदिक–सनातन–वर्णाश्रम–धर्ममा श्राद्धको विशिष्ट स्थान रहेको कुरा वैदिक वाङ्मयको अध्ययनबाट स्पष्ट हुन्छ। दिवङ्गत आफ्ना सम्बन्धीलाई पितृलाई) लक्ष्य गरेर विधिपूर्वक अन्नको त्याग गर्नु पिण्डदान गर्नु) लाई श्राद्ध भन्दछन्।श्राद्धमा शुद्ध ब्राह्मणलाई भोजन पनि गराउनुपर्छ।श्राद्धमा मासका फुरौला पनि अनिवार्य रूपमा चाहिन्छ। यो कार्य श्रद्धापूर्वक गरिने हुनाले यसको नाम श्राद्ध रहन गएको हो। निर्णयसिन्धुमा मरीचिको यस्तो वचन उद्धृत छ
प्रेतं पितृंश्च निर्दिश्य
भोज्यं यत् प्रियमात्मनः।
श्रद्धया दीयते यत्र
तच् छ्राद्धं परिकीर्तितम्।।
श्राद्ध गर्ने विषयमा हिन्दुसमाज परम्परागत रूपले नै बढी सचेत देखिन्छ। व्यवहारमा श्राद्ध लोकप्रिय कर्म हुनुमा केवल शास्त्रीय आधार मात्र नभई आफ्ना पिता–पुर्खाप्रति रहने स्वाभाविक लौकिक आस्था पनि कारण भएको बुझिन्छ। श्राद्धले बाबु–बाजे र छोरा–नातिहरूको सम्बन्धलाई समेत जीवन्त बनाउँछ। स्मृति–पुराणहरूमा श्राद्धको लक्षणका साथै महत्त्व र फलका विषयमा पनि धेरै कुरा लेखिएको छ। त्यहाँ देवकार्य र पितृकार्यमध्ये पितृकार्यलाई नै बढी प्रशंसा गरिएको तथा पितृकार्य गर्दा विशेष नियम र व्रतको पालना गरी अति पवित्रताका साथ गर्नुपर्ने उल्लेख पाइन्छ। अघिल्लो दिन कपाल खौरेर एकछाक मात्र चोखो खाएर बसेर भोलिपल्ट श्राद्ध गर्ने विधान छ। पितृपक्षमा चाहिँ पितृपक्षभरि नै चोखो खाने चलन पनि छ।
जस्तैः दीन–हीन व्यक्तिले पनि सागैले मात्र भए पनि श्राद्ध गर्नैपर्छ, छोड्न हुँदैन भन्ने शास्त्रीय निर्देश छ। त्यसैले होला नेपाली समाजमा “देउताले दिन्छन् पितृले हर्छन्” भन्ने उक्ति चलेको देखिन्छ। अतः पितृकर्ममा आलस्य र प्रमाद गर्न हुँदैन। श्राद्धले पितृको तृप्ति हुने मात्र हैन श्राद्ध गर्नेलाई पनि कामनाअनुसार आयु, विद्या, धन, पुत्त्र, राज्य इत्यादि प्राप्त हुने कुरा शास्त्रमा बताइएको छ। देवपूजामा भक्तिभाव र श्रद्धा मात्र भए पनि पुग्न सक्छ फल पाइन्छ तर श्राद्धमा विधि र भाषा पनि शुद्ध हुनुपर्छ। त्यसैले भनिन्छ— “पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः”।
श्राद्धको स्रोत
वैदिक कर्मकाण्डमा मुख्यतया अग्न्याधान, अग्निहोत्र, दर्शपूर्णमास, चातुर्मास्य, निरूढपशुबन्ध, अग्निष्टोम सोमयाग, वाजपेय, राजसूय, अश्वमेध इत्यादि यज्ञहरूको विधि बताइएको छ रत्यहाँ श्राद्धको विधान पनि पाइन्छ। श्रौत अग्न्याधान गरेका व्यक्तिले दर्शयाग गर्दा अघिल्लो दिन औँसीमा) अपराह्णमा पितृलाई उद्देश गरी पिण्डपितृयज्ञ गरेर भोलिपल्ट दर्शयाग गर्नू भन्ने वेदको विधान छ। यही पिण्डपितृयज्ञ नै श्राद्धकर्मको मूल वैदिक स्रोत हो। वेदमा श्राद्धमा प्रयोग हुने मन्त्रहरू संकलित पनि छन्।
वैदिक कर्मकाण्डको शुद्ध रूप
धर्म, दर्शन, संस्कृति र कर्मकाण्ड पनि राष्ट्रका प्रमुख तत्त्व हुन्। यिनै तत्त्वका आधारमा पनि राष्ट्रको आध्यात्मिक, सामाजिक, नैतिक, शैक्षिक, भौतिक इत्यादि उन्नति हुने हुँदा यिनको अध्ययन, चिन्तन र आचारणमा पनि राष्ट्रले समुचित ध्यान दिनु आवश्यक छ। किन्तु नेपालका परिप्रेक्ष्यमा हेर्दा यस पक्षमा अत्यन्त शिथिलता र विकृति देखा पर्दै गएको देखिन्छ। यस्ता विषयमा गम्भीरताका साथ विचार गर्ने र काम गर्ने कुनै पक्ष पनि समाजमा प्रभावशाली हुँदै अघि बढेको देखिएको छैन।
नेपालमा हाल प्रचलित वैदिक कर्मकाण्ड धेरैतिरको सम्मिश्रणले गर्दा विशृङ्खलित र धूमिल बन्न पुगेको देखिन्छ। कान्यकुब्जबाट जुम्लामा पसी त्यहाँबाट फैलिएका, भारतका विभिन्न भागबाट सेन–मल्ल–शाहीहरूका राज्यमा पसेका, नान्यदेवले सिम्रौनगढमा स्थापित गरेका मिथिलाराज्यमा आश्रय पाएका चण्डेश्वर ठक्कुर रामदत्त ठक्कुर इत्यादिका रचनाका प्रभावले सेनराज्यमा फैलिएका, कुमाउँतिरबाट पसेका तथा लिच्छविकाल र मल्लकालमा त्योत्यो समयका ब्राह्मणहरूले प्रयोगमा ल्याएका धर्मशास्त्रका र कर्मकाण्डपद्धतिहरूका सम्मिश्रणले तथा वेद–वेदाङ्ग–स्मृति–पुराणादि शास्त्रको राम्रो अध्ययन–मननको न्यूनताले गर्दा ग्राह्य–अग्राहय छुट्याउन नसकिएकाले समेत छ्यासमिस र गाजेमाजे हुन पुगेका कर्मकाण्डपद्धतिहरूका प्रभावले अहिले नेपालमा प्रचलित वैदिक कर्मकाण्डपद्धतिहरू अत्यन्त धूमिल हुन पुगेका बुझिन्छन्।
श्राद्धका पनि त्यसरी नै मिश्रित भएका नयाँ पद्धतिहरूसमेत बजारमा थपिँदै छन्। शुक्लयजुर्वेदका अध्येताहरूले आफ्नै वेदको अनुसरण गरेर श्राद्धादिकर्म गर्नुपर्छ भन्ने कुरामा सचेत नभएका व्यक्तिले पनि श्राद्धादिपद्धति छापिरहेका छन्। अतः यी पद्धतिहरूलाई शास्त्रसम्मत रूपमा परिमार्जन गरेर मात्र प्रयोग गर्नुपर्ने देखिन्छ।
हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले सबै वैदिक संस्कारहरूका र एकोद्दिष्टश्राद्ध–पार्वणश्राद्धादिका पद्धतिहरूलाई शुक्लयजुर्वेदको गृह्यसूत्र पारस्करगृह्यसूत्र अनुसार परिष्कृत रूपमा रचना गरेर प्रकाशित गराउनुभएको छ। यी पद्धतिहरू छोटकरी र शास्त्रानुकूल पनि छन्। यिनमा शास्त्रीय प्रमाण दिएर नेपाली भाषामा सम्बद्ध विषयहरूको विवेचना पनि गरिएको छ। शुक्लयजुर्वेदी आस्तिक सज्जनहरूले यी पद्धतिको महत्त्व आकलन गर्न र यिनलाई प्रयोगमा ल्याउन उचित हुन्छ। शुद्ध पद्धतिलाई उपेक्षा गरेर पुनः अशुद्ध पद्धति नै लेख्ने–छपाउने र प्रचार गर्नेकामचाहिँ अनुचित देखिन्छ।
श्राद्धका भेद
श्राद्धका विभिन्न भेदहरूका विषयमा स्मृति–पुराणहरूमा प्रशस्त लेखिएको छ। वर्षभरमा गरिने पर्व–पर्वका श्राद्ध छयान्नब्बेओटा उल्लिखित छन्। धर्मशास्त्र–निबन्ध वीरमित्रोदयका श्राद्धप्रकाशमा पनि नित्यश्राद्ध, नैमित्तिकश्राद्ध, काम्यश्राद्ध, वृद्धिश्राद्ध, सपिण्डीश्राद्ध, पार्वणश्राद्ध, गोष्ठीश्राद्ध, शुद्धिश्राद्ध, कर्माङ्गश्राद्ध, दैवश्राद्ध, यात्राश्राद्ध र पुष्टिश्राद्ध गरी बार प्रकारका श्राद्धको उल्लेख पाइन्छ। पारस्करगृह्यसूत्रको अभिन्न अङ्ग परिशिष्टरूप कात्यायन–श्राद्धकल्पसूत्रमा चाहिँ अपरपक्षश्राद्ध पार्वणश्राद्ध), एकोद्दिष्टश्राद्ध तिथिश्राद्ध), सपिण्डीश्राद्ध सपिण्डीकरण), आभ्युदयिकश्राद्ध वृद्धिश्राद्ध) र काम्यश्राद्धको निरूपण गरिएको छ। कात्यायनश्रौतसूत्रमा भने पिण्डपितृयज्ञ, पितृयज्ञ र पितृमेध गरी तीन थरी पितृसम्बन्धी कार्यको मात्र प्रतिपादन गरिएको छ। उक्त श्राद्धकल्पसूत्र, गृह्यसूत्र र श्रौतसूत्रको आधारभूत मूल वैदिक ग्रन्थ माध्यन्दिनीय–वाजसनेयि–शतपथब्राह्मणमा पनि यिनै तीन पितृकार्यको उल्लेख पाइन्छ। मूल वैदिक परम्पराका व्यक्तिहरूका निम्ति मुख्य रूपले वैदिक ग्रन्थहरू मन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र तिनका परिशिष्टग्रन्थहरू नै आधारभूत प्रामाणिक ग्रन्थ भएकाले यिनैमा प्रतिपादित धार्मिक कार्यहरू गर्नु वैदिक धर्मावलम्बीहरूको प्रमुख कर्तव्य हुन आउँछ। स्मृति–पुराणहरूलाई पनि उपर्युक्त वैदिक ग्रन्थहरूकै व्याख्यारूप र परिपोषक ग्रन्थका रूपमा हाम्रा परम्परामा मानिआइएकाले कुनै पनि धार्मिक कार्यको शास्त्रीय पक्षको निरूपण गर्दा मूल वैदिक ग्रन्थ र स्मृति–पुराणहरूको व्यवस्थित अर्थ गरी निष्कर्ष निकाल्नुपर्ने हुन्छ।
Pitru Paksha 2022: Read this folk tale that pleases the ancestors in Pitru  Paksha - Globe News Insider
सोह्रश्राद्धको स्वरूप
मुख्य वैदिक मासव्यवस्था अनुसारको अमान्तमान (अमावास्यामा महिना समाप्त हुने गणना) अनुसार भाद्र महिनाको कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मको पन्ध्र दिनलाई पितृपक्ष भन्ने गरिन्छ। पितृपक्षलाई नेपाली समाजमा सोह्रश्राद्ध पनि भन्ने चलन छ। विवाह–व्रतबन्धभन्दा अघि आभ्युदयिकश्राद्ध गरेझैँ ठूला चाड दसैँतिहारभन्दा अघि सोह्रश्राद्ध गरेको हो भनेर सरकारी सञ्चारमाध्यमले प्रचार गर्ने गरेको कुरा अयथार्थ हो। दसैँतिहारसित यस श्राद्धको कुनै सम्बन्ध छैन। सक्नेले पितृपक्षभर प्रत्येक दिन र नसक्नेले आफ्ना पिताको निधन जुन तिथिमा भएको छ, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ भन्ने पौराणिक विधान पाइन्छ। प्रतिपदाअघिको पूर्णिमालाई वा औँसीपछिको प्रतिपदालाई मिलाई सोह्र दिन हुने भएकाले तिनमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिएको बुझिन्छ। सोह्रश्राद्धलाई नै शास्त्रीय भाषामा भाद्रपदापरपक्षश्राद्ध भन्छन्। यसै श्राद्धलाई महालयश्राद्ध पनि भन्छन् भन्ने वृद्धमनुको वचन छ। केही धर्मशास्त्रनिबन्धमा चाहिँ तीर्थविशेषको नाम महालय हो र त्यहाँ गरिने श्राद्ध महालयश्राद्ध हो भनिएको छ। कसैले गया नै महालय हो पनि भनेका छन्। कात्यायनका श्राद्धकल्पसूत्रमा उल्लिखित श्राद्धहरूमध्ये भने वार्षिक रूपमा गरिने भाद्रपदापरपक्षश्राद्ध सोह्रश्राद्ध वा महालयश्राद्ध) पर्दैन।
कात्यायनका श्राद्धकल्पसूत्रमा सर्वमासापरपक्षश्राद्धको सबै महिनाका कृष्णपक्षहरूमा गर्नुपर्ने श्राद्धको) चाहिँ विधान छ। दर्शश्राद्ध पनि यसै सर्वमासापरपक्षश्राद्धमध्येकै एक विशेष श्राद्ध भएको बुझिन्छ। कात्यायनका श्राद्धकल्पसूत्रमा प्रत्येक महिनाका कृष्णपक्षमा गर्नुपर्ने अपरपक्षश्राद्धमा पार्वणश्राद्धमा) पिता, पितामह, प्रपितामह बाबुपट्टिका त्रिपुरुष) र मातामह, प्रमातामह तथा वृद्धप्रमातामह आमापट्टिका त्रिपुरुष) गरी जम्मा ६ पितृलाई ६ वटा पिण्ड दिने विधान छ— “पितृभ्यः पितामहेभ्यः प्रपितामहेभ्यो मातामहेभ्यः प्रमातामहेभ्यो वृद्धप्रमातामहेभ्यः स्वधोच्यताम्” का.श्राद्धकल्पसूत्र, कण्डिका ३)। नेपालको कुनै परम्परामा सोह्रश्राद्ध गर्दा पनि ६ ओटै पितृलाई मात्र पिण्ड दिने प्रचलन रहेको देखिन्छ। यसबाट सोह्रश्राद्ध अपरपक्षश्राद्धविशेष नै भएको कुरा बुझिन्छ।
सोह्रश्राद्धमा पिण्डसङ्ख्या
कात्यायनका श्राद्धकल्पसूत्रमा अपरपक्षश्राद्धमा ६ ओटा पिण्ड दिनुपर्ने विधान भएकाले अरू वेदशाखाका गृह्यसूत्रहरूमा र तदनुसारका स्मृतिपुराणहरूमा बताइएका ९ ओटा वा १२ ओटा पिण्ड दिने कुरा शुक्लयजुर्वेदीले अनुसरण गर्न मिल्दैन। गृह्यकर्ममा आफ्ना वेदशाखामा नभनेका कुरा थप्न पनि हुँदैन र थप्न पनि मिल्दैनभन्ने कुरा मीमांसाशास्त्रबाट निर्णय हुन्छ। मातामह जीवित भएमा चाहिँ जीवितलाई नाघेर प्रमातामहादिलाई पिण्ड दिन शुक्लयजुर्वेदअनुसार मिल्दैन। यस्ता अवस्थामा पिता, पितामह र प्रपितामहलाई जम्मा ३ पिण्ड मात्र दिनुपर्ने हुन्छ। यो पनि आफ्ना शाखाका वेदका वचन र मीमांसाशास्त्रका न्यायअनुसार नै निर्णय हुने कुरा हो, लौकिक तर्कबाट निर्णय हुने होइन। यस्ता अवस्थामा ६ पिण्ड दिन नमिल्ने भएकाले पारस्करका ६ पिण्डका कुरा मात्र मान्न पर्छ भन्ने केही छैन, ९, १२ वा त्योभन्दा बढी पनि पिण्ड सोह्रश्राद्धमा दिन हुन्छ र दिन पर्छ पनि कोहीकोही भन्छन्। तर मूल शास्त्रको अर्थ गर्ने तरिका नबुझेर वा पूर्वाग्रहले गर्दा यस्तो भनेका हुन्। कुनै वेदशाखाका पार्वणश्राद्धमा पिता, पितामह र प्रपितामहलाई गरेर ३ पितृलाई जम्मा ३ पिण्ड मात्र दिने कुरा पनि आएको छ। हाम्रा वेदशाखामा भने ६ पिण्ड नै दिने विधान छ। तसर्थ सोह्रश्राद्धमा ६ ओटा पिण्ड दिनु नै शास्त्रसम्मत देखिन्छ।
पार्वणश्राद्ध र सोह्रश्राद्धको सम्बन्ध
पार्वणश्राद्ध र एकोद्दिष्टश्राद्ध मिसाएर गर्न हुँदैन। अतः सोह्रश्राद्धमा गरिने पार्वणश्राद्धमा एकोद्दिष्टगणका पितृहरूलाई थप पिण्डहरू दिन मिल्ने देखिँदैन। बरु इच्छा भए पार्वणश्राद्ध सकेर एकोद्दिष्टश्राद्ध छुट्टै गर्न मिल्छ। प्रत्येक महिनामा श्राद्ध गर्न नसकिएमा त्यसको अनुकल्पका रूपमा वर्षभरिमा ३ ऋतुमा ३ पटक र त्यो पनि नसके १ पटक मात्र पार्वणश्राद्ध गर्ने कुरा शास्त्रमा आएको छ—
अनेन विधिना श्राद्धं
त्रिरब्दस्येह निर्वपेत्।
हेमन्त–ग्रीष्म–वर्षासु
पाञ्चयज्ञिकमन्वहम्।।—मनुस्मृति ३।२८१।
महिनैपिच्छे गर्नुपर्ने श्राद्ध गर्न नसक्दा वर्षमा एक पटक मात्र भए पनि गर्नुपर्ने निर्देश पनि पाइन्छ—
मासिकं पार्वणं प्रोक्त–
मशक्तानां तु वार्षिकम्।
—आर्यविद्यासुधाकरमा उद्धृत आश्वलायनको वचन।
कोही–कोही “तर्पण दिइनेजति सबै पितृलाई सोह्रश्राद्धमा पिण्ड दिनैपर्छ, यस्तै श्राद्धलाई मात्र महालयश्राद्ध भन्ने हो, सोह्रश्राद्धमा केवल छओटा मात्र पिण्ड दिएर हुँदैन” भन्छन् र यस्तै प्रचलन नेपाली समाजमा कतिपय स्थानमा देखिन्छ पनि। तथापि पार्वणश्राद्ध नित्य अर्थात् गर्नैपर्ने श्राद्ध हो। वैदिकधर्मावलम्बीहरूले आफ्ना वेदशाखामा र आफ्ना सूत्रग्रन्थमा भएको पार्वणश्राद्धलाई चाहिँ छोडेर महालयश्राद्ध भनेर छुट्टै श्राद्ध गर्नुपर्छ भन्ने मान्न मिल्दैन। अनिवार्य रूपमा गर्नैपर्ने श्राद्धचाहिँ गर्न पर्दैन भन्नु तथा आफ्ना वेदशाखा–सूत्रमा विधान नगरिएको श्राद्धचाहिँ गर्नैपर्छ भन्नु शास्त्रविपरीत कुरा हो। नेपाली परम्परामा पनि सोह्रश्राद्धमा ६ वटै पिण्ड दिने गरिएको देखिन्छ, सुनिन्छ। यो आफ्नो वेदशाखाको विधानअनुरूप चलेर आएको हो भन्ने देखिन्छ। सोह्रश्राद्धका पद्धतिग्रन्थहरू पनि यस्तै छन्। तसर्थ यसै विधिलाई अनुसरण गर्नुपर्ने देखिन्छ। देशसञ्चारबाट