Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

देशले अर्को युद्ध थेग्न सक्दैन

झण्डै १० वर्षे सशस्त्र युद्ध थेगेपछि थिलथिलो बनेको देश अझै तङ्ग्रिन सकेको छैन । अहिले पनि बम र बारुदका गन्धहरु मेटिएका छैनन् । हिजो सशस्त्र विद्रोहमा उत्रिएकाहरुले छोडेका बमहरु अहिले पनि फेला परिरहेका छन् । त्यत्ति मात्र होइन उक्त युद्धको समयमा घाइते भएकाहरुको घाउमा अहिले पनि मल्हम लाग्न सकेको छैन । मल्हमको अभावमा चहराइरहेका घाउले दिएको पीडालाई वर्तमान संविधानदेखि लोकतन्त्र र यो गणतन्त्रले समेत शान्त पार्न सकेको छैन । युद्धको समयमा ज्यान गुमाएकाहरु फर्किने त सम्भावना भएन तर वेपत्ता पारिएकाहरुको न सास आइपुगेको छ न लास । उक्त पीडाले परिवारका सदस्यहरुले भोग्नु परेको दैनिकीको आंकलन न युद्ध गर्नेहरुले गरेका छन् न गराउनेहरुले ।

खगेन्द्र अधिकारी ‘अमृत’

राजनीतिक व्यवस्था परिवर्तनको नाममा भएको युद्धले सफलता प्राप्त गरेसँगै व्यवस्था परिवर्तन भयो । परिवर्तनका पक्षधरहरु सफल भए । २४० वर्ष शासन गरेको शाहवंश पाखा लाग्यो । नेपाली जनताले आफ्नै जनप्रतिनिधिहरुबाट लेखिएको संविधान पाए । जनताका छोराछोरीहरु राष्ट्रप्रमुख भए । जनताले आफैले चुनेका प्रतिनिधिहरुबाट शासन व्यवस्था चल्न थाल्यो । यति मात्र होइन विकासको खाकालाई परिवर्तन गर्नका लागि भन्दै देशमा संघीयताको समेत सुरुवात भयो । हिजोका दिनमा जंगलमा बन्दुक पट्काउनेहरु मात्र होइन गाई चराउनेहरु पनि सिंहदरबारमा पुगे । नेपाली जनताले वाक स्वतन्त्रता पाए । कोही कसैको अधिनमा बस्नु नपर्ने भयो । गाउँ–गाउँमा सिंहदरबार पुग्यो । घर आगनमै सरकार पुग्यो ।

क्षेत्रीय, जातीय, भेगीय र लैङ्गिक रुपमा हुने हिंसाहरु कम हुँदै गए । उहिले देखि चलिआएको मुलुकी ऐन परिवर्तन भयो । आज नेता तथा तिनका कार्यकर्ताहरुले यिनै उपलब्धीहरु देखाइरहेका छन् । के यिनै उपलब्धीले नेपाल समृद्ध भयो त ? नेपाली सुखी र खुसी भए त ? युद्धको उपलब्धीको रुपमा परिवर्तन भएको व्यवस्थाले जनताको अवस्थालाई परिवर्तन गर्न सक्यो कि सकेन ? २४० वर्षे शाहवंशको एउटा राजालाई पाखा लगाइसकेपछि संघीयदेखि प्रदेश हुँदै स्थानीय तहसम्म अनगिन्ती राजाहरुको उदय भएको देख्ने कि नदेख्ने ? जनताका प्रतिनिधिका रुपमा मानिएका जनप्रतिनिधिहरुले संविधान लेख्दै गर्दा जनताको भावनाको कदर गरेका थिए कि थिएनन् ? संघीयताका नाममा बाटो बनेको देखाउनेहरुले पुल बनेको देखाउनेहरुले राज्यको अथाह सम्पत्ति राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समेत पाल्नका लागि ध्वस्त भएको देख्ने कि नदेख्ने ?

हिजो जंगलमा बसेर विभिन्न जातीहरुलाई जातीयताका आधारमा राज्य दिन्छौ भन्दै आफ्नो बन्दुक बोक्न लगाउनेहरुले तिनीहरुलाई राज्य दिए कि दिएनन् ? जंगलमा बसेर गाई काट्नेहरुले संविधानमा गोरक्षाको कुरा त उल्लेख गरेका छन् तर त्यसको पालना गर्न गराउन सके कि सकेनन् ? अनि राजाले देशको ढुकुटी सिध्याएको कारण विकास भएन भनेर कुर्लिनेहरुले आज संघमा प्रदेशमा विभिन्न संगठनिक संरचनाको नाममा कार्यकर्ताहरु भर्ति गरेर राज्यको ढुकुटीको दोहन गरेका देखेका छन् कि छैनन् ? प्रदेशमा बसेर प्रदेशको विकासका लागि दिनरात खट्नु पर्ने प्रदेशका मुख्यमन्त्रीहरुका लागि काठमाडौंमा बंगलाहरु किन बने ? यदि उनीहरुलाई काठमाडौमा सुविधा सम्पन्न बंगलाहरु उपलब्ध गराउनु नै थियो भने फेरी संघीयताको नाममा यो सब नाटक किन र के का लागि ? यी प्रश्नको उत्तर जान्न पाउने नेपाली जनताको हक र अधिकार छ कि छैन ? अनि यी प्रश्नहरुको उत्तर दिने जिम्मेवारी र कर्तव्य शासन चलाउनेहरुको हो कि होइन ?

स्वार्थ र सत्ताका लागि आज मात्र होइन हिजैदेखि जे मुखमा आयो त्यही भनिदिनेहरुका कारण आज देश फेरी अर्को युद्धमा फस्न सक्ने सम्भावनाको बिजारोपण भएको छ । हिजो राणा शासन अन्त्यका लागि पूर्वबाटै आन्दोलन भएको थियो । जुन पूर्ण रुपमा सफल पनि भयो । आज फेरी पूर्वबाट अर्को आन्दोलनको बत्ति धिपधिपाउन थालेको छ । हिजो राजनीतिक लडाई थियो । अधिकार प्राप्तिको लडाई थियो । तर पछिल्लो समयमा देखिएको असन्तुष्टि भने सामुहिक अधिकारको लागि नभई अर्काको अधिकार माथि कुठाराघात गर्नका लागि र सामाजिक सद्भाव भड्काउनका लागि भइरहेको छ । एउटै समाजमा बसेर एकले अर्काको धार्मिक तथा परम्परागत अधिकार माथि गरिने प्रहारले त्यो समाजमा भाइचारको अस्तित्व समेत नामेट हुन्छ ।

नेपाल अनेकतामा एकताको प्रतिकको रुपमा स्थापित देश हो । तर देशमा गणतन्त्र आइसकेपछि अझ भन्ने हो भने माओवादीको सशस्त्र द्वन्द्व पश्चात भएको राजनीतिक परिवर्तनको आडमा टेकेर जुन खालका हर्कतहरु गरिएका छन् तिनले सामाजिक सहिष्णुतालाई मात्र असर गरेको छैन । अन्तराष्र्टि«य क्षेत्रमा समेत नेपालको स्वाभिमानतामा आँच ल्याउने कार्य गरेको छ । विश्वको एक मात्र हिन्दु राष्ट्रलाई धर्म निरपेक्षताको नामबाट वैदिक सनातनीहरु माथि धाबा बोल्ने कार्य भएको छ त्यसले समेत समाजलाई विखण्डन तिर लगिरहेको छ । के नेपालमा यस भन्दा पहिले गाई गोरु काटिएका थिएनन् त ? प्रश्न आउन सक्छ । हो काटिएका थिए होला । तर ती कहाँ काटिए र कसले काट्यो वा कसले खायो भन्ने कुराको पत्तो कसैलाई थिएन र वैदिक सनातनवालाहरुले मतलव पनि गरेका थिएनन् । तर पछिल्लो समयमा सामाजिक सञ्जालमै गाई गोरु काटेको खाएको र सनानतीहरुलाई लल्कारेको विषयले भने अप्ठ्यारो स्थितिको सिर्जना गर्न सक्छ । कसैले पनि आर्थिक आस्था माथि धाबा बोलेको कुरालाई सहन गर्न सक्दैन । अर्को कुरा सबैलाई आ–आफ्नो धर्मको रक्षा गर्ने अधिकार हुनेछ भन्ने कुरालाई संविधानले नै बोलेको छ भने सनातनीहरु आफ्नो धर्मको रक्षाका लागि सडकमा आउनु स्वभाविकै हो । तर यसै कार्य दुई समूहका बीचमा हुने विद्रोह मात्र होइन झडपको समेत सिर्जना हुनसक्छ भन्ने कुरालाई सत्ता संचालकहरुले बुझ्न जरुरी छ ।

हिजोका दिनमा परिवर्तनका लागि लडेकाहरुले नै सत्ता सम्हालिरहेका छन् । उनीहरुले देखे नदेखे झै गरेर आर्य र मंगोलहरुलाई लडाएर आफूले फाइदा लिन खोजेका हुन् भने त्यो सबै पक्षका लागि महंगो पर्न सक्छ । किनकी नेपालमा ९१ प्रतिशत ओमकार परिवारहरु छन् । किराँत धर्म मान्नेहरु पनि ओमकार परिवार हुन् । केही उछृङ्खलता मच्चाउनेहरुले समाज खल्बल्याउन खोजेपनि किराँतेश्वर महादेव मान्नेहरु समेतको संलग्नतामा भोली आन्दोलनको ज्वारभाटा उठ्यो भने त्यसलाई थाम्न सक्ने सामाथ्र्य न राज्य पक्षसँग हुनेछ भने न आज गाई गोरु काटियो खाइयो भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुकै हुनेछ । भलै आर्यहरु पहिले हिंसात्मक रुपमा अगाडि नबढ्लान् । त्यसलाई उनीहरुको कमजोरी ठानियो भने भोली शिव भगवानले बोक्ने त्रिशुल खुद किराँत धर्मालम्बीहरुले बोक्नेछन् । भगवती देवीले बोक्ने खुँडा आर्यहरुले बोक्नेछन् । त्यो अवस्था आउनु देश र जनताका लागि मात्र होइन वर्तमान गणतन्त्रका लागि समेत अभिसाप बन्नेछ ।

अतः देश भरखरै युद्धक्षेत्रबाट बाहिर अएको झै भएर तङ्रिन थालिरहेको बेला देशले अर्को युद्धक थेग्न सक्ने अवस्था छैन । त्यसैले हिन्दु सनातनीहरुले संयमता अपनाउन जरुरी छ भने गाई र गोरु काट्नेहरुले पनि संविधानको पालना गर्दै अगाडि बढ्न जरुरी छ । अनि मात्र अनेकतामा एकता र भाइचाराको सन्देश प्रवाहित हुनसक्छ । त्यसले मात्र सबैको भलो हुन सक्छ । होइन भने कतै कसैले कसैलाई लखेट्ने स्थितिको सिर्जना हुँदा बाह्य रुपमा पनि हस्तक्षेत्र र घुसपैठका घटनाहरु नहोलान् भन्न सकिदैन । आदिम कालदेखि मिलेर बसेको समाजलाई भड्काउमा लैजान खोज्नु मुर्खता मात्र होइन मातृभूमि माथिको ठाडो बलात्कार पनि हो ।

(२०८० भाद्र १५ गतेको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित लेख । )