यस्तै हुन्छ त लोकतन्त्रमा ?
विभिन्न टुक्रे राज्यका रुपमा रहेका भारतवर्षका भरतखण्डका स–साना देशहरु आफैमा कमजोर थिए । आन्तरिक रुपमा बलिया देखिएपनि बाह्य दृष्टिले यिनीहरु कमजोर नै थिए । अर्कोतिर यिनीहरु बलिया देखिनुमा अहिलेको जस्तो प्रविधि र संचारको विकास भइसकेको थिएन । जसले गर्दा मुढेबलमा लड्न सक्नेहरु बलिया देखिने नै भए । तर जब भारतमा इष्टइण्डियाले प्रभूत्व जमायो तब यिनीहरु असुरक्षित हुन पुगे । जुन कुराको आंकलन गर्ने महान दूरदृष्टि भएका राजा गोर्खाका देखिए । जसले यस्तो योजना बनाए की अब पनि हामी टुक्रा–टुक्रामा रहने हो भने अवश्य पनि पश्चिमाहरुले हामीलाई दास बनाउँछन् । जसको एउटै उपाय थियो सबैको एकिकरण गर्नु । जुन कार्यको थालनी गोर्खाका राजा पृथ्वीनारायण शाहले गरे । उनी गोर्खालाई देशको राजधानी बनाउन सक्थे । गोर्खा नै देशको नामाकरण गर्न सक्थे । तर दूरदर्शिताका कारण उनले त्यसो नगरी काठमाडौ उपत्यकालाई राजधानी बनाए र त्यसलाई नेपाल भनिने भएका देशको नाम पनि नेपाल नै राखे । यो भन्दा ठूलो दूरदर्शिता र देन अरु के हुनसक्छ ?
गोर्खाबाट काठमाडौ राजधानी बनाएका पृथ्वीनारायण शाहका सन्तानहरुले देशको शासन सत्ता संचालन गर्नु गराउनु स्वभाविक थियो र छ पनि । किनकी हाम्रो अहिले पनि एउटा मन्दिरको पूजारीको छोराले उक्त मन्दिरका बारेमा सबै कुरा जानेको हुन्छ भने पूजा विधि समेत उसैलाई थाह हुने भएकाले त्यही पूजारीकै छोरालाई पूजारी बनाउने प्रचलन छ भने देश चलाउने कुरामा राजाहरुले के अरुहरुको छोरालाई राजा बनाउदा हुन त ? उनीहरुकै सन्तान राजा हुँदै गए जुन क्रम ज्ञानेन्द्रसम्म आइपुग्यो ।
राजनीतिक रुपमा हुने उथलपुथलहरु पनि स्वभाविक हुन् । किनकी उउटा परिवारमा एउटा छोरा र अर्को छोराका बीचमा हुने मतभेदका कारण परिवार नै अलग हुने गर्दछ भने शासन सत्ता चलाउने कुरा सामान्य होइन र छैन पनि । त्यसकै प्रतिफलका रुपमा विभिन्न कालखण्डमा भएका षडयन्त्रहरुका कारण देशमा राणा शासनको स्थापना भयो । के त्यत्ति बेला जंगबहादुर राणा आफै राजाको रुपमा गद्दिआसिन भएर बस्न सक्दैनथे त ? सक्थे भने किन बसेनन् र सक्दैनथे भने कारण के हो ? मनन् गर्न जरुरी छ ।
राणाहरुले जनता माथि जुन ढंगबाट थिचोमिचो गरे त्यसले जनतालाई दिएको हैरानीका कारण राणाहरुका विरुद्धमा समेत आन्दोलन भयो फलस्वरुप देशले प्रजातन्त्र पायो । प्रजातन्त्र पाउनका लागि पनि राजपरिवारकै ठूलो त्याग छ भन्ने कुरालाई पनि बिर्सनु हुँदैन । जब देशमा प्रजातन्त्र आयो तब राजनीतिक दलका नेताहरुमा उन्माद हुन थाल्यो । फलस्वरुप राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे । ३० वर्षसम्म पञ्चायती व्यवस्थाले शासन गर्ने मौका पायो । त्यस बीचमा उदारवादी राजा वीरेन्द्रले जनताको मनोभावना अनुसार शासन गर्नुपर्छ भन्ने सन्देश दिएकै कारण दलहरु फेरी सल्बलाउन थाले । जनताले चाहे अनुसार नै शासन गर्नु पर्छ उनीहरुका स्वरहरुलाई दबाएर राख्नु हुँदैन भन्ने कुरामा राजा वीरेन्द्रमा लचिलोपन छ भन्ने थाह पाएकाहरु फेरी आन्दोलनमा उत्रिए । जसका कारण देश पुनः प्रजातन्त्रको स्वाद चाख्न पायो । राजा र प्रजासहित मिलेर बनाएको २०४७ सालको संविधान लागु भयो ।
उक्त संविधानले पनि स्वतन्त्रताको हकको प्रत्याभूति गरेका कारण त्यसकै आडमा केही नेताहरुले तत्काल आफ्नो स्वार्थसिद्धि गर्ने कुचेष्टा गरे र आफ्नो स्वार्थ पूरा नभएपनि उनीहरु सशस्त्र युद्धको नाम दिएर जंगल पसे । सशस्त्र युद्धको समयमा कति मारिए के भयो र कसो भयो भन्ने कुरा बारम्बार उल्लेख भइसकेकाले यो लेखमा पुनः दोहो¥याउनु त्यति उचित नहोला । किनकी १७ हजारको ज्यान गएको, हजारौ घाइते भएको, विधुवा भएको टुहुरा भएको लेख्दा लेख्दै हैरान भइसकेका छन् लेख्नेहरु र पढ्नेहरु ।
विक्रम सम्वत् २०५८ सालमा एकातिर राजा वीरेन्द्रको वंशनाश भयो र अर्कोतिर ज्ञानेन्द्र राजाको रुपमा गद्दिशासिन भए । षडयन्त्र पूर्वक र रहस्यमय ढंगबाट भएको राजा वीरेन्द्रको वंशनाशले नेपाली जनता सारै दुःखित पनि भए । तर अप्रत्यक्ष रुपमा ज्ञानेन्द्रले आफू राजा हुनका लागि उक्त घटना घटाएको भन्ने अप्रमाणित आरोप लगाएर राजाप्रति नकारात्मक प्रचार गर्ने कार्यले देशको शासन व्यवस्थालाई झन कमजोर बनाउँदै लग्यो । यदि ज्ञानेन्द्रले वीरेन्द्रको वंशनाश गरेका हुन् भने उनलाई जेल हाल्न सक्नुपथ्यो होइन भने झुटको खेती गरेर राजनीतिमा रमाउनु हुन्नथ्यो । जसले गर्दा २०६२÷०६३ मा भएको आन्दोलनबाट देशको राजनीतिक व्यवस्था नै फेरिन पुग्यो हुन हामी अहिले गणतन्त्रमा बाँचिरहेका छौ । संघीयताको उपयोग गरिरहेका छौ ।
चाहे त्यो २०६२÷०६३ को समयमा होस् चाहे त्यो २०७२ को संविधान निर्माण हुँदै गर्दा होस् देशमा गणतन्त्र आयो राजतन्त्र फालियो अब संघियता समेत आउने भएकाले घर–घर समृद्धि आउनेछ भन्ने ललिपप जनतालाई बाँडियो । सिंहदरबार नै गाउँ–गाउँमा आउने भएपछि हामी आन्दोलन गर्न मात्र होइन राजनीतिक दलहरुले देखाएका सपनामा दिउँसै निदाउन थाल्यौ । गणतन्त्र भएका कारण देशमा राजा त रहेनन् प्रत्येक नेपाली नागरिकहरुले अब अभावमा पिल्सिनुपर्ने छैन भनेर मख्ख भएका नेपालीहरुका आँखा त्यत्ति बेला खुले जतिबेला आफ्नै देशका नागरिकहरुलाई अनागरिक नक्कली भूटानी शरणार्थी बनाउँदै बेच्दै गरिएको थाह पाए । उद्योग धन्दाहरु धराशयी भए । बहालवाला सभामुख यौनजन्य क्रियाकलापमा संलग्न भएका कारण जेल गए । पूर्वमन्त्रीहरु भ्रष्टाचारका कारण जेल गए । पूर्वप्रहरी महानिरीक्षकको संलग्नतामा सांसद अपहरण गरियो । शक्तिवाला मान्छेका छोरा बुहारीहरु सार्वजनिक पदमा निर्वाचित भए होइन गराइयो । दिनदहाडै मान्छेलाई मुला चिरे झै चिरेर मार्नेहरुलाई आम माफी दिइयो । प्रहरी मात्र होइन नावालक मार्नेहरुलाई राजनीतिक शक्तिमा अडिरहनका लागि आम माफी दिइयो । अनि बल्ल थाह भयो देशमा गणतन्त्र र संघीयताले शासन जमाउन थालेछ भनेर । नेपाली जनताका आँखा खुल्न थाले ।
जब संघीयताको अभ्यास गर्दै गर्ने क्रममा जातीयताका कारण देशमा लडाइ गराउनु, कसैको धर्म र संस्कृतिको विनाश गराउनु, समाजको एकतामा खलल पु¥याएर आफ्नो स्वार्थसिद्धिका निम्ति भोट बटुल्नु, भाषा माथि आक्रमण गर्नु, सीमारेखाको सुरक्षा गर्न नसक्नुलाई गणतन्त्र र संघीयता भनिन्छ भने केही छैन । प्रधानमन्त्रीकी श्रीमतीलाई समानुपातिकबाट सांसद बनाउनु संघीयता हो ? अदालतको आदेशको उलङ्घन गर्नु सुशासन हो ? साम्राज्यवाद र विस्तारवादका विरुद्ध लड्ने योजनाहरु लुकाउनु संघीयता पकाउनु हो ? हाम्रा पहिचानका रुपमा रहेको चार्डपर्व, रितिरिवाज, संस्कृतिलाई नष्ट पारिदिनु गणतन्त्र सफल हुनु हो ? तराई, पहाड र हिमालमा बस्नेहरुका बीचमा विभेद उत्पन्न गराएर नेपालीका बीचमा कलह फैलाउनु गणतन्त्र सफल हुनु हो ? अर्थतन्त्रलाई ध्वस्त बनाउनु संघीयता सफल हुनु हो ? २३ खर्ब भन्दा बढि नेपालीका थाप्लोमा ऋण थोपर्नु गणतन्त्रको सुन्दर पक्ष हो । लाखौ युवाशक्तिहरुलाई रोजगारका लागि विदेश पलायन गरिदिनु संघीयता सफल हुनु हो ? सत्तामा पुग्नकै लागि गरिने गठबन्धन त संघीयताको सुन्दर पक्ष होला तर कालापानीमा विदेशी प्रधानमन्त्री आएर विदेशी सेनालाई परेड खेल्न लगाउँदा बोल्न नसक्नेहरुले हामीलाई सार्वभौमसत्ता सम्पन्न भनेर भ्रममा त हालिरहेका छैनन् ? सोच्ने बेला आएन र ? एमसिसि जस्ता घातक सम्झौताहरु मात्र होइन नेपाली शिक्षा प्रणाली माथि समेत आक्रमण हुनु संघीयता पाक्नु हो । देशलाई धर्मनिरेपक्ष बनाएर इशाइकरण फैलाउँदै विदेश डलरमा रमाउनु गणतन्त्र सफल हुनु हो ? यस्ता लाखौ प्रश्नहरु छन् ।
देशमा गणतन्त्र आएको १५ वर्ष बढि भइसक्यो । संघीयताको अभ्यास गरेको र वर्तमान संविधानको प्रयोग गर्न थालेको ८ वर्ष नाघिसक्यो । देशको व्यवस्था मात्र फेरिएको छ भने जनताको अवस्था फेरिएको छैन । केवल फेरिएको छ भने नेता र नेताका परिवारदेखि झोलेहरुको मात्र फेरिएको छ । त्यसै उपजको रुपमा आज दुर्गा प्रसाईका आन्दोलनहरु भइरहेका छन् । आज राजा आउ र देश बचाउका आन्दोलनहरु भइरहेका छन् । त्यसैले अब जनताका आवाजहरु उठ्न ढिला हुनुहुँदैन । नेपाली जनता स्वस्फूर्त रुपमा उठ्नुपर्छ र जाग्नुपर्छ । ज्ञानेन्द्रलाई नै राजा बनाएर गद्दीमा राख्नुपर्छ भन्ने होइन तर दलहरु असक्षम भइसके । यसलाई परिमार्जन गर्नका लागि परिस्कृत शासन व्यवस्थाका लागि जनता जागेनन् भने भोली नेपाली हामी रहौला कहाँ नेपालै नरहे ।