‘गंगा ज्योति भाष्कर’ को जय
इतिहास आफै बन्दैन बनाउनु पर्छ । इतिहास बनाउनका निमित्तमा मान्छेले अनेक कार्यहरु गनेृ गर्दछन् । कतिपय कार्यले इतिहासको निर्माण त हुन्छ तर त्यो दीर्घकालिन रुपमा नटिक्न पनि सक्छ । राजा महाराजाहरुले बनाएका कतिपय इतिहासहरु मेटिएका पनि छन् । हाम्रै देशको कुरा गर्ने हो भने अहिले पृथ्वीनारायण शाहको इतिहास मेटाउनका लागि दिलो ज्यान दिएर लागिरहनेहरुको पनि कमी छैन । राजा महेन्द्रले सुरुवात गरेको विकासको खाकालाई स्वीकार गर्न नसक्नेहरु उनको इतिहासलाई नामेट पार्न चाहान्छन् । राजनीतिक इतिहासहरु प्रायः यस्तै हुन्छन् । इतिहास बनाउने नाममा हिटलरले पनि सानो दुःख गरेका होइनन् । तर आज उनको इतिहास नकारात्मक ढंगबाट व्याख्या र विश्लेषण हुने गरेको छ । हुन त हामीले पढ्ने रामायणको कथामा आधारित भएर कुरा गर्ने हो भने राजा दशरथको आफ्नै इतिहास थियो अनि रामको आफ्नै । आज उनीहरुका पुस्ताहरु को, कुन, के अवस्थामा छन् भन्ने बारेमा खोजिनीति कसैले गर्नै चाहादैनन् ।
हिजोका चौविसे र बाइसे राज्यहरुमा रमाएकाहरुको इतिहास आज धन्नै धन्नै नामेट हुने अवस्थामा पुगिसकेको छ । जसले गर्दा अपवादको रुपमा बाहेक ती भुरे राजाहरुको दरबार समेत नष्ट भइसकेका छन् । तर आदिम कालमा लेखिएको वेद र वेदबाट बनेका अनेकौ ग्रन्थहरुको इतिहास भने आकाशमा चन्द्र सूर्य रहेसम्म न मेटिन सक्छ न मेटाउन सकिन्छ । यस्तै एउटा ऐतिहासिक कृति निर्माण गरेर कालान्तरसम्म अमरत्व प्राप्त गर्नै महान कार्य गर्नुभएका पुजनीय विद्वान गंगा प्रसाद ढुङ्गानाका बारेमा कोट्याउन मन लाग्यो अनि बने यी शब्दहरु ।
वि.सं. २००६ साल कार्तिक १४ गते आइतबारका दिन दैलेखको दुल्लू अन्तर्गत बहाँचौरमा जन्मनु भएका माता पम्फा जयन्ती र पिता हरिसर्णका ज्येष्ठ सुपुत्र गंगाप्रसाद ढुङ्गाना ज्योतिषी विधाको क्षेत्रमा नौलो नाम होइन । नाम भन्दा पनि कामले चिनिन रुचाउने उहाँले जन्मपत्रिका बोध, ज्यौतिषसार संग्रह, वैश्वानर पुराण, वाशिष्ठि अन्त्य पद्धति जस्ता महत्वपूर्ण ग्रन्थहरुको संकलन तथा रचना गर्नुभएको छ । त्यत्ति मात्र होइन पञ्चाङ्ग गणितको ज्ञाता विद्वान ज्योतिषले वि.सं. २०२६ सालदेखि ज्वाला पञ्चाङ्ग स्थापना गरेर वि.सं. २०६० सालदेखि निरन्तर प्रकाशन गरिरहनु भएको छ ।
उहाँका यी कार्यहरुले उनलाई चौतर्फी चिनाएका छन् । सञ्चारका क्षेत्रमा प्रस्तुत हुन त्यत्ति मन नपराएपनि व्यवहारिक रुपमा आफ्नो कार्यमा निरन्तर खटिरहनु उहाँको दिनचर्चा नै हो । जसले गर्दा नेपालमै पहिलो पटक गंगा ज्योति भाष्कर गणित गन्थ्रको रचना हुन पुग्यो । पुत्र पाराश्वर ढुङ्गानाको साथ र सहयोगले जुन कार्यले मूर्तरुप पाएको मैले ठानेको छु । खगोलीय गणना गर्नका लागि आधिकारिक र सबै विषयवस्तुहरु समेटिएको पुस्तकको अभाव खट्किरहेका बेला ज्यो. गंगाप्रसाद ढुङ्गाना र ज्यो. पाराश्वर ढुङ्गानाले संस्कृत मूल श्लोक र नेपाली अर्थसहित प्रकाशनमा ल्याउनु भएको उक्त ग्रन्थ पञ्चाङ्ग निर्माणको क्षेत्रमा लाग्नेहरुका लागि महान र पठनीय अनि व्यवहारिक ग्रन्थ बनेको छ । यो इतिहास कहिल्यै मेटिने छैन । जसका लागि ज्योतिषद्वयलाई हार्दिक नमन ।
के छ गंगा ज्योति भाष्कर भित्र ? यो पंक्तिकारले किन यसरी मुक्तकण्ठले प्रशंसा गरेको होला पाठकलाई जिज्ञासा लाग्नु स्वभाविक हुनेछ ।
तिथि बारश्च नक्षत्रं योगः करणमेवच ।
तित्थ्यार्ध करणंचैव बारे ग्रह राजास्मृता ।।
तिथि, बार, नक्षत्र, योग र करण कसरी निर्माण हुन्छ र गरिन्छ भन्ने कुरा स्पष्ट छ यो ग्रन्थमा । खगोलीय गणना (पात्रो गणना) को आद्योपान्त सबै विषयवस्तु समावेश गरिएको छ यसमा । ज्योतिष शास्त्रको इतिहास के हो ? कुन वेदको आधारमा ज्योतिष शास्त्रको प्रवद्र्धन भएको हो ? ज्योतिषशास्त्रका सिद्धान्तहरु के के हुन् र दृग्तुल्य सिद्धान्त के हो भन्ने बारेमा उक्त ग्रन्थले स्पष्ट बोलिदिएको छ । वेदाङ्ग ज्योतिषमा उल्लेख गरिएको कुरालाई आत्मसाथ गर्दै ज्यो. ढुङ्गानाले आफ्नो जीवनभर गणितलाई सर्वोपरी ठान्नु भएको उहाँका कृतिहरुले पुष्टि गर्दछन् ।
यथा शिखा मयूराणां नागानां मणयो यथा ।
तद्वद् वेदांगशास्त्राणां गणितं मूध्र्नि संस्थितम् ।।
‘जसरी मयूरको शिरमा शिखा र सर्पको शिरमा मणी सर्वोच्च स्थानमा हुन्छन्, त्यसैगरी शास्त्रमा मणितको स्थान शीर्ष हुन्छ ।’ सायद त्यसैले होला ज्यो. ढुङ्गानाले यो निकै लामो साधना पशचात यो ग्रन्थको संरचना गर्नुभएको । गंगा ज्योति भाष्करले हामीलाई केवल गणित मात्रै सिकाउने छैन गणितको महत्व र अस्तित्वलाई समेत सिकाउने भएकाले पनि यो ऐतिहासिक ग्रन्थ बन्नेमा म ढुक्क छु । किनकी यस्ता ग्रन्थ संसारमा थोरै लेखिन्छन् र थोरै पढिन्छन् पनि । तर त्यसको सार र तत्वले संसार चिन्ने गर्दछ ।
पछिल्लो समयमा देशमा भएको राजनीतिक परिवर्तनका कारण धर्म र शिक्षालाई जातीयकरण मात्र गरिएको छैन आफ्नाो स्वार्थपूर्तिका लागि व्याख्या र विश्लेषण गरेर नेताहरुले यसलाई कमाइखाने भाँडो बनाएका छन् । जसले देशमा संस्कृत जस्तो महत्वपूर्ण, पुरानो र जीवनपयोगी भाषाको ह्रास हुँदै गइरहेको छ । पञ्चाङ्गहरु दल, नेता र कार्यकर्ताहरुलाई खुसी पार्नका लागि प्रकाशित गरे झै गर्न थालिएको छ । औसीको दिनमा धान दिवस मनाउने कुरा पञ्चाङ्गमा उल्लेख गरिन्छ । सार्न मिल्ने वा एक दिन अघि वा पछि बनाउन मिल्ने धान दिवसलाई सार्ने कुरै गरिदैन । किनकी त्यो राज्य अर्थात् सरकारले दिएको आदेश हो भने औसीमा धान दिवस मनाउनु शास्त्रको चिरहरण गर्नु जस्तै हो ।
भाद्र महिनामा सूर्यलाई मिथुन राशिमै देखाइनुले समग्र ज्योतिष विद्याको उपहास गर्नु हो । धनिष्ठा पञ्चकको समय एकातिर र चन्द्रमा कुम्भ राशिमा प्रवेशको समय अर्कोतिर पार्नु शास्त्रको अपहेलना र सरकारको अन्धभक्त हुनु जस्तै हो । त्यसैले ज्योतिष शास्त्रलाई शुद्ध नबनाई कुनै कार्यमा पनि शुद्धता नहुने कुरा सबैले बुझ्न जरुरी छ । ज्योतिष शास्त्र आफैमा अशुद्ध भयो भने जातकको नामाकरण, चिना, टिपनदेखि फलादेशसम्म स्वतः गलत हुने भएकाले ज्योतिषशास्त्र आफैमा कमजोर हुँदै जाने निश्चित हुन्छ । अतः ज्योतिष विद्यालाई बलियो बनाइ जीवनपयोगी बनाइ राख्न यसको शुद्धतामा ध्यान दिनु जरुरी छ । जबसम्म यी कार्यहरु विद्वान हौ भन्नेहरु गर्दैनन् वा गर्न सक्दैनन् वा धर्मनिरपेक्षता अंगालेको देश भनेर असावधानीपूवर्क कार्यहरु गर्दछन् तब यी समस्याहरु समाधान हुँदैनन् । समस्याको समाधान गर्न गणितको अध्ययन त्यसको व्यवाहारिक पक्षको अध्ययन र शुद्धतालाई अनुशरण नगरि सुखै छैन ।
हो, आज झण्डै ७५ वर्षको उमेरमा ज्यो. ढुङ्गानाले भावि पूस्ताका लागि गणित ग्रन्थको रचना गरिदिनु भएको छ । यसले एकातिर गणितको शुद्धता र अर्कोतिर ज्योतिषको व्यवहारिकता सिकाउने छ । भविष्यमा ज्योतिष गणित अझ भन्ने हो भने पञ्चाङ्ग गणितका लागि कसैले तड्पिनु पर्ने अवस्थाको अन्त्य भएको छ । अतः आउनुहोस् मुक्तकण्ठले भनौं ‘गंगा ज्योति भाष्कर’ को जय । (लेखक कश्यप पञ्चाङ्गका पञ्चाङ्गकार हुन् ।)